कुन्डले, चुल्ठे र हाम्रो समाज

By Binaya Guragain

नेपाल प्रहरीले कपाल पाल्ने र कुण्डल लाउनेलाई समात्न थालेपछि आफैसँग सम्बन्धित एउटा घटना याद आयो । केहीबर्ष पहिले धनकुटाको हिलेमा एउटा कार्यक्रमको सञ्चालक म आफै थिए । त्यो बेला मेरो कपाल सामान्यभन्दा लामो थियो । सजिलोको लागि मैले चुल्ठो बाँधेको थिएँ । कार्यक्रमका सहभागि मध्ये तेह्रथुमकी एकजना महिलाले समापनको बेला भन्नु भयो, “तपाईजस्तो देखिनुहुन्छ त्यस्तो हुनुहुदो रहनेछ ।” मैले सोधे, “किन त्यसो भन्नुभयो?” “तपाईको कपाल लामो छ, चुल्ठो बाट्नु भएको छ । ज्यान पनि सामान्य मान्छेको भन्दा मोटोघाटो बलियो देखिन्छ । हिजो मैले जब तपाईलाई देखे मलाई डर लागेको थियो । यस्तो मान्छे पनि कार्यक्रम आयोजक हुन्छ? यो त गुण्डाजस्तो देखिन्छ, त्यसैले म तपाईसँग बोलीन आज कार्यक्रम चलाउँदा पनि शुरुमा मलाई बोल्न डर लाग्यो तपाईसँग, तर अहिले लाग्यो तपाई त मैले सोचेभन्दा फरक हुनुहुदो रहेछ । तपाईको कामदेखेपछि मेरो मनमा रहेको भ्रम हट्यो ।” सँगैका सहभागि धनकुटाका मानवअधिकारकर्मी बिदुर सुवेदीले भन्नुभयो, “वहाँ चुल्ठेमात्र हो कुण्डले हैन ।” त्यसपछिमात्र बुझे मैले ती महिलाको आसय ।

त्यही कार्यक्रमको क्रममा अघिल्लो साँझ धनकुटामा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईसँग चिया भेटघाट भयो । वहाँ शुरुमा मसँग खुलेर बोल्न चाहानुभएन । छुट्टिने बेलामा भन्नुभयो, “मलाई तपाईजस्ता चुल्ठे, कुण्डलेहरुसँग पुर्वाग्रह छ, मन पर्दैन त्यसैले वास्ता गरिन, तर तपाई मैले सोचेजस्तो पर्नुभएन ।” हिलेमा भइरहेको कार्यक्रममा राजेन्द्र राई पनि सहभागि हुनुहुन्थ्यो र वहाँले पनि मेरो कपाललाई लिएर म प्रति गरेको व्यवहारको उदाहरण दिदै भन्नुभयो, “लामो कपाल पाल्ने सबैजना खराब हुदाँ रहेनछन् ।”

अर्को घटना, म कार्यालयको जिम्मेवार कर्मचारीका रुपमा हरेक दिनजसो नेपाली तथा बिदेशीहरुसँगको बैठकमा सहभागि हुनुपथ्र्यो । कपाल लामो, चुल्ठो बाँधेको, दाह्री पनि पालेको बेला मलाई यस्ता बैठकहरुमा धेरै ठाउँमा अप्ठ्रो पथ्र्यो किनकी मलाई सहभागि र आफ्नै समकक्षिहरुले पनि भन्थे तपाई त कस्तो इन्फर्मल भएर आएको यस्तो फर्मल कार्यक्रममा पनि । मभन्दा अलिकति पाका र जिम्मेवारीमा पनि ठुलाहरुले त भन्थे नै एकदिन एकजना मैले अत्यन्त सम्मान गर्ने मेरा मित्र जो युवा अभियानकर्मी पनि हुन् जोसँग मेरो तिमीकै सम्बोधन चल्छ ले एकदिन भने “तिमीजस्तो मान्छेले कपाल पालेको सुहाएन, बाँधेको त झनै सुहाएन । आफु त हल्का देखियौ नी जिम्मेवारीको पनि ख्याल राखेनौ, फर्मल बन्नुपर्यो ... ।” उनको आसय यस्तै थियो ।

यि घटनाहरु यहाँ खुलाउनुको कारण अरु केही नभएर लामो कपाल पाल्नेप्रति हाम्रो समाजको दृष्टिकोणको प्रस्तुतीमात्र हो । लामो कपाल पाल्नेलाई हाम्रो समाजले अहिलेसम्म सहज रुपमा स्विकार्न सकेकोछैन । किनकी लामो कपाल हुनेहरुप्रति समाजको धारणा र व्यवहार कपाल छोटो हुने र कुन्डल नलाउनेलाई गरिनेभन्दा फरक छ ।

लामो कपाल पाल्नेलाई यही समाजले हिरो भन्छ । सिनेमा तथा कथाका नायकहरु प्रायगरी लामो कपाल पाल्छन् । उनीहरुले राम्रो काम गरेको देखाएर नै प्रायः सिनेमा वा कथाको अन्त्य हुन्छ । एउटै सिनेमामा नायकले पनि कपाल पालेको देखाइन्छ नकारात्मक भुमिकामा आउने खलनायकले पनि कपालको पालेकै हुन्छ प्रायःजसो । तर दुवै भुमिका एकैपटक हेरेर आनन्द लिएपनि सिनेमा वा कथाको दुनियाँबाट बाहिर आउने बित्तिकै कपाल पाल्ने मान्छेको सकारात्मक छवी दिमागबाट धुमिल हुदै हराउँछ तर नकारात्मक भने पछिसम्म कायम रहिरहन्छ । त्यसैले कपाल लामो हुनेहरु सहजै घुलमिल हुन सक्दैनन्  । कपाल पाल्नेलाई लिएर सामान्य रुपमा आम प्रतिकृया निस्कन्छ ‘त्यो त क्या गुण्डाजस्तो छ होउ लामो कपाल भएको, डरै लाग्ने वा ।’ 

चिटिक्क दाह्री (प्राय दाह्री पाल्नेहरु चिटिक्क देखिदैन) मिलाएको, कपाल पालेको, चुल्ठो बाँधेको र कुण्डल पनि लाएको मान्छे यदी भर्खरको युवा छ भने गायक हुनसक्छ अलि परिपक्क देखियो भने कवी हुनसक्छ भन्ने आमधारणा पनि छ समाजसँग । कविप्रति हाम्रो समाज अहिले पनि सकारात्मक छैन । कविता मन पराउनु त परको कुरा कविलाई पागल, सन्काहा, बहुलाहा बिभिन्न पगरी गुथाएर थप्पडी बजाउनेहरु अहिले पनि छन् समाजमा । दाह्री र कपाल पालेको मान्छे बाटोमा परैबाट देखियो भने पनि क्या कविजस्तो मान्छे गयो वा कहिलेदेखि कवि भईस होउ भन्नेसम्म प्रतिकृया सुन्न नपाईने होइन । गायक त्यसमाथि कुण्डले र चुल्ठेलाई त समाजको एउटा वर्ग युवा बाहेक अरुले भाउ दिएको अहिले पनि देखिदैन । अलिकति पाको छ र पनि दाह्री र कपाल पालेको छ भने उसलाई हाम्रो समाजले अधिकारकर्मीको रुपमा पनि चिन्छ । अनि समाजको नजरमा कुण्डलेहरु केटी जिस्क्याउछन्, ग्यांङफाइट गर्छन्, लागु औषध खान्छन्, कुलतमा फस्छन्, उनीहरुकै चुल्ठो पनि लामो हुन्छ ।

त्यसैगरी कपाल पाल्नेहरु समाजमा कि त बाबाजीहरु हुन्छन् कि त जोगी, खरानी घसेको सेताम्य शरीरमा लामो चुल्ठो बाटेका । समाजले उनीहरुलाई बैरागी भन्छ । बिरक्त भएर हिडेकाहरुसँग धेरै संगत गर्नुहुन्न, तिनीहरु त जे पनि खान्छन्, छाडा पनि हुन्छन् भन्ने मानिसहरुले भरिएको छ समाज । स्वच्छन्द धारणा र व्यवहारका कारण युवापुस्ता जो बढी नै सिर्जनशील र स्वतन्त्र हुन खोज्छ र छ पनि कपाल पाल्ने, कुण्डल भिर्ने कारणले गर्दा बेलाबेला निशानामा परिरहन्छ । अनि व्यवसायिक जीवनमा यदी तपाई कुनै महत्वपुर्ण जिम्मेवारीमा हुनुहुन्छ भने कपाल पाल्नु जिम्मेवारीको ख्याल नगर्नु भन्ने बुझिन्छ । जुन मैले आफैले भोगेको घटना भनिसकेको पनि छु ।

कपाल पाल्ने, कुण्डल, मुन्द्रा लाउनेलाई गरिने दुव्र्यवहार वा फरक व्यवहारको कारण समाजको सोच र दृष्टिकोणमै गएर टुंगीन्छ । नेपाल प्रहरीले कपाल पाल्नेलाई कुण्डल लाउनेलाई अहिले गरेको कारवाही उसले गरेको भन्दा पनि हाम्रो समाजमा कपाल पाल्नेप्रति लामो समयदेखि रही आएको धारणाको उपज हो जस्तो लाग्छ मलाई, तपाईलाई के लाग्छ कुन्नी?

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by अल्टर कान्छो’ on February 27, 2013 at 6:00pm

एक हप्ता अगाडि यो अभियान थालेको भए म पनि सिकार हुन्थृ होला धन्न प्रभु काटिए छ कपाल फालिएछ टप ।

Comment by Kranti Darai on February 27, 2013 at 4:58pm

मलाइ त कपाल पाल्ने गुण्डा हुन्छन् भन्ने भन्दा पनि गुण्डाले नै किन कपाल पाल्छन् होला झै लाग्थ्यो ... :P

Comment by Sabin Singh on February 27, 2013 at 11:26am

bhane paxi real baba haru ko halat k hune hola hai dai? :P 

Comment by pawan neupane on February 26, 2013 at 5:44pm

 #तितोयथार्थता बाहिरीआवरणमा भित्री मूल्यांकनगर्नु मूर्खताहो जुन मूखर्ता हामीधेरै मूर्खहरुले गरिरहेका छौं

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service