तपाई कस्तो मान्छे?

विनय गुरागाई 

दुई थोकसँग मेरो घनिष्ठ संगत छ । एक पुस्तक र दुई मान्छे । पुस्तक मेरो साथी हो । सुख र दुःख दुबैमा नछुट्ने साथी,मेरो मिल्ने साथी । गफ दिएको हैन, मसँग कहिल्यै छुट्दैन पुस्तक । घरमा हुँदा हरेक कोठा, टेबल, खाट, बुकर्याकमा छरपष्ट भेटिन्छन् पुस्तक । कार्यालयमा पढ्ने फुर्सद नै हुन्न । तर अड्डाको कामको खातिर जब काठमाडौं बाहिर निस्कने मौका आउँछ, मेरो झोलामा कम्तीमा एउटा पुस्तक हुनैपर्छ र सधै हुन्छ । घरमा नयाँ पुस्तक नभएको बेला यात्राको मौका जुर्यो भने आफुलाई मनपर्ने पुस्तक पसल मेरो पहिलो गन्तब्य हुन्छ । बिभिन्न घटना, परिबेश, सम्बन्ध र जिवन भोगाईका पाईला-पाईलामा आउने खुशी र दुःखका पलमा मलाई कसैले साथ र सान्त्वना दिन्छ भने त्यो पुस्तकले नै हो । अर्थात पुस्तक आजका मितीसम्म मेरो जीवनको अभिन्न अंग हो, र रहि रहेनछ । म हाँस्दा मैले पढीरहेको पुस्तक हाँस्छ । म रुँदा मैले पढिरहेको पुस्तकमा मेरा आँशुका थोपा खस्छन् र पुस्तकले नै त्यसलाई हतारहतार पुछी सक्छ । मलाई रुवाउने, हसाउँने भुमिकामा कहिले पुस्तक प्रत्युपादक हुन्छ त कहिले पुस्तकले नै मेरा दुःखलाई सुटुक्क टिपेर लैजान्छ ।

पुस्तक बाहेक मैले अधिक संगत मान्छेसँगै गरेको छु । तपाईले भन्नुहोला कुन ठुलो कुरो हो यो, मान्छेसँग त जसले पनि संगत गर्छ । हो, तपाईले ठिक सोच्नु भो । तपाईको संगत पनि मान्छेसँगै हुने हो । अबश्य छ पनि । फरक-फरक पात्रसँग मेरो बढी नै उठबस छ भनेर मैले यहाँ नयाँ कुरा भन्न खोजेको हैन । तर फरक परिवेशमा भेटिएका फरक पात्रलाई मैले कसरी फरक तरिकाले बुझें र दुई खुट्टा, दुई हात, दुई आँखा, दुई कान, एक नाक, एक मुख र हाड-छालाबाट बनेको झट्ट हेर्दा समान देखिने मान्छे व्यवहारमा भने कसरी असमान हुदोँ रहेछ भनेर मैले भोगेका केही पात्रहरुलाई यहाँ प्रस्तुत गर्न खोजेको मात्र हुँ ।

एक खाले मान्छे हुदाँ रहेछन् आफुलाई मात्र सर्बेसर्बा ठान्ने । संसारमा आफु ठिक बाँकी सब खत्तम । यस्तै धारणा बोकेर हिड्ने मान्छे यो बर्गमा पर्दछन् । मैले गरे संसार राम्रो अरुले गरे सबै नराम्रो । यस्तै मनोग्रन्थीका शिकार यस बर्गमा पर्ने मानिसहरुले आफु बाहेक अरुलाई सधै गलत देख्ने र देखाउने प्रयास गर्दा रहेछन् । म ठिक, म मात्र ठिक, मैले मात्र काम गरिरहेको छु, म कति महत्वपुर्ण छु भनेर आफ्नो बाँसुरी आफै बजाउँदै हिड्ने यस्ता मानिसको अगाडि पर्नेहरु आफुलाई जतिसुकै सक्षम भएको महशुस गरेपनि देखाउन नसक्ने रहेछन् । कारण सर्बेसर्बा ठान्ने अहंकारी सोचका अगाडि उनीहरुको केही नलाग्ने रहेछ । बरु सह्यो, आफ्नो काम गर्यो, चुपचाप बस्यो । अहंकारको रापले पिडीत मान्छेलाई दुनियाँले मेरो बारेमा के भन्छ? मलाई कसरी मुल्यांकन गर्छ ? मेरो आचरण, बोली व्यवहारलाई कसरी मुल्यांकन गर्छ? जस्ता समिक्षात्मक पक्षलाई आफ्नो छेउमा ढिम्की नै नदिने रहेछ । कसैले राम्रै कुरा गरेपनि नराम्रो सोच्ने र बकम्फुसे नै सही आफ्ना कुराहरु राखिहाल्ने र जितीहाल्ने प्रबृत्तिले हाबी हुनु यो समूहमा पर्ने मान्छेको आम स्वभाव रहेछ ।

अर्कोखाले मान्छे, जसले आफैले आफैलाई चिन्दैनन् जस्तो लाग्छ । म को हुँ? किन यो धर्तिमा आएको? मेरो काम के हो? मेरो जीवनको लक्ष के हो? म कहाँ पुग्न चाहान्छु? कुनै कुरामा पनि आफु स्पष्ट नहुने । जीवनको लक्ष्य नै नभए पछि अगाडि जे आईपर्छ गरिहाल्ने । बिकल्प खोज्न हिम्मत नगरीहाल्ने  हिम्मत गरी नै हालेपनि सफल भने नहुने । जे गरिहेछ त्यसमा चित्त नबुझाउने, के चित्त बुझ्छ ? खोजेको के ? आफैलाई थाहा नहुने । कामलाई सम्मान गर्न नजान्ने । उल्टो बोझ ठान्ने । काम गर्छु नभन्ने गर्दिन्छु नि त भन्न रुचाउने । पुग्ने ठाउँ थाहा नभएपनि हिडिरहने । यस बर्गमा पर्ने मानिसले आफुलाई संसार कै बिन्दास प्राणी बताउने गरेको मैले भेटेको छु ।

अर्को समूहको मान्छे जो दिमागले हैन मन मुटुले निर्णय गर्छ । जुनसुकै कुरालाई पनि गम्भिर रुपमा लिने । त्यसलाई आफुसँग दाँज्ने । सरोकार होस या नहोस् आफैले ठुलो भारी बोक्ने । दिमागले सन्तुलित तरिकाले कुरा, घटना र परिवेशलाई पन्छाउन नसक्ने । मन-मनै कुराको गहिराईसम्म पुग्ने र हुदै नभएको वा हुनै नसक्ने कुरामा अल्झेर आफु वरपरकालाई समेत प्रभावित पार्ने । आफुले सोचेको सही, बोलेको ठिक, अरु गलत । मेरो आत्माले जे भन्यो सही भन्यो, अरुले भनेको कुरा गलत हुन् भन्ने सोच राख्ने। यस्ता मानिसहरु आफुले भनेको भएन भने आफुलाई अरुले हेपेको महशुस गर्ने रहेछन् । आफुलाई कमजोर ठान्ने रहेछन् । सधैंभरी दुःखी हुने, निराश देखिने र जीवनलाई आशामा रुपान्तरण गर्न नसक्ने र बिस्तारै लामो डिप्रेसनमा फस्ने समेत संभावना बढी हुने रहेछ ।

अर्काथरी मानिसहरु सार्वजनिक स्थान र साथीभाईका बिचमा साह्रै गज्जबका देखिने रहेछन् । गज्जबको र सबैको राम्रो हुनलाई असुहाँउदो व्यवहार गर्न पनि पछि नपर्ने । पद, प्रतिष्ठा, उमेर र जिम्मेवारीको ख्याल नगर्ने । सबैसँग रमाउने । तर धेरै कुरामा खुल्न नसक्ने । रमाईलो कै सिलसिलामा कसैले केही भनिहाल्यो भने अगाडि त्यसलाई सहज रुपमा लिने तर पछाडि कुरा काट्ने । एकान्तमा बसेर कुण्ठित हुने । थाहा नहुने गरी व्यवहारमा त्यस्तालाई निषेध गर्दै लाने जसले उसका कुरा सुन्दैन वा टेर्दैन । यस्ता मानिसहरु पनि बाहिरबाट हेर्दा हाँसेको जस्तो देखिन्छन् तर भित्र-भित्रै दुःखी र कुण्ठित हुने गरेको भेटेको छु मैले ।

सँगतको आधारमा अरु खाले मानिसहरु पनि भेटेको छु मैले । क्रमशः आगामी दिनहरुमा थप कुराकानी  गर्ने छु । अहिले चाँही एउटा प्रश्न तपाईलाई छोडेर जाँदैछु, ‘तपाई कस्तो मान्छे?’

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service