स्वतन्त्र रेडियो अभियान: रूपान्तरण व्यक्ति कि समाजको?

पहिलाेपटक सन् २०१३ अाजकै दिन प्रकाशित। केही सवाल अहिले पनि सान्दर्भिक भएकाेले यहाँ प्रस्तुत गरिएकाे हो । 

एउटा आम रेडियो उपभोक्ताका रूपमा बिहानदेखि बेलुकासम्म कुनै पनि रेडियो सुन्यो भने सजिलै भन्न सकिन्छ- रेडियोको दैनिक प्रसारणमा चार किसिमका सामग्रीले मुख्य स्थान ओगटेका छन्। गीतसंगीत, समाचार (राष्ट्रिय र स्थानीय), सूचना तथा शिक्षामूलक कार्यक्रम र विज्ञापन। गीतसंगीत र विज्ञापनका कुरा नगरौं।

समाचार प्राय: रेडियोमा बिहान साढे पाँच बजेदेखि राति १० बजेसम्म घन्टाको अन्तरमा बज्ने गर्छ। त्यस्ता समाचार दुई किसिमका हुन्छन्। काठमाडौंका रेडियोकर्मी, पत्रकार र व्यावसायिक गृहले काठमाडौंमै उत्पादन गर्ने र स्याटलाइट वा अनलाइनमार्फत ग्रहण गरी अन्य रेडियोले आफ्नो फ्रिक्वेन्सीबाट प्रसारण गर्ने।

अर्को स्थानीय समाचार, रेडियो आफैंले तयार पार्ने। कार्यक्रम पनि दुई किसिमले बन्ने गर्छन्। रेडियो स्टेसन आफैंले बनाउने र सरकार, एनजीओ/आईएनजीओको आर्थिक सहयोगमा तीनै संघसंस्थामा सबाल र गतिविधिमा आधारित।

समाचार र कार्यक्रम उत्पादन प्रसारणमा रेडियोको भूमिका के त? पहिलो: अन्य रेडियो स्टेसनमा समेत बज्ने गरी काठमाडौंकाले काठमाडौंमै तयार पार्ने समाचार, समाचारमूलक कार्यक्रम तथा सूचना तथा शिक्षामूलक कार्यक्रममा काठमाडौंभित्र र बाहिरका रेडियो स्टेसन स्वयंले भने सिन्को भाँच्नेसम्मको मेहनत गर्नुपर्दैन। प्रसारण समय तोक्ने, समयमा कार्यक्रम प्राप्त गर्ने र आफ्नो रेडियोबाट बजाउने, बस्।

आफ्नो सम्पादकीय स्वतन्त्रतामाथि हस्तक्षेप हुँदासमेत त्यसको विरोधसमेत गर्न सक्दैनन्। प्राय: गैरसरकारी संघसंस्थाले स्थानीय स्तरमै तयार पार्ने सामग्रीसहितका रेडियो कार्यक्रमका लागि पनि रेडियो स्टेसन स्वयंको भूमिका कम हुने गर्छ।

पहिलो भूमिकामा रेडियो स्टेसनहरू झन्डैझन्डै क्यासेट प्लेयर वा कम्प्युटरमा प्लेस्टेसनको भूमिकामा जस्तै हुन्छन्। दोस्रो भूमिका समाचार, समाचारमूलक कार्यक्रम र सूचना तथा शिक्षामूलक कार्यक्रम आफ्नै पहलमा तयार र प्रसारण गर्ने। यो प्रक्रिया पहिलोभन्दा महँगो हुन्छ। उपकरण, दक्ष जनशक्ति , समय,भरपर्दा सूचना/जानकारी, काठमाडौंकेन्द्रित विज्ञता आदिले गर्दा रेडियोले आफैंले तयार र प्रसारण गर्ने प्रक्रिया महँगो हुन्छ।

पहिलो भूमिकामा समाचार र कार्यक्रमको गुणस्तरमा ध्यान दिनुपर्दैन। पैसा पनि मनग्गे आउँछ। उत्पादनदेखि प्रसारणसम्मलाई आउने आकर्षक पैसा,जनशक्तिलाई आवश्यक तालिम र क्षमता वृद्धिका अवसर, उपकरण सहयोग मात्र हैन कार्यक्रमको विषयवस्तु पनि रेडियोले निर्धारण गर्नु पर्दैन।

 

त्यसैले खुल्नुअगाडि नै रेडियो सञ्चालक, व्यवस्थापक सहकार्य र सहयोगको याचनासहित आफ्नो लगानी र समय कम हुने भूमिकातिर बढी आकर्षित भएको पाइन्छ। त्यसो गर्दा रेडियो आफैंले खेल्नसक्ने र खेल्नुपर्ने भूमिका कमजोर हुने र थप अरू चुनौती आइलाग्ने हुँदा स्वतन्त्र रेडियोहरू समाज रूपान्तरणका लागि प्रभावकारी हुन नसकेको भन्ने बहसलाई थप मलजल पुगिरहेको यथार्थ नकार्न सकिन्न।

भनिन्छ- सामाजिक रूपान्तरणमा स्वतन्त्र रेडियोको महत्त्वपूर्ण योगदान छ। यस्तो भनाइ सत्यताको नजिक पनि छ। तर योगदान भनेको कति हो र कस्तो हो? ठूलाठूला विकासे जागरण उत्तरदायी/जबाफदेही राज्य र नागरिक समाज निर्माण, लैंगिक समानता तथा सामाजिक समावेशिता, लोकतन्त्र सुदृढीकरण, पछाडि परेका/पारिएका समुदायको उत्थान आदिमा स्वतन्त्र रेडियोको योगदानको अंश कति होला?

बृहत् अनुसन्धान खाँचो छ। यद्यपि पर्याप्त प्रमाणविना पनि रेडियो सञ्चालक, अभियन्ता, अनुसन्धानकर्ता, रेडियोकर्मी, पत्रकार, नीतिनिर्माता र विदेशी संघसंस्थाले समेत सामाजिक रूपान्तरणमा रेडियोको योगदानलाई आफूअनुकूल अथ्र्याउने गरेको पनि पाइन्छ। तर सानो बजार र परनिर्भरतामा बाँचेका अधिकांश रेडियोहरूले चर्चा गरिएजस्तो सामाजिक रूपान्तरणको भूमिका खेल्न सकेका छैनन्।

सूचना तथा सञ्चार मन्त्रालयले अहिलेसम्म पाँच सय १५ वटा रेडियोलाई प्रसारण अनुमति दिएको छ। उपलब्ध बजार र त्यहाँभित्र हुने आर्थिक क्रियाकलापले धान्न नसक्ने संख्यामा रेडियो सञ्चालन अनुमति दिनु र चलाउन खोज्नुबाटै सुरु हुन्छ सञ्चालन र व्यवस्थापन चुनौती। रेडियो सञ्चालक संस्थाको प्रकृतिका आधारमा बाँडिने लाइसेन्सले बाहेक कानुनी रूपमा सामुदायिक र व्यावसायिक रेडियो छुट्टिने बलिया आधार छैनन्।

सामुदायिक रेडियो सञ्चालक संस्था गैरनाफामुखी ध्येयले सञ्चालित छन् भने नाफामुखी चरित्र बोकेर स्थापना भएको संस्थाले चलाउने रेडियोलाई व्यावसायिक रेडियो भन्ने गरिएको छ। सामुदायिक रेडियोलाई सामाजिक हितमा समुदायले नै सञ्चालन गरेका रेडियो हौं भन्ने दलिल प्रस्तुत गर्न सजिलो छ।

भलै सामुदायिक रेडियो (सबै हैन, धेरै अवश्य) समुदायका नाममा फेरि पनि समाजका केही टाठाबाठा र चतुर नेताकै नियन्त्रणमा पुगेका छन्। देशीविदेशी सहयोग, सहुलियत र सुविधा सामुदायिक रेडियोमा बढी केन्द्रित हुने गरेका छन्। सामुदायिक रेडियोले पाउने जति सहयोग, सहुलियत र सुविधा व्यावसायिक रेडियोले पाउन मुस्किल छ।

उनीहरू बजारबाट उठ्ने विज्ञापन, अदक्ष जनशक्ति र सस्तो श्रममा धेरै काम लाउने विवादास्पद सूत्रमा जकडिएका छन्, जुन श्रमजीवी पत्रकार ऐनको विरुद्धमा हुन जान्छ। खाली ठाउँ भर्नका लागि अदक्ष र कमजोर जनशक्तिबाट काम चलाउनुपर्ने, सस्तो दरका जस्तोसुकै विज्ञापनमा आश्रित हुनुपर्ने र पर्याप्त उपकरण र भौतिक पूर्वाधार अभाव जस्ता बाध्यताले स्तरीय समाचार र कार्यक्रम उत्पादन रेडियोले चाहेर पनि हुन सकेको छैन। जहाँ दक्ष जनशक्ति अभावमा रेडियोले गुणस्तरीय कार्यक्रम पस्किन सक्दैन भने त्यहाँ उनीहरूको योगदानले कसरी सामाजिक रूपान्तरणमा सहयोग गर्न सक्ला?

रेडियो नेपाल सार्वजनिक सरोकारको प्रसारण माध्यम हुन सकेन। सत्ता र शक्तिको छत्रछायाँबाट बाहिर निस्कन नसकेको रेडियो नेपाल कहिल्यै समुदायको हुन सकेन। त्यसैले वैकल्पिक र स्वतन्त्र रेडियोको मुद्दा उदायो, बलियो बन्यो र हामी आजको स्थितिमा आयौं। यहाँसम्म आइपुग्दा वैकल्पिक स्वतन्त्र रेडियोको अभियानमाथि प्रश्नचिन्ह लागेको छ।

औंलामा गन्न सकिनेबाहेक समुदायका लागि खोलिएका रेडियो समुदायका हुन सकेका छैनन्। व्यवस्थापकीय सीप अभाव, कार्यक्रम निर्माण र प्रसारणमा जस्तोसुकै संघसंस्थासँगको सम्झौतापरस्त चरित्र, दाता र काठमाडौंकेन्द्रित परनिर्भरताले बलियो हुन नपाउँदै स्वतन्त्र रेडियोहरू कमजोर र जीर्ण बन्दै गइरहेका छन्।

रेडियो सञ्चालक र व्यवस्थापकको प्राथमिकता कुन क्षेत्रमा भन्ने विषयले महत्त्वपूर्ण भूमिका खेलेको छ। रेडियो खोलेपछि दाताले पैसा दिन्छन्, एनजीओ/आईएनजीओले कार्यक्रम दिन्छन्, काठमाडौंमा निर्मित समाचार छँदैछ, बैठक, विदेश भ्रमण, ठूलाठूला शक्तिकेन्द्रसँग उठबस र राजनीतिक दलबाट उम्मेदवारीसम्मका स्वार्थ राखेर खोलिएका रेडियोहरूबाट समाज रूपान्तरण कसरी हुन सक्ला?

परिवार, नातागोता र इष्टमित्रका भरमा रेडियो चलाउनुपर्ने बाध्यता आउनुको पछाडि आन्तरिक वा बाह्य कुन कारण प्रमुख जिम्मेवार छ त? यस्तो हुनुमा रेडियोको व्यवस्थापन जिम्मेवार हुनुपर्छ र जिम्मेवारी महसुस गर्नुपर्छ। केहीलाई छोडेर प्राय: रेडियोले यस्तोमा जिम्मेवारीबोध गरेको पाइँदैन।

जतिसुकै स्वतन्त्र रटान लगाइने गरे पनि रेडियोहरू राजनीतिक प्रभावबाट मुक्त छैनन्। व्यावसायिक र पेसागत हकहितका लागि सञ्चालित संघसंस्था (अकोराव र बान) का चुनाउ र अन्य गतिविधिमा देखिएको दलीय भागबन्डाले छताछुल्ल पारिसकेका छन् कि कुन रेडियो कुन दलका नजिक छन्।

यसले रेडियोको सम्पादकीय स्वतन्त्रतामा कुनै पनि बेला हस्तक्षेप हुँदैन भनेर पत्याउन मुस्किल छ। स्तरीय समाचार र कार्यक्रम निर्माण र प्रस्तुतिमा अत्यधिक परनिर्भरताबाट बेलैमा छुटकारा नखोज्ने हो भने स्वतन्त्र रेडियोमाथि अझै धेरै चुनौती थपिँदै जानेछन्।

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service