कुरा खस्रा (न)मिठा

By Binaya Guragain

माघ ८ गते साँझ नेपालञ्जमा झरी पर्‍यो। माघे झरिपछि मान्छेका मुखबाट दुईखाले प्रतिकृया निस्किए । कसैले भने-‘ओहो माघे झरीले जाडो बढायो ।’ अर्कोथरीले भने-‘चिसो नै भएपनि भिज्न क्या मज्जा आयो ।’ भोलीपल्ट माघ ९ गते नेपालगञ्जमा बिहानैदेखि घाम लाग्यो।

त्यो समाचारले काठमाण्डौ बिमानस्थलमा प्रतिक्षारत यात्रुहरुको मुहारमा खुशी ल्याईदियो । काठमाण्डौ पनि बिहानै उघ्रिएको थियो । बुद्ध एयरले नेपालगञ्ज जाने यात्रुलाई प्रस्थानका लागि बोलायो । ७२ सिटे एटिआर बिमानमा चढ्ने यात्रुले दुईटा बस भरिए ।

यात्रुले सुन्नेगरी वाकीटकीमा एउटा सन्देश सञ्चार भयो । एकजना पुर्व प्रधानमन्त्री पनि त्यही जहाजमा नेपालगञ्ज जानुपर्ने भयो रे-‘वहाँ घरबाट हिड्न लाग्नु भएको छ वहाँलाई कुर्ने पर्‍यो ।’

एकछिन अघिसम्म प्रफुल्लित यात्रुका फुरुङ्ग अनुहारहरु चाउरीएको मरिच झै कच्याककुचुक देखिन थाले । नेता चढ्न लाग्नुभयो भनेर हैन की धेरैबेरसम्म कुर्नुपर्ने भो, हिउँदको तराईको मौसम एकछिनमा हाँस्छ एकैछिनमा रुन्छ कुर्दाकुर्दै नेपालगञ्ज बिमानस्थल बन्द हुन के बेर? गन्तब्यमा नपुगिने पो हो की भनेर न्यास्रिएका थिए यात्रुहरु ।

नेतालाई घरबाट बिमानस्थल पुग्न कम्तिमा पनि ३० मिनेट लाग्थ्यो ।

 ‘ओहो ३० मिनेट?

कतिसम्म कुराउन सक्या हुन् नेताले?

जहाज उड्ने बेलामा घरबाट हिड्ने?’

यस्तैउस्तै प्रतिकृया थपिदैजाँदा केही यात्रुहरु जोस्सिन थालिसकेका थिए ।

भन्दैथिए, ‘यस्तै चालाले यिनीहरुले एकबर्षमा संविधान बनाएभने त कान काटिदिन्छु ।’

अर्कोले थप्यो, ‘समयको त ख्यालै छैन होउ हाम्रा नेताहरुलाई?’

फेरी कोही बोल्यो, ‘हामीले पनि यसरी नै कुराउनु पर्यो भने यि नेताहरु के गर्दाहुन्? उनीहरुलका लागि हामीलाई पिडा?’

यस्तैउस्तै प्रतिकृया चर्किन थालेपछि बुद्ध एयरका कर्मचारीले गाडि चलाए र जहाज नजिक पुर्‍याए । त्यहाँ केही समय कुराए । बल्लतल्ल प्रहरीको स्कर्टिङमा 'नेताज्यू' आउनुभयो । जहाजको अगाडिको भागमा सिट हुने यात्रुलाई पहिले जहाजमा हालियो । सबैजना सिटमा बसेपनि पछाडि फर्किदै, हेर्दै गर्दै थिए । उनीहरुलाई कौतुहलता थियो ।

कुन चाँही भुपु प्रधानमन्त्री हुनुहुदो रहेछ जो जहाज उड्न लागेपछि घरबाट हिड्ने? आफु ढिलो गर्ने अरुलाई कुराउने?

मेरो छेवैमा बसेका कालिकोटतिरका एकजना यात्रुले सोधे, ‘खै त भिआइपी अगाडि आउनु भएन त?’ ‘भिआइपीहरु अगाडि बस्नुहुन्न । वहाँ पछाडि बस्नुहुन्छ । निस्कन सजिलो र छिटो हुनसक्छ  भनेर होला वहाँहरु पछाडि नै बस्नु भएकोछ ।’

जहाजले पुर्ण उचाई लिएपछि अगाडिका मान्छेहरु उठ्दै शौचालय जाने बहानामा पछाडि जाने क्रम अरु दिनभन्दा बढी नै भएको महशुस भयो । कारण धेरै पानी वा खाना खाएर चर्पी लाग्या भन्दा पनि भिआईपी को हुनुहुन्छ भन्ने हेर्ने वहाँहरुको उत्सुकताले काम गरेको हो भनेर बुझ्न कर लाग्यो ।

फर्केर आएर अगाडिका यात्रुले भने, ‘वहाँ त माधव नेपाल हुनुहुँदोरहेछ ।’

कागलाई बेल पाक्यो हर्ष न बिस्मात !

मैले कुनै प्रतिकृया जनाईन । आवश्यक पनि थिएन कुनै प्रतिकृयाको ।

बरु मसँग अपेक्षा थियो-'नेताज्यूले आफ्नो कारणले अरु 'एकहत्तर' जनालाई अप्ठेरो परेकोमा थोरै भएपनि लज्जाबोध गर्नुहुनेछ । आफैले सम्बोधन गर्ने त कुरा आँउदैन थियो उडिरहेको जहाजमा । पाईलट वा एयरहोस्टेसमार्फत अन्यलाई पर्न गएको कठिनाईप्रति जवाहदेही हुनुहुनेछ ।'

तर अपेक्षा राख्नु नै गलत ठहरियो । वहाँले त परै जावोस् बुद्ध एयरले समेट जहाज निर्धारित समयभन्दा ४० मिनेट ढिलोहुँदा पनि क्षमायाचनाका गर्न जरुरी ठानेन । एकजनालाई पर्खँदा एकहत्तर जना यात्रुलाई परेको कठिनाई महशुस गरेन ।

मैले चित्त बुझाएः ‘नेता, ब्यापारी, डाक्टर, पाईलट, घुसखोर, भ्रष्टाचारी, कालोबजारीलाई पुजिने देशमा हामी नागरिकलाई कसले सम्झिने? किन पो आवश्यक छ र रोजीरोटीका लागि मरिमेट्ने आम नागरिकप्रति जवाफदेही हुने?’

अलिक अगाडि नेपथ्यले पाटन मंगलबजारमा कन्सर्ट गर्‍यो । बृद्ध, अधबैंशे, युवा र किशोरकिशोरी सबैको प्रिय ब्याण्ड हो नेपथ्य । नेपथ्यको कन्सर्ट त्यो पनि लामो अन्तरालमा । आफ्नै शहरमा हुनलागेपछि  धेरै ललितपुरबासी उत्साहित थिए नेपथ्यलाई सुन्न र हेर्नका लागि । कन्सर्ट साँझमा थियो । बर्षौ अघि जतिबेला द्वन्द्व चरमोत्कर्षमा थियो । नेपथ्य 'शान्तिका लागि संगीत' अभियानका साथ धरानमा पुगेको थियो । त्यही बेला थियो मैले नेपथ्यलाई प्रत्यक्ष देख्न र सुन्न पाएको । आफु कार्यरत सप्तकोशी एफएमबाट नेपथ्य कन्सर्टको प्रत्यक्ष प्रसारणको मेसो पनि मिलाएको थिएँ । त्यसपछि नजिकबाट सुन्न नपाईएका अमृत गुरुङलाई कन्सर्टमा सुन्ने उत्कठ अभिलाषा बोकेर म पनि जोस्सिए पाटन मंगलबजार जान । तर कुमारीपाटी कट्न नपाउँदै ससाना गल्लीहरुमा चौपट्टै जाम थियो । सवारीसाधनमात्र हैन मान्छेहरु नै चेप्पिरहेका ।

कारण थियो कन्सर्ट । मान्छेहरु रिसाइरहेका पनि थिए । बेला न कुबेला कुठाउँमा कन्सर्ट किन गर्‍या होला?

असर सबैलाई परेको थियो । न फर्किउ न अगाडि बढौ दोधारमा परिरहँदा पार्किङका लागि सानो कुना फेला पर्‍यो । त्यसपछि मंगलबजार पुग्न हिँड्नै परेन । भिडको बिचमा उभियो, अरुले ठेल्थे हिड्नै पर्थेन । नेपथ्यलाई देख्नु त कता हो कता असख्य दर्शकको अनियन्त्रित भिडबाट जोगिएर भाग्दैभाग्दै घर फर्किनुको बिकल्प थिएन । त्यसै गरियो ।

घरपुगेर ट्वीटर पढ्दा थाहा भयो भिडमा पेलिइने ममात्र हैन अरुपनि हजारौ रहेछन् । मानवसागर नै उर्लेको रहेछ त्यो साँझ मंगलबजारमा । पुरातात्विक महत्व बोकेका सम्पदाहरुमाथि पनि मान्छेहरु चढेको देख्न सकिन्थ्यो । खुट्टा राख्ने ठाउँ थिएन । भिडमा निस्सासिएर, ऐठन भएर बेहोश हुने, घाइते हुने समेतका खबर बाहिर आए । प्रश्न पनि उठ्यो, नेपथ्यजस्तो लोकप्रिय ब्याण्डले निःशुल्क कन्सर्ट आयोजना गर्नका लागि किन ईतिहासिक महत्वको र बिश्व सम्पदा सूचीमा परेको पाटन मंगलबजार दरबार स्वायरलाई नै रोज्यो भनेर ।  चर्को ध्वनि र मानव सागरले थिलथिलो बनाएर दरबार स्वायरको ऐतिहासिक महत्वमाथि किन धावा बोलियो भनेर समेत नेपथ्यप्रति औँला ठडिए ।

नेपथ्यका टोली नेता, आयोजक नेपालयका प्रतिनिधिहरु यो खबरबाट टाढा थिएनन् । सोसल मिडिया मार्फत एकपछि अर्को गर्दै उनीहरुले जिम्मेवारी लिए । गायक अमृत गुरुङले ट्वीट मार्फत उपस्थित दर्शकलाई धन्यवाद दिए । पर्न गएको असुविधाप्रति क्षमा मागे । आयोजक तर्फबाट पनि त्यसको जिम्मेवारी लिइएका खबर बाहिर आए । फेरी त्यस्तो गल्ति नदाहोर्‍याउने प्रतिबद्धता पनि सुनियो । यो सुनेर नेपथ्यप्रति मानिसले घृणा गरेनन्, उप्रतिका थप आलोचना सुनिएनन् । नेपथ्यले उसका दर्शक, श्रोता अर्थात आम नागरिकको भावनालाई सम्मान गर्‍यो र आफु पनि सम्मानित रहिरहन सफल रह्यो । मैले फेरी सोचेँ-'यस्ता असल मान्छे हुन नेताहरु किन मान्दैनन्?'

र अन्त्यमा,

पहिलो संविधानसभा अगाडि देशको राजनीतिमा सातदल हाबी थिए । पहिलो संविधानसभा बिफल हुनेबेलासम्म चारदलले राज गरे । दोश्रो संविधानभापछि देशको राजनीति तीनदलको वरिपरी घुमिरहेको छ । अहिले तीन दल छन् । हरेक दलमा तीनजना नेता छन् । तीनतिर फर्किएका तीन दल र आआफ्नै दलमा पनि तीनैतिर फर्किएका तीन नेताले ऐतिहासिक संविधानसभाको दोश्रो निर्वाचन मार्फत अभिव्यक्त जनादेशको मर्मलाई आआफ्नो फाइदामा लिन हरसम्भव प्रयास गरिरहेकाछन् । तर उनीहरुको प्रयास, कृयाकलाप र समातेका बाटाहरु हेर्दा यस्तो आशंका उब्जिन्छ की यो संविधानसभाले गर्नुपर्ने काम पो नगर्ने हो की?

मानौ, संविधानसभा फेरी पनि असफल भयो रे ! नागरिकले गर्न सक्ने कामना यतिमात्र हो की संबिधानसभा यसपाली असफल नहोस् ।

तीन दलका तीन नेताको बोली, व्यवहार र कर्म टुलुटुलु हेरेर बस्न बाध्य नागरिकले अरु केही गर्न नसकेपछि चुनावसम्म त अवश्य कुर्नेछन् ।

कार्यसूची बिना संविधानसभाको बैठक बसाईरहे, संसदीय दलका नेता बन्न हानथाप गरिरहे, प्रधानमन्त्री र सरकार बन्न लडिरहे, पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न नसके, आजिवन सत्ता र शक्तिको वरीपरि घुमिरहे, सभासदको भत्ता पचाईरहे, जनताका अपेक्षालाई अवमुल्यन गरिरहे, अपराधको राजनीतिलाई प्रस्रय दिईरहे, इमान र विवेकलाई पैसामा साटिरहे र पुरा गर्न नसक्ने कुरामा सक्छौ भनेर रटान लाइरहे भने अब हुने निर्वाचनपछि अहिलेका तीन दलको अबस्था कस्तो होला? तीन नेताको स्थान कहाँ होला? तीन दल र तीन नेताको भबिष्यको बारेमा चिन्ता नलिउँ भन्दाभन्दै पनि मनले नमानेपछि यति कुरा लेख्न बाध्य हुनुपर्‍यो । नेताज्यूहरु हेक्का राख्ने की !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service