खबर नबन्ने खबरहरू

By Binaya Guragain

यात्रामा कल्पनै नगरिएका अनौठा घटना हुन्छन् । नदेख्नुपरे हुन्थ्यो भन्ने कामना गरिएका कतिपय घटना तथा व्यवहार देखिन्छन् । नभेट्दा पनि हुने मानिस भेटिन्छन् । समूहमा हिँड्दा कहिलेकाहीँ आफुलाई जान मन नलागेको ठाउँमा जानुपर्छ । मन नपर्दा नपर्दै अरुका लागि केही खानुपर्छ । हालै मध्यपश्चिम नेपालको यात्रा क्रममा देखिएका केही रमाइला र केही खल्ला घटना र परिवेशका टुक्रालाई एकै ठाउँ जम्मा पार्दा यो लेख तयार भएको हो। 

आँखै अगाडि घुस

नेपालगन्जबाट ३ किलोमिटरजति दूरीमा पर्छ जमुनिहा नाका, जसलाई पार गरेपछि पुगिन्छ रुपैडिया । भारतीय सीमाको बजार रुपैडियामा नेपालभन्दा केही सस्तो दाममा खाद्य तथा उपभोग्य वस्तुहरु पाइन्छन् । त्यही भएर नेपालगन्ज आसपासबाट बाह्रैकाल किनमेल गर्न रुपैडिया जाने चलन छ। 

काठमाडौंबाट कामकै सिलसिलामा नेपालगन्ज जानेहरू पनि एकचोटि रुपैडिया पुगेकै हुन्छन् । दुईचारथरी सामान किनेरै फर्कन्छन् । मानिसको ओहोरदोहोर र कारोबार परिमाण, दुवै कारणले व्यस्त यो भन्सार नाकामा दुवैतर्फका सुरक्षाकर्मी व्यस्त देखिन्छन् । पैदल यात्री, साइकलमा ओहोरदोहोर गर्ने स्थानीय बासिन्दा, खुद्रा व्यापारी र कर्मचारीहरू सुरक्षाकर्मीले सतर्कता बढाउनेबित्तिकै सजिलै उम्कन सक्दैनन् । स–साना प्लास्टिकका झोलादेखि ठूल्ठुला बोरासमेत खानतलासीमा पर्छन् । खानतलासीका नाउँमा सोझासिधालाई थर्काएर पैसा असुल्ने र नाकालाई कमाई खाने भाँडो बनाउने यथार्थताबाट अछुतो छैन जमुनिहा नाका पनि। 

२०७० असार २९ गते । शनिबार । हामी रुपैडिया पुग्नै लागेका थियौं । एकजना महिला दुइटा बोरामा केही सामान बोकेर नेपाली सीमाबाट अलिक वरै आइसकेकी थिइन् । प्रहरीले उनलाई रोक्यो। जाँचका लागि महिला प्रहरी नै खटिइन् । महिला प्रहरी र ती महिलाबीच केही खासखुस चल्यो । प्रहरीले बोरा छामछुम गरिरहँदा महिलाले आफ्नो ब्राभित्र हात हालिन् । हामी अलिपरै थियौं । उनले कतिपैसा झिकिन् प्रस्ट देख्न सकिएन । उनले पट्याएर सानो पारिएको नोट बोरा छामिरहेकी प्रहरीको हातमा हाल्दिइन् । प्रहरीले हतारहतार त्यो नोट आफ्नो गोजीमा हालिन् । यो सबै दृश्य हामीले देख्यौं भन्ने जब ती प्रहरीले थाहा पाइन्, उनको अनुहार कालोनिलो भयो।

हामीलाई किन पो चासो दिनु थियो, उनले कति रुपैयाँ खाएर ती महिलालाई जान दिइन् भनेर ? तैपनि उनी आत्तिएको त्यो क्षण हेर्नलायक थियो । फर्कंदासमेत उनले हामीलाई डराई–डराई हेरिरहेकी थिइन् । हाम्रो अनुमान सही थियो भने उनले कि २० रुपैयाँ घुस खाइन्, कि ५० रुपैयाँ।
 

भन्सार छल्न बालबालिकाको दुरुपयोग 

भन्सारमा दिउँसै घुस र लुटको शृंखला नौलो होइन । तथापि विभिन्न तरिकाले भन्सार छलेर अवैध धन्दा र तस्करी गर्ने गिरोहले बालबालिकालाई समेत खुलेआम प्रयोग गरिरहेको देख्न सकिन्छ रुपैडियामा। 

आफूभन्दा ठूलो साइकलमा उचाल्नै हम्मे पर्ने बोरा राखेर सुरक्षाकर्मीका आँखा छल्दै अवैध तरिकारले भन्सार कटाउन प्रयोग हुने बालबालिका धेरैजसो स्थानीय हुन्छन् । कसरी भाग्ने, कतिबेला भाग्ने उनीहरूलाई थाहा छ । पक्राउ परिहालियो भने सुरक्षाकर्मीको निर्घात कुटपिटमा परिन्छ भन्ने पनि थाहा छ । तैपनि जोखिम मोल्न तयार देखिन्छन् । उनीहरुलाई यस्तो काममा लगाउने को हुन् ? कहाँ छन् उनीहरु ? के उनीहरुकै आमाबाबुले यस्तो जोखिमपूर्ण काममा होमेका हुन् त ? बालअधिकारमा काम गर्नेहरुले समेत चासो नदिएका बालबालिकाहरु हुन् त उनीहरु?

                   

सुरक्षाकर्मीको विभेद

रुपैडियामा आफूलाई चाहिने केही सरसामान किन्ने सोच बनाए पनि म कतिसम्म सामान लाँदा भन्सार छुट पाइएला भनेर ढुक्क थिइनँ।

‘आठ जोर कुर्ता सुरुवाल लानोस्, पैसा तिराएछ भने मलाई बोलाउनू, म क्लियर पार्दिन्छु,’ रुपैडियाका एक व्यापारीले हिन्दीमिश्रित स्थानीय लवजमा मलाई यसै भनेका थिए।

पाँचजनाको समूहमा थियौं हामी । सबैले केही न केही किनेर फर्किंदा गाडीमा निकै पोकापन्तुरा थन्किएका थिए । फर्किंदा भारतीय सुरक्षाकर्मीले हामीलाई सोध्यो, ‘गाडी नम्बर दर्ता गराउनुभयो ? कहाँबाट आउनुभएको?’ योभन्दा बढी बाटोमा हामीलाई कसैले सोधेन, कसैले रोकेन । हामी चढेको गाडीलाई नेपालतर्फका सुरक्षाकर्मीले रोक्ने चेष्टा नै गरेनन् । यस्तो लाग्यो उनीहरु हाम्रो अनुहार र हामी चढेको भ्यान हेरेर हामीलाई स–सम्मान भन्सार कटाइरहेका थिए। 

‘झोलामा के छ? कति सामान छ? भन्सार छलि पो भएको छ कि? कहाँबाट आएको गाडी हो? हतियार पो छ कि? लागुऔषध पो बोक्या छ कि?’ सोधीखोजी गर्ने चासो नै थिएन उनीहरुलाई । बाटैभरि छरिएका ती सुरक्षाकर्मीका आँखा साइकल र टाँगामा खाँदिएर यात्रा गरिरहेका स्थानीय यात्रुमा थिए, जसलाई उनीहरु भन्नेबित्तिकै रोक्न सक्थे र गैरकानुनी तरिकाले गोजी भर्न सक्थे ।
नेपालप्रहरी र सशस्त्रको यस्तो व्यवहारबाट म घोत्लिँदै थिए, ‘तस्करी गर्नलाई त सुकिलामुकिला हुनुपर्ने रहेछ प्रहरीको आँखै नलाग्ने।’
 

च्याउ बेचेर पढाइ खर्च 

पूर्व–पश्चिम राजमार्गको कोहलपुर–लमही सडक खण्डमा यात्रा गर्दा यो समयमा प्रशस्तै देखिने एउटा दृश्य हो, प्लास्टिकको झोला हातमा झुन्डाएर गाडी रोक्न इसारा गरिरहेका बालबालिका ।

यही असार २६ गते हामी नेपालगन्जबाट लमही जाँदै थियो । बाटोमा ठाउँठाउँमा यस्ता दृश्य दोहोरिएपछि कुसुमनजिकै हामी रोकियौं । हातमा प्लास्टिक हल्लाउँदै दुईजना केटाकेटी हामीनजिक आए। उनीहरुले बोकेको प्लास्टिकको झोलामा च्याउ रहेछ । झन्डै आधा किलोजति च्याउलाई एकजनाले ६० रुपैयाँ भने । हामीले ५० तिरेर किन्यौं।

बेच्नेमध्ये एकलाई सोध्यौं, ‘यो पैसाले के गर्छौ?’

उनले सहज र सरल जवाफ दिए, ‘कलम र कापी किन्छौं।’
 

‘एकदिनमा कति बेच्छौ?’ 

‘एक–डेढ सय रुपैयाँ कमाइ हुन्छ।’ 

जंगलमा पाइने च्याउ टिपेर बेच्ने उनीहरुले त्यही पैसाबाट कापी र कलम किनेर पढाइ खर्च जुटाइरहेका रहेछन् । हरेक वर्ष उनीहरु यसरी नै पढाइ खर्च जुटाउँछन् । उनीहरुको मिहिनेतले अभिभावकलाई समेत राहत दिएको छ । फुर्सद र बिदाका दिन यस्तो काम गर्ने र अरु दिन स्कुल जाने ती बालबालिकाले यसरी नै मिहिनेत गरिरहने र कामलाई सम्मान गर्ने बानी नभुलून्।

 

सुरक्षा चेकपोस्ट सुरक्षाकर्मीको व्यवहार

पूर्व–पश्चिम राजमार्गकै कोहलपुर दाङ खण्डमा राजमार्ग र निकुञ्ज सुरक्षाका लागि तीन चेकपोस्ट छन् । एउटा सशस्त्रको र दुइटा नेपाली सेनाका । यस्तो ठाउँमा सुरक्षा जाँच गरिनुपर्छ भन्नेमा कसैको दुईमत हुन्न । को कहाँ जादैछ? कति नम्बरको गाडी कता गयो ? यस्ता तथ्यांक राखिनुपर्छ।

सवारी साधनमार्फत् कुनै अवैध कार्य वा तस्करी पो भइरहेको छ कि भनेर जाँच्ने काम सराहनीय छ । सुरक्षाका लागि स्थापना भएका चेकपोस्टका सुरक्षाकर्मीको व्यवहार भने सम्मान गर्न लायक पाइँदैन । ठाडो शैलीमा उनीहरु प्रायः सबैलाई चारवटा प्रश्न सोध्छन्, ‘कहाँजाने? कहाँबाट आएको? झोला कसको? झोलामा के छ?’ 

सवारी साधनमा एक फन्को लाउँछन् । जे जवाफ सुन्यो, त्यसैमा चित्त बुझाउँछन् । झोला खोलेर पनि हेर्दैनन् । अनि चालक वा सहायकलाई हप्काउँदै भन्छन् ‘दर्ता गरेर जा।’ 

उनीहरुको व्यवहार हेरेपछि र बोली सुनेपछि भन्न मन लाग्छ के सुरक्षाकर्मी हुँदैमा नरम तरिकाले बोल्नै हुँदैन? बाटोमा हिँड्नेहरुलाई हप्काउने शैलीमा, तर्साउने गरी केरकार नै गर्नुपर्छ? हाँस्न सकिदैन र? अनुहारमा अलिकति हाँसो ल्याएर बोल्दा के जान्छ?

मलाई लाग्छ त्यसो गरे उनीहरुलाई यात्रुले गर्ने सम्मानको स्तर नै बढ्छ । फाइदै हुने काम गर्न पनि हाम्रा सुरक्षाकर्मी दाजुभाइलाई किन इच्छा नजागेको होला?

 

महंगा होटल, सस्ताव्यवहार

हिजोआज सहरमा आधुनिक, सुविधासम्पन्न महंगा होटल थपिएका छन् । आतिथ्यसत्कारमा तालिमप्राप्त, दक्ष व्यावसायिक जनशक्ति सहरमा खुलेका होटलहरूमा पाहुनालाई स्वागत सत्कार गर्न तयार भएर बसेका हुन्छन् । तर सबै नेपालीको त्यस्तो हैसियत छैन कि उनीहरु सहर र गाउँकै कुनाकाप्चामा खुलेका महंगा रिसोर्टमा बस्न सकून्।

विभिन्न सामाजिक र व्यापारिक कामको सिलसिलामा मानिसको ओहोरदोहोर दिनानुदिन बढिरहेको छ । यसको प्रत्यक्ष फाइदा लुटिरहेका छन् होटल व्यवसायीले । महंगा र आधुनिक होटल त व्यावसायिक भए नै, नाफा पनि प्रशस्त कमाइरहेका छन्, तर सानातिना र मझौला होटलले आफ्नो व्यापार व्यवसाय धान्न र ग्राहक आकर्षित गर्न चुकिरहेका छन् । साना तथा मझौला होटलको यस्तै कमजोरीका कारण नेपालगन्ज र आसपासका जिल्ला सदरमुकामका महंगा होटल मात्तिएर होला, यात्रुप्रति रुखो व्यवहार गर्न चुक्दैनन्।

उदाहरणका लागि, अत्यावश्यक भइसकेको इन्टरनेटलाई ग्राहकको सहज पहुँचमा पु¥याउन, कार्यक्रम गर्दा हलको छुट्टै र महंगो भाडा लिन, कर लिएबापत सुविधामा कञ्जुस्याई गर्न महंगा भनिएका होटलहरु नै अगाडि छन् । यसलाई उनीहरुको सस्तो व्यवहार नभनेर के भन्ने?

 

- Originally published at : http://setopati.com/blog/2498/#sthash.SRfLtxcE.dpuf

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service