हामी किन आलोचना सुन्न सक्दैनौ?

विनय गुरागाई 

जब मैले एउटा भनाई सुनें त्यो मलाई खुबै मन पर्नथाल्यो । आफुलाई धेरै मन परेकोले होकी हिजोआज त्यो भनाई अरुले पनि सुनुन् र मनन गरुन भन्ने चाहना बढी नै हुन्छ । मुल भनाई अंग्रेजीमा यस्तो छ,  'If you don't like something, Change it. If you can't change it, change your attitude. Don’t Complain', अर्थात यदी तपाईलाई कुनैकुरा मन पर्दैन भने त्यसलाई बदल्नोस् । यदी बदल्न सकिदैन भने आफ्नो मनोबृत्ति बदल्नोस् । तर आलोचनामात्र नगर्नोस् । यो भनाई कस्को हो? जुनसुकै बिषयमा असंख्य उक्ति र कहिल्यै नाम नसुनिएका प्रबद्र्धकका उक्तिप्रति मलाई कहिल्यै रुची भएन । तर माथिको भनाई कस्ले, कुन प्रंगगमा भनेको भन्ने थाहा नहुँदानहुँदै पनि त्यसको मर्म गम्भिर लाग्यो, लागिरहेको छ । कतिपय अबस्थामा जीवन बदल्न आफैलाई घच्घच्याउँने अस्त्र झै बनेको छ । 

तारिफ सबैलाई मनपर्छ । आलोचना गर्न र तारिफ सुन्न सजिलो छ । तर आलोचना सुन्न साह्रै कठिन । हामी हत्तपत्त कसैको तारिफ गर्दैनौ । जुनसुकै बिषयमा आलोचना गर्न हामी पछि हट्दैनौ । तारिफ सजिलै पच्छ । आलोचना पचाउन सकिदैन । सामाजिक सञ्जालमाथि सहज पहुँचले हामी आलोचक बढी प्रशंसक कम छौ भन्ने बुझ्न खोज्नेलाई सजिलो बनाईदिएको छ । एउटा रोचक प्रसंगबाट कुरा अघि बढाँउ । कुनै गाउँमा फुटबल हुने भएछ । फुटबलको उद्घाटन मन्त्रिबाटै गराउनुपर्ने भो । खेलकुद मन्त्रिले आयोजकको प्रस्ताव स्विकारे । मन्त्रिले उद्घाटन गरेपछि खेल शुरु भयो । खेल सकियो । मन्त्रिले नै समापन गर्नुपर्ने भयो । पुरस्कार बाँड्नु अघि आयोजकले मन्त्रिलाई मन्तब्य राख्न मञ्चमा डाके । खेलाडीको तारिफ गर्दागर्दै मन्त्रिले बडो भाबुक भएर भन्नथाले, ‘हेर्नोस खेलाडि मित्रहरु, आज तपाईहरु २२÷२२ जना जाबो एउटा भकुण्डोको पछि कुद्नु भयो । मलाई साह्रै लज्जाबोध भयो । म यहाँबाट फर्किने बित्तिकै तपाईहरुका दुःखका दिन सकिनेछन् । म तपाईहरु सबैलाई एक एकवटा भकुन्डो पठाईदिनेछु । अनि सबैले आआफ्नो भकुन्डो लिएर फुटबल मैदान छिर्नुहोला । त्यसपछि कसैले पनि एउटा बलको लागि लड्नुपर्ने छैन । तपाईहरुको दुःखको दिन सकिनेछ ।’

बिकृती नभएको समाज परिकल्पना बाहिरमात्र सम्भव छ । बिकृती भएर नै त्यसलाई औल्याईन्छ । बिकृती औल्याउनका लागि सबभन्दा शसक्त तरिका त्यसको सिर्जनात्मक प्रस्तुती नै हो । लेखन सिर्जनात्मक अभिव्यक्तिको शसक्त बिधा हो । फरकफरक रुपमा अभिव्यक्त लेखनले समाजमा बिद्यमान बिकृतीप्रति औला ठड्याउन सकेन भने त्यस्तो लेखन निरस हुन्छ । सामाजिक बिकृती र बिसंगतीप्रति सुधारको अपेक्षासहितको लेखनले आमचासो बटुल्नु अस्वभाविक हुदैन । बिकृती जहाँसुकै छ । तर लेखकले बिकृतीका कारक तत्वसम्म नपुगिकन सतही रुपमा सूचना बाहिर ल्याँउदा उसको हबिगत माथि उल्लिखित मन्त्रिको जस्तै नै हुन्छ । बिधा जुनसुकै होस्, हिजोआज हाम्रो अखबारी र अनलाईन लेखन त्यस्तै छ । लेखकले जुनक्षेत्रको बिकृती बाहिर ल्याएको छ त्यसैलाई टेकेर सवाल जवाफ उत्रिने प्रबृत्ति बढेको छ । हुट्टीट्याउँले सगर थाम्दैन तर मैले नै गर्दा आकाश झर्न सक्दैन भन्ने महशुष गरेजस्तै एकादुई असलले बिकृतीको खिलापमा उत्रिदाँ भएको बिसंगती कम हुदैन । जुनकुनै सवालमा सामाजिक सञ्जालमा हरेक दिन जसो हुने मनोरञ्जनात्मक बहसलाई नै हेरेपुग्छ ।

हरिबंश आचार्यदेखि पुष्कर शाहसम्मका किताबले बजारमा राम्रै चर्चा पाए । आचार्य, चौधरी, शर्मा, नेपाल, झा, कटुवाल र शाहसम्मका पुस्तकले सञ्चारमाध्यममा जुन चर्चा पाए त्यस तुलनामा पुस्तकहरुबाट पाठकले आफ्नो चेतनास्तर उकास्ने कुनै गतिलो खुराक पाउन सक्दैनन् । सचेत पाठकको आँखामा उल्लिखित पुस्तकहरु बिश्वबिद्यालय तथा कुनै अनुसन्धानकार्यका लागि गतिलो अनुसूचि बन्ने सम्भावना ज्यादै न्युन छ । आत्मरति र अभिमानले भरिएका पुस्तकहरुको चर्चा, प्रसंसा र आलोचना सुन्दा र पढ्दा लाग्छ हामी २२ जना खेलाडिलाई २२ वटै बल राखेर फुटबल खेलाउने मन्त्रिभन्दा कम छैनौ । नेपाल बनाउन कहिल्यै सिन्को नभाँचेकाहरुसँग नेपाल किन बनेर भनेर बहस गर्न वा उनीहरुको सैद्धान्तिक कुरा सुन्न जत्ति मज्जा हुन्छ कामै गरेर नेपाल बनाउन, सल्लाह दिएजति सजिलो छैन । अब्यवहारिक बौद्धिक सल्लाह र अलाप रातदिन नभनि काम गर्ने श्रमिक र किसानको अपमान सिवाय केही हुन्न ।

हामी किन बढी आलोचक छौ? किन बढी दार्शनिक छौ? किन दर्शनलाई व्यवहारमा उतार्न असफल छौ? किन आलोचनालाई सुझावको रुपमा ग्रहण गर्न सक्दैनौ? यसका पछाडि पनि कारण हुन्छन् । हामी कस्तो पृष्ठभुमिबाट आएका हौ भन्ने कुराले हाम्रो आचरण निर्धारण गर्न सहयोग गर्छ । हामीसँग भएको ज्ञान र सीप व्यवहारका रुपमा स्पष्ट देखिन्छ । तर व्यवहारलाई के ले निर्देशित गर्दैछ भन्ने कुरा बुझ्नलाई व्यक्तिको मनोभावना के बाट प्रभावित भैरहेको छ वा हुन्छ भन्ने कुराको गहिराईसम्म गएर बुझ्नु पर्ने हुन्छ । हामी जन्मे हुर्केको परिवार, छरछिमेक, समाज, शैक्षिक वातावरण, चालचनल, धर्म, संस्कृती, परम्परा, मुल्य, मान्यता, साथिसंगत र उठबसले हाम्रो मनोबृत्तिलाई प्रभाव पार्छ । हामीले सजिलै गर्ने तर पटक्कै सुन्न र पचाउन नसक्ने आलोचनाको सम्बन्ध हाम्रो मनोबृत्तिसँग सम्बन्धित छ । जी, हजुरी प्रकारको समाजमा हुर्के बढेको अग्रज र हाम्रो पुस्ताले सहजरुपमा स्वस्थ आलोचना पचाउन सक्दैन । आलोचनालाई अपमानको रुपमा लिन्छ । जतिसुकै बैचारिक स्वतन्त्रता र बिबिधताको राग जपेपनि फरक बिचार स्विकार्य हुन समय लाग्छ । आलोचना वा फरक बिचारले समाधान र सहकार्यलाई बढावा दिइरहेको हुन्छ भनेर बुझ्न हामीकहाँ समय लागिरहेको छ । आलोचना स्वभाविक हो, यो सुधारका लागि अपरिहार्य हो भन्ने बुझ्नलाई नै समय लागिरहेको अहिलेको अबस्थामा अपेक्षित सुधार नभएसम्म हाम्रा लागि आफु ठिक अरु बेठिक भइ नै रहन्छन् ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service