गोरखा डायरी

विनय गुरागाई

जेठ २८ गते। भुइँचालो गएको ठीक ४९औं दिन। काफल पाकेको सन्देश बोकेर जंगलबाट गाउँ पसेको चरोले गुड मर्निङ अलार्मको काम गर्न थालेको थियो। 
 
जमिन हल्लिएको महसुस भएपछि झस्कँदै उठ्दा पो चेत खुल्यो। एउटा टेन्टमा सहयात्री मनोज र म रहेछौं। टेन्ट गाडेको बारीको पाटोमाथि डोजरले बाटो सम्याउँदै रहेछ। 
 
त्यसैको कम्पनले जमिन हल्लिएको हो भन्ने बुझेपछि मन शान्त भयो। गोरखा बसाइको पहिलो रात कष्टदायी थियो। ढिलोगरी बिहान ब्यूँझिनुपर्ने कारण रातभरिको डर नै थियो।
 
वैशाख २७ गते साँझदेखि गोरखाबजार आसपासमा पानी पर्न थाल्यो। आकाश कालोनीलो हुँदै थियो। डाँडाका टुप्पाबाट सुरु भएको कुहिरोले बेँसी नै घप्लक्क छोपेको थियो। 
 
जति राति हुन थाल्यो पानीको मात्रा बढ्न थाल्यो। आकाश कड्किन थाल्यो। आँखैको ज्योति गुम्ने गरी बिजुली चम्किन थाल्यो। जति पस्ट बिजुली त्यति ठूलो आवाज। त्यो पनि कानैमाथि।
 
अनि दर्के पानी। टेन्टको सुताइ। सहयात्रीमध्ये तीनजनाले होटेलको सग्लो रुम पाएका थिए। हामी भने होटेलले नै उपलब्ध गराएको टेन्टमा गुडुल्किएका थियौं। न निदाउन सकिन्छ न त सुत्न गाह्रो भो भन्दै कतै जान। 
 
बिलखबन्दमा पर्नु भनेको यस्तै रहेछ। डराएरै टेन्टमा रात बिताएको त्यो मेरो पहिलो अनुभव थियो।
 
सायद रातभरिको डरले लोलाएका आँखाले बिहानमात्र विश्राम लिन चाहे। ब्यूँझँदा स्थानीयवासीको दैनिकी सुरु भइसक्नुको कारण बल्ल थाहा भयो।
 
वैशाख २८ गतेको पहिलो गन्तव्य थियो पोस्लाङ। गोरखा नगरपालिका वडा नम्बर ४। त्यो दिन बिहान पानी पर्न रोकिएको थियो तर बाटो हिलो थियो। रातो माटो, त्यसमाथि हिलो।
 
हामीसँग भएको गाडी एउटा निश्चित बिन्दुमा पुगेपछि अगाडि बढ्न मन गरेन। १० मिनेटको पैदल दूरीमा छ पोस्लाङ। स्थानीय सहयोगीलाई पत्याएर हामी हिँड्यौ।
 
गन्तव्यमा पुग्दा लगाएको जुत्ता गह्रुँगो हुन थाल्यो तर खुट्टा गलेर हैन। जुत्ता र रातो माटोको प्रेम गाढा भइसकेको रहेछ अर्थात् जुत्ताभरि रातो माटो। पाँचजना सहयात्रीको हालत पनि उस्तै थियो।
 
पोस्लाङमा ५८ घर छन्। होमस्टे सुरु भएपछि पोस्लाङको चिनारी फेरिएको छ। होमस्टेका लागि बुटवलबाट आएको एउटा ठूलो समूहलाई पोस्लाङले खुसीसाथ बिदा गर्‍यो। 
 
पाहुना बिदा गरेपछि स्थानीयले खर्च र आम्दानीको हिसाब गरे। सबै खर्च कटाएर एकजनाको भागमा सात आठ सय नाफा पर्‍यो। पोस्लाङवासीको मन उज्यालियो, विशेषगरी महिलाको। त्यो रात ढुक्कले निदाएँ। भोलिपल्ट शनिबार।
 
जागिरे लोग्नेमान्छेहरू पनि त्यो दिन घरमै। अरू दिनभन्दा ढिलै सुरु भयो पोस्लाङवासीको दैनिकी। सबै खुसी थिए। होमस्टेलाई प्रवद्र्धन गरेर गाउँको मुहार फेर्ने योजना हरेकका मुखमा झुन्डिएका थिए।
 
उद्योग वाणिज्य संघ गोरखाको सहयोगमा सुरु भएको होमस्टेलाई अझ व्यवस्थित बनाउन संघसँग निरन्तर सहकार्य गर्नुपर्ने विषयमा पनि उनीहरूले घरघरमा अनौपचारिक विचार साटासाट गरे। उनीहरूले अगाडि खुसी र उज्यालोमात्र देखे अर्थात् सुन्दर भविष्य।
 
१२ बज्नै लागेको थियो। खानपिन सकेर घरबाहिर मुडामा बसेकी अस्मिता रानामगर भुइँमा पछारिइन्। जाँडरक्सीसमेत नखाने, निरोगी अस्मिताका आँखा तिरमिराए। घरहरू हल्लिन थाले। 
 
मलाई किन रिँगटा लाग्यो होला भन्ने अनुमानसमेत लाउन नपाउँदै घरभित्रबाट सासू र १३ वर्षकी छोरी भुइँचालो भुइँचालो भन्दै बाहिर निस्के। अस्मिता लडखडाउँदै उनीहरूको पछिपछि लागिन्। एकैछिनमा सबैतिर धुलैधुलो। 
 
साढे १२ नबज्दै उनीहरूको सपना धुलोसँग उड्न थालेको थियो। छिमेकमै एक महिनाको बच्चालाई भुइँचालोले लग्यो। गाईबस्तु, भैंसी पुरिए। 
 
अस्मिताको घरसँगै जोडिएको घरमा पाँच वर्षीया छोरीकी आमा किचिइन्। बच्चालाई चोटमात्र लाग्यो। आमालाई भने बचाउन सकिएन। हेर्दाहैर्दै एकादुई सग्लाबाहेक बस्तीका ५८ घर खण्डहर भए। 
बस्ती धुलाम्य भयो। एकछिनअगाडि देखेको मीठो सपना अर्थात् होमस्टेलाई धूलोले उडायो। गाउँमा पानी नपरेको महिनौं भएको थियो। तर पोस्लाङवासीका आँखा त्यसयता रसाइरहे।
'राज्‍यले दिने तत्काल र दीर्घकालीन सहयोग पाउने बेलासम्‍म  बाँच्‍ने मुस्किल छ',  दुई घन्‍टाको भलाकुसारीमा यसो  भन्‍ने पोस्लाङबासी बिमला राना कुराकानी गरुन्‍जेल रोई नै रहेकी थिइन्। 
वैशाख १२ को विनाशकारी भूकम्पको ४ औ दिनमा पनि पस्लाङ शोकमै डुबेको छ। सपनाहरू छन् तर तिनलाई विपना कसरी बनाउने होला भन्ने सोच्दासोच्दै उनीहरू अत्तालिएका छन्। 
 
अन्योल छ। आम्दानीका स्रोतहरू छैनन्। लोग्नेमान्छेहरूको सामान्य जागिरबाहेक स्थानीय महिलाको आम्दानीको मुख्य उपाय त्यही होमस्टे थियो। अब होम नै छैनन्, होमस्टे त परको कुरा भयो। 
 
निराशाका स्वरहरू जताजतै सुनिन्छन् पोस्लाङमा। तर पनि आशावादी पनि त्यही छन्। शोकलाई शक्तिमा बदल्नुपर्छ भन्दै ढाडस दिनेहरू पनि त्यही छन्। उनीहरू सहयोगका लागि राज्य र उद्योग वाणिज्य संघसँग सम्पर्कमा छन्। 
 
तर सहयोग आश्वासनमा सीमित छ। राहतका नाममा आएका बिस्कुट, भुजा, चिउरा सकिइसकेका छन्। पालमुनि भाटाले बारेर कहिलेसम्म चल्ला? रातभरि पानी पर्‍यो। वर्षा लाग्यो। 
 
ओत लाग्न मुस्किल। कहाँ जाऊँ? कसलाई भनौं? राज्यले दिने तत्काल र दीर्घकालीन सहयोग पाउने बेलासम्म बाँच्नै मुस्किल छ।
 
दुई घन्टाको भलाकुसारीमा यसो भन्ने पोस्लाङवासी विमला राना कुराकानी गरुन्जेल रोई नै रहेकी थिइन्। वैशाख २८ गते मध्याह्न। 
 
जिल्ला प्रशासन कार्यालय गोरखा। मान्छेको घुइँचो थियो। 'आज त अलिक कम हो', स्थानीय गोरखा एफएमका नरेन्द्र ढकालले भने। 
 
मान्छेको भीड छिचोल्दै प्रजिअ कार्यालयको ढोकामा पुग्दा प्रजिअ बाहिर भन्ने संकेत झुन्डिएको थियो। भर्‍याङमाथिको गाह्रो दुई चिरा परेको। 
 
त्यसैले प्रजिअ उद्धव तिमल्सेना आडैको जिविस कार्यालयमा बसेर काम गर्दा रहेछन्। 'कहाँबाट यो लावालस्कर?', प्रजिअको पहिलो प्रश्न हामीलाई नै थियो। 
'जनप्रतिनिधिमात्र पनि थिए भने अहिले मैले यो हैरानी खेप्नुपर्ने थिएन', जग्गा मिचेदेखि घर भत्कियो, राहत पाइनँ भन्नेसम्मका गुनासा बोकेर आउनेको भीडमा घेरिएका प्रजिअको भनाइबाट स्थानीय निर्वाचनको महत्त्व अनुमान लाउन सकिन्थ्यो। 
 
बालबालिका संरक्षणमा चासो देखाउने एनजीओदेखि राहत बाँड्न आएका आईएनजीओका प्रतिनिधिसमेतलाई समय दिनुपर्ने बाध्यताले थकित थिए त्यो दिन पनि। व्यस्तताले हायलकायल।
 
जिल्लामा भूकम्पपीडितलाई परिचयपत्र बाँड्ने काम सकिनै लागेको, पीडितहरूले जस्तापाता तथा आवश्यक राहतका लागि जति बेला पनि आफूलाई भेट्नसक्ने जनाउ दिने प्रजिअसँग विकासप्रतिको लगाव भने उल्लेख्य पाइयो। 
 
'म २० वर्ष स्थानीय विकास अधिकारी भएको हुँ। त्यसैले म विकासप्रेमी प्रजिअ हुँ। यसले मलाई सहयोग पनि गरेको छ', यति धेरै प्रजिअ सरुवा हुँदा तपाईं कसरी बाँच्नुभो भन्ने प्रश्न भुइँमा झर्न नपाउँदै प्रजिअ तिमल्सेना खुले, 'जहाँ गए पनि भूकम्प प्रभावित जिल्लामै जाने हो। 
 
मलाई अहिले यहीँ ठीक छ। मैले राज्यका तर्फबाट तत्काल हुन नसक्ने सहयोग आईएनजीओसँगको सहकार्यमा प्रभावित ठाउँसम्म पुर्‍याएको छु। 
 
एकद्वार प्रणालीमार्फत सबै कुराको जानकारी र रेकर्ड भएपछिमात्र राहत वा सहयोग प्रभावितसम्म पुगेको छ। पुग्नेछ पनि। कानुन र प्रक्रिया नमान्नेलाई भने म छोड्दिनँ।'
 
यसो भन्दै गर्दा 'पाँचजना बालबालिकाको उद्धारमा सहयोग पुर्‍याउनु पर्‍यो' भन्दै निवेदन बोकेर आएका एक युवक प्रजिअको झम्टाइमा परिहाले। 
 
बालकेन्द्रको नियमको कुरा गरिरहेका ती एनजीओवालालाई प्रजिअले भनिहाले, 'यहाँ तपाईंको एनजीओको नियम चल्दैन, नेपाल सरकारको नियम चल्छ। तपाईंले भनेको होइन, मैले भनेको हुन्छ यहाँ।'
 
यस्ता कुरा सुनिरहेका अरू सेवाग्राही पनि कोही उत्सुक, कोही सशंकित र कोही डराइरहेका भान पथ्र्यो। प्रजिअले प्रतिबद्धता जनाए, 'वर्षा नलाग्दै हामी पीडितको स्थायी पुनर्वासको व्यवस्था मिलाइसक्या हुन्छौं।'
 
आधा घन्टा हामीसँग कुराकानी गर्दा प्रजिअको ढोकामा ठूलै भीड लागिसकेको थियो। साँधसीमा मिचिएका मानिस पनि सीधै प्रजिअसँग गएर न्याय मागिरहेका थिए।
 
सुरुमै एकजना धम्मरधुसे जुँगे हबलदारले प्रश्न तेर्स्याए, 'के काम थियो तपाईंहरूको?' जुँगे सुरक्षाकर्मीलाई उत्तर दिनु जरुरी थिएन। हामी गोरखा नगरपालिकाको आँगनमा थियौं। 
 
आँगनको एक छेउमा टिनको छानाले छोपिएको थियो। छानामुनि टेबल, कम्प्युटर र कर्मचारी। भूकम्पपछि नगरपालिका घरभित्रबाट बाहिर सरेछ। 
 
नगरपालिकाकी कार्यकारी अधिकृत चन्द्रा थापामगरले मुख खोलिन्, 'सबैभन्दा पीडित त म पो हो त।' उनी भर्खरै लोकसेवा पास गरेर गोरखा नगरपालिका आएकी थिइन्। 
 
'भूकम्पले भवन हल्लायो। बस्न नमिल्ने छ। त्यही भएर हामी यता चौरमा। यसरी काम गर्न थालेको महिनौं भयो। कामको चापले विकल्प खोज्न पाइएको छैन', उनी खुलेरै बात मार्न अघि सरिन्।
 
सरकारले प्रतिवडा दुईलाख रुपैयाँ दिने भयो। एक महिनामा खर्च गर्नुपर्ने त्यो रकम। हामीले झन्डै पचास लाख खर्च गर्‍यौं।
 
तीस लाख सञ्चिति कोषबाट, बीस लाख ऋण। धन्य हामीसँग पैसा थियो र पीडितलाई सहयोग गर्न सक्यौं। पीडित पहिचान गरी जिल्ला दैवीप्रकोप उद्धार समितिमा सिफारिस गर्नु हाम्रो मुख्य काम हो। 
 
त्यो अझै सकिएको छैन। राहत र सहयोग भनेपछि मान्छेहरू लोभिएका छन्। लोभी पहिचान गर्नसमेत मुस्किल छ। अरू पीडितलाई सहयोग गर्दागर्दा आफू पीडित भएको बिर्सिनु परेको छ।'
 
 
'मलाई सन्तानको माया भन्ने फिल्ममा भिलेन बनेर राजेश हमाललाई चड्कन हान्न मन थियो तर मलाई निर्देशकले झाँक्रीको भूमिका दिए', अघिदेखि नेपाल र त्रिपालको गफ दिइरहेका ती जुँगे हबलदार कलाकारसमेत रहेछन्।
 
बोल्दाखेरि मुखबाट आवाजमात्र निस्कन्नथ्यो, हाउभाउसमेत निकालेर बोलीलाई लोभलाग्दो बनाउने कला देख्दा यो मान्छे किन यहाँ भन्ने त लागेको थियो। उनी साँच्चिकै कलाकार रहेछन्। नेपाली सेनाको अवकाशप्राप्त सिपाही। नगरपालिकाको सुरक्षागार्ड। 
 
उनले रोचक शैलीमा भने, 'के गर्नु? नियतिको खेल।' गोरखामा रेडियोहरू घरबाट खुला चौरमा पुगेका छन्। त्रिपालबाट चलिरहेको रेडियो गोरखाले जेठ २८ गते समाचार बजाउन सकेन। 
 
कारण दर्के पानी। मेघ गर्जनसहित परेको पानीले रेडियोको समाचार प्रसारण रोकिदियो। समाचार भनौं, पालमाथि परेको दर्के पानीको आवाजसमेत रेडियोमा पुग्थ्यो।
 
त्यसैले अघिल्लो साँझ र त्यो साँझ रेडियोले समाचारको ठाउँमा गीत बजाएर चित्त बुझायो। रेडियोकर्मीमा काम गर्ने उत्साह मरेर गयो। तैपनि रेडियो त चलाउनु नै थियो चल्नका लागि।
 
राहत माग्ने र बाँड्नेको जमघटले वैशाख १२ यता गोरखाबजारमा भीडभाड बढेको छ। होटलहरू चर्किएका छन् तर खाली छैनन्। बजारबाट पाँच किलोमिटर माथि डाँडामा रहेको होटल वृन्दावन धेरैको रोजाइमा पर्ने रहेछ। 
 
भएका कोठामा पाहुना नअटेपछि होटलले टेन्टको व्यवस्था गरेको छ। टेन्ट पनि कहिल्यै खाली हुँदैनन्। यसो भन्दा होटल सञ्चालकको मुहारमा अनौठो खुसी चम्केको देख्न सकिन्थ्यो।

The diary was first published in अन्नपुर्ण पाेष्ट दैनिक

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service