एकसय बर्ष बाँच्न मन छ

By Binaya Guragain
बिद्यालयमा पढेको, मान्छेको वास्तविक उमेर ४० बर्षमात्र हुन्छ भनेर । त्यसपछि गधाको २० बर्ष, गोरुको २० बर्ष र लाटोकोसेरोको २० बर्ष सापट लिएर थपथाप गर्दा मान्छेको उमेर १०० बर्ष पुगेको रे । सुनिदै आएका यस्ता अपत्यारिला दन्त्यकथाको पक्ष-बिपक्षमा घोत्लिनु यो लेखको आसय हैन । मान्छेको आयु सकिनै लाग्यो र पनि मलाई १०० बर्ष बाँच्न मन जागेकोछ । यसका पछाडि केही कारणहरु छन् । ती हुनः 

एकः पञ्चायतको उत्तरार्द्धतिर गाउँघरमा रातीराती हिड्ने, कोठाबन्द गरेर रातभर गुनगुन गर्ने, उज्यालो नहुदै अर्को ठाउँ सर्ने र ठाउँ सर्दा पर्चा, पम्प्लेट, पुस्तक वा केही न केही चिनो छोडेर जाने मानिसहरु देखे भेटे पनि मैले उनीहरु को हुन् र किन यसो गर्छन् भन्ने कुरा बुझ्न ४६ साल नै कुर्नुपर्यो । बुबाका अनुसार कैयौपटक आफ्नै घरको पालीमा देखिएका ती मान्छेहरु कम्युनिष्ट थिए रे । ४६ साल चैत २६ गते बहुदलको घोषणापछि बिद्यालय नजिकैको एक घरको ढोकैमाथि एउटा हाते पर्चा टाँसिएको थियो । त्यसमा लेखिएको थियो ‘नेकपा माले’ । त्योबेलासम्म मलाई 'माले' भन्ने गोरुको नाममात्र हुन्छ भन्ने थाहा थियो । बाल्यकालमा मेरो बालमस्तिष्कलाई बिचलित बनाएर रातीराती हिड्ने ती कम्युनिष्टहरुमध्ये एउटा घटक रहेछ नेकपा माले । ४६ सालपछि एकाएक गाउँको माहौल बद्लीयो । गाउँका अग्रजहरु प्रधानपञ्च हुदाँ खसी काटेर भोजभतेर गर्दै नाराजुलुस लाउँदाका दिनहरु एकाएक बद्लीए र गाउँघरमा नारा चर्किए ‘पञ्चे चोर-गाउँ छोड !' लुकीलुकी कांग्रेस र कम्युनिष्ट भएका अग्रज दाईदिदीहरु खुल्ला भएपछि गाउँ नै कांग्रेस र कम्युनिष्टमा बद्लियो । बाउछोरा, छिमेकी, मास्टर बिद्यार्थी, आमाछोरीहरु एकअर्काका बर्ग-दुश्मनमा परिणत भए । हेर्दाहेर्दै बहुदलीय समाज राजनीतिक बिचारधाराको आधारमा बिभाजित भयो । सम्बन्धहरुमा राजनीति घुस्यो ।
दुईः २०५१ सालको चुनावको परिणाम आउँदासम्म नेपाली कांग्रेस अलोकप्रिय पार्टी बनिसकेको थियो । नेकपा एमालेले सिट संख्याको आधारमा बहुमत ल्याएर पनि अल्पमतको सरकार बनायो । त्यो बेलासम्म पनि गाउँघरमा मानिसहरु भन्नेगर्थे कम्युनिष्टहरु पापिष्ट हुन्, तिनीहरुले बाउआमालाई जिउँदै गाड्छन्, धर्म मान्दैनन्, गाई खान्छन्, देवीदेवताको अपमान गर्छन् । आफ्नो गाउँ आफै बनाउ, जेष्ठ नागरिक भत्ता जस्ताकार्यक्रम ल्याएर नेकपा एमालेको सरकारले कम्युनिष्टप्रति आममानिसको दृष्टिकोण बदल्न मद्दत गर्यो । एमाले सरकारको लोकप्रीयताले अन्य शक्तिलाई तर्सायो र सत्ताको खिलाफमा अविश्वास प्रस्ताव दर्ता भयो । अस्पतालको शैयाबाट तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सफाई दिए यद्यपि सरकार ढल्यो । अधिकारीको संसद विघटनको प्रस्ताव अदालतले तुहाइदियो । गिरीजा प्रसादले ५१ सालमा रोपेको अस्थिर राजनीतिको बिउले टुसा पलाउने मौका पायो । त्यसयता आजका मितिसम्म कुनै दलले चुनावमा बहुमत ल्याउन सकेनन्, हामीले स्थायी र स्थिर सरकार देख्न सकेनौ ।
तीनः ५२ सालको अन्त्यतिर आइपुग्दा तत्कालिन जनमोर्चाले बुझाएका ४१ बुँदे मागहरुको सम्बोधन भएन भनेर नेकपा माओवादीले शसस्त्र बिद्रोहको घोषणा गर्यो । बिस्तारै राजनीतिमा पञ्च प्रवेश सुनिश्चित हुन थाल्यो । राजनीतिक दलहरु खासगरी कांग्रेस र कम्युनिष्टले पञ्चायतका नाइकेहरुसँग हात मिलाए । सत्ता टिकाउनका लागि ३६से कांग्रेस हुदै मौलाएको गुटबन्दी संस्कृती पराकाष्टामा पुग्यो । सुरासुन्दरी काण्ड भए । पजेरो लगायत भौतिक सुबिधामा लिप्त नेताहरुले सुत्केरी सुबिधासमेत लिएर राज्यको ढुकुटीमा लुट मच्चाए । जसले गर्दा ४१ बुँदे मागकर्ताको बिद्रोह सही थियो र छ भन्ने आधार बलियो हुनथाल्यो । घाँटी रेटेर मान्छे काट्दै आतंक मच्चाएर गरिने राजनीति स्थापित भयो । त्यो बेलासम्म पुग्दा देशमा जनसरकार अस्तित्वमा आयो । स्पष्ट रुपमा देखिने गरी देशमा दुईटा सरकार भए ।
चारः ५८ सालसम्म आईपुग्दा अस्थिर राजनीतिले सिर्जित समस्याका थुप्राहरुको पहाड अग्लियो । यही बेला दरबार हत्याकाण्ड भयो । बीरेन्द्रको बंशनाशले ज्ञानेन्द्रलाई राजसिंहासनमात्र ल्याएन देखिने र सुनिने राजा बन्न चाहने उनको उच्च महत्वाकांक्षाले उनले सबभन्दा पहिले दलीय सरकारको घाँटी निमोठे । तत्कालिन माओवादीबिरुद्ध नेपाली सेनाको प्रयोग बढाइयो । दिनदिनै पहाड र मधेशका जमिनहरु मान्छेको रगतको छिटाले सिञ्चित हुनथाले । समाधान कतैबाट नआउँदा समाज निराशामा नै भासियो, डर असुरक्षा र भयल भयावह रुप लियो । ४६ सालपछि घरघरमा छिरेको पार्टी राजनीति अब जातीय, क्षेत्रीय र धार्मिक आधारमा समेत हुन थाल्यो ।
 
पाँचः ६१ सालमा राजाले लोकतन्त्रको घाँटी निमोठे ।  सत्ताको स्वाद चाखेका तर जनमत गुमाउँदै गएका दलहरुले खोसिएको सत्ता फिर्ता गर्न आफैले टाउको मोल तोकेका माओवादीसँग हात मिलाए । यो एकताको परिणाम राजतन्त्र उन्मुलन भयो, गणतन्त्र स्थापना । जनताको छोरो देशको राष्ट्रपती भए, संविधानसभाको चुनावबाट नेकपा माओवादी ठुलो शक्ति बन्यो र सत्ताको साँचो हातमा लियो । सत्ताको चावी दलहरुकै वरिपरी घुम्यो र फेरी पनि सत्ता माओवादीको हातमा आयो । यहीबीचमा मधेश आन्दोलन भयो । अरु क्षेत्रीय तथा स्थानीय मुद्धाहरु छलफलमा आए । शान्तिपुर्ण समाज अशान्ती र भयको कारक बन्यो । राजनीतिमा अपराधिकरण र अपराधिकरणमा राजनीति नराम्ररी हावी भयो । देश अब संघियतामा नगई नहुने अबस्था आयो । जातीय र क्षेत्रीय मुद्दाहरुले दलिय एजेन्डालाई पाखा लगाइदिए ।
छः ६८ सालमा आईपुग्दा देशले फेरी नयाँ प्रधानमन्त्री पायो । सबैले आशा गरेका, अर्थमन्त्री हुदाँ राजस्व असुलीमा अतुलनीय भुमिका खेलेका, देशबिदेशमा समेत लोकप्रीय माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए । निराशाले आक्रान्त जनमानसमा फेरी एकपटक आशाको सञ्चार भयो । तर सपना बाँडदै हिड्न सफल डासाप आमनागरिकका आशाहरु पुरा गर्न भने सफल भएनन् । भलै उनले काठमाण्डौको सडकलाई चौडा पार्ने तथा सेना समायोजनका लागि बिशेष भुमिका खेले पनि उनको १८ महिने शासनकाल बढीजसो अलोकप्रीय भएर नै सकियो । नेपाललाई भारतमा बिलय गराउने त हैनन् भन्नेसम्मका आशंकाले उनी बदनामीको गहिरो खाडलमा डुबे । उनका भनाई र गराईले जनताको एकमात्र आशा संविधानसभालाई विघटन गर्नमा समेत उनी नियतवश लागेका हैनन् भन्नेलाई बल मिल्यो ।
सातः र अन्ततः उनी पनि बालुवाटारबाट बाहिरिए । तर उनको बहिर्गमन यस्तो अवस्थामा भयो जसले गर्दा लोकतन्त्र र बिधिको शासनमा खिल गाढियो । बहालवाला न्यायधिश नै कार्यकारी प्रमुख बनाउन महत्वपुर्ण भुमिका खेलेर शक्ति पृथक्कीकरणको सिद्धान्तको खिलाफ बिधिको शासनलाई धरापमा पारेर भट्टराई डेरा सरे । प्रधानन्यायधिश खिलराज रेग्मी चुनावी सरकारका कार्यकारी प्रमुख बने ।

 र अन्त्यमा मैले रेडियो सुन्न थाल्दा र अलिअलि कुरा बुझ्न थाल्दा प्रधानमन्त्री थिए मरिचमान सिंह श्रेष्ठ । अहिलेका खिलराजलाई समेत गन्दा अहिलेसम्म ११ जना प्रधानमन्त्री भइसकेकाछन् । यो अवधिमा एकैजना व्यक्ति पटक पटक प्रधानमन्त्री भएको घटना गणनागर्दा प्रधानमन्त्रीको संख्या झन्डै डेढ दर्जन पुग्छ । पञ्चायतले काम गरेन प्रजातन्त्र चाहियो, प्रजातन्त्रले काम गरेन लोकतन्त्र चाहियो भन्दै गरिएका कुनै पनि परिवर्तनले जनतामा निरासाभन्दा बढी दिएन । नेताहरुले आफुलाई निकम्मा सावित गरे । करौडौँ खर्च गरेर इतिहासमै पहिलोपटक गठन भएको संविधानसभालाई नेताकै ब्यवहारले बिफल बनायो । जतिसुकै रुपान्तरणका कुरा गरेपनि समाज वास्तविक रुपमा रुपान्तरित भएन । आदीवासी, जनजाती, महिला, दलित तथा अन्य पिछडाबर्गको उत्थान भएन । पिछडा बर्गका सवाललाई उचित सम्बोधन गरेर समावेशी समाजको निर्माण हुने मार्ग प्रशस्त गर्नुको साटो जात, भाषा, धर्मका आधारमा सामाजिक बिखण्डनले जरा गाड्यो । अपराध मौलायो । लोकतन्त्र, विधिको शासनलाई तरबारको धारमा राखेर माओवादीले सत्ता लम्ब्याउने खेल खेलिरहेको छ । बिगत २५ बर्षको अवधिमा भएका यस्तै घटनाहरुलाई  केलाउँदै जाने हो भने थोरै राम्रा काम भए धेरै नराम्रा । नराम्रा कामले थप नराम्रा प्रबृत्तिलाइ जन्म दिइरहेको छ । देश उकालो लाग्नुको साटो ओरालो झरिरहेको छ । कहिलेसम्म यसरी नै ओरालो झरिरहला मेरो देश? त्यसलाई देख्न र भोग्न पनि मलाई कम्तिमा १०० बर्ष बाँच्न मन छ । तपाईलाई नी?

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by pawan neupane on March 15, 2013 at 5:11pm

४६ सालको आन्दोलनमा ७ बर्षको रहेछु, आन्दोलनको राप मलाई नी लागिसक्याथ्यो । ''मरिचेलाई फाँसि दे , पम्फादेवी हाईहाई, पंचेब्यवस्था वाइवाई .......''भन्दै २- ४ जना दौंतरी भेलापारेर घरवरिपरी घुम्दै खेलखेलेको स्मरण गरायो यो आलेखले । बाँच्दै जाऊँ देख्न पाइन्छ अझै .....

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service