ब्लगर्स दिवस किन मनाउने?

By Binaya Guragain

नेपालमा पनि मई २ लाई बिश्व ब्लगर्स दिवसको रुपमा मनाइने थालेको केही बर्ष भयो । बिश्वमा ब्लगर्स दिवस मनाउने तिथि र तरिकामा एकरुपता नभएपनि मेरो रिपोर्टको औपचारिक शुरुवातसँगै नेपालमा मई २ लाई नै ब्लगर्स दिवसको रुपमा मनाइन थालेका दुईबर्ष भयो । नेपालमा कति ब्लगर्स छन्? ब्लगिङका बिषयमा कत्तिको विविधता छ? नियमित रुपमा ब्लगिङ गर्नेहरु कतिछन् र उनीहरुले केकस्ता सवालमा ब्लगिङ गर्छन् जस्ता आधारभुत तथ्यांक यकीनका लागि बैज्ञानिक अध्ययन भएको छैन । नेपाल ब्लगर्स एशोसिएनमा अनलाईन दर्ता भएका ब्लगको संख्या एकहजार एकसय ८० छ । तर त्यसमध्ये कुन ब्लग नियमित रुपमा अद्यावधिक छ र कुनचाँही दर्तामात्र छ भन्ने सूचना त्यहाँबाट पाइँदैन । एशोसिएसनको वेवसाइटमा ब्लगर्सको तथ्याङ्क बाहेक थप कुनै जानकारी पाइँदैन । नागरिक पत्रकारिता तथा ब्लगिङको प्रवर्द्धनका लागि बैकल्पिक माध्यमको रुपमा रुपमा २ बर्षअघि शुरु भएको मेरोरिपोर्टले हरेक हप्ता एकजना ब्लगर्ससँगको कुराकानी मार्फत ब्लगिङ, सोसलमिडिया तथा अभिव्यक्ति स्वतन्त्रताका लागि इन्टरनेटको उपयोग सम्बन्धि ब्लगर्सको बुझाई र जानकारी बाहिर ल्याइरहेको छ । मेरोरिपोर्टले अहिलेसम्म १ सय २ जना ब्लगर्ससंग कुराकानी गरिसकेको छ भने सक्रिय रुपमा ब्लगिङ गरिरहेका २ सय १९ वटा ब्लगहरु मेरोरिपोर्टमा स्वतस्फुर्त रुपमा दर्ता भएका छन् । त्यसबाहेक सोसल मिडिया फेसबुक र ट्वीटर मार्फत आफ्ना ब्लगहरुको प्रचारप्रसारलाई हेर्दा पनि ब्लगिङप्रति युवाहरुको आकर्षण बढिरहेको देख्न सकिन्छ । यद्यपी, ब्लगका पाठक को हुन्? कति छन्? ब्लगर्सहरुले प्रस्तुत गर्ने बिषयबस्तु, बिषयबस्तुप्रति ब्लगर्सको ज्ञान, प्रस्तुतीको भाषा, पाठकको रुची र इन्टरनेटको पहुँचले  पनि नेपालमा स्तरीय ब्लगिङको अभाव खड्किएको छ । स्तरीय ब्लगहरु पनि प्रचारप्रसारमा सिण्डीकेट र पुर्वाग्रहको शिकार छन् ।

यो बर्ष पनि ब्लगर्स दिवसको तिथि नजिकिँदैछ । ब्लगिङका लागि मात्र हैन सोसलमिडिया फेसबुक, ट्वीटर, युट्युव चलाउने जमात उत्साहजनक रुपमा बढिरहेको छ । सोसल मिडियाको प्रयोगमा समाजका विभिन्न पक्षहरु अग्रसर देखिएका छन् । त्यसैले पनि पोहोरपरारजस्तै यसबर्ष पनि ब्लगर्स दिवस मनाउनु सान्दर्भिक हुनसक्छ । यो बर्ष पनि किन मनाउने ब्लगर्स दिवस? ब्लगर्स दिवसका छलफल गरिनुपर्ने सवालहरु तलका पनि हुनसक्छन्,

अभिव्यक्तिको माध्यम

इन्टरनेट अभिव्यक्ति स्वतन्त्रताको शसक्त माध्यमको रुपमा स्थापित भैसकेको छ । नेपालमा इन्टरनेटको पुहँच र बिस्तार बढ्ने क्रममा छ । जतिको पहुँचमा इन्टरनेट छ प्राय:ले यसलाई आफ्ना कुरा भन्ने र अरुका कुरा सुन्ने माध्यमका रुपमा उपयोग गरेको देखिन्छ । रेडियो, टिभी र पत्रपत्रिकाले नगरेका वा चाहेर पनि प्रस्तुत गर्न नसकेका जीवनोपयोगी सन्देश, सूचना र समाचार इन्टरनेट मार्फत बाहिर आउनेक्रम बढेको छ । त्यतिमात्र हैन, आफ्ना उत्पादन, बस्तु वा सेवाको बजार सर्वेक्षण, वितरण, उपभोक्तासँग संवाद र सहकार्र्यका लागि समेत इन्टरनेटको प्रयोग भएको छ । इन्टरनेट जति खुल्ला र हरेक व्यक्तिको पहुँचमा छ त्यति नै खतरा पनि के छ भने यसलाई नियन्त्रणका लागि शासक र शक्तिकेन्द्रहरुको ध्यान पनि उत्तिकै मात्रामा तानिएको छ । नेपालको वर्तमान सन्दर्भमा इन्टरनेट किन र कसरी अभिव्यक्ति स्वतन्त्रताका लागि नागरिकको माध्यम बन्छ? सैद्धान्तिक र ब्यवहारिक बाधा अड्चन के के छन्? इन्टरनेटमाथि शासक वा शक्तिकेन्द्रहरुको अनुगमन र नियन्त्रण किन संभावित छ र यदि त्यसो भयो भने कसरी अगाडि बढ्ने? समग्र दक्षिण एशियाको परिवेशलाई हेर्दा नेपाल बाहेकका दक्षिण एशियाली मुलुकहरु इन्टरनेटलाई अहिलेकै रुपमा खुल्ला छोड्न हिच्किचाइ रहेकाछन् । ब्लगर्समाथि हमला, पक्राउ, बिभिन्न वेवसाइटमाथि नियन्त्रण, सोसलमिडिया अनुगमन वा नियन्त्रणको नाममा इन्टरनेट उपभोक्तामाथि छिमेकी देशका शासकहरुले धावा बोलिरहेकाछन् । त्यसको प्रभावबाट नेपाल अछुतो होला भन्ने आधार नभएकोले पनि इन्टरनेट र अभिव्यक्ति स्वतन्त्रता सवाल ब्लगर्स र सरोकारवालाबिच पर्याप्त छलफलको आवश्यकता छ ।  

डिजीटल डिभाइड

इन्टरनेटमा पाइने बिषयबस्तु तथा यसका प्रयोगकर्तामा विविधता झल्किन्छ । छलफलमा समावेशी चरित्र पाइन्छ । परिणामस्वरुप लोकतान्त्रिक मुल्य मान्यतालाई बलियो बनाइरहेको छ । अहिलेको जमाना एउटै माध्यम सुनेर त्यही बिचारमा औँठाछाप ठोक्ने जमाना हैन । सिर्जनशील र रचनात्मक तरिकाले बिचार प्रवाह, बिरोध, समर्थनका लागि युवा जमातहरुले इन्टरनेटलाई उपयोग गरिरहेका छन् । इन्टरनेट रोजगार सिर्जनाको माध्यमको रुपमा स्थापित भैसकेको छ । तर इन्टरनेटको उपयोग टाँठाबाठा, जान्नेसुन्ने, सूचना प्रविधिमा पहुँच पुगेका, शहर र सुविधासम्पन्न स्थानका युवाको अधिक पहुँचमा मात्र सिमित जस्तो देखिन्छ । परिणास्वरुपमा डिजिटल डिभाइड बढ्दो छ । डिजिटल डिभाइड कसरी कम गर्ने? इन्टरनेटमा उपलब्ध बिषयबस्तु, श्रोतसामग्रीको भाषा, सवाल र पहुँचमा विविधतालाई ब्गगर्स दिवसमा छलफल गरिनुपर्ने सवाल बनाउन सकिन्छ । 

हिंसा, घृणा र द्धेष

इन्टरनेटले नै संभव बनाएको सोसलमिडिया गतिबिधिहरु आलोचित हुने मुख्य कारण हो त्यहाँ प्रस्तुत गरिने बिषयबस्तुः अडियो, भिडियो, लेख र तस्विर मध्ये केहीले हिंसा र अश्लिलताको प्रबद्र्न गरिरहेका हुन्छन् । प्रयोगकर्तालाई उत्तेजीत बनाउने, रिस, आवेग सिर्जना गराउनेमात्र हैन सामाजिक सद्भाव भड्काउन, जातीय द्धेष, कलह सिर्जना गर्न, प्रताडित गर्न पनि त्यस्ता बिषयबस्तुले भुमिका खेल्छन् । खेलिरहेका पनि छन् । पछिल्लो पटक मलेशियाको घटना भन्दै सार्वजनिक भएका तस्विरहरु उदाहरणका रुपमा हेरौँ । त्योमात्र हैन अन्य दर्दनाक र हेर्नै नसकिने तस्विर, घटनाहरुको असंवदेनशील प्रस्तुती, चरित्रहत्याका लागि इन्टरनेटको प्रयोले इन्टरनेटलाई दुर्गन्धित बनाइरहेको छ । परिणाम, इन्टरनेटको अनुगमनका नाममा नियन्त्रणका पाइला चाल्न शासनशक्ति हातमा लिएका वा लिन चाहनेहरुलाई मलजल प्रदान गरिहेको छ । इन्टरनेटलाई कसरी सुरक्षित र जिम्मेवार माध्यमका रुपमा उपयोग गर्ने? ब्लगर्स र सरोकारवालाहरुका बीचमा छलफल भएर वकालत गरिरहनुपर्ने मुख्य सवाल यो पनि हो । 

आवाजविहीनको आवाज

माथि पनि थोरै चर्चा भइसक्यो इन्टरनेटले डिजीटल डिभाइड बढाउन भुमिका खेलेको छ । रेडियो एकतर्फी सञ्चार माध्यम भयो । टेलिभिजनको बिशेषता पनि त्यही हो । पत्रपत्रिकाले एकतर्फी सञ्चारलाई नै प्राथमिकता दिन्छ । माथी भनिएका सबै माध्यमहरु पहुँचका हिसावले शसक्त हुदाँहुदै पनि उपभोक्ताको दृष्टिकोणबाट हेर्दा ती मिडिया सहभागितामुलक छैन । परम्परागत मिडिया आमनागरिकको पहुँचमा छैनन् । स्पष्ट छ तिनीहरु कुनै न कुनै स्वार्थ र अभिष्टबाट परिचालित छन् । विभिन्न खुड्किला र प्रवेशद्धारहरु पार गरेरमात्र नागरिकका आवाजहरु ती मिडियामा पुग्छन् । पुगिहाले पनि जसरी अभिव्यक्त गरिएको हुन्छ त्यसरी प्रस्तुत हुदैनन् । तर इन्टरनेटले परम्परागत सञ्चारमाध्यमका यस्ता बिशेषतालाई चुनौती दिएको छ । समाचार उत्पादक, बितरक र उपभोक्ता, तीनवटै मुख्य भुमिकामा एउटा व्यक्तिलाई शशक्त बनाएको छ । यति हुदाँहुदै पनि एउटा सत्य के हो भने इन्टरनेट पढेलेखा जमातको नियन्त्रणमा छ । भाषा, पहुँच र बिषयबस्तु पनि पढेलेखा वर्गप्रति नै लक्षित छन् । जसले गर्दा इन्टरनेट आवाज विहीनको आवाज हुन अझै सकेको छैन । यदी त्यस्तो हुन सकेन भने फेरी पनि परम्परागत माध्यमले गर्न नसकेका कामहरु इन्टरनेट मार्फत हुने संवादले गर्न सक्छ भनेर गरिने तर्कलाई कमजोर बनाउन सक्छ । यस्तो वकालतीका पक्षपातीहरु कमजोर ठहरिन्छन् । इन्टरनेटलाई कसरी आवाज विहिनको आवाज बनाउने र विकास प्रकृयामा उपयोग गर्ने? नेपाली ब्लगर्स र सरोकारवालाहरुले छलफल गर्नुपर्ने बिषय यो पनि हो की?

ब्लगर्सका आफ्नै सवाल

नेपाली भाषामै गरिने ब्लगिङ पुर्णरुपमा भरपर्दो पेशा हुन सकेको छैन । नेपालमै बसेर अंग्रेजी भाषामै गरिएका ब्लगहरुले पनि उतिसारो पाठक नपाएको अवस्थामा यसैलाई मुख्य पेशा बनाउन हिम्मत गर्न कुनैपनि ब्लगर अघि सरेको भेटिदँैन । सिमित पाठक र बजारको अभावले हिम्मत नै भएकालाई पनि भरपर्न गाह्रो छ । पेशागत सुरक्षा त छँदैछैन भने ब्लगर्सको भौतिक सुरक्षा अर्को पाटो हो । त्यसमाथि ब्लगिङमा विविधता छ । समाचारमुलक ब्लगिङ गर्ने ब्लगर्सको पहिचान र हैसियत के हुने? पत्रकार वा ब्लगर? राज्य र समाजले ब्लगरलाई कसरी चिन्छ? समाचारमुलक ब्लगिङकै सिलसिलामा सांघातिक हमला, कुटपीट भयो, धम्की आयो, घरपरिवारका सदस्यसमेत अप्ठेरोमा पर्नसक्ने अवस्था आयो भने न्याय माग्दै कहाँ जाने? ब्लगर्सका मुद्धाहरु कसले बोल्दिने? ब्लगर्सहरुको संगठन खोई जहाँबाट सामुहिक रुपमा आवाज उठाउन सकियोस्? दवावमुलक वकालत गर्न सकियोस् र, फुलटाईम ब्लगिङ गर्दा कुनै भवितव्य वा दुर्घटनाबाट घाइते भइयो भने उपाचारका लागि कहाँ र कसरी वकालत गर्ने? साथै, तपाई यदि आफ्नो वास्तविक पहिचान नखुलाई ब्लगिङ गर्न चाहनुहुन्छ भने काूननी रुपमा तपाई कति सुरक्षित हुनुहुन्छ? के राज्यको कानुनले तपाईको सुरक्षा गर्छ? इन्टरनेटमा हुने चोरी (सिर्जना चोरी) बाट कसरी बच्ने? प्लेजरिइज्म (plagiarism) बाट कसरी जोगिने?  

ब्लगीङ र अरु सोसल मिडिया फेसबुक, ट्वीटर, युट्युव प्रयोग गर्दाका यस्ता अन्य थुप्रै सवालहरुमा ब्लगर्स दिवसमा छलफल गर्ने बेला भएन र?

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Sunita GIri on April 29, 2013 at 10:27am

I read it all, interesting. But you have raised more questions in this than offer even a single answer. I thought, you are an expert to answer on this kind of issue. Please correct me here. For that reason, your post only disappointed me. However for this very reasons, we need to join hands to find answers and keep working for that until we have answers top most of whys. Count me in, in your effort to find answers; because, I regard myself, why digger and I am proud of my digging quality.

Comment by Prakash Lamichhane on April 15, 2013 at 10:38am

पक्कैपनि लेखले उठाएका सवालहरुमा अहिलेदेखि नै छलफल हुन सकेन या यी कुराहरुलाइ वेवास्ता गर्दै जाने हो भने पछि समस्या एकैचोटी नपर्ला भन्न सकिन्न । इन्टरनेटले अभिब्यक्ति स्वतन्त्रतालाइ प्रवर्द्धन त गरेको छ नै तर त्यो स्वतन्त्रतालाइ अपराधिक कृयाकलापका निम्ति पनि दुरुपयोग गरिएका घटनाहरु बेला बखत सार्वजनिक हुने र कारवाहीका कुराहरुका समाचार त्यत्ति नआउँदा मानिसलाइ यसमा जे पनि गर्न सकिन्छ भन्ने भ्रम पनि परेको हुनसक्छ । यो लेखले त्यसतर्फ लक्षित गरेको रहेछ । पढ्दा जानकारी धेरै प्राप्त भयो । 

Comment by pawan neupane on April 11, 2013 at 2:29pm

भर्खर भर्खर ब्लगिंङ सिकिरहेका हामीजस्ता शिकारुहरुका लागी सारै उपयोगी लाग्यो । ब्लगिंङका सकरात्मक र नकरात्मक पाटाहरु पनि केलाइएकाले सचेत भएर कसरी सदुपयोगका निम्ति ब्लगिंङ गर्ने भन्ने पनि जानकारी पाईयो । आउनुहोस्, सवै मिलेर ब्लगर्स डे लाई रचनात्मक रुपमा सेलिव्रेट गरौं । 

Comment by एसवी गौतम on April 11, 2013 at 11:47am

एक पटक पुरा पढिसकेपछि प्रश्ट हुन्छ, किन व्लगर दिवस मानाउने ? व्लगरहरुको लागी धेरै महत्वपुर्ण विषयवस्तु उठान गर्नुभएको छ ।

Comment by अल्टर कान्छो’ on April 10, 2013 at 11:09pm

राज्य र समाजले ब्लगरलाई कसरी चिन्छ? समाचारमुलक ब्लगिङकै सिलसिलामा सांघातिक हमला, कुटपीट भयो, धम्की आयो, घरपरिवारका सदस्यसमेत अप्ठेरोमा पर्नसक्ने अवस्था आयो भने न्याय माग्दै कहाँ जाने? ब्लगर्सका मुद्धाहरु कसले बोल्दिने? ब्लगर्सहरुको संगठन खोई जहाँबाट सामुहिक रुपमा आवाज उठाउन सकियोस्? दवावमुलक वकालत गर्न सकियोस् र, फुलटाईम ब्लगिङ गर्दा कुनै भवितव्य वा दुर्घटनाबाट घाइते भइयो भने उपाचारका लागि कहाँ र कसरी वकालत गर्ने? साथै, तपाई यदि आफ्नो वास्तविक पहिचान नखुलाई ब्लगिङ गर्न चाहनुहुन्छ भने काूननी रुपमा तपाई कति सुरक्षित हुनुहुन्छ? के राज्यको कानुनले तपाईको सुरक्षा गर्छ? इन्टरनेटमा हुने चोरी (सिर्जना चोरी) बाट कसरी बच्ने? प्लेजरीइज्म (plagiarism) बाट कसरी जोगीने? 

आउनुहोस हामी सबै मिलेर छलफल गरौँ

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service