भण्डारीदाई र गुराँसेमन

विनय गुरागाई 

जेठको अन्तिम साता कञ्चनपुर र कैलालीको तातोमा ज्यान पाकेर थङथिलो भएको थियो । चौपट्ट गर्मीमा बिहानैदेखि शुरु हुने धपेडीले शरिर फतक्क गलेको थियो । काठमाण्डौ फर्किनलाई १० दिन बाँकी थियो । ४० डिग्रीको तापक्रममा अरु १० दिन, कसरी बस्ने होला? संझदा पनि आत्तिन्थ्यौ हामी ।

यसपटकको यात्रा दुई हप्ताको लागि थियो । पाँचदिन सकिदै भाग्न मन लागिसकेको थियो । बाँकी १० दिन गर्मीमै बिताउन नसक्ने भएपछि केही त गर्नैपर्यो? तर गर्ने चाँही के? समाधान निस्क्यो, १० दिनमध्ये कम्तिमा ४ दिन सुर्खेतमा बिताउने । सहमतिय निर्णयको उत्साहले त्यो रातलाई रमझमपुर्ण बनायो । नेदरल्याण्ड्सले स्पेनलाई ठुलो गोलअन्तरमा वल्र्डकपको पहिलो खेल हराएको खुशीयाली र दुःख मनाउ गर्दै रातलाई अविष्मरणीय बनाउन सहयात्रीहरु मजैले साथ दिएका हुन् ।

असार १ गतेको बास बिरेन्द्रनगर हुनेगरी एकाबिहानै हामीले टिकापुर छोड्यौ । टिकापुरबाट ४५ मिनेटको रफ्तार ड्राईभमा चिसापानी पुगिन्छ । अरुबेला चिसापानी हाम्रा लागि आराम गर्ने गन्तब्य बन्थ्यो । तर त्यो दिन हामी त्यहाँ अडिन उचित ठानेनौ । त्यसो त कर्णाली चिसापानी मेरो रोजाईको गन्तब्य हो । बास बस्न नसकेपछि स्वादीलो खानाका लागि मलाई मनपर्ने ठाँउ । जेठको पहिलो साता चिसापानीमा बितेका केही रातहरु सम्झना लायक रहे । दिनभरीमात्र हो त्यहाँ चौपट्ट गर्मी । ढल्कँदो रातसँगै मन्द बहने चिसो हावा, सुस्त गतिमा बगिरहेको कर्णालीको मधुरध्वनी र किनारमा बसेर गरिने मित्रलाप, ज्ञानलाभ । रमाउन सक्नेका लागि कर्णालीतीरको बसाई र खानपीन अबिष्मरिण हुन्छ । नेपाली स्वादका दालभात, खसि र कुखुराको मासुका बिभिन्न परिकार । अझ मदिराप्रेमीलाई चिसो बियरदेखि फरकफरक ब्रान्ड र स्वादका स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय रक्सी र ह्वीस्कीको चुस्की । अनि व्यक्तिगत चियोचर्चोदेखि देशबिदेशका समसामयिक राजनीतिक, सामाजिक बिषयबस्तुकेन्द्रित ज्ञानलाभ । कर्णालीको माछा त छुटाउने कुरै भएन । तर माछा पारखीहरु भन्नेगर्छन्, कर्णालीकै माछाले ग्राहक धान्न सक्दैनन त्यसैले त्यहाँ कर्णालीका भन्दै अयन्त्रबाट ल्याईएका माछा बेचेर आर्थिक उन्नती गर्ने साहूजीहरु प्रशस्तैछन् ।

चिसापानीको खाना छोडेर अन्दाजी तीनबजेतिर बिरेन्द्रनगर पुग्दा टिकापुरमा बिहान खाएको नास्ताले छोडिसकेको थियो । कोहलपुरबाट माथि लागेपछि बबईको माछा खाँदै एकछिन सुस्ताउँजस्तो पनि लागेन त्यो दिन । कर्णाली चिसापानीदेखि बाँकेको चिसापानीसम्म पुग्दा बाटोमा आधादर्जनजति सुरक्षा पोष्टहरु छन् । जसलाई नेपाली सेनाले सम्हालेका छन् । ४ जनायात्रीका यती धेरै झोला? चेकपोष्टमा उनीहरु शंका गर्थे । तर उद्देश्य बताएपछि कहिल्यै दुःख दिएनन् । एकपटक शुक्लाफाँटा बन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको सैनिक चेकपोष्टमा एकजना सिपाहीको व्यवहार देखेर चाँही दुःख पाएको जस्तो लागेको थिए । सानै भएपनि गल्ती हाम्रै थियो । हामी चढेको गाढी सिपाही बस्ने ठाउँबाट ३ मिटर जति अगाडि रोकिएको थियो । त्यसो गर्ने ड्राईभरको सातो नै खाए ती सिपाहीले । हामीलाई पनि भएजति सबै झोला खोल्न लगाए । टन्नै समय लिएर । हामीलाई सजिलै अनुमान लायौ सुरक्षा खतराले हाम्रा झोला खोलिएका हैनन् हामीलाई ती सिपाहीले नियतबस दुःख दिएका थिए ।

हामी मुर्मुरियौ, केही बोलेनौ तर उनले भनेको भने चुपचाप मानिरह्यौ । त्यो घटनापछि बाटोमा हामी बिशेष सचेत थियौ । शुरुमै हाम्रा गुरुजीलाई नि सचेत बनाउँथ्यौ । त्यहीभएर चिसापानीदेखि चिसापानीसम्मको यसपालाको यात्रामा नेपाली सेनाको व्यवहार सहयोगी पाईएको थियो ।

सुर्खेतको हर्रे, जुन नेपालगञ्ज सुर्खेत सडकखण्डमा सबभन्दा उचाईमा पर्छ जहाँबाट बर्दिया राष्ट्रिय निकुञ्ज समाप्त हुन्छ । हर्रेमा भने एकजना सिपाहीले रुखो व्यवहार गरे । “के बोकेको यत्रो झोलामा? यति थोरै मान्छे झोला भने यति धेरै किन?” हामीले उद्देश्य बतायौ । हाम्रो जवाफले उनी ढुक्क भएजस्तो लागेन । अब सबै खोल्नुपर्ला भनेर हामी तयार भयौ । तर खै किन हो उनले तत्कालै निर्णय बदले र जानुस् भने । हामीले धन्यवाद भन्यौ र बाटो लाग्यौ । त्यो दिन हर्रेमा काँक्रा पाइएन । नास्पाती बेच्नेहरु भने प्रशस्तै थिए ।

असार १ गते बिरेन्द्रनगर पुग्दा दिउसोको साढे तीन बजेको थियो । ‘आज सुर्खेतमा दहिच्युरा खाने ।’ टिकापुरमा नास्ता खाँदैगर्दा हाम्रो योजना बनेको थियो । दुईहप्ताजति अगाडि सुर्खेतमा दहीको हाहाकार थियो । ‘कतै आज पनि दही नपाईने पो हो की?’ मनको एक कुनामा शंका जिवीतै थियो । यद्यपी हामी बिरेन्द्रनगरबजारबाट अलिमाथि कट्कुवा जाने र दहिच्यूरा खाने निर्णयमा सहमत भयौ । कट्कुवामा दहिच्यूरा बेच्ने ३ वटाजति झुप्राछन् । हरेकदिन पाँचबजेपछि त्यहाँ त्यो दिनको कोटा सकिन्छ ती झुप्राहरु बन्द हुन्छन् । तर त्यो दिन बन्द थिएन कट्कुवा । पानी दर्कीरहेको थियो । हामी अलिकति अगाडि छेडा जान सहमत भयौ । छेडा नपुग्दै फेरी नयाँ योजना बन्यो । सिद्धपाईला वा रातानाङला जाने । सुर्खेतमा हामी गएको बाटोमा त्योबेला पानी परेको थियो । दिन असाध्यै शितल थियो । त्यो नै सबैभन्दा ठुलो सन्तुष्टि थियो । तर पेटमा भोकको आगोले बिचलित पार्न थालेको केही घण्टा भैसकेको थियो ।

हामी रातानाङलामा पनि नबस्ने भयौ । हाम्रा गुरुजीले दैलेखको गुराँसे जाने प्रस्ताव अघिसारे । गुराँसेको बारेमा सुनेको थिएँ पुग्न भने पाईएको थिएन । नयाँ ठाउँ पुग्ने उत्साहले भोकलाई एकछिन थामथुम पार्न सहयोग गर्यो । हामी अन्दाजी पाँचबजेतिर गुराँसेडाडा पुग्यौ ।

नेपालञ्जका पत्रकार नेत्र केसी लगायत केही चिनजानका मान्छे गुराँसेमा भेटिए । शितल र रमणीय वातावरणमा आलु, काफल, आरुबखडा, आरुजस्ता लेकाली फलफुल खान पनि सुर्खेत, नेपालगञ्जबाट मानिसहरु गुराँसे पुग्दा रहेछन् । चनाको तरकारी र सेलरोटी बिशेष प्रख्यात रहेछन् त्यहाँका होटलमा । दहीच्युरा त्यहाँ पाईने अर्को लोकप्रीय खाजा । भोकले रन्थनिएका हामीले आलु र काफल बाहेक माथि उल्लिखित सबै खानेकुरा खायौ । तर भोक मरेको थिएन । अब के खाने? सहयात्रीमध्ये कसैले प्रस्ताव अघि सारे उसिनेको आलु खाने । आलु मेरो पनि प्रीय भोजन । आलु खाने सहमति बन्यो । ‘काफल पनि पाइन्छ है ।’ नेत्र केसीले सुर्खेत झर्नुअघि खुसुक्क कान फुकेका थिए । काफल पाईने ठाउँ पनि देखाईदिएका थिए । तर बजारबासी सबैले एकस्वरमा भने अहिले काफल पाँइदैन । पाइन्छ भन्ने विश्वासका साथ म नेत्र केसीले भनेको ठाउँतीर उक्लिएँ । यात्राका सबै सहयात्री मेरा सहकर्मी थिए । हामी बजारबाट अलिमाथिको डाँडामा पुग्यौ ।
केसीकै सल्लाह अनुसार काफल खुवाउने मान्छेको खोजी भयो । त्यो डाँडामा एकमात्र काफलको रुख रहेछ । त्यसका धनी रहेछन् अन्दाजी ४५ बर्षीय भण्डारी दाई । नाम आदानप्रदान भयो । उनले हाम्रो बारेमा धेरै चासो राखे । शुरुमा त काफल छैन भनेर गर्नुसम्म इन्कार गरे । हामीले पनि ढिट छोडेनौ । सहकर्मी प्रकाशजीसँग मैले केही चिज मागे । मागेको चिज लिदै गर्दा एकाएक भण्डारी दाई हामीलाई काफल चखाउन राजी भए । हामी अनुगृहित हुदै उनकै पछि लागेर काफलको बोटमुनि पुग्यौ । सहकर्मीमध्ये कसैले काफलको बोटमा फोटो खिचेर रमाईलो गरे । भण्डारी दाई भने एउटा हरियो मग बोकेर काफलको बोटमा चढे ।

रुखकै फेदमा बसेर काफल खाने धोको पुरा हुदै थियो । सबैजनाको मुहारमा खुशी थियो । पाक्नथालेको आरुबखडा कति कति । अनुमति बीनै बखडा टिप्दै खाँदै गर्दा पेटमा काफल अट्ने ठाउँ नहुने हो की जस्तो भईसकेको थियो । उसिनेको आलु खानै बाँकी थियो । भण्डारीदाईले आधामग काफल टिपे । काफल टिप्दैगर्दा बेलाबेलामा छोराछोरीलाई पत्रकारिता पढाउने, रेडियोमा बोल्न लगाउने रहर पनि हामीलाई सुनाउँथे ।

भुईमा झरिसकेपछि भण्डारी दाई र मेरोबीचमा लामै सवाल जवाफ भयो । म उनलाई केही दिन चाहान्थे, उनी लिन मान्थेनन् । म जसरी दिन खोज्थे उनी पछि हट्थे । यो क्रम पाँच मिनेटजति चलेछ । वास्तवमा म काफल खुवाएवापत भण्डारीलाई अलिकति पैसा दिन चाहान्थे । मलाई त्यही सिकाईएको थियो । जसले मलाई माथि डाँडामा एकजना बुढो मान्छेसँग काफल माग्ने तरिका यो हो भनेर कान फुकेको थियो म त्यही उपायलाई व्यवहारमा उतार्न चाहान्थे । तर लिनेमान्छे लिन मान्दैनमान्ने । कुनै हालतमा पनि भण्डारीदाईले हामीले दिएको पैसा लिन मानेनन । मलाई भ्रम परेको रहेछ वा जसले मलाई कान फुकेको थियो सायद उनी पनि गलत थिएकी । म लाजले रातोपिरो भएँ । मैले साथीहरुलाई भनिसकेको थिँए, ‘पैसा निकालेपछि दिनेमान्छेले नाई भन्दैनन् ।’ जब मैले प्रकाशजीसँग पैसा मागेको थिएँ त्यही बेला भण्डारी हामीलाई काफल खुवाउन राजी भएकाथिए । त्यसले गर्दा म झनै ढुक्क थिँए उनी पैसा लिन्छन् । तर म फेल भए । साथीहरुको नजरमा र त्यो भन्दा बढी भण्डारी दाईको नजरमा । त्यो पैसा छोडेर आउनलाई भण्डारीको घरमा उनी बाहेक अरुकसैलाई देख्न सकिएन । अन्त्यमा भण्डारीदाईलाई बिशेष धन्यवाद दिदै गुराँसेबजारको प्रेम होटलमा पाकेको आलु सिध्याएर सुर्खेत सदरमुकाम बिरेन्द्रनगर फर्किनेबेलासम्म मलाई भने पछुतो भइरहेको थियो । त्यत्रो महान सहयोगी भावनाले रुखचढीचढी काफल खुवाउने भण्डारीदाईलाई मैले पैसामा मरिहत्ते गर्ने सामान्य जोकोहीसँग तुलना गरेछु । र, त्यसै अनुसार व्यवहार गरेछु । झन्डै दुइमहिनापछि अहिले सम्झिँदा पनि आफ्नै मुर्खतासँग लज्जित हुन्छु । र पनि गुराँसेडाँडको दुइघण्टे बसाई अविष्मरणीय रह्यो । फेरी जानमन छ गुराँसेडाडा ।

तस्बिर : प्रकाश लामिछाने

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service