सडक दुर्घटनाः चालकमात्र दोषी हुन्नन्

 विनय गुरागाई 


सडक
दुर्घटना सम्बन्धी आफूसँग सम्बन्धित घटनाबाटै कुरा सुरु गरौं

  •  २०५३ साल । बाल्यकालदेखिकै साथी र म सुनसरीको इटहरीबाट हिरो साईकलमा मोरङको सुन्दरपुर बाँसबारी जाँदैथियो । बुढीखोला पुलमा हामीले अगाडिको रिक्सालाई ओभरटेक गर्‍यौ । रिक्सा र साईकलका पाङ्ग्रा जुँधे । हाम्र साईकल अनियन्त्रित भयो । हामी पूर्वबाट आईरहेको बालुवा बोकेको ट्रकमा ठोक्कियौं । त्यसपछि के भयो तत्काल थाहा भएन । उपचारपछि घर फर्किदा गाउँलेले सुनाउँदै थिए ‘त्यो ट्रकले पछाडिको चक्काले पेलेर तिमीलाई मार्न लागेको थियो हामीले बचायौ ।’
  • चारसाल अगाडि कोटेश्वरमा मामाको छोरालाई बसले हान्यो । मोटरसाईकलमा सवार दाजुभाउजूमध्ये दाजुको खुट्टोका हड्डी कच्याककुचुक भयो । अरनीको राजमार्गमा दौडिने गाडिले आफ्नो साइडमा हिडिरहँदा उहाँलाई ठक्कर दिएको थियो ।
  • केही बर्षअघि, पुर्वपश्चिम राजमार्गको मोरङ दुलारी खण्डको साजीलाल स्कुल नजिक मेरा एकजना छिमेकी काकालाई निजी कारले हान्यो । पूर्वबाट ईटहरीतर्फ आईरहेको कारको ठक्करबाट काकाको ज्यान गयो । ५३ सालतिरै त्यही सडकको त्यही खण्डमा एकजना चटपटे व्यापारीलाई झापा–काठमाडौं रात्रीबसले पाँचसय मिटर लतारेर आन्द्राभुँडी निस्कने गरी पेलेको थियो ।

 

यस्ता घटनाको फेहरिस्त लामै बन्छ । अब एकछिन माथि उल्लिखित घटनाहरुको कारण खोतलौ । पहिलो घटनामा अगाडिबाट आईरहेको लोडेड ट्रकको गति थाहा नहुनु हाम्रो गल्ती थियो । साँघुरो पुलमा अनियन्त्रित रुपमा अर्को साइड नै मिचेर ट्रक चलाउनु चालकको लापरवाही थियो ।

 

अनि पछाडि घस्रेर घाईते यात्रु मार्न खोज्नु चाहिँ कानूनको दोष थियो । त्यो बेलासम्म कानूनले दुर्घटनामा मर्नेको परिवारलाई निश्चित रकम तिरेपछि सवारी चालकलाई दोषमुक्त ठहराईदिन्थ्यो ।

 

दोश्रो घटना पुरापुर बस चालकको लापरवाहीले भएको थियो । तेश्रो घटनामा छिमेकी काकाको दोष बढी थियो किनभने उहाँले कारको रफ्तार अनुमान लाउन नसकी बाटो काट्न खोज्नु भयो । राजमार्गमा दायाँ बायाँको सडक नदेखिने गरी जथाभावी रोकिएका ट्रक, बस र ट्रयाक्टरको कारणले चटपटे व्यापारीले सडकको दायाँ बाँया देख्न नसक्दा चौथो घटना भएको थियो ।

 

सडक दुर्घटना सधैंभरी चालककै गल्तीलेमात्र हुदैन । माथि कै चौथो घटनालाई लिउँ । चटपटे व्यापारीलाई बस चालकले बचाउन खोज्या भए बसमा सवार ३५–४० जना यात्रुको ज्यान जानसक्थ्यो । बसका धेरै यात्रुलाई बचाएर एकजनालाई मार्नु ठिक हो भन्ने तर्क जायज नहुँदा नहुदै पनि बस चालकको बाध्यता र सुझबुझ दुवैलाई नजर अन्दाज गर्नुहुदैन । व्यस्त सडकका बढीजसो दुर्घटना बटुवाको सवारी रफ्तार सम्बन्धी अज्ञानताको कारणले हुनसक्छन् । जहाँ जेब्राक्रसिङ हुन्न त्यहाँबाट बाटो काट्न खोज्नु नै अप्ठ्यारो निम्त्याउनु हो । परबाट आएको सवारीको गति बटुवालाई अन्दाज हुनसक्दैन । यस्तो बेला मोलिने धृष्टता आफ्नै लागि घातक हुन्छ । त्यस्तो धेरै भएको छ ।

 

यो लेखको आसय ठुला सवारी चालक जिम्मेवार छैनन्, गल्ती बटुवा वा साना सवारी चालककै हुन्छ भन्ने कदापी हैन । यद्यपी हामी बटुवा वा बटुवाको पक्षमा बोल्नेहरुले पनि के पनि भुल्नु हुँदैन भने सवारी दुर्घटना जहिल्यै चालककै कारणले मात्र हुन्छ ।

हो, चालकको कारणले नराम्रा दुर्घटना भएका छन् । त्यसको पछाडि यातायात व्यवसायीका समिति र बस मालिकको दवावले भुमिका खेलेको हुन्छ । चालकमाथि अप्रत्यक्ष दवाव परेको पनि हुनसक्छ । मालिक वा समितिले चालकमाथि नजाँनिदो किसिमले छिटो गन्तब्यमा पुग्नुपर्ने र छिटो नाफा कमाउनुपर्ने किसिमका दवाव दिइरहेका हुन्छन् । यस्तो दवावबाट गुज्रिरहेको चालकले सुरक्षित रुपमा सवारी चलाउन सक्दैनन् । आफू त जोखिममा पर्छन् नै यात्रु, उनीहरुका परिवार, नजिकका नातागोता र समुदायलाई नै प्रभावित पार्छन् ।
 

सवारी दुर्घटना कम गर्न वा हुनै नदिनलाई कानुनको शसक्त कार्यान्वयन एउटा अनिवार्य सर्त हो । तर त्यसरी मात्र पनि सवारी दुर्घटना कम हुँदैन वा रोकिदैन । चालकदेखि बटुवासम्मलाई सवारी शिक्षा दिने हो भने सडक दुर्घटना अवश्य कम हुनसक्छ । तत्काल नाफा खोज्ने र नाफाकै लागि प्रतिस्पर्धा निरुत्साहित गर्ने यातायात समितिलाई खारेज गर्नुपर्छ । मालिकहरुलाई निरुत्साहित गर्नुपर्छ । सवारी शिक्षाको सुरुवात यहीबाट गर्न सक्नुपर्छ । सडकमा ट्राफिक प्रहरी बस्दा, सडक फराकिलो हुँदा, डिभाईडरको प्रयोग गर्दा, जेब्राक्रसिङ राख्दा, स्पष्ट चिनिने गरी स्पीड ब्रेकर राख्दा सवारी दुर्घटना कम गर्न सकिन्छ । तर सबभन्दा महत्वपुर्ण कुरा सवारी चालक र बटुवाको मन मष्तिश्कमा घुस्नेगरी सवारी दुर्घटनासम्बन्धी शिक्षाको बिकल्प छैन । त्यसका लागि राज्य र कानून कार्यान्वयन गर्ने निकायको मात्र मुख ताक्नु हुँदैन ।सवारी दुर्घटना भैसकेपछि सोसल मिडिया तथा आमसञ्चार माध्यमममा आएर ठुलठुला अर्ति उपदेश दिने हामी बौद्धिक बर्गले मात्र सवारी शिक्षालाई पालन गर्‍यौ र आफ्ना नजिकलाई सिकायौं भने त्यसको महत्व छ, प्रभाव व्यवहारमा देखिन्छ ।

गएको चैतमा लोक गायिका मञ्जु महतलाई माईक्रोबसले च्यापेर मारे । शहरमा हामीले माईक्रोको धुरन्धर बिरोध गर्‍यौ । माईक्रोजस्तो साना सार्वजनिक गाडी हटाएर राज्यले ठुला गाडीलाई मात्र प्रोत्साहन गर्नुपर्छ भनेर हामीले नै वकालत गर्‍यौ । त्यो हाम्रो तत्कालको आक्रोश थियो । समय घर्कियो आक्रोश सेलायो ।

 

दसैँ लगत्तै डोटीमा बस पल्टियो । क्षमताभन्दा दोब्बर बढी यात्रु बोक्ने बसमा चढ्नेमध्ये धेरैको ज्यान गयो । हामी फेरी ब्युझिँयौ । हाम्रा आक्रोशरु छताछुल्ल भए । फेरि हामी सेलायौ । असोज २७ गते बबरमहलमा बस पल्टिँदा मोटरसाइकलमा रहेका ३ जनाको ज्यान गयो । हामी फेरि कस्सियौ । एकजना मित्र जो सोसल मिडियामार्फत यातायात व्यवसायीप्रति यति आक्रोशित छन् कि उनी भन्छन् ‘तिनीहरु यातना व्यवसायी हुन् ।’ यो तत्कालको आक्रोश हो र स्वभाविक पनि छ ।

तर गाडी दुर्घटना हुन नदिन, यसलाई रोक्न हामीले बौद्धिक मन्थन गरेका कुराहरुमात्र आफ्नो व्यवहारमा उतार्‍यौ र नजिकलाई प्रेरित गर्‍यौ भने दुर्घटना हुन केही कम हुन्छ । हामी बटुवामात्र हैन चालक पनि हौ । मोटरसाईकल वा साईकल चलाउँदा हामी कार, माइक्रो, बस, ट्रक वा ट्रयाक्टरसँग डराउँछौ । कार वा बस चढ्न थालेपछि हामी मोटरसाईकल, साईकल, माइक्रो, टेम्पोलाईसमेत गाली गर्छौ । गाली गर्ने कारण अरु केही नभई गाडी चलाउने तरिकासँगै सम्बन्धित हुन्छ । बटुवाले बाटो काट्दा जेब्रामा एकछिन रोकिदाँ सवारी चालकको रुपमा हामी आकाशै खस्छ भने झै हतारिन्छौ । बटुवाको रुपमा सवारी साधन र तीनका चालकलाई गाली गर्छौ । अझ सवारी चालक भएका बेला जेब्रा क्रसिङमा रोकिनु पर्यो भने बटुवालाईमात्र हैन ट्राफिक प्रहरीलाई समेत गालि गरेर हामी सन्तोष लिन्छौ ।

एउटै उपायले मात्र सवारी दुर्घटना रोकिदैन । गाडी दुर्घटना रोकथामको सार्वजनिक गाडी चालकहरुको पहिरनले पनि भुमिका खेल्छ । चालकको पहिरन सुनिश्चित गरिनुपर्छ । सबैले परैबाट चिनुन् यो चालक हो यो सहचालक वा सहयोगी हो भनेर । प्रायः दुर्घटना सहयोगी चालकको शिकारु तालले पनि हुनेगर्छन् । बस सञ्चालक, व्यवस्थापन समितीले चालकको पहिरनलाई अनिवार्य र बाध्य गर्नैपर्छ ।

अर्को उपाय चालकलाई रक्सी पिएर गाडी चलाउन प्रतिबन्धै गर्नुपर्छ । रक्सीले मातेर गाडी चलाउनेलाई कडाई गरेपछि दुर्घटनाको संख्यामा कमी भएकोबाटै प्रमाणित हुन्छ की दुर्घटनाको मुख्य कारक रक्सी पनि हो । यसलाई शुन्य सहनशीलताकै रुपमा लिईनुपर्छ । अझै कडाई गर्नुपर्छ । चालक गाडीसहित खान आएका बेला वा खाएर गाडी चलाउँदैछ भन्ने थाहा भएर पनि त्यो चालकलाई रक्सी बेच्नेलाई कडा कारवाही गर्न थाल्नुपर्छ ।

काठमाडौं उपत्यकाको हकमा दोलखा, चरिकोट, चौतारा, धुलिखेल, पनौती, बनेपातिरबाट आउने ठुला बसहरुलाई कोटेश्वरमै रोक्नुपर्छ । बसपार्क त्यतै बनाउनुपर्छ । राज्यले धेरै साना सवारीलाई निरुत्साहित गरेर थोरै तर ठुला सार्वजनिक यातायात साधनहरु थप्नुपर्छ । मानिसको चहलपहल हुने र व्यस्त समयमा बाहेक शहरमा गुड्ने सार्वजनिक सवारी संख्यालाई कम गर्न यातायात व्यवसायीलाई प्रेरित गर्नुपर्छ ।

 र जानीजानी, हेलचेक्र्याँई र लापरवाहीले गाडी चलाउने चालक र दुर्घटनाको कारण लापरवाही पुष्टि भएमा हदैसम्मको कानुनी कारवाही गर्न राज्यले खुट्टा कमाउनु हुँदैन । यस्ता कुरा गर्नलाई कानुनले पर्याप्त सहयोगी भुमिका खेल्दैन भने समय नघर्किदै कानुन परिमार्जन गर्न हिच्किचाउनु हुँदैन । दुर्घटना भएपछि पछुताउनु, कराउनुभन्दा दुर्घटनाका कारण खोजौं र नियन्त्रणका लागि सहकार्य गरौं । मर्ने त मरिहाल्छ बाँच्ने पटकपटक नमरौं ।

लेखकलाई ट्वीटर मा भेट्न सकिन्छ ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service