खबरभित्रका खबरहरु

विनय गुरागाई 

घरबाट हिडेको दुईघण्टापछि हामी सप्तरीको मुहलीमा बिहानी नास्ताका लागि रोकियौ । खाजा खाईसकेर निस्कने बेलामा नास्ताघर साहूजीको प्रश्नले एकछिन असहज तुल्यायो । साहूजीले प्वाक्क सोधे, “यादवको गाउँ जान लाग्नु भयो?” हामी अल्मलिएको साहूजीले बुझेछन् क्यारे, आफै सहजीकरण गरे, “पहिले राजाको गाउँ अहिले राष्ट्रपतिको । राष्ट्रपति यादव भएपछि यादवको गाउँ भएन त?” एकछिनसम्म उनको कुराले गम्भिर तुल्यायो । उनको भनाईमा व्यंग थियो वा थिएन तर सत्य त्यही थियो । उनी बातमार्न झन हौसिए, “अब त प्रधानन्यायधिस पनि मधेशी । राज्यका दुई महत्वपुर्ण अंगका प्रमुख मधेशी । र पनि मधेशी समुदाय सन्तुष्ट छैनन् । उनीहरु यता बसोबास गर्ने पहाडेलाई देखि सहन्नन् । उनीहरु सोच्छन्, पहाडियाले उनीहरुको सम्पत्ति खाईदिए । मधेशी नेता तथा स्थानीय अगुवाको सोचमा संकिर्णता छ । राज्यका महत्वपुर्ण अंगहरुमा नेतृत्वदायी भुमिका हुदाँहुदै पनि उनीहरु असन्तुष्ट छन् । त्यसको असर यता बसोबास गर्ने हामीलाई छ ।” उनको कुरामा सही थाप्दै अर्को आवाज निस्कीयो “काठमाण्डौ त मधेशी नेता तथा अगुवाका लागि ससुराली नै भएको छ । तर हामी चाहान्छौ काठमाण्डौ एकदुई ठुलाठालु मधेशीको नभै सबै मधेशबासीको ससुराली बन्न सकोस् ।” यस्तै सवाल जवाफ सुन्दै र केहीमा सहमत केही बिचारमा असहमत हुदै हामी काठमाण्डौ हिड्यौ । बाटैभरी मन अशान्त भईरह्यो । ‘के हामीले चाहेको परिवर्तन यसैगरी संस्थागत हुदैजाला? रुपान्तरणले देख्न नसकिने तर अनुभव गरिने यस्तै सामाजिक तुषहरु मेट्न नसक्ला? ठुलाबडाकै हुकुमी शासनबाट मुक्त हुनलाई गरिएको आन्दोलन र त्यसले ल्याएको परिवर्तन संस्थगत हुन नपाउँदै फेरी पनि समाजले नयाँ ठुलाठालुहरुलाई स्थापीत गर्न खोजेको हो? एउटा राजा हटाएर कैयौ छोटे राजाहरुलाई स्थापीत गर्नका लागि हामीले रुपान्तरण रोजेका हौ? सामाजिक सद्भाव र मेलमिलाप हराउँदै जान थालेको हो? बर्ण, रंग, भाषा, भुगोलका आधारमा बिभाजित भएर बस्नलाई हामीले गणतन्त्र चाहेका हौ? किन फाटेका मन लिएर हामी गुम्सिरहेकाछौ? ’ मन पिरोल्ने यस्ता अनगिन्ती प्रश्नको उत्तर सायद तपाईसँग पनि छैन होला ।

बिपी राजमार्गले पुर्वी नेपालको यात्रा दुरीलाई छोटो बनाएकोछ । त्यसैले होला यो दशैको बेला बिपी राजमार्ग अरुदिनभन्दा व्यस्त थियो । फुलपातीको अघिल्लो दिन नेपालथोक कट्दा बिहानको साढेसात बजेको थियो । तर नेपालथोकबाट अलि अगाडि बढेपछि शुरु हुने धुलाम्य उकालो ट्रयाक छिचोल्न भने अरु सवा घण्टा लाग्यो । नियमित हुन्थ्यो भने निजी सवारीमा त्यो मात्र आधाघण्टा जतिको दुरी हो । ढिलो हुने कारण अरु केही नभै बलमिच्याई थियो । काठमाण्डौबाट छुटेका गाडिको लस्कर थियो त्यो दिन । त्यसैले साँघुरो बाटोमा एकतर्फी आवागमनका लागि काठमाण्डौबाट हिडेका सवारी साधनले प्राथमिकता पाउनु स्वभाविक थियो । तर एकतर्फी छुटले अलि बढी नै फाइदा लिन थालेपछि खुर्कोट हुँदै नेपालथोक फर्किरहेका बसका चालकहरुलाई हेपिएको महशुस भएछ । उनीहरुले जर्बजस्ती दुईटा बस धुलाम्य सडकमा छिराए । बाटो बन्द भयो । धुलाम्य उकालोमा गाडिको लस्कर । झन्डै एकघण्टाको अथक कुराईपछि बाटो खुल्यो । तर घुम्ती र मोड कटाउन ठुलै सकस । भोकप्यास, असिनपसिन हुदैन बल्लतल्ल खुर्कोट पुगियो । त्यहाँ पनि सानोतिनो गल्तिले झन्डै पुगिएछ सुनकोशीपारी रामेछाप । धन्न एकजना सज्जन भेटिए र कमलामाई जाने बाटो बताए । बाटो बताउने उनको शैलीले भने दिनैभरी हसाँईरह्यो । गाडि पहिले आएकै बाटोमा फर्केपछि ती सज्जन दौडदै ड्राईभिङ सिट नजिक पुगे र भन्न थाले, “ए गुरुजी, उ त्यहाँ जाउ, त्यहाँबाट बाटो देब्रे मोडिन्छ, देब्रेलागेपछि बाटो नछोडि जानु, सिन्धुली पुगिन्छ ।” उनको कुरामा हाँस्ने त्यस्तो कारण नभएपनि चालक सिटमा बसेको भाई कृष्णलाई उनले जुन शैलीमा गुरुजी भनेर सम्बोधन गरे त्यो अनपेक्षित थियो । हाँस्दै गर्दा पनि हामीले भने धुलाम्यबाटो, एकतर्फी सडक र जबर्जस्ती गर्ने बस तथा सुमो चालकको लापरवाहीले दिक्क बनाईरहेको थियो । त्यसमाथि निजी सवारीका शिकारु चालकहरुको डर मिश्रित्र ड्राईभिङ । कहिले सिक्ने हामीले सम्य र जिम्मेवार व्यवहार? अरुले सिकाउने हो वा आफै सिक्ने? सवारी चालकमात्र नभै अरु क्षेत्रमा पनि लागु हुन्छ यो कुरा । हैन र?
सप्तरीको बरमझिया पेडाप्रेमिका लागि लोकप्रीय ठाउँ । बरमझियामा दर्जन बढी पेडा पसल छन् । पेडा भन्दा नि पेडा बेच्ने पसलका नामले प्रसिद्ध छ बरमझिया । त्यहाँ कसले कहिलेदेखि पेडा व्यवसाय शुरु गर्यो । पंक्तिकारसँग तथ्य सहितको सूचना छैन । यद्यपी त्यहाँ अहिले जुन माहौल छ पेडा पसलको नामलाई लिएर त्यहाँ पुग्ने जोकोहीलाई त्यसले अचम्मित पार्नसक्छ । त्यहाँका पेडा पसलका नाममा ‘बुढा’ शब्द झुन्डिएकै हुन्छ । ‘बुढाको पेडा पसल, असली बुढाको पेडा पसल, उही पुरानो बुढाको पेडा पसल ......’ आदी इत्यादी । कुन चाँही हो त्यहाँको पुरानो र असली बुढाको पेडा पसल? जो जुन पसलमा पुग्छ उसका लागि त्यही हो असली भन्ने गरेको पनि सुनिन्छ । मेरा एकजना पुर्व सहकर्मी जो सिरहाकै थिए, उनले बताए अनुसार फोटोमा देखिएको पेडा पसल त्यहाँको पहिलो र पुरानो पेडा पसल हो र असली बुढाको पनि त्यही नै हो । बाँकी अरु त्यसपछि खुलेको नक्कली पसल हुन् । यही विश्वासका साथ म प्रायः बरमझिया पुगेका बेला त्यही पसलबाट पेडा किनमेल गर्छु । पेडा बेच्ने बुढा असली हुन् वा नक्कली सबको चासो त्यतातिर गएपनि त्यहाँ बेचिने पेडा कति नक्कली कति सक्कली भन्ने कुरामा भने कमैले मात्र चासो दिने गरेका छन् । त्यहाँ बेचिने पेडाको खाद्य गुणस्तर जाँच भएको अहिलेसम्म थाहा छैन । अनि एउटाले गरेको काम सफल हुनेबित्तिकै त्यसको नक्कल गर्ने आम नेपाली परिपाटीको गतिलो उदाहरण हो बरमझियाको पेडा उद्योग ।

राजमार्गका होटलमा पाईने खानाको गुणस्तरको बारेमा यसपाली राज्यले मलेखुदेखि नवलपरासीसम्म राजमार्ग छेउछाउका होटलमा अनुगमन गरेछ । अनुगमन गरिएकामध्ये धेरै होटलको खानेकुरा खानलायक छैन भन्ने निष्कर्ष राज्यको जिम्मेवार निकायले निकाल्यो भन्ने खबरले दशै अगाडि निस्केका समाचारमा ठाउँ पाएका थिए । खानेकुराको गुणस्तर त परै जावस, खानेकुरा नै पाईदैन बिपी राजमार्गमा पर्ने धुलीखेल बर्दीबास सडक खण्डमा । बाटामा पर्याप्त भाते होटल छैनन् । भएकाहरुमा खान खोजेका कुरा पाईदैनन् । पाईने ठाउँमा भिंगा भन्किरहेका हुन्छन् । कमलामाई पुगेपछि हामी सडकछेउको थकाली भान्छा छेउमा रोकियौ । तर थकाली त्यो दिन बन्द थियो । पाँचसय मिटर अगाडि एउटा होटेलमा खाना पाइयो । भात तातो थियो । यद्यपी भेन्टाको तरकारी आफै चिसो त थियो नै त्यसले खाना खानेको मन पनि चिसो बनाइसकेको थियो । काउलीको तरकारी सुँघ्न पाइन्छ भनेपछि त्यही खाना खाने निर्णय भयो । चिसो दाल एकपटकमै निख्रिएछ । कुखुराको मासु र कागतीको निम्कीका साथमा केही गाँस खान नपाउँदै मासुको झोलसमेत सकिएको संकेत पाईयो । तर साहूनी मासूको झोल ल्याइरहेकी थिईन् । हरेकपटक मासुको झोलको स्वाद फेरिदै गयो, मिठोबाट नमिठो । अन्तमा एकप्लेट मासु थप्ने सहमत भयो । यसपाला त मासुको रंग नै फरक । भएको के रहेछ भने मासुको झोलसमेत नभएपछि साहूनी हरेकपटक मासुमा तातोपानी हाल्दै दिदै गर्न थालेको पत्तो लाग्यो । हामीले केही गुनासो गरेनौ । पैसाका लागि सामान्य शिष्टाचार समेत नदेखाउने होटल व्यवसायी हुन्जेल ग्राहकले खान पाउने त्यस्तै गुणस्तरहिन र वेस्वादकै खाना हुन भन्दै हामीले चित्त बुझायौ । खाद्यगुणस्तरको वकालत गर्ने सरकारी, गैरसकारी निकाय त्यस्ता होटलमा पनि पुगे हुने नी । अँ साँच्ची, होटल व्यवसायीलाई व्यवसायिक तालिमको व्यवस्था चाँही कसले गर्ने? जान्दैनजान्नेलाई त सिकाउनु पनि पर्छ, जानेरै पनि अटेर गर्ने र अरुको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई पो गर्ने हो कारवाही । हैन र?

समस्या खासै ठुलो हैन । तर मानिसको सोचसँग जोडिएकोले यसलाई सानो पनि नभनिहालौ । ट्राफिक नियम हामीले कहिल्यै सिकेनौ । नियम पालना गर्नलाई हामीलाई कसैले दण्ड वा सजाय तोक्नै पर्यो । बटुवालाई बाटो काट्न दिदाँ होस् वा अरुको सवारीलाई एकैछिन बाटो छोडिदिँदा नै किन नहोस् । यस्तो लाग्छ हामी सधै आफुलाई सर्वेसर्वा ठान्छौ । दशैको टिकाको अघिल्लो दिन । हामी धरानको दन्तकालि मन्दिर परिसरमा पुग्यौ । बल्लतल्ल पार्किङ पाईयो । तर फर्किने बेलामा पार्किङबाट गाडि निकाल्न पापडै बेल्नु पर्यो । अगाडि गाडि देख्दादेख्दै नव धनाड्य कारपतिहरुले दुईटा कार हाम्रै गाडिको पछाडि रोकेर हिडे । हामी निस्कने बेलामा उनीहरु कता थिए खोजी साध्य थिएन । ६० सेकेन्ड जति लाग्दो हो, पाँच मिटर व्याक गर्दा सडकमा पुगिन्थ्यो । तर हामीले गाडिलाई सडकमा पुर्याउन १५ मिनेट आफैसँग लडाई गर्नुपर्यो । धन्य ट्राफिक प्रहरीको सहयोगले कुनै दुर्घटना बेगर गाडि सकडमा पुग्यो । समस्या ठुलो थिएन । यद्यपी सानातिना कुरालाई वेवास्ता गर्ने हाम्रो सोच समस्याको केन्द्रबिन्दु थियो । यस्तो सोच त्याग्न अझै समय लाग्छ हामीलाई । कसो?

र अन्त्यमा,
सुर्योदय र सुर्यास्तका दृष्यहरु लोभलाग्दा हुन्छन् । त्यसैले हामी तिनलाई हेर्न र क्यामेरामा कैद गर्न लोभिन्छौ । पहाडका टाकुरा तथा हिमालका छिडिबाट निस्कने र बिलाउने बेलाको सुर्य हेर्नलायक नै हुन्छ । तर सुर्योदय र सुर्यास्तका लागि तराईकाक फाँट, नदी र तालहरु नि कम छैनन् । सुर्योदयका लागि ईलामको श्रीअन्तु, भक्तपुरको नगरकोटको चर्चा त अति नै छ तर तराईका प्रायः स्थानहरु जहाँबाट सुर्य उदाएको र अस्ताएको दुवै दृष्य अति नै मनमोहक हुन्छ ती स्थानहरु अहिले पनि चर्चा बाहिरछन् । जस्तै कोशी ब्यारेज । सप्तकोशी नदीको सुनसरीखण्डबाट देखिने सुर्यास्त अति नै अलौकिक लाग्छ । सप्तकोशीकै सप्तरी खण्डबाट देखिने सुर्याेदय बर्णनगरी साध्य छैन । 

सप्तकोशी नदीमाथिको लामो पुललाई पृष्ठभुमिमा पारेर जुन किसिमका दृष्यपान र कैद गर्न पाईन्छ त्यस्तो अलौकिक आनन्द सायदै अन्त पाईन्छ होला । तर सप्तकोशी ब्यारेज आसपासको स्थानलाई पर्यटकीय दृष्टिकोणले बिकास गर्न सकिएको छैन । अर्ना र चराका लागि सुप्रसिद्ध कोशी टप्पु कोशी ब्यारेज नजिकै छ । यद्यपी त्यसको चर्चा नै हुन्न । यदी कोशीटप्पु अर्ना र चरा, सप्तकोशी बोटिङ र सुर्याेदय सुर्यास्तका लागि प्रबर्धन गर्ने हो भने स्थानीय बासिन्दाका लागि गतिलो स्रोत बन्नेछ आम्दानीको । तर यस बिषयमा राज्य र स्थानीय नागरिक कतैबाट पनि जिम्मेवार पहल भएको छैन । भएको छ कहीबाट भने मिलेर अझै पहल गरौ । आफ्नो देश र समाज आफैले बनाउने हो।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by shiva gyawali Bankaila on October 8, 2014 at 7:07pm

अब त प्रधानन्यायधिस पनि मधेशी । राज्यका दुई महत्वपुर्ण अंगका प्रमुख मधेशी । र पनि मधेशी समुदाय सन्तुष्ट छैनन् । 100%

Comment by Amuna Chapagain on October 8, 2014 at 1:10pm

गज्जबको संस्मरण ! घर जाँदा/आउँदा  राजमार्ग छेउछाउका होटलवालाले गर्ने हर्कत याद आयो । 

Comment by pawan neupane on October 8, 2014 at 11:32am

कति राम्रो संस्मरण ! यात्राका यादहरु फेरि तरोताजा गर्दियो यो संस्मरणले :) 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service