ब्लगका लागि नैतिकताको साँधकिल्ला ‘ब्ल्याक एण्ड ह्वाइट’ मै छुट्याइदिए राम्रो हुन्छ : यमबहादुर दुरा

लमजुङको दुराडाँडामा जन्मनुभएका यमबहादुर दुराले पत्रकारिताबाट आफ्नो ‘करिअर’ शुरु गर्नुभएको हो । आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्नुभएका दुरा पत्रकारिता अध्यापन र लेखनकर्ममा संलग्न हुनुहुन्छ । उहाँ राष्ट्रिय मानव अधिकार आयोगमा सञ्चार हेर्ने काम पनि गर्नुहुन्छ । अहिले उहाँको परिचय ब्लगरको रूपमा पनि स्थापित हुन थालेको छ । अनुभूतिका थुँगाहरू मार्फत ब्लगिङमा सक्रिय वहाँसंग ब्लगिङ गर्दाको अनुभव र सामाजिक सञ्जालहरूबारे सविता आचार्यले उहाँसँग भलाकुसारी गर्नुभएको थियो । प्रस्तुत छ, उहाँसँग भएको भलाकुसरीको सारसंक्षेप ।

आफुलाई ब्लगरको रूपमा चिनाउनु पर्दा कसरी चिनाउनु हुन्छ ?

म कुनै घागडान ब्लगर होइन, लेखनमा रुचि राख्ने सामान्य व्यक्ति हुँ । आफ्नो  ‘अनलाइन प्रेजेन्स’ देखाउने लोभले ब्लग लेख्न थालेको हुँ । समयको उचित व्यवस्थानपन गर्न नसक्दा ब्लग लेख्ने कामलाई निरन्तरता दिन सकिएको छैन ।

व्लगको नाम ‘दुराका कुरा’ नै किन राख्नु भयो ?  यसको अर्थ ?

‘दुराका कुरा’ को एउटा सानो किस्सा छ । पत्रकार मदनमणि अधिकारीले सन् २००९ तिर ‘कटुवाल’ शीर्षकमा ब्लग चलाउनुभएको थियो । उहाँको अनुरोधमा मैले पनि त्यसमा त्यसमा फाट्टफुट्ट लेख्न थालेँ । उहाँले त्यसमा मलाई एउटा स्तम्भ दिनुभएको थियो । त्यस स्तम्भको नाम थियो, ‘दुराका कुरा’ । पछि उहाँले ब्लग लेख्न छाड्नुभयो । पछि ‘दुराका कुरा’ नामबाट आफ्नै ब्लग चलाउन थालेँ । यसरी ‘दुराका कुरा’ को न्वारन मदनमणि अधिकारीले गर्नुभएको हो । अन्त्यानुप्रासयुक्त नाम भएकोले यसलाई धेरैले मन पराए । अहिले मेरो मन बदलिएकोले त्यो नाम फेरेर ‘अनुभूतिका थुँगाहरू’ राखेको छु ।

आफ्नो व्लगको बारेमा थोरै बताइदिनुस् न ?

मेरो ब्लगलाई म आत्मसन्तुष्टिका लागि लेख्न थालिएको अनुभूतिमूलक लेखहरूको संगालो वा ‘सोकेस’ भन्न रुचाउँछु । यसमा मूलतः अन्यत्र नै प्रकाशन भएका लेखहरू समाविष्ट छन् ।

कहिलेदेखि ब्लग लेख्न थाल्नुभयो ?

सन् २०१० देखि ।

ब्लगिङ किन गर्नुहुन्छ ?

‘मनको बह कसैलाई नकह’ भन्ने परम्परागत मान्यतालाई चुनौती दिन ।

तपार्इँले आफ्नो ब्लगमा कस्ता कुरालाई प्राथमिकता दिनुहुन्छ र किन ?

मेरो लेखाइमा प्राथमिकताको विषय खासै यही भन्ने छैन । म संस्कृतिदेखि प्रविधिसम्मका कुरालाई स्थान दिन रुचाउँछु । मूलतः आत्मसन्तुष्टिका लागि यी कुराहरू लेख्ने गर्छु । मेरो लेखाइले समाजको सकारात्मक परिवर्तनमा सहयोग पुग्यो भने त्यसलाई ‘बोनस’ ठान्छु ।

तपाईँको ब्लग हेर्ने मान्छे पनि धेरै नै छन्, उनीहरूलाई के कुराले तपाईँको ब्लग हेर्न र त्यहाँ लेखिएका कुरा पढ्न आकर्षित गर्छ ?

पाठकको मनोविज्ञानबारे रौँचिरा गर्न कठिन भएकोले यसबारे ठोकेर भन्न गाह्रो छ । तर पनि ज्ञान र विचारको खोजी गर्ने क्रममा ‘अनलाइन सर्फ’ गर्दै जाँदा चिप्लिएर मेरो ब्लगमा पाठकको आँखा पुगेको हुनुपर्छ भन्ने लख काट्छु ।

तपाईले नेपाली ब्लग र सूचनाको यो नयाँ माध्यमलाई कसरी नियाल्नुभएको छ ?

ब्लगले ज्ञानको विस्तार गर्ने र विचार निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो नजानिँदो किसिमले इतिहास अभिलेखीकरणको माध्यम पनि बनेको छ । ब्लगमा लेखिने विषयवस्तुको फ्रेमिङ, भाषाशैली, व्याकरणजस्ता पक्षमा सुधार हुनुपर्ने देखिन्छ ।

अरुको ब्लग कतिको पढ्नुहुन्छ ?  कस्ता ब्लगले तपाईलाई आकर्षित गर्छ ?

बेलाबखतमा स्वदेशी तथा विदेशी ब्लगरहरूको ब्लग पढ्छु । ब्लगको यही कुराले मलाई आकर्षित गर्छ भन्ने छैन । तर पनि छरितो भाषाशैली, विषयवस्तुको गहिराइ, जादुमय प्रस्तुति आदि कुराले मलाई आकर्षित गर्छ ।

ब्लगिङ वा ब्लगरका लागि आचार संहिताको कतिको जरुरी छ जस्तो लाग्छ, तपाईँलाई ?

नैतिक बन्धन नै अन्तिम बन्धन हो । आचार संहिताले मानिसलाई नैतिक रूपमा जिम्मेवार बनाउँछ । हरेक व्यक्ति नैतिक रूपमा जिम्मेवार बन्नैपर्छ । ब्लग विचार र सूचना प्रवाहको माध्यम हो, जसले समाजलाई जुटाउने र फुटाउने दुवै काम गर्न सक्छ । हाम्रो प्रयास भनेको समाजलाई जुटाउने र समाजलाई सकारात्मक दिशामा डोर्याउने काममा केन्द्रित हुनुपर्छ । यस्तो काममा लाग्दा उच्च नैतिक मर्यादा पालना गर्नैपर्छ । यसका लागि  आचार संहिता अपरिहार्य हुन्छ । त्यसो त हरेक पेशा र व्यवसायमा आचार संहिता आवश्यक हुन्छ नै ।

पत्रकार आचार संहिताले ब्लगरलाई समेट्न सक्छ कि सक्दैन ?

नेपालको विद्यमान पत्रकार आचार संहिताले ब्लगरलाई समेट्न सक्छ पनि । सक्दैन पनि । नेपालको पत्रकार आचार संहिताले ब्लगरबारे बोलेको छ जस्तो लाग्दैन । तर हामीले बुझिराख्नुपर्ने कुरा के हो भने चाहे छापा माध्यम होस् वा अनलाइन नै किन नहोस, त्यसबाट प्रवाह हुने भनेको सूचना र विचार नै हुन् । माध्यम आफैंमा केही होइन । हाम्रो पत्रकार आचार संहिताले सूचना र विचारको सम्प्रेषणबारे प्रष्ट रूपमा बोलेको छ । यस अर्थमा नेपालको पत्रकार आचार संहिताले ब्लगरलाई समेटेको छ भन्न सकिन्छ । यति हुँदाहुँदै पनि विचार र अभिव्यक्ति स्वतन्त्रताको नाममा ब्लगको दुरुपयोग हुनसक्ने सम्भावना प्रबल छ । ब्लगका लागि पनि नैतिकताको साँधकिल्ला ‘ब्ल्याक एण्ड ह्वाइट’ मै छुट्याइदिए राम्रो हुन्छ ।

तपाईलाई आफुलाई एकदमै मन परेको र अरुले पनि रुचाइएको कुनै दुईवटा व्लग छान्नु पर्दा कुनलाई छान्नु हुन्छ ?

अहिले थुप्रै ब्लगरहरू अनलाइन दुनियाँमा छाउनुभएको छ । सबै नाम लिन गाह्रो छ । नेपाली ब्लगहरूमध्येबाट दुइटाको नाम लिनुपर्दा ‘इन्डिजिनियस नलेज’  र ‘मेरो संसार’ को नाम लिन्छु । ‘इन्डिजिनियस नलेज’ विचार र ज्ञानका लागि हेर्छु भने मेरो संसार’ चाहिँ नेपाली समाजको बदलिँदो परिदृश्यबारे जानकारी प्राप्त गर्नका लागि । मैले हेर्ने ब्लगहरूको सूची अरु ब्लगहरू पनि छन् । तपाईँको प्रश्नले नै अरु ब्लगको नाम लिन दिएन ।

अहिले सामाजिक सञ्जालका नयाँ नयाँ रूपहरू पनि आइरहेका छन्, तपार्इँ पनि सामाजिक सञ्जालमा सक्रिय नै हुनुहुन्छ । तपाईको विचारमा सामाजिक सञ्जालहरूको प्रयोग कसरी गर्नुपर्छ जस्तो लाग्छ, तपाईँलाई ?

सही समयमा प्रवाह भएको सही सूचनाले सामाजको सबलीकरणमा सहयोग गर्छ । सामाजिक सञ्जालहरूले यस दिशामा उल्लेखनीय भूमिका खेलेका छन् । यो राम्रो पक्ष हो । तर कतिपय अवस्थमा सामाजिक सञ्जालहरू अफवाह फैलाउने, आत्मप्रशंसा गर्ने र गाली गर्ने माध्यम पनि बनेका छन् । योचाहिँ सुधार गर्नुपर्ने पक्ष हो जस्तो लाग्छ । समाजको बृहत्तर हितका लागि  सभ्य र सुसंस्कृत ढङ्गले सामाजिक सञ्जालहरूलाई प्रयोगमा ल्याउनुपर्छ जस्तो लाग्छ ।

नेपाली ब्लगहरूमा सामाजिक सवालहरूलाई कतिको उठाएको पाउनु हुन्छ ?

ब्लगहरूमा सामाजिक सवाल प्रसस्त मात्रामा उठेका छन् । विदेशमा अलपत्र परेका नेपालीका दारुण कथादेदेखि ‘टर्मिनेटर सिड्स’ को त्रासदीसम्मका गम्भीर मामिलामा ब्लगरहरूका ध्यान गएका छन् । तर यी विषयमा रिसर्च र खोजअनुसन्धानको दायरा भने त्यति फराकिलो भएको देखिँदैन । यस्ता सङ्गिन विषयमा अझ खोजमूलक सामग्री पस्कन सकेमा सुनमा सुगन्ध हुने थियो ।

ब्लगिङ गरेर यो पाए अथवा केही गुमाए जस्तो लाग्छ कि लाग्दैन ?

ब्लगिङ गरेर मैले धेरै कुरा पाएको छु । केही गुमाएको छैन । मैले धेरै मित्रहरू पाएको छु । ब्लगिङ मार्फत मैले पाएको सबैभन्दा ठूलो कुरा त विचार पोख्ने माध्यम पाएको छु  । त्यो पनि विश्वव्यापी पहुँच भएको माध्यम । यसलाई बरदान नै सम्झेको छु  ।

ब्लगिङलाई कहिले नागरिक पत्रकारिता भन्ने गरेको पनि पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

ब्लगिङ एक अर्थमा नागरिक पत्रकारिता हो किनभने यसले जोश र जाँगर भएका जोकोहीलाई पत्रकारिता गर्ने अवसर दिएको छ । यति हुँदाहुँदै पनि यसलाई पूरापुर नागरिक पत्रकारिता भन्न मिल्दैन जस्तो लाग्छ । कारण के हो भने सबै ब्लगमा नागरिकका कुरा आएका छैनन् । यसमा नागरिकका चासो र सरोकारका विषय आएनन् भने त्यो एकाङ्की  हुनपुग्छ । हामीले बुझ्नैपर्ने कुरा के हो भने नागरिकबाट नागरिककै पक्षमा गरिएका पत्रकारिता नै साँचो अर्थमा नागरिक पत्रकारिता हो ।

सामाजिक सञ्जालहरूमा यमबहादुर दुरालाई कसरी भेट्टाउन सकिन्छ ?

यी अनलाइन चौतारीहरू फेसबुक, टुईटर तथा लिङ्क्डिन मा कहिले सुस्ताइरहेको बेला अनि कहिलेकाहीँ सुसेलिरहेको अवस्थामा तपाइँ मलाई भेट्न सक्नुहुन्छ ।

अन्त्यमा ...

समयले हामीलाई दिएको बरदानको हो, अनलाइन माध्यम । यसलाई समाजको सकारात्मक परिवर्तनका दिशामा उपयोग गरौँ । यही माध्यमबाट विश्वबन्धुत्वको भावना कायम गर्न सकौं । 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service