पत्रिकामा पढ्न नपाइने भावना र घटनाका मर्महरु ब्लगको रुप धारण गरेर आइरहेका छन्-उमेश सिग्देल

बारा जिल्लाको भावर क्षेत्र निजगढबाट जीवन जिउने संघर्ष लिएर बिभिन्न क्षेत्र भौतारिँदै अहिले मकवानपुरको हेटौडामा आफ्नो कर्म क्षेत्र बनाएका ३७ बर्षिय उमेश सिग्देल २ सन्तानका पिता पनि हुन् । हेटौँडाको एउटा चर्चित होटलमा करीब डेड दशक देखी कार्यरत उमेश भन्छन्-'होटलमा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थीति भइरहने हुँदा जीवनको बिविधता प्रस्ट देखिन्छ अनी यसैमा खुसी पनि लाग्छ।'
उमेश सिग्देल होटल ब्यवस्थापन क्षेत्रसंग सम्बन्धित भएपनि उनको परिचय यतिमा मात्रै सिमित छैन । सामाजिक संजालहरुमा उत्तिकै सक्रिय उमेश सामाजिक संजालहरुको प्रयोग गरेर भइरहेका विभिन्न सामाजिक अभियानहरु गाउँमा किताव, टीएफसी नेपाल, हाम्रो ब्लड सबैमा उत्तिकै सक्रिय पनि छन् । त्यसका साथै उमेशले प्रवेशवान एनपि नामक ब्लगमार्फत आफ्ना मनका हुँण्डरीहरुलाइ अरुसामु ब्यक्त पनि गर्दछन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै उमेश सिग्देललाइ प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उमेश सिग्देलसंगको कुराकानी:

 

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छएउटा ब्लगरका रुपमा या अरु केही?

म ब्लग त्यति नियमित ब्लग लेख्दिन बरु ट्विटरमा हुन्छु । ट्विटरका साथीहरुले हेटौँडाको सिग्देल आयो भन्छन् होला जस्तो लाग्छ ।

 

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

भाव र भावनाहरु भन्ने शिर्षक दिइएको मेरो ब्लग अरु भन्दा पनि ब्यक्तिगत केहि लेखाइहरुको ब्याकअप जस्तो मात्र हो भन्न सकिन्छ । अर्थात कहिलेकाँही यसो केहि लेख्यो आफुलाइ मन पर्‍यो भने मेरोरिपोर्ट तथा स्थानीय केहि पत्रपत्रिकामा दियो अनी त्यहि ब्लगमा लगेर थन्क्याइदियो, त्यत्ति हो। 

 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

ब्लग त २००९ तिरै बनाएको हुँ जस्तो लाग्छ तर लेख्न चैँ २०११ देखी हो । धेरैको ब्लग पढिन्थ्यो अनी आफु पनि किन एउटा नबनाउने भन्नको खाँतिर मात्र हो ।

 

केका लागि ब्लगिङ गर्नुहुन्छ?

कुनै खास कारण छैन । तैपनि आफ्नो मनको उकुसमुकुस मेट्नको लागी ।

 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् ?

जुन बिषयको भए तापनि समय सापेक्ष मनमा उठेका कुराहरुलाइ ब्लगमा राख्न मन लाग्छ ।

 

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छनतर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त  गाह्रो छ नि है?

ठीक भन्नु भो तपाइले । मैले ब्लगरहरु पनि धेरै किसिमका पाएको छु । जस्तै भनौँ कोही लेखक/पत्रकारहरु ब्यबसायिक लेखाइको क्रममा भएका लेख/समाचारहरु ब्लगमा पनि हाल्छन अनी माइक्रो ब्लग या सोसल नेटवर्किङ साइटमा त्यसका लिङक शेयर गर्छन अनी उनीहरुको ब्लग एकदमै अपडेट भएको जस्तो लाग्छ । अर्का, हामी जस्तो यसो कामबाट समय निकालेका बेलामा लेख्ने हो ।

 

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही के हो?

समयको माग अनुसार चल्छु । यही नै रुचि भन्ने छैन तैपनि इन्टरनेटबाट नयाँ नयाँ प्रबिधिको जानकारी लिन औधि मनपर्छ, यसो भनम् न-इन्टरनेटको क्रेजी हुँ । :) 

 

तपाँइ सोसल मिडियाको प्रयोग गरेर भैरहने सामाजिक अभियानहरुमा पनि उत्तिकै सरिक भैरहनुहुन्छ । के का लागि यो सब?

हो, म सामाजीक कार्यमा सरिक हुन चाहन्छु यस्ले आत्मसन्तुष्टि दिलाउँछ । ब्लड डोनेसनहरु-टीएफसी-हाम्रो ब्लड, गाउँमा किताब जस्ता केहि कार्यक्रमहरुमा सरिक हुने अवसर प्राप्त भएको छ ।

 

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

एकदमै सकारात्मक रुपमा लिएको छु यसको विकासक्रमलाइ । पत्रिकामा पढ्न नपाइने भावना र घटनाका मर्महरु ब्लगको रुप धारण गरेर आइरहेका छन् । ठुला राष्ट्रहरुमा ब्लग/ब्लगरलाइ अत्यन्तै सम्मानजनक हिसाबले हेरिँदोरहेछ। पहिला-पहिला कम्प्युटर बेसिक कोर्ष नगरी इन्टरनेट चलाउन सकिँदैनथ्यो । अहिले 'के गाँउ के शहर' सोसल मिडियाको क्रेजले कम्प्यूटरको 'क' पनि नजान्नेहरुलाइ समेत फेसबुक चलाउन सिकाउँदैछ ।

 

अरुका ब्लग कत्तिको पढ्नु हुन्छप्रायपढने ब्लगहरु?

ट्विटरमा लिङ्क दिइने प्राय: ब्लगहरु पढछु । नयाँ के आएछ भनेर हेर्ने ब्लगहरु चाँही आकारपोस्ट, धाइबाको शब्दकोष, चौरपानी अल्टिमेट, बाबाजी बिचार लगायतका छन्।

 

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?
सप्पै बिषयका ब्लगहरु मन पर्छन तर पनि हाँस्यरस भएका ब्लगको फ्यान हुँ म। सेल्फ साहित्यकार सम्झिइकन अरुले नबुझ्ने किसिमको शब्दहरु प्रयोग गरेर लेखेका ब्लगहरु जतिसुकै राम्रा भए पनि मन पर्दैनन ।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छतपाईंलाई के लाग्छजरुरी छ ब्लगरका लागी आचारसंहिता?

रोडको छेउमा घर बनाउने, ठुलो झ्याल ह्वाङग खोल्ने अनी सफा हावा मात्र आओस भनेर हुन्छ? त्यहाँबाट त किरा फट्याङग्रा पनि आउछन नी हैन र? ब्लगको हालत पनि त्यही हो बरु बाहिरको वातावरण सफा भयो भने अवस्य सफा हावा आउँछ । हामीले यो लाउनी उ लाउनी भन्दा पनि समाज अनी ब्लग/ब्लगरहरु र तिनका पाठकहरुमा नै चेतनाको विकास हुनुपर्छ जस्तो लाग्छ । तैपनी त्यो झ्यालरुपी संजालमा मसिना जाली लाउने काम गर्नुपर्छ राज्यले कानुन बनाएर । 

 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?

मैले हेर्ने क्याटगोरीको ब्लगहरुमा यो एकदमै लागु भएको पाएको छु तर अहिले च्याउ झै उम्रेका तथाकथीत न्युज ब्लगहरुले अर्काको कपी-पेस्ट गर्ने, असान्दर्भिक फोटा भिडlयोहरु हाल्ने मानव संवेदना बिपरितका तस्विर हाल्ने जस्ता कामहरु गरेका छन ।

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस्

अवस्य छन मैले गतबर्ष लेखेको दार्जिलिङका नेपालीभाषी भन्ने एउटा यात्रा संस्मरणलाइ पुर्वतिरको एउटा पत्रिकाले अर्कैको नाम हालेर हुबहु छापेछ । अनी गएको भ्यालेन्टाइनको अवसरमा लेखेको भ्यालेन्टाइनका भेलहरु भन्ने कथा मेरोरिपोर्ट मार्फत पढेपछी महिलाको चरित्र उदाङगो पार्ने? भनेर गाली खाएको छु ।

 

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु; ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?

ब्लग त्यो स्वीमिङ पुल हो जहाँ शब्दहरुसंग पौडन सकिन्छ अथाह र निरन्तर रुपमा । फेशबुक साथीहरुको फोटो एल्बम हो जहाँ सत्य असत्य फोटाहरु हेर्न सकिन्छ-एउटै नागको ७ वटा समेत टाउको जोडिएको अत्यन्तै दुर्लभ फोटाहरु J। अनी ट्विटर ब्लगको प्रेरणा हो ट्विटरका भावहरुबाट, यसमा प्रयोग हुने शब्दहरुबाट ब्लग बनाउन सजिलो हुन्छ । यसमा मात्र १४० अक्षरमा गुम्सिएका भावनाहरु क्षणभरमै पोखिने गर्छन ।

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?
हेर्ने दृष्टिकोण हो । म त प्राय: ब्लगहरु सामाजिक हितमा लेखिएको पाउँछु ।

 

ब्लगिङलाइ कतिले 'बैकल्पिक मिडिया'का रुपमा पनि भन्ने गरेको पाइन्छ तर पनि यो अँझै काठमाण्डौ केन्द्रित मात्र भइरहेको छ र मोफसलमा ब्लगरहरु एकदमै कम छन् भन्ने पनि गरिन्छ नि । किन होला?

देशकै राजधानी त्यस माथी सबै मिडिया हाउसहरु केन्द्रीकृत रहेको थलो हो त्यो । ब्लगिङ त बास्तवमा भन्नुपर्दा मोफसलमै धेरै हुनुपर्ने तर त्यसको ठीक उल्टो भएको छ । यसका कारणहरुमा इन्टरनेटको पँहुच नपुग्नु, कम्प्युटर शिक्षाको कमी जस्ता कारणहरु आउलान् ।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छके ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

शतप्रतिशत हो । पत्रिका वा अरु न्यूज एजेन्सीहरुबाट प्रकाशित/प्रसारित सामाग्रीहरु विभिन्न इन्ट्रेष्टका आधारमा पुर्वाग्रही हुनसक्छन् तर ब्लगमा तेसो हुँदैन । आफुले भोगेको र स्वबिचार सहितको ब्लगहरु अत्यन्तै सफल हुन सक्दछन् ।

 

अन्त्यमा,

मेरोरिपोर्ट- आमसंचार र नागरिक पत्रकारिताको अबधारणामा एकदमै सफल छ । अँझ जिल्ला-जिल्ला गाँउ-गाँउका समाचार तथा बिचारहरु यस मार्फत प्रकाशित भैरहोस, सबैका बिचारहरु समेटियून्। शुभकामना धेरै धेरै ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Krishna Guragain on July 15, 2013 at 5:55pm

धेरै धेरै बधाई :)

Comment by Amuna Chapagain on June 28, 2013 at 11:24am

Congratulations Dai

Comment by pawan neupane on June 26, 2013 at 12:57pm

Congratulation Umesh Dai :)

Comment by Umesh Sigdel on June 26, 2013 at 11:50am

धन्यबाद केपी गूरु 

Comment by Pagal Basti on June 26, 2013 at 11:45am

उमेस सरलाई बधाइ

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service