बाहिरका ब्लगरहरु काठमाडौं गएका हुन्, काठमाडौं बाहिर ब्लगरहरु नभएको सत्य होइन-उदय जिएम

उदय जिएम राजधानी बाहिर अर्थात मध्यपश्चिमको दाङमा बसेर दशक भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार हुन् । पत्रकारितामा सक्रिय सहभागिताका अलावा उनी ब्लगमा समेत कहिले भावनात्मक रुपमा पोखिएका हुन्छन भने कहिले खरो टिप्पणीकर्ताका रुपमा देखिन्छन् । यस्तै उनी कहिलेकाँही सामाजिक संजालमा हुने बहसमा समेत उत्तिकै सक्रिय भएर लागिरहेका हुन्छन् । मेरो रिपोर्टको साताका ब्लगर स्तम्भमा यसपाली हामीले उदयसंग ब्लगिङकै सेरोफेरोमा रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले गरेको कुराकानी :

ब्लग लेखन कहिलेदेखि सुरु गर्नु भयो ?

२०६१ माघ १९ गते शाही घोषणामार्फत पूर्वराजा ज्ञानेन्द्रले सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालका मूलधारका सञ्चारमाध्यममाथि नियन्त्रण थालियो । केही सञ्चारमाध्यमहरु बन्द भए । केहीमा सैनिक अधिकारीहरु नै सम्पादकीय कक्षमा बसेर सेन्सर गर्न थाले । त्यतिबेलाका मूलधारका सञ्चारमाध्यमहरु “नुन नहालेको तरकारी”जस्ता भए । सबै कुरा औपचारिक मात्रै । त्यतिबेला मैले अमेरिकामा बस्ने साथीहरु विशेषतः गिरिश पोख्रेलजीहरुले सञ्चालन गर्ने नेपालीपोष्ट डटकम हेर्ने गर्थें । पछिपछि आफ्ना लेखरचनाहरु पनि पठाउन थालें र प्रकाशित भए । यस्तैमा युनाइटेड वी ब्लग, माइसंसारजस्ता ब्लगहरुको चर्चा परिचर्चा भयो । जापानिज पत्रकार कियोको ओगुराले युनाइटेड वी ब्लगको बारेमा धेरैपटक सुनाउनु भएको थियो । यस्तैमा २०६२ माघ ४ गते extranepal.blogspot.com  खोलेर केही समाचारहरु पोष्ट गरेको रहेछु । त्यसको नाम रहेछ– न्यूज नेपाल । त्यसको दुई दिनपछि २०६२ माघ ६ गते www.meronepali.blogspot.com   नामक ब्लग खोलिएछ । २०६२ कै माघ २४ गते फेरि अर्को ब्लग खोलिएछ– www.meronepal.wordpress.com । एक महिनामा ३ वटा ब्लग खोलेर केही समाचारहरु पोष्ट गरेर पूरै दुई वर्ष सुतिएछ । फेरि २०६४ फागुन ११ गते कुन मुडमा हो कुन्नि www.udayagm.blogspot.com  बनाइएछ । त्यसको झण्डै २ वर्षपछि २०६६ कार्तिक १५ गते www.udaya.blog.com  ब्लग खोलेछु, फेरि निदाइएछ । यही सेरोफेरोमा मैले नै www.halkara.com  नामक न्यूज साइट सञ्चालन गर्ने भएकाले ब्लग खोल्ने अनि युजर र पासवर्ड बिर्सिने क्रम चलिरह्यो । बेलाबखतमा ब्लगको सम्झना आउँथ्यो तर युजर र पासवर्ड नभएकाले चलाइएन । पछिल्लो चरणमा ब्लग लेख्ने मुड चल्यो र फेरि यही २०६९ कार्तिक १२ गतेका दिन www.udayako.blogspot.com खोलें । यस्तैमा दाङकै साथीहरु डिल्ली मल्ल, नरेन्द्र केसीजीहरुसँग ब्लग, फेसबुक, ट्वीटरका कुरा भए । घरमा गएर जिस्किने क्रममा www.meronepal.wordpress.com को नयाँ पासवर्ड परिवर्तन गर्न सफल भएँ । अरु सबैको युजर र पासवर्ड बिर्सिएको र मेरो नेपालले अलि लामो इतिहास बोकेको हुनाले यसैलाई निरन्तरता दिने निष्कर्षमा पुगें । अहिले यहीमार्फत ब्लगको दुनियाँमा सक्रिय भएको छु ।

केका लागि ब्लग लेख्नुहुन्छ ?

ब्लगको सुरुवात चाहिँ तत्कालीन परिवेशमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएकोले मूलधारमा आउन नसकेका विषयवस्तुहरुलाई बाहिर ल्याउन भनेर गरियो । अब चाहिँ अरुमाझ आफूलाई अभिव्यक्त गर्नका लागि ब्लग लेख्ने गर्छु ।

खासगरी ब्लगमा कस्ता कुराहरु लेख्न रुचाउनु हुन्छ ?

ब्लगमा पनि साहित्यकै विभिन्न विधाहरुमार्फत आफूलाई अभिव्यक्त गर्ने कुरा हो । जस्तै, संस्मरण, कथा, कविता, गीत/गजलहरु इत्यादि । कहिलेकाहीं सामयिक लेखहरु र आफूलाई छोएका विषयवस्तुहरुका बारेमा पनि विचारका रुपमा प्रस्तुत हुन्छन् ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या पत्रकारका रुपमा ?

कर्मले चिनिने हो मान्छे । आफूले कुन रुपमा चिनाउने भनेर मात्रै पनि हुँदैन । ब्लगरका रुपमा सक्रिय भए ब्लगरका रुपमा र पत्रकारितामा बढी सक्रिय भए पत्रकारका रुपमा चिनिनु स्वाभाविक हुन जान्छ । कर्म गर्ने हो, जसले जुन पाटोबाट देख्छ वा चिन्छ, त्यो चिन्ने र बुझ्नेको कुरा भयो । जुनरुपमा चिने पनि मलाई कुनै आपत्ति छैन ।

नेपाली ब्लग क्षेत्रलाई कसरी नियाल्नु भएको छ ?

पछिल्लो समयमा नेपाली ब्लग क्षेत्रको दायरा फराकिलो बन्दै गएको छ । सूचना/प्रविधिको तीव्र विकास र बिस्तारले यो क्रम झनै बढ्ने छ । अब दुर्गम र पहाडी जिल्लाहरुमा समेत इन्टरनेटको पहुँच पुगेपछि स्वतः त्यहाँबाट पनि नयाँ नयाँ ब्लगरहरु आउने सम्भावना छ । यद्यपि म आफूले चाहिँ केही सीमित साथीहरुका ब्लगमात्र हेरेको छु । जस्तो, माइसंसार, लेनिन बञ्जाडेको www.lendaai.wordpress.com नवीन विभासको www.hataru.blogspot.com गंगा बीसीको http://akash-ganga.blogspot.com  हेर्ने गरेको छु । यीमध्येमा पनि www.mysansar.com   बढी हेर्छु । विषष्यवस्तुको उठान, छलफल चलाउने शैली, विषयवस्तुहरुको एङ्गल हेर्दा माइसंसारले मन तान्छ । नियमित अपडेट हुनु यसको अर्को विशेषता हो । जेहोस्, नेपालमा ब्लगको प्रभावकारिता बढ्दै गएको अनुभूति भएको छ ।

ब्लगिङकै कुरा गर्दा काठमाडौं बाहिर तपाईंहरुजस्ता ब्लगरहरु भेट्न गाह्रै हुन्छ किन होला ?

तपाईंको प्रश्नलाई यसरी बुझ्दा होला : 'काठमाडौं बाहिरका ब्लगरहरु काठमाडौं गएका हुन्' । काठमाडौं बाहिर ब्लगरहरु नभएको सत्य होइन । मैले भर्खरै नाम लिएका यी ब्लगरहरु र स्वयं तपाईं पनि काठमाडौंको होइन नि । जिन्दगीको गाडी गुडाउने क्रममा काठमाडौं छिरेका काठमाडौं बाहिरका ब्लगरहरुले नै काठमाडौं धानेका छन् । अवसर, स्रोतसाधन, पहुँच सबै कुराले सम्पन्न भएकाले सबै राजधानी छिर्नुपर्ने वाध्यता छ । त्यही भएर ब्लगको दुनियाँमा काठमाडौं बाहिर सुनसानजस्तो मानिएको मात्र हो । त्यो एउटा मीठो भ्रम हो कि ?

तपाईंसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झन लायक अनुभव छ ?

ब्लग पोष्ट गरिसकेपछि स्वदेश र विदेशका चिनेका र अचिनारु (नचिनेका) साथीहरुले प्रतिक्रिया दिँदा रमाइलो त त्यसै पनि लागिहाल्छ । त्यसबाहेक खासै सम्झनलायक घटना मसँग नभएको हो कि ?

सोसल मिडियामा कुनै विवादास्पद बहसहरुमा सहभागी हुँदाको सम्झन लायक कुराहरु छन् केही ?

सोसल मिडियाहरुमा लगभग भालेभिडन्त भइरहेका हुन्छन् । ती भालेभिडन्तमा कहिलेकाहीं आफू पनि भिड्ने गरेको छु । तर, अहिलेसम्म एउटा पनि त्यस्तो नराम्रो घटना वा प्रसङ्ग छैन ।

तपाईं मूलधारको सञ्चारमाध्यममा समेत कार्यरत हुनुहुन्छ । नेपालमा मूलधारका मिडियाले उठाउने बहस र सामाजिक सञ्जालहरुमा हुने बहसहरु उस्तै उस्तै छन् कि भिन्न भिन्न छन् ?

मूलधारको सञ्चारमाध्यम र सोसल मिडियाहरुका बहसहरु एकदमै पृथक छन् । मूलधारको सञ्चारमाध्यममा बहस प्रक्रिया लामो हुन्छ । आज एउटाले केही लेख्यो भने त्यसको जवाफ केही दिनपछि मात्र आउन सम्भव छ । बहसमा आउन चाहनेहरु पनि भेउ नपाएर रुमल्लिइरहेका हुन्छन् । योग्यता, क्षमता, पदीय हैसियत, व्यक्तित्वले पनि बहस प्रक्रियामा अवरोध सिर्जना गरिरहेका हुन्छन् । जस्तो, एउटा मूर्धन्य लेखकले कुनै दैनिक पत्रिकामा कुनै विचार राख्यो भने त्यसमा हदै भए केही शव्दको प्रतिक्रिया दिन सकिएला तर उत्तिकै स्पेसमा ऊसँग मैले बहस गर्न सक्दैन । किनकि सम्पादकले जति लेखकलाई नजिकबाट चिन्छ, जति उसको पहुँच हुन्छ, त्यति मेरो “हैसियत” अथवा “व्यक्तित्व” हुँदैन । अर्थात् सम्पादकले चिन्दै चिन्दैन । फलतः मेरो बहस गरेर लेखेको कागजले “कुँदादानी”को शोभा बढाउने काममात्र गर्छ । यता, सोसल मिडियाहरुमा भने इन्टरनेट भएमा कसैलाई कुनै भूगोल, हैसियत र व्यक्तित्वको सीमारेखाले छेक्न सक्दैन । ताजा र तात्तातो बहस चलिरहन्छ । यतिसम्म कि इन्टरनेटमै सन्दर्भस्रोतहरु दिएरै बहसहरु भइरहेका हुन्छन् र रोल्पाको दुर्गम गाउँको व्यक्तिले अमेरिकाको वेबसाइट हेर्दै र सन्दर्भस्रोत दिँदै बहसमा भाग लिइरहेको हुन्छ । त्यसैले सोसल मिडियाको बहस अत्यन्त जीवन्त लाग्छन् ।

सामाजिक सञ्जालमा हुने बहसले कहिलेकाहीं फेसबुकका भित्ता र ट्वीटरका टाइमलाइन निकै तातेका हुन्छन् । मूलधारका मिडियाले यस्ता बहसलाई स्थान नदिने हुँदा मानिसहरु वैकल्पिक मिडियाको खोजी गर्दै ब्लगिङ र सोसल साइटमा रमाएका त हैनन् ?

मूलधारका मिडियाहरुले चाहेरै पनि यस्तो बहसलाई स्थान दिन सक्दैनन् । उनीहरुका निश्चित सीमा हुन्छन्, पृष्ठहरुको सीमा हुन्छ । तर, सोसल मिडियामा स्थानाभाव कहिल्यै हुँदैन । स्वभावैले दाङमा बसेको व्यक्ति अमेरिकामा बस्ने साथीसँग बहसमा सहभागी हुन सक्दैन मूलधारको मिडियामा । सोसल मिडियामा जे हुन्छ, त्यो तात्तातै हुन्छ । त्यसैले बहसहरु सजीव बन्छन् । सोसल मिडियाको मुख्य आकर्षण नै यही हो जस्तो लाग्छ ।

सोसल मिडियाले उठाएका यस्ता बहसले मूलधारका मिडियालाई सहयोग गर्छ, फरक पार्दैन या अब मूलधारका मिडियाले विषयवस्तुका बारेमा सोच्न जरुरी छ ? के लाग्छ यहाँलाई ?

सोसल मिडियाका बहसहरुले मूलधारका मिडियाहरुलाई सहयोग नै गर्छ । सोसल मिडियामा उठेका विषयवस्तुहरु वा बहसहरु सधैंभरि गम्भीर हुँदैनन् । ती विषयवस्तुहरु सधैंभरि पूर्णतामा पुगेर टुंगिएका पनि हुँदैनन् । तिनलाई गहन र पूर्ण बनाउने समय मूलधारका मिडियाहरुसँग हुन्छ । मूलधारका मिडियाहरुले आफूले पस्कने विषयवस्तु, प्रस्तुतिकरण, त्यसको कोण त हरेक सिर्जनशील सम्पादक, मिडियाले सधैंभरि सोचिरहने कुरा भयो । नत्र प्रतिष्पर्धामा कसरी टिकिरहन सकिएला र ?

तपाईंको सबैभन्दा धेरै हेरिएको ब्लगपोष्ट कुन हो ?

“संसारभन्दा दश मिनेट अगाडि” शीर्षकको ब्लगपोष्ट (संस्मरण) सबैभन्दा बढी हेरिएको छ । यसमा संकटकालीन अवस्थामा मैले तत्कालीन शाही नेपाली सेनाबाट कुटाई खाँदाको घटनालाई सकेसम्म जीवन्तरुपमा लेख्ने प्रयास गरेको छु ।

अरुको ब्लग कत्तिको हेर्नुहुन्छ ? केही छन् सम्झिएका ब्लगहरुको नाम लिनुपर्दा ?

 हेर्छु । अघि नाम लिएकाहरु माइसंसार, लेनिन बञ्जाडे, नवीन विभास, गङ्गा बीसीका ब्लगहरु हेर्छु । पछिल्लो चरणमा मेरोरिपोर्टले सबै ब्लग र ब्लगरहरुलाई एउटा मञ्च दिएको छ । त्यसबाट पनि कस्ता कस्ता ब्लग, ब्लगर, ब्लगपोष्टहरु छन् भनेर त्यतातिर छिर्ने गरिएको छ । दाङकै सन्दर्भमा भन्ने हो भने बेलामौकामा डिल्ली मल्ल, देविका जीएम, नरेन्द्र केसीका ब्लगहरु हेरिन्छ ।

कसरी पुग्नुहुन्छ अरुको ब्लगसम्म ? सोसल मिडियामा पोष्ट गरिएका लिंकहरुमार्फत या चर्चामार्फत कि रेगुलर भिजिट गर्नुहुन्छ ती ब्लगहरु ?

रेगुलर भिजिट पनि गर्छु केही साईटहरु । माथि भनिएका सम्झिएका साथीहरुका ब्लगहरु हेरिन्छ । अरु त तपाईंले भनेजस्तै सोसल मिडियामा दिइएका लिंक, चर्चा परिचर्चाहरुबाटै अन्य ब्लगसम्म पुग्ने हो । मेरो रिपोर्टमा जम्मै ब्लग र ब्लगरहरुलाई एकै स्थानमा पाउन थालिएपछि त्यहाँबाट पनि अरुको ब्लगसम्म पुग्ने सजिलो माध्यम भएको छ । त्यहाँ गइसकेपछि नियमित जान त्यहाँका ब्लगपोष्ट, विषयवस्तु र ब्लगको आकर्षणमा भर पर्ने कुरा भयो ।

ब्लग लेखेर मात्रै भएन । त्यसले पाठकको ध्यान तान्न पनि उत्तिकै जरुरी छ । कस्ता ब्लगले पाठकको ध्यान धेरै तान्छ होला ?

पाठकको रुचि पहिलो कुरा हो । मान्छेपिच्छे फरक रुचि हुन्छ । कसैलाई केले छुन्छ, कसैलाई केले छुन्छ । यसै भन्न सकिन्न । कथा र कविता धेरैले धेरै लेख्छन् तर मन छुने कथा र कविता थोरै हुन्छन् । ब्लग पनि त्यस्तै हो । कहाँनेर कुन कुराले कसलाई छुन्छ ? यसै भन्न सकिन्न । तैपनि सामान्यतः ब्लगको अनुहार आकर्षक हुनुपर्यो । अनुहार राम्रो भयो भने सबैलाई हेरौं हेरौं लाग्छ । नियमित अपडेट हुनुपर्यो । नियमित भएन र एक महिनापछि खोल्दा पनि पुरानै पोष्ट देखियो भने मान्छेहरु त्यो ब्लगमा जान छोड्छन् । विषयवस्तु, प्रस्तुतिकरण, लेखनशैली मनमोहक त हुनै पर्यो । ब्लगमा छिरेको पाठकलाई अड्याइराख्ने र फेरि भिजिट गर्नका लागि वाध्य पार्नका लागि खुराक त हुनैपर्यो ।

पेशागत कुराहरु वा पेशागत बहसहरु गर्न कत्तिको मन पराउनु हुन्छ ब्लगमा ?

जो जुन पेशामा छ, त्यो पेशा सबै दृष्टिले राम्रो होस् भन्ने चाहना त सबैमा हुन्छ । नकारात्मक पक्षहरुको सुधारका लागि बहस चलाउन पनि सकिन्छ । यद्यपि अहिलेसम्म साहित्यिक विधाहरु, केही रिपोर्टहरु, केही समाचारहरुलाई नै पोष्ट गरिरहेको छु । भविष्यमा पेशागत बहस गर्न नसकिने पनि होइन ।

हामीकहाँ सोसल मिडियामा हुने बहस र ब्लगिङमार्फत गरिएका बहसहरु एकै खाले छन् कि फरक फरक छन् ?

सँधै एकनाश हुँदैन । कहिलेकाहीं फरकपन पाउन सकिएला दुबैमा । कहिलेकाहीं एकैखाले जस्तो पनि लाग्ला । तैपनि सोसल मिडियामा भन्दा ब्लगिङमा अलि गम्भीर र गहन विषयवस्तु हुन्छन् कि भन्ने लाग्छ ।

सामाजिक सञ्जालको खास महत्व के हो ?

सामाजिक सञ्जाल नहुँदो हो त म मेरा सबै साथीहरु गुमाइसकेको हुन्थें । सामाजिक सञ्जालको महत्व यसैमा छ ।

तपाईंको विचारमा सामाजिक सञ्जाल के हो ? सूचना र समाचार आदानप्रदान गर्ने थलो, बहस र विचारहरु अभिव्यक्त गर्ने मञ्च, विज्ञापनको माध्यम या मूलधारका सञ्चारमाध्यमको विकल्पको रुपमा आएको अल्टरनेटिभ मिडिया, के हो ?

सामाजिक सञ्जाल “सम्बन्ध” हो । नयाँ साथी बनाउने, पुराना साथी भेट्ने, भएका साथीहरुसँगको सम्बन्ध जीवन्त र ताजा बनाइरहने । सम्बन्धहरुमार्फत कहिले सूचना र समाचार आदानप्रदान गर्न सकिएला । सम्बन्धहरुलाई कहिले बहस र विचार अभिव्यक्तिको माध्यम बनाउन सकिएला । कहिले सम्बन्धहरुमार्फत विज्ञापन गर्न सकिएला, प्रचारप्रसार । कहिलेकाहीं यी “सम्बन्ध”हरुले मूलधारका सञ्चारमाध्यमहरुलाई घच्घच्याउने साधनको रुप पनि ग्रहण गर्लान् । समग्रमा भन्दा तपाईंले भनेका सबै कुराहरु सामाजिक सञ्जाल हो ।

मूलधारको पत्रकारिता र ब्लगमार्फत गरिने नागरिक पत्रकारिताबीच केही फरक छ ?

सबै प्रकारका सीमाहरुको बीचबाट गरिने मूलधारको पत्रकारिता र लगामबिनाको मनको घोडाजस्तो ब्लगमार्फत गरिने नागरिक पत्रकारितामा फरक त हुने नै भयो । जवाफदेहिता फरक परेपछि फरक त त्यसै भइहाल्यो ।

ब्लगिङलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि चाहिन्छ भन्ने बहस पनि छ एकातिर । तपाईंलाई के लाग्छ, के यो जरुरी छ ?

मुख्यरुपमा आधिकारिकता, जवाफदेहिता र जिम्मेवारीबोधको कुरा हो । समाज, देश र स्वयं आफूप्रति जिम्मेवारीबोध भयो भने त्यही नै “संहिता” हो । पालना नगरिने आचारसंहिताको पनि अर्थ छैन । तैपनि चारैतिर भद्रगोल भयो र त्यसले समाज र राष्ट्रलाई नै हानी गर्ने भयो भने आचारसंहिता त के नियमकानून नै बन्नुपर्ने होला । त्यो समय र परिस्थितिले माग गर्ने विषय हो । अहिलेलाई ब्लगरले आफैमा कत्तिको व्यवस्थित र मर्यादित छु भनेर एकपटक सोचिदिए वा ऐनामा आफ्नो अनुहार हेरिदिए पुग्छ जस्तो लाग्छ ।

अन्त्यमा,

रहरको काम हो मेरो लागि ब्लग । आफ्ना भावनाहरु पोख्न ब्लगिङ गर्दागर्दै मेरो रिपोर्टले “साताको ब्लगर” नामक मञ्च उपलव्ध गराइदिएको छ । मञ्चमा उभिएर भाषण गर्न र त्यसमा नाच्नुजत्तिको सजिलो अरु केही हुन्न । तर मञ्च बनाउनु जत्तिको अप्ठ्यारो काम अरु केही हुँदैन कि ? दुःख गरेर यो मञ्च बनाउने सम्पूर्ण मेरो रिपोर्ट परिवारलाई धन्यवाद !
“चिने पनि नचिनेझैं गर्छ राजधानी, देखे पनि नदेखेझैं गर्छ राजधानी” भन्ने मेरो गजललाई गलत सावित गर्दै मोफसलको अपहेलित वस्तीतिर आँखा डुलाउने र यो अवसर दिने मेरो रिपोर्टको सिङ्गो परिवारलाई फेरि पनि धन्यवाद र आभार पनि ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by sherbhhadur bhujel on December 24, 2012 at 5:05pm

मेरेा पनी बधाइ छ है ल उदय जि लाई धेरै धेरै 

Comment by Kashiram Dangi on December 22, 2012 at 5:03pm

dai ko calamala gajab ko rachha. badhai chha . ramro.

Comment by Narendra kc on December 20, 2012 at 9:04pm

राप्तीका पहिलो ब्लगर ज्यूको अन्तर्वार्ता रमाइलो लाग्यो

Comment by Binaya Shekhar on December 20, 2012 at 11:43am

कुरो राम्रो लाग्यो, अलिक लामो भयो उत्तर चाँही, सम्पादकले नकाटेर पनि होला, समाचार भएको भए कैची चलिहाल्थ्यो । तपाईको यात्रा जारी रहोस्, कहिलेकाँही भाले भिडन्तमा भेट्न पाइयोस् ।

Comment by Dilli Malla on December 19, 2012 at 7:32pm

 'काठमाडौं बाहिरका ब्लगरहरु काठमाडौं गएका हुन्' । बुढाले दनक त गतिलै दिएछन्, काठमाण्डौंलाई । बाहिरबाटै गएकाले बचाएको हो त काठमाण्डौंलाई ??? जे भए पनि बधाई छ है जेठान साप । अब चाहिँ बुढा लाजैले भए नि ब्लगर बन्ने भए ।

Comment by Krishna Guragain on December 19, 2012 at 4:41pm

धेरै धेरै बधाई उदय जी । आगामी दिनमा लेखन यात्राले अझ गति लिओस :)

Comment by Pagal Basti on December 19, 2012 at 4:20pm

साताको ब्लगरको रुपमा फिचर हुनुभएको मा उदय जि लाई बधाइ छ। स्विकार्नुहोला

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service