साताका ब्लगर:श्वेता बानियाँ

रेडियो नेपालमा अँग्रेजी भाषामा समाचार वाचन गर्ने श्वेता बानियाँ विगत चार वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छिन् तर पत्रकारको परिचय बाहेक उनीले करिब चार बर्षभन्दा धेरै समयदेखि नै http://swetabaniya.wordpress.com/  मा सक्रियरुपमा ब्लगिङ् समेत गरिरहेकी छिन । पत्रकारिता र ब्लगिङ्ग दुबैलाई फरक-फरक ढगले अघि बढाईरहेकी उनै श्वेतासंग मेरो रिपोर्टले यो साता साताका ब्लगर स्तम्भमा कुराकानी गरेको छ । प्रस्तुत छ प्रकाश लामिछानेले गरेको कुराकानीः

कहिलेबाट सुरु गर्नुभयो ब्लग लेखन ?

ब्लग लेखन २००८ अगस्टदेखि सुरु गरेको हुँ । सुरु गरेदेखि अहिलेसम्म नै निरन्तरता छ ।

कस्ता कस्ता कुरा लेख्नुहुन्छ ?

विशेष गरी जे कुराले मेरो मन छुन्छ, तिनै कुराहरु लेख्छु । सामाजिक वा राजनीतिक भन्दा पनि व्यक्तिगत विषयवस्तु र भोगाइहरु बढी हुन्छन् । सूचना–प्रधान भन्दा पनि भावना–प्रधान, साहित्य–प्रधान विषयहरु हुन्छन मेरो ब्लगमा । कहिलेकाँही अलि अलि चाहीँ सूचनामुलक कुराहरु पनि लेख्ने गर्छु ।

सुचनाप्रधान, भावनाप्रधान, साहित्यप्रधान भनेर बर्गिकरण त गर्नुभयो, यी सामग्रीहरु कसरी राख्ने गर्नुभएको छ ?

वर्गिकरण गरेर राखेको छु । १४ वटा क्याटेगोरीमा विभाजन गरेकी छु । जसमध्ये, Monologue, Poetry, Social Talk, Film/Drama/Book Review लगायत छन् । भर्खरै आफूलाई विशेष रुची भएकोले Photography पनि थपेकी छु यसमा ।

तपाईँले मुलधारको संचारमाध्यममा रहेर समेत पत्रकारिता गरिरहनु भएको छ । पत्रकारितासँग सम्बन्धित कुरा ब्लग मार्फत कत्तिको उठाउने गर्नुभएको छ ?

मैले पत्रकारितालाई छुट्टै एउटा प्रोफेसनको रुपमा राखेकी छु भने ब्लगलाई छुट्टै मेरो व्यक्तिगत कुराकानीको स्थानका रुपमा राखेकी छु । त्यही भएर यी दुईटालाई चाहीँ एक अर्कासँग जोड्दिन म । मैले पेशासंग सम्वन्धित बिषयको जगमा अडिएर उठाएको बहश भनेको केही समय अघि संविधानसभा भंग हुँदा लेखेको एउटा पोष्ट मात्रै हो । तर त्यो पनि पत्रकारितामा केन्द्रित भएर भन्दा पनि सूचना र आफ्ना निजी धारणा ब्यक्त गर्ने खालको मात्रै थियो ।

तपाईँको ब्लगमा नेपालीमा भन्दा अंग्रेजीमा पोष्ट गरिएको धेरै भेटिन्छ । यसरी अंग्रेजीमा लेखिएका पोष्ट पढ्ने नेपाली पाठक कत्तिको छन् ?

छन् । विशेषगरी ब्याचलर्स पढ्ने विद्यार्थीहरु र आफ्नै साथीहरु पनि छन् । अंग्रेजीमै पढ्न रुचाउनेहरु पनि हुनुहुन्छ र कतिपयले चाहीँ नेपालीमा पनि अलि बढी लेख्नु पर्यो है भनेर घच्घच्याइरहनु भएको हुन्छ   ।

ब्लग भिजिटरहरु कहाँ कहाँको धेरै हुनुहुन्छ ?

धेरै चाहीँ नेपाल र अमेरिकाबाट हुनुहुन्छ । त्यस्तै केही भने साउदी, कतार लगायत खाडी मुलुकबाट पनि हुनुहुन्छ ।

एक दिनमा सबैभन्दा बढी कति सम्म हिट भएको रेकर्ड छ ?

धेरै त होइन, त्यस्तै २०० सम्म छ । तर दैनिक औसतमा १०० सम्म हिट भइरहेको हुन्छ ।

आफ्ना व्यक्तिगत अनुभूतिहरुलाई लिएर ब्लग लेखिरहँदा भएका कुनै रमाइला घटना सम्झना छ ?

त्यस्ता त धेरै घटनाहरु छन् । मुख्यतः २००८ मा सानो संसार भन्ने चलचित्र रिलिज भएको थियो र त्यति बेला मैले भर्खरभर्खर ब्लग बनाएकी थिएँ । सानो संसार फिल्म हेर्न जाँदा हाउसफुल भएर टिकट पाइनँ । त्यसैको बारेमा मैले एउटा ब्लग लेखेकी थिएँ । त्यो चाहीँ अलि धेरैले पढेर कमेन्टहरु दिएको हुनाले मेरो लागि सबैभन्दा सम्झना आउने ब्लग हो । त्यही पोष्टले मलाई ब्लगर भनेर चिनायो जस्तो लाग्छ । अनि अर्को चाहीँ नोभेम्बर रेन भनेर मैले लेखिरहन्छु । जुन चाहीँ मेरो ब्लगको ब्राण्ड नै पनि भइसक्यो । यिनै दुईटा कुरा हुन् ।

मुलधारका संचारमाध्यमसँग आवद्ध हुनुभएका धेरै जसो ब्लगरहरुले त्यो पेशाले समेट्न नसकेका कुराहरु ब्लगमा लेखिरहनु भएको हुन्छ । तपाईँ चाहीँ त्यसभन्दा विल्कुलै फरक, नितान्त आफ्ना व्यक्तिगत भावनाहरु लेख्नु हुन्छ । पेशागत बहसलाई ब्लग मार्फत उठाउन जरुरी लागेन कि कसो?

मैले त्यसरी कहिल्यै सोच्दै सोचिनँ । पेशालाई छुट्टै र ब्लगलाई छुट्टै नै राखेर अघि बढें । मलाई मेरो ब्लग आफ्नो घर जस्तो लाग्छ । व्यक्तिगत डायरी जस्तो लाग्छ । प्रोफेसन भनेको मेरो जिन्दगीको छुट्टै पाटो हो  । प्रोफेसनको कुरा त ट्वीटरमा लेख्न सकिन्छ । फ्रस्टेसनका कुरा फेसबुकमा लेख्न सकिन्छ । तर ब्लगलाई भने प्रोफेसन भन्दा अलिकति टाढा र अलिकति भिन्दै नै राखेकी छु र राख्न पनि चाहन्छु ।

ट्विटर, फेसबुकका कुरा उठाईहाल्नुभयो, यस्ता सोसल नेटवर्किङ्ग साईटहरु, जसमार्फत हामीले माईक्रोब्लगिङ्ग पनि गरिरहेका हुन्छौँ र थुप्रै बिषयमा बहस पनि भैरहेका हुन्छन । तपाईलाई के लाग्छ, कस्ता बिषयमा कसरी बहस भैरहेका छन अचेल यहाँ ?

मलाई यी दुबैमा एक खालको भाइरल फैलिए जस्तो लागिरहेको छ । विशेषगरी युवाहरुमा राजनीति प्रतिको वितृष्णा बढेको देखिन्छ । त्यसमा पनि विषयको संवेदनशिलता र त्यसको प्रभावकारिता वा नतिजा केहीको पनि वास्ता नगरी आफूलाई मन लागेको कुरा सिधै व्यक्त गरेको, मनलाग्दो शब्दहरु लेखेको पाएको छु । प्रधानमन्त्री वा अन्य व्यक्तिहरुलाई पनि तथानाम गाली गर्ने गरेको भेटिन्छ । यस्तो कुरा चाँही मलाई ठिक लाग्दैन । त्यसैले यस्ता बहसमा आफू सहभागी नभई टाढा बसेर हेर्नेकाम मात्र गरिरहन्छु ।

हुनुपर्ने कस्तो खालको बहस थियो त?

मेरो विचारमा राजनीतिक विषयमा उठाइने सवाल र गरिने बहसहरु पनि फलदायी हुनुपर्छ भन्ने लाग्छ, त्यसले केही निकास देओस् । दिनभरी फेसबुक वा ट्वीटरमा बहस गरिसक्दा अन्त्यमा केही निचोड आओस् । जस्तो कि कुनै नेतालाई यस्तो र उस्तो भनेर गाली गर्दा उसले त्यो कुरालाई स्वीकार्ला वा नकार्ला तर त्यसले उसको त्यस्ता व्यवहारमा कुनै पनि परिवर्तन ल्याउँदैन । तर यदी उसकै फेसबुक वा ट्वीटरमा यो विषयमा युवाहरुबीच यस्तो यस्तो बहस भयो र यो निष्कर्ष आयो, नेपालका युवाहरु यो कुरा चाहन्छन् भनेर लेखिदिने हो भने त पक्कै पनि केही सकारात्मक परिवर्तनका साथ अघि बढ्न उनीहरुलाई पनि केही त सहयोग मिल्छ नि ! मलाई चाहीँ यस्तो लाग्छ ।

फेरी पनि ब्लगकै विषयमा आउँछु, सबैलाई आफ्नो ब्लग पढियोस् र धेरै भन्दा धेरैले रुचाइयोस् भन्ने लाग्छ । तर सबै खालका ब्लगहरु हिट हुँदैनन् । यहाँको विचारमा कस्ता खालका ब्लगहरु नेपालका पाठकहरुले रुचाएको जस्तो लाग्छ ?

नेपालीमा लेखिएका ब्लगहरु चाहीँ अलि बढी रुचाउने गरेको भेट्छु म । विषयका हिसाबले भन्दा राजनीतिक विषयमा लेखिएका ब्लगमा अलि धेरै बहस हुने र साहित्यिक ब्लगहरु धेरैले पढ्ने गरेको पाएकी छु । त्यसमा पनि साहित्यिक ब्लगका बारेमा भन्न मन लागेको कुरा चाहीँ पछिल्लो समयमा धेरै जसो साहित्यिक एवं संवेदनायुक्त ब्लगहरु पुरुष ब्लगरहरुले लेख्ने गरेको र त्यसमा प्रतिकृया जनाउनेहरुमा पनि धेरै जसो पुरुष पाठकहरु नै पाएकी छु । जेण्डर बायस गर्न चाहीँ खोजेकी होइन है ! (लामो हाँसो) खासमा आजभोलि पत्रपत्रिकाले साहित्यिक सामग्रीहरुलाई त्यति स्थान नदिने हुनाले पनि ब्लगमा यसको लेखन र पाठक बढेका होलान् ।

माइक्रो ब्लगिङ् वा सोसल साइटमा हुने र ब्लग मार्फत् हुने गफगाफ एउटै छन् कि फरक छन् ?

ब्लगले अलिकति फर्मल, संरचनागत भएर र विस्तृत कोणबाट विषयवस्तुलाई उठाउँछ भने माइक्रोब्लग वा सोसल साइटले चाहीँ कतै शब्द सिमितता त कतै साइटको विशेषताका आधारमा छोटकरीमा सूचना मात्र दिने गरेको छ । तर पनि मुल विषयलाई हेर्ने हो भने चाहीँ दुबैले उस्तै सूचना प्रवाह गर्ने हो जस्तो लाग्छ ।

यति कुरा गरिसकेपछि, सामाजिक संजालको खास महत्व चाहीँ के देख्नु भएको छ त यहाँले?

मेरो व्यक्तिगत अनुभूतिको कुरा गर्ने हो भने चाहीँ सोसल मिडियाले व्यक्तिको व्यक्तित्व विकासमा निकै ठूलो भूमिका खेलेको पाएकी छु । जस्तो मेरै कुरा गर्दा पनि म यसरी आमुन्ने–सामुन्ने भएर बोल्दा जत्तिको खुल्न असहज गर्छु तर जब सोसल नेटवर्किङ्ग साइटमा कसैसँग कुनै सवालमा कुरा गर्नु छ भने त्यहाँ मज्जाले खुल्न सक्छु । जसले गर्दा यस्ता कुराले चाहीँ मानिसलाई सामाजिक बनाउने काममा निक्कै ठूलो भूमिका खेल्छ भन्ने मलाई लाग्छ ।

सोसल साइटहरुमा अहिले धेरैको प्रवेश भईरहेको छ । नवप्रवेशीहरुसंगै रचनात्मक बहसपनि बढिरहेको छ कि यत्तिकै रमाइलोको लागि जस्तो लाग्छ ?

छन् छन् रचनात्मक पनि छन् । जस्तो गाउँगाउँमा किताब अभियान, भर्खरै सिएनएन हिरो हुनुभएकी पुष्पा बस्नेतलाई जिताउने जस्ता कुरामा सोसल साइटको भूमिका निकै नै महत्वपूर्ण छ । कहिले काहीँ बेसी गाली गलौज र गर्नका लागि गरिने राजनीतिक सवालहरुमा चलेका बहसहरु भने अलि अनुत्पादक हुन् झैँ लाग्छ ।

सोसल मिडिया तथा ब्लगिङ्गमा रचनात्मक बहस भन्दा पनि मनोरञ्जनका कुराहरु मात्र हुन्छन् र अश्लिलता तथा गालीगलौज समेत बढ्दै गएको छ भन्नेहरु पनि छन् । यसलाई व्यवस्थित गर्नको लागि आचार संहिताको कत्तिको खाँचो पर्छ होला जस्तो लाग्छ ?

मानिसलाई आफ्नो संस्कृति, धर्म, हैसियत अनुसार के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरा यसैपनि थाहा छँदैछ । त्यसमाथि अझ आचारसंहिता लगाउने कुरा चाहीँ मलाई त्यति ठिक लाग्दैन ।

अरुको ब्लग कत्तिको पढ्नुहुन्छ ?

पढ्छु । जस्तो कि बाबाजीको, लेनिन दाइको, आकार पोष्ट आदी पढेको छु ।

कसैको ब्लग पढ्नुपर्दा फेसबुक, ट्वीटरमा कुनै ब्लगमा चलिरहेको बहस हेरेपछि के लेखेको रहेछ भनेर पढ्नुहुन्छ कि आफूले फलो गरिरहेको ब्लगमा केही समयको अन्तरालमा नयाँ के लेखेको रहेछ त भनेर खोजेर पढ्नुहुन्छ ?

पहिलो कुरा त फेसबुकमा नोटिफिकेसन आएको आधारमा या ट्विटरमा लिँक आएको आधारमा हेर्छु भने कसैले यो पढ है भनेर भनेर रिकमेण्डेसन गरेको आधारमा पनि हेर्छु ।

अबको दश वर्षपछिको अवस्था वा बाटो हेर्ने हो भने ब्लगिङ्को स्कोप के ?

यसको स्कोप पहिलो त विचार र अनुभुतिको प्रवाह नै हो । त्यसमाथि यसैबाट आम्दानी समेत गर्नका लागि विज्ञापनहरु मार्फत हुनसक्छ कि भन्ने हो । मैले चाहीँ अहिलेसम्म गुगल एडहरु राखेकी छैन । तर यदि त्यो बाटो अपनाउने हो भने एउटा सम्भावना त्यहाँ पनि छ । यो मेरोलागि मात्रै हैन की सबैका लागि कुरा गरेको ।

अन्त्यमा,

हामी मध्ये जस्-जसको अनलाईनमा पहुँच छ वा बस्ने समय हुन्छ त्यसमध्ये पनि धेरै जसो फेसबुक ट्वीटरमै दिन बिताइरहेका पनि हुन्छौं । त्यसको सट्टा आफ्नो ब्लग सुरु गरेर त्यसमा रचनात्मक लेखन सुरु गर्ने हो भने धेरै महत्वपूर्ण कुराहरु रेकर्डमा रहन सक्छन् । धेरै लेख्न नआए एक–दुई लाईन पनि लेख्न सकिन्छ । सुरु सुरुमा लेख्न नजान्दा अरुको ब्लगहरु हेर्ने, पढ्ने, कमेण्ट गर्ने । जसले गर्दा उसले पनि आफ्नो प्रतिकृया दिन्छ वा हाम्रो कमेण्टको आधारमा सच्याउँछ । यसरी एउटा नेटवर्क बन्ने र त्यो नेटवर्क हामीले लेख्ने ब्लगमा रचनात्मक सुझाव दिने काममा भूमिका खेल्ने पनि हुन्छ ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Lava Kafle on December 12, 2012 at 9:21am

wowow sweta, congrats great one, we love her posts

Comment by Krishna Guragain on December 6, 2012 at 4:52pm

धेरै धेरै बधाई है स्वेताजी । अब त Mango Tart खानु नै पर्ने भो :)

Comment by Tek Raj Bhandari on December 5, 2012 at 7:10pm

Congratulation Shewata g

Comment by Kamal Paudyal"बालक बबुरो " on December 5, 2012 at 4:53pm

दबाइके इन्टरबिउ लेल बाटो हो  बाबाजी !! आपके अनेक अनेक धन्यवाद और श्वेता बानियाँ जी कै  बधाई..

Comment by sherbhhadur bhujel on December 5, 2012 at 4:35pm

श्वेता बानियाँलाई बधाइ। सताको ब्लगर भएकामा हामी सँगै थीयै केही महिना अधी न्यु िमिडीया तालीममा बल्थलीमा.............

Comment by Pagal Basti on December 5, 2012 at 4:32pm

श्वेता बानियाँलाई बधाइ। सताको ब्लगरमा फिचर भएकामा

Comment by Kranti Darai on December 5, 2012 at 4:31pm

congratulations la .... :)

Comment by Durga Lamichhane on December 5, 2012 at 4:30pm

Congratulation Shweta! All the best for your blogging future! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service