नागरिकका चासो र चिन्ताका सवालहरू पनि ब्लगले समेटेको हुन्छ : सुशील अधिकारी

सुशील अधिकारी एक सामाजिक अभियान्ता हुन् । उनी सुचना प्रविधिद्वारा समाज परिवर्तन गर्ने कार्यमा सक्रियताका साथ लागेका छन् । परिलक्षित नामक संसथामा कार्यरत , सुशिल ध्वनि सम्पादक पनि हुन् । उनी रेडियो कार्यक्रम सम्पादन पनि गर्छन । सुशील ब्राईट स्टार सोसाईटीका संस्थापक पनि हुन्। समाजसेवाका साथै उनी ब्लग लेखनमा पनि सक्रिय छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा हामीले आज उनै सुशील अधिकारीलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ बताइदिनुस न ।

आफूलाई म सुचना-प्रविधिद्वारा समाज रुपान्त्रण गर्न प्रयत्नरत व्यक्तिको रूपमा चिनाउँन चाहान्छु ।

तपाई दृष्टिहिन हुनुहुन्छ, अनि सक्रियताका साथ ब्लगिङ पनि गरिरहनुभएको छ, किन र कसरी ब्लग शुरु गर्नुभयो ?

वास्तवमा मैले पछिल्लो समयमा त्यति सक्रियताका साथ ब्लगिङ गर्न पाइरहेको छैन, तर ब्लगिङ मेरो एक रूचि हो । तर प्रयाप्त समय दिन सकिरहेको छैन । आफूले जाने-बुझेका कुराहरू ब्लगको माध्यमबाट आम मानिसमा सकारात्मक सन्देश दिन सकिन्छ कि भनि ब्लगिङ सुरु गरेको हुँ । अहिले भने भुकम्प-पछिका प्रायः पुननिर्माणमा सक्रिय हुनुपरेकाले पनि म अलि यतापट्टि ध्यान दिन सकिरहेको छैन ।

ब्लगबारे कँहा सुन्नुभयो या तपाईलाई ब्लगबारे कसैले बतायो ?

म कम्प्यूटरको शिक्षक भएको हुँदा मलाई ब्लगको कुरा खासै नौलो भएन ।

अन्य आम ब्लगिङ र दृष्टिबिहिन समुदायका सदस्यहरुले गर्ने ब्लगिङमा कुनै तात्वीक फरक छ  ?

दृष्टिबिहिनले गर्ने ब्लगिङ र अन्य समुदायले गर्ने ब्लगिङमा भिन्नता त खासै केही छैन तर हामी SCREEN - READING  SOFTWAREको प्रयोग गरेर ब्लगिङ गर्ने वा कम्प्युटरमा काम गर्ने गर्छौँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ? ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?

ब्लगिङ  मेरो रुचीको विषय मात्र नभै  यसको मार्फत समाजलई केही जन-चेतनाका कुराहरू दिएर अपांगताबारे सही जानकारी दिनको लागि ब्लगिङ गर्छु । यो ब्लगलाई अब नयाँ रूपमा नियमित गर्ने सोच र जोस पनि मनमा छ र यसलाई एक नमुना ब्लग बनाउँने मेरो प्रयास रहनेछ।

दृष्टिबिहिन समुदायबाट तपाई आफुमात्रै हो ब्लगर की अरु पनि छन्  ?

नेपालमा मैले ब्लगिङ गर्ने दृष्टिबिहिनहरू भेटेको छैन । तर नेपाल बाहिर अन्य मुलुकमा चाहिं म जस्तै ब्लगरहरू छन ।

सूचना प्रबिधिमा दृष्टिबिहिन समुदायका चुनौतीहरु के के छन् ?

सूचना प्रबिधिमा दृष्टिबिहिन  समुदायका  पहिलो चुनौती के हो भने नेपालमा हामीसँग नेपाली Text TO Speech (TTS) Software अहिलेसम्म बनेको छैन । हामीले नेपाली भाषामा लेख्न-पढ्न त्यती सहज छैन । त्यस्को बलियो प्रमाण मेरो यो लेखाईमा नै भेटिन्छ । अर्को कुरा, हामीसँग नेपालमा नेपाली Optical Character Recognition (OCR) software पनि नभएकोले नेपाली प्रिन्टलाई स्क्यान गरेर अरुको सहयोगबिना पढ्न सकिने अवस्था छैन तर अंग्रेजीको लागि भने हामीलाई कुनै समस्या छैन । SCREEN-READER, TTS र OCR सबैको सहज उपलब्धताले सूचना प्रबिधिमा दृष्टिबिहिन  र दृष्टियुक्त दुवै एकै ठाउँमा जोडिएका छन् । त्यस्तै, अन्य चुनौतीको कुरा गर्दा, नेपालका अधिकांस वेबसाइटहरू पहुँच युक्त छैन् । जसले गर्दा हामीलाई अलि गाह्रो हुन आउँछ ।

त्यस्ता चुनौती समाधानका लागि कसले के भुमिका खेल्नुपर्छ ?

यी समस्या वा चुनौती समाधान गर्न यी समस्याका बारे PROGRAMMERS/DEVELOPERS हरूले बुझेर नेपाली TTS, OCT बनाउनेतर्फ ध्यान जान सके धेरै राम्रो हुने थियो । नेपाली वेबसाइटहरू सबैका लागि पहुँचयुक्त बनाऊन सरकारी निती र यससँग काम गर्नेहरूलाई अभिमुखिकरणको जरुरी छ ।

तपाईले http://creativesushil.blogspot.com/  बाहेक अरु पनि चलाउनु हुन्छ

हजुर, म त्यो बाहेक, WWW.CREATIVESUSHIL.WORDPRESS.COM  पनि विगतमा चलाउँथे । तर वर्डप्रेस अलि पहुँचयुक्त नभएकोले अहिलेको ब्लग सुरु गरेको हुँ ।

ब्लगिङ गर्न कत्तिको सजिलो छ  त

सजिलो त खासै छैन । किनकी  BLOGSPOT को ड्यासबोर्ड निकै नै GRAPHICAL भएकोले हामीले प्रयोग गर्ने स्क्रिन-रिडरले कतिपय कुराहरू राम्रोसँग पढ्न सक्दैन । त्यही भएर कहिलेकाँही ब्लगिङ गर्न अलि समय लाग्ने गर्छ ।

आफ्नो ब्लगलाई अद्यावधिक गर्न भने ढिलो हुनुहुँदो रहेछ नी, केही कारण?

यो ब्लगस्पटको इन्टरफेस त्यती पहुँचयुक्त वा SCREEN-READER-FRIENDLY नभएकोले अरुलाई भन्दा अलि बढि समय छुट्टयाउन पर्ने हुन्छ । अनि अहिले म अन्य काम-कुरातिरै अलि बढी केन्द्रित हुनु परेकोले पनि ब्लगिङलाई त्यति समय दिन सकेको छैन ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?

ब्लग पढेर आउने प्रतिक्रियाहरु एकदम रचनात्मक छन् र धेरैले मलाई अझै राम्रा-राम्रा विषयवस्तुलाई ल्याउँन सुझाव दिने गर्नुहुन्छ ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन?

ब्लग बाहेक मेरो रुचि, गीतसंगीत सुन्ने, नयाँ-नयाँ ठाऊँको भ्रमण गर्दै सिकाई, गराई र भोगाईलाई तिखार्ने, गजल-लेखन, समाज-सेवाजस्ता कुराहरूमा छन् ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ?

समग्रमा गरेको छु । आफ्नो भोगाईहरू अगामी पोष्टहरूमा बिस्तारै आउँदै पनि छन् ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

ब्लगमा म त्यति धेरै पारांगत नभैसकेकोले पनि होला । अहिलेसम्म त्यसतो रोचक प्रसंग वा अनुभव खासै छैन ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

अवश्य पनि ब्लगिङ एक नागरिक पत्रकारिता हो, किनकी यसबाट पनि धेरै मुलधारमा आउन नसकिरहेका कुराहरू प्रवाहित हुन्छ अनि नागरिकका चासो र चिन्ताका सवालहरू पनि यसले समेटेको हुन्छ ।

अन्त्यमा,

यो अवसरको लागि आभारी छु, मेरो रिपोर्टको ऊन्नति हुदै जावोस शुभकामना ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service