ब्लग आफ्नो अभिव्यक्तिका लागि लेख्ने हो, जुन सवैलाई मन पर्छ भन्ने छैन-सुमन मञ्जरी

शहरमा यतिबेला एउटा नेपाली फिल्मको नाम चर्चामा छ जसको नाम हो 'मञ्जरी' । नेपाली बृहत् शव्दकोशले मञ्जरी शब्दको अर्थ 'बोट, बिरुवा, लहरा आदिमा निस्कने नयाँ पालुवा; नयाँ पात वा मुनासहितको टुप्पो; मुजुरा; कोपिला; आँकुरो' उल्लेख गरेको छ । नुवाकोट जिल्लाको दाङसिङ गाविसकी सुमन मञ्जरी शब्दकोशले परिभाषित गरेकी मञ्जरी हुन या होइनन् नेपाली चलचित्र मञ्जरीकी नायिका भने होइनन् । हाल काठमाण्डौमा नेपाली साहित्यमा स्नातकोत्तर तह पढ्दै गरेकी एक विद्यार्थी हुन् उनी र ब्लगिङ तथा सामाजिक संजालहरुमा सक्रिय युवाका रुपमा उनी परिचित छिन् । नामको पछि जोडिएको मञ्जरी शब्दका बारेमा जिज्ञासा राख्दा उनी भन्छिन-'बिए दोस्रो वर्षमा पढ्दाखेरी गज़ल लेख्न सिक्दा त्यसै बेला गज़लमा तखलुस राख्न साथीहरुले बिबिध नाम खोजेका थिए त्यही मेसोमा मैले पनि आफ्नो लागि यो नाम रोजेकी हुँ ।' आफ्नो ब्लग सुमन मञ्जरीमा उनले साहित्यका विविध पाटाहरु कथा, कविता, गीत, गजल, तथा गफगाफ सबैलाइ उनेर राखेकी छिन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपटक हामीले उनै सुमन मञ्जरीलाइ प्रस्तुत गरेका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले मञ्जरीसंग गरेको कुराकानी :

 

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

ब्लगर भन्दा बढी म अहिले नेपाली साहित्यकी विद्यार्थी हुँ । 

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

मेरो ब्लग मेरो रोजाई देखाई अनि भोगाई पोखिएको थलो हो।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

२०६६ सालको अन्त्यतिर देखी ।

ब्लगिङ किन गर्नुहुन्छ?

ब्लग मेरो लागि मन पोख्ने थलो हो मन छोएका बिषय प्रसङ्गहरु लाई लेखाइमा उतार्न ब्लगिङ गर्छु ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् ?

मेरो ब्लगमा मेरा मानवीय अनुभूति सम्बन्धित लेखाइहरु नै प्राथमिकतामा पर्छन ।  

तपाईंको ब्लगमा साहित्यका कुराहरु धेरै रहेछन् । किन साहित्यलाइ नै मुख्य बिषयबस्तु बनाउनुभयो?

रुची नै त्यही हो मेरो।

साहित्यका ब्लगहरु धेरै नै पाइन्छन तर धेरैजसो साहित्यिक ब्लगहरु गुणस्तरिय साहित्य भन्दापनि आफ्नै कथाहरु र आत्मरतिमा रमाउने गरी लेखिएका, मनको बह पोख्न कै लागि लेखिएका हुन्छन भनेर सामाजिक संजालमा आलोचना पनि हुन्छ सर्जकको । किन होला ? 

ब्लग लेख्नु भनेकै आफ्नो अभिव्यक्तिको स्वतन्त्र प्रस्तुतिका लागि हो । मान्छेले आफ्ना अनुभूति लेख्ने क्रममा कसैको अभिव्यक्ति कल्पनाको रंग सहितको सार्वभौम् र सशक्त हुन्छ । जसले जो कोहीको मन पनि सहजै छुन्छ भने कतिको प्रस्तुति कोरा बर्णन जस्तो मात्र हुन्छ, जसले जो कोहीको मन खिच्न सक्दैन ।  अनि सबैका भोगाइ र अनुभूति सबैको प्रिय बन्छ भन्ने पनि हुन्न । ब्लग आफ्नो अभिव्यक्तिको स्वतन्त्र प्रस्तुतिका लागि लेख्ने भएकोले सवैलाई मन पर्छ भन्ने छैन नि ! त्यसैले सामाजिक संजाल जस्तो विविध मान्छेको उपस्थिति हुने ठाउँमा यस्ता कुरा आउनु स्वाभाविक हो ।

साहित्यबाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?

अहिले सम्म साहित्य मात्रै छ, भविष्यमा साहित्य र समालोचनालाइ सँगै लैजान सक्छु । अन्य विषय मेरो रुची भित्र अहिले सम्मलाई छैन । 

हरेक मानिसको मनमा कुनै न कुनै भाव तरंगित भैरहेको हुन्छ तर लेख्नका लागि शब्द भेटिँदैनन् । साहित्यिक अभिव्यक्तिका लागि भाषा बलियो हुनैपर्छ भने लेखाइपनि शिर्जनशिल (Creative Writing) हुनैपर्छ भनिन्छ । शिर्जनशिल लेखाइ कसरी आउँछ?

सिर्जनशील लेखाइ एकै पटक आउने होइन यो त बिस्तारै बिस्तारै खारिने कला हो जसको लागि धैर्य, लगनशीलता र गहन अध्ययनको आवश्यकता पर्छ। 

साहित्यका कुरा र शिर्जनशिल लेखाइमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?

रुची प्रथमत: हुनु पर्यो रुचिले व्यक्तिलाई जागरुक बनाउँछ जब व्यक्ति कुनै बिषय प्रति जागरुक हुन्छ भने सिकाई र स्वत हुने प्रक्रिया हो, सँगै लेखाईको सिप त हुनै पर्‍यो । 

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

ब्लग र सोसल मिडिया 'जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड' भने झैँ हो । सहि सदुपयोग गर्ने हो भने यी माध्यमबाट धेरै सिक्न सकिन्छ । मैले फुर्सदको उपयोगीका रुपमा आफुलाई समसामयिक कुराबाट आफुलाई जानकार राख्ने माध्यमका रुपमा यिनलाई हेर्छु।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ

फुर्सद हुँदा फेसबुक ट्विटरबाट सेयर हुने ब्लगहरु सबै पढ्छु । 

विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?

विशेष गरी आख्यानात्मक र समालोचनात्मक लेख भएका ब्लगहरु पढ्न रुचाउँछु । 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

ब्लग स्वतन्त्र लेखाइ भएकाले आचार सहिताको परिधिमा नआउन पनि सक्छ । साथै नेपालमा ब्लग लेखाई सुरुवाती रुपमै रहेको छ यसर्थ आचारसंहिता अहिले अत्यावश्यक भने छैन। 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?

मैले हेरेका ब्लगहरुमा असहज स्थिती छैन। 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

अलिक पहिलेको प्रसंग हो, मैले एउटा कथा लेखेर ब्लगमा पोस्ट गरेकी थिएँ । संयोग कस्तो परेछ भने त्यो कथा मेरो एक जना पुरानो साथीको जीवनसँग हुबहु मिलेछ । यद्यपी त्यो बेला हामी एक अर्काको सम्पर्कमा थिएनौँ। फेसबुकमा सेयर भएको ब्लग पढेर उसले मलाई फोन गरेको थियो । अहिले सम्झदाँ रमाईलो लाग्छ। 

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

ब्लग आफ्ना बिशेष अनुभूतिहरु विचारहरु दिर्घकालिन रुपमा जम्मा गर्ने, अरुबाट प्रतिक्रिया लिने थलो हो जसको सुरुवात भर्खरै भएको छ हामीकहाँ, भने फेसबुक/ट्विटर धेरै प्रयोगकर्ता भएका आफ्ना आफन्त र साथीहरुसंग सम्पर्कमा रहने थलो साथसाथै समसामयिक बिषय माथिको बहस थलो पनि हो, यहि भिन्नता छ। 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

केही थालनी भएको छ र दिन दिनै सामाजिक हितका लागि यसको प्रयोग उत्साही रुपमा बढ्दो पनि छ। हाम्रै टिएफसि नेपालको ब्लग यसको राम्रै नमुना हो।  

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?

स्कुटरवाली दिदी भन्ने कथा (भाग एक र दुई छन) पछील्लो समयमा बढी पढिएको पोष्ट हो । 

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ ?

ब्लगिङ गरेर मैले आफ्नो लेखाई प्रशस्त सुधार्ने मौका पाएकी छु । मेरो अध्ययन पनि बढेको छ । यसर्थ मैले पाएकी मात्रै छु आजसम्म केहि गुमाएकी छैन ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?
एक हिसाबले हेर्ने हो भने हो पनि तर के कति भन्ने चै ब्लगरमा भर पर्छ। आफ्ना स्वतन्त्र र गहकिला बिचार ब्लगका मध्यमबाटै ब्यक्त भए पनि ति बिचार अन्य ब्यक्तिसम्म पुग्छ नै।     

अन्त्यमा,

हिजोआज म अलिक अल्छी भएर ब्लग अपडेट गरेकी छैन। अब फेरी लेख्ने जाँगर जुट्ला जस्तो लाग्दैछ, यसको जस मेरोरिपोर्टलाई नै दिन्छु र अन्त्यमा, यसको लोकप्रियता र निरन्तरताको कामना सँगै धन्यवाद। 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on April 26, 2013 at 9:48pm

बधाई छ सुमन मञ्जरीजीलाई साताको ब्लगर हुनुभएकोमा 

Comment by Binaya Shekhar on April 26, 2013 at 5:02pm

बधाई छ सुमन मञ्जरीजी । तपाईको साहित्यीक र अनलाईन लेखन यात्राले निरन्तरता पाइरहोस् । 

Comment by Pagal Basti on April 24, 2013 at 2:08pm

बधाई

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service