सोसल मिडियाले मान्छेहरुको चेतनाको स्तर बढाएको छ-सुमन अर्याल

जन्मथलो गुल्मी बास तथा कर्मथलो रुपन्देही बताउने सुमन अर्याल हाल काठमाण्डौको हाँडीगाउँमा बस्छन् । National Institute of Technology, Kurukshetra, India बाट मेकानिकल इन्जिनियरिङमा स्नातक र काठमाण्डौ विश्वविद्यालयबाट उर्जा इन्जिनियरिङमा स्नातकोत्तर उनी अहिले freelancing गरिरहेका छन् । पेशागत रुपमा ईन्जिनियर भएपनि सुमनले आफूभित्र कवित्वलाई पालेर बसेका छन् । त्यसैले त आफ्नो ब्लग http://wandered-but-not-lost.blogspot.com/ मा उनी कवि बनेर कवितामा पोखिन्छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै सुमन अर्याललाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगर या अरु केही?
रुची त ब्लगिङको पनि हो तर त्यो भन्दा पनि म आफुलाई देश, परिस्थिति र कालसँग जोडीराख्न रुचाउने मान्छे भन्न रुचाउँछु। फेसबुकबाट सुरु भएर ट्विटरसम्मको यात्रामा फेसबुकलाई आफ्ना साथीभाई, नातेदारसँग जोड्ने र ट्विटरलाई अरु नेपाली र नेपाली घटनाक्रमको रमाइलो, ब्यङ्ग्य र बौद्धिक विचारसँग जोड्ने माध्यमको रुपमा लिएको छु।

तपाँईको ब्लग http://wandered-but-not-lost.blogspot.com/ को शब्दचित्र प्रस्तुत गरिदिनुस न।
यसलाई सामजिक भन्दापनि व्यक्तिगत भन्न रुचाउँछु। एउटा रुची भन्दापनि आफ्ना रचनाहरुलाई जिवित राख्न सुरुगरेको थिएँ। कहिलेकाँही रचनाहरु लेख्ने र तिनीहरु हराउने गर्दा नरमाइलो लाग्थ्योअनि ब्लग शुरु गरौँ, संग्रह पनि भइरहन्छ र कसैले झुक्किएर पनि पढ्नसक्छ भनेर चलाईरहें। मेरो ब्लगमा मुख्य त कविता नै छन्, अल्लारे प्रेमदेखि भावनात्मक प्रेम, पाखण्डदेखि बितृष्णा र कहिलेकाँही कोदोदेखि व्हिस्कीसम्म।

ब्लगिङ गर्न कहिलेदेखि थाल्नुभयो?
२००७ देखि गर्नथालेको तर नियमित रूपमा गर्न पाएको छैन। कहिले कामको व्यस्तताले र कहिले सामाजिक व्यस्तताले।

ब्लगिङ किन गर्नुहुन्छ?
त्यही त हो नि संग्रह गर्न र मनको खुशी तथा बह पोख्न।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन किन? साहित्य बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?
अहिलेसम्म मुख्यत: कवितामात्र छन् एउटा गद्य बाहेक। तिनीहरु पनि मुख्य रुपमा प्रेमसँग सम्बन्धित छन्। सफा कारण भन्नुपर्दा तेसैबाट प्रेरित भैयो। अब सामाजिक चेत र मेरो पेशा सम्बन्धि ब्लग गर्ने बिचार छ, गद्य र पद्य दुवैमा।

तपाईंको ब्लगमा साहित्यिक कृतिहरु धेरै रहेछन्। तपाँईलाई साहित्यकार भन्न सकिन्छ?
बाथरूम गायक भनेजस्तै भन्न सकिन्छ। हाहाहाऽऽऽ

विश्वभर ब्लगिङ कल्चरलाई हेर्ने हो भने साहित्यका ब्लगहरु नै धेरै छन् होला। साहित्यिक कुराका ब्लगहरु यसरी किन धेरै बनेका होलान?
हरेक रचनाकारले जुनसुकै कारणले लेख्न सुरु गरेपनि श्रोता/पाठक पाउँदा मक्ख नै पर्छन। अनि प्रत्यक्ष रुपमा अगाडि आउन डराउने र कस्तो प्रतिक्रिया पाउने हो भन्ने भयले ब्लगतिर छिरेको जस्तो लाग्छ मलाई। साहित्यमै लागेका मान्छेहरुमा त्यो लागु हुँदैन तर मजस्तो मान्छे जसको रुचीमात्र हो, तिनीहरुको लागि उत्तम माध्यम हो ब्लग। पाठक पनि पाउने अनि आफ्नै अघि चाँही कसैले ठाडै प्रतिक्रिया पनि नजनाउने।

सबै मानिस भित्र एउटा साहित्यकार हुन्छ तर त्यो लुकेको साहित्यलाई बाहिर निकाल्न शब्द तथा श्रृजनात्मकताको मुलचाँही थोरैमा मात्र हुन्छ भनिन्छ। लेखाईमा पनि शिर्जनात्मकता कसरी ल्याउने?
यो चाँही गाह्रो प्रश्न हो मेरा निम्ति। हरेक रचनाकारको आफ्नै तरिका हुन्छ, कसैले पिएर लेख्लान्, कसैले प्रेम गरेर या कसैले भौंतारिएर। कहाँबाट सिर्जना आउला भन्न सकिँदैन। अलि सामान्य रूपमा भन्दा केही प्रेरणा त पक्कै हुनुपर्छ र सुरुवाती सिर्जनाको लागि धकल्ने माध्यम नै चाहिन्छ। हाम्रो स्कूले शिक्षामा यसलाई कम प्राथमिकता छ अथवा छैन नै भनेपनि हुन्छ। सुरुवात त्यहाँबाट गर्न सकिन्छ र सुरु भएपछि शिर्जनात्मकता, मेरो बिचारमा लेख्दै जाँदा बढ्ने रैछ। लेख्दै जाँदा तपाँईले पहिले नदेखेका कुरामा पनि साहित्य देख्नुहुँदोरैछ, सानासाना विचारलाई पनि ब्यक्त गर्न सक्नुहुँदोरैछ। मैले एउटा कविता बाटोमा हिँड्दाहिँड्दै रचना गरेको छु, रुखबाट झरिरहेका पातहरु देख्दा। अर्को कुरा भोग्दै जाने, लेख्दै जाने हो- एकचोटी भात बसालेर हेर्नुस, कहिलेसम्म पानी घटीबढी हुँदोरहेछ। त्यसपछि जुन चामल भएपनि पानी जहिले पनि ठिक्क हुनेछ।

साहित्य र शिर्जनात्मक अभिब्यक्तिमा रुची राख्ने ब्लगरले जान्नैपर्ने कुराहरु के-के हुन?
आम-मान्छेसँग जोडिएको हुनुपर्छ रचना। कुण्ठालाई लाद्ने प्रयास गर्नु हुँदैन।

तपाँइका अधिकाँश ब्लगपोष्टहरु अँग्रेजीमा लेखिएका छन्। नेपालमा अँग्रेजी ब्लगका पाठकहरु कति छन्?

आँकलन त गरेको छैन तर मेरो बिचारमा त्यस्तो कम नै छन् जस्तो लाग्दैन। नेपालका चर्चित ब्लगहरु प्राय: नेपालीमै छन् तर नेपाली टाइम्सको ब्लगमा प्रतिक्रियाहरु टन्नै हुने गर्छन।

तपाँईको ब्लग भिजिट गर्ने पाठकबाट कस्तो पाउनुभएको छ प्रतिकृया? कुनै रोचक प्रतिकृया उल्लेख गर्नुस न !
एकचोटी मेरा विद्यार्थीहरुले मेरो ब्लगको बारेमा थाहा पाएछन् र सरको यस्तो रुप पनि छ भनेर दङ्ग परेका थिए 'सर कविता लेख्नुहुन्छ !' भनेर । म अलि कडा मिजासको थिएँ (क्लास भित्र मात्र) र मैले कविता लेख्ने थाहा भएपछि हेर्ने नजर बदलिएको थियो।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?
म ब्लगहरु प्राय: पत्रिकाका अनलाईन/वेबसाइटका मात्र पढ्छु। सुरुवात माइसंसारबाट भएको हो पढ्न। त्यसपछि नागरिक, कान्तिपुर, सेतोपाटि, नेपाली टाइम्सका ब्लगहरु पढ्छु। ब्लगहरुको नाम त त्यति थाहा छैन, थाहा पाएको भनेको आकारपोस्ट र बाबाजीका बिचारहरु हुन्।

नेपाली ब्लगिङ र सोसल मिडियाको क्षेत्रलाई कसरी नियाल्नुभएको छ?
सोसल मिडियाले राम्रो प्रभाव गरिरहेको जस्तो लाग्छ। मान्छेहरुको चेतनाको स्तर बढाएको जस्तो लाग्छ। मेरो आफ्नै कति बढेको छ। विशेषत: हामी नेपालीहरुको (इन्टरनेटको पहुँच भएको) राजनीतिक चेतनाको स्तर धेरै बढाएको लाग्छ मलाई, ट्विटरका वादविवाद, फेसबुकका पोस्टर ब्लगहरुको प्रतिक्रिया पढ्दा। हिजो मात्रै मेरो मामाले भान्जा ट्विटर कसरी चलाउने भन्दै हुनुहुन्थ्यो, पहुँच बढिरहेको छ।

 

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?
राजनीतिक टिप्पणी, यात्रा, साहित्य र टेक्नोलोजी।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?
आचारसंहिता आवश्यक छ। ठोस नीति-नियममा बाँधिन त मन लाग्दैन तर बिचार जतिसुकै उत्तेजक भएपनि भाषा संयमित हुनुपर्छ जस्तो लाग्छ मलाई।

नेपाली ब्लगहरु सामाजिक हित वा सामाजिक मुद्दामा लेखिएका कत्तिको पाउनुभएको छ?
पाएको नै छु। टेक्नोलोजी ब्लगदेखि यात्रा संस्मरणहरु पढ्दापनि त्यहाँ सामाजिक मुद्दाहरु देखेको छु।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?
The Falling Leaves भन्ने कविता धेरै मनपर्‍यो भन्नुभयो साथीहरुले।

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?
मेरा कविताहरु मन पराउने केही प्रशंसकहरु पाएँ।

ब्लगिङलाई केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?
ब्लगिङ बहु-आयामिक हो। नागरिक पत्रकारिता यसको एउटा पाटो हो। जागरुक हुनु राम्रो पक्ष हो तर चेतना र जागरुकताको नाममा होडबाजी गर्नुहुँदैन र धैर्यता अपनाउनुपर्छ।

अन्त्यमा,

सोसल मिडिया सम्बन्धि मेरो बिचार राख्ने मौका दिनुभएकोमा धन्यबाद दिन चाहन्छु। मेरोरिपोर्टले गरिरहेको काम प्रसंसनिय छ, खासगरी आचार-संहिता, नागरिक पत्रकारिताका सवालमा। यी दुईकुराले नेपाली सोसल मिडियालाई अँझै माथि लैजान्छ भन्नेमा म विश्वास गर्छु।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on November 29, 2013 at 4:48pm

बधाई छ अर्ब्लयालजीलाई । ब्लगरको  ब्लग लिङ्क Hyperlink गर्दा New Tab मा खुल्ने बनाउनु आवश्यक छ । 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service