ब्लगिङले आफ्नो व्यक्तित्व पनि झल्काउने गर्दछ-शेखर केसी

शेखर केसी अनुसन्धान र शोध क्षेत्रमा लागिरहेका युवा हुन् । 'कोइका' नामक दातृ संस्थामा शोधकर्ताको हैसियतमा कार्यरत उनी आफ्नो सफलताको श्रेय पनि ब्लगिङलाई दिन रुचाउँछन् । ब्लगिङ गर्दा सहि सूचना दिनुपर्ने भएकोले त्यसअगाडि शोध गर्न जरुरी हुन्छ र त्यहि भएर ब्लगिङ् र रिसर्चसँगै जानुपर्छ भन्ने धारणा राख्ने शेखरसंग हामीले मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरका लागि यससाता कुराकानी गरेका छौँ । प्रस्तुत छ शेखरसंगको कुराकानी :

शेखर केसीलाई अरुले कसरी चिन्ने? आफ्नो बारेमा अलिकति बताइदिनुस न ।

शेखर केसी एउटा मेहेनत र परिश्रमी ब्यक्ति  हो । व्यवसायले म शोधकर्ता हुँ तर ग्राफिक्स डिजाईनिङ, पत्रकारिता र ब्लगिङ मेरो रुचि अन्तर्गत पर्दछन् । ब्लगिङ र सोसल मिडियामा निरन्तर रुपले लागिरहने व्यक्ति हो शेखर । म आफूलाई ट्यालेन्ट र व्रिलियन्ट दाबी गर्दिन तर कुनै पनि क्षेत्रमा सफल हुन निरन्तर कडा परिश्रम र समर्पण चाहिन्छ भन्ने मेरो धारणा हो । व्लगिङमा पनि चाहिने कडा परिश्रम र सिर्जनात्मकता नै हो । अरुले गरेको कुरा हेर्ने, अध्ययन गर्ने, सिक्ने र सिकाउने नै मेरो ज्ञान हासिलको प्रमूख श्रोत हो ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ? एउटा ब्लगरका रुपमा या अरु केही !

सोसल मिडियामा म आफूलाई ब्लगर नै त दाबी गर्दिन तर म अरुको ब्लग फलो गर्दै धेरै नै अध्ययन गर्छु । म ब्लगहरु त्यति नियमित रुपमा पनि पोष्ट गर्दिन । प्राय: शोध केन्द्रित लेखहरु मात्रै मेरो ब्लगमा प्राथमिकता पाउँछन् । मेरा ब्लगपोष्टहरु प्राय: शोधकर्ताहरु र बिद्यार्थीहरुका लागि फाइदाजनक सावित भएका छन् । त्यसैले म आफू ब्लगर कम र शोधकर्ताको रुपमा बढी चिनाउन चाहन्छु ।

तपाँइले चलाउने ब्लगहरु कुनकुन हुन्? Shekar KC's blog (http://visitskc.wordpress.com/) बाहेक अरु पनि छन् कि?
अरु त छैन तर पहिला थिए । धेरै ब्लग बनाउनु भन्दा एउटैमा निरन्तर लाग्नु राम्रो हुन्छ ।

आफ्नो ब्लगमा कस्ता कुराहरु धेरै पोष्ट गर्नुभएको छ?

मेरो व्लगमा प्राय: मिडियाका सवालहरु हुन्छन् । जिवनी समिक्षा, चलचित्र समिक्षाहरुलाई बढी प्रथमिकता दिएर पोष्ट गर्ने गर्दछु । म व्यक्तिगत सवाल भन्दा पनि जनमानसका सवालहरुलाई प्राथमिकता दिएर लेख्ने गर्दछु । कुनै पनि लेख लेख्दा भावनात्मक भन्दा तथ्यमा केन्द्रित भएर लेख्ने गर्दछु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी?

मैले ब्लगिङ सुरु गरेको सन् २००७ मा मिडिया स्टडिज् अध्ययन गर्दा हो । दुःख गरेर गृहकार्य गरिन्थ्यो तर त्यो गृहकार्यलाई प्रकाशित गर्न वा कोसँग सेयर गर्ने भन्ने मेरो चिन्ताको विषय रहने गर्दथ्यो । व्लगिङले मेरो समस्याको सहि समाधान गर्‍यो । मैले गृहकार्यहरु व्लगमा राख्न थालेँ । साथीभाईहरुले पनि मेरो गृहकार्य पठाएर प्रोत्साहन गर्थे ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?
व्लगिङ गर्दा खुसी लाग्छ । आफ्नो एक्स्पोजर राम्रो कामको लागि भएकोले समाज र म जस्तै मानिसहरुका लागि केहि गरेँ भन्ने सन्तोष हुन्छ । व्लगिङले आफ्नो व्यक्तित्व पनि झल्काउने गर्दछ । साथै नयाँ साथीहरु पनि बन्छन् । आफ्नो ज्ञान र आर्कषण समानान्तर रुपमा अगाडि बढाउनु राम्रो हुन्छ । सन्तुष्टि र एक्सपोजर नै व्लगिङको फाइदा हो ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छ र किन?

राष्ट्रिय महत्वका विषयमा लेखिएका लेख, रचनाहरुका पाठकहरु बढी हुने गर्छन् । कुनै शोध केन्द्रित लेख रचनाहरु पढेर त मानिसहरुले जागिर समेत प्रस्ताव गरेको अनुभव छ मेरो । चौधरी ग्रुप अफ इन्डष्ट्रिज र जापनिज पिएचडी क्यान्डिडेडले समेत जिगिर अफर गरेको स्मरण छ मलाई ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त  गाह्रो छ नि है?

हो निरन्तर लाग्न गाह्रो छ । अब जोशमा एक दिनमा चारओटा लेख लेख्ने अनि अर्को दिन फुस्स ! यस्तो तालले हुँदैन । सुरुमा आफ्नो व्लगिङ प्लान बनाउने । जस्तै एक हप्तामा न्यूनतम एउटा लेख एवं रचना लेख्ने, आफ्न्नो इन्ट्रेष्टका सवालहरु छान्ने, अरु व्लगरहरुसंग राम्रो सर्कल फ्रेण्ड राख्ने, अरुको व्लग पनि पढ्ने र कमेन्ट गर्ने गरेमा ब्लगलाई पक्कै निरन्तरता दिन सकिन्छ ।

जीवनमा धेरै समय हुन्छ । अँझ नेपाली भएर एकदम गाह्रो । खान-लगाउन गाह्रो भएको बेला कहाँ यो व्लगिङ गर्ने भन्ने सोच आउन सक्छ । तर व्लगिङलाई बोझको रुपमा लिनु हुँदैन । आफ्नो समस्या छ भने पनि यसो खेस्रा लेखेर लेख लेख्ने अनि सेयर गर्ने गर्‍योभने एकदम हल्का हुन्छ । व्लगिङ कला पनि कुनै समय बोलेर सेयर गर्न गाह्रो हुन्छ तर लेखेर उचित शब्द प्रयोग गर्दा त्यसले मान्यता पाउँछ ।

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो?

म नेपाली र हिन्दी फिल्म हेछु,  अंग्रेजी नाटक हेर्छु । मलाई व्लाइन्ड ट्राभलिङ मन पर्छ कुनै गन्तब्य, कुनै प्लानबिनाको । नयाँ साथी बनाउने, अरुको जीवन बुझ्ने, सिक्ने अनि सिकाउने मेरा रुचिहरु हुन् ।

तपाई सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ?

मनोरञ्जन केन्द्रित सामाजिक संञ्जालाको प्रयोग गर्छु भन्छु म त । फाइदाजनक नभएर बेफाइदाजनक सम्बन्ध बनाउन, क्षणिक ध्यान खिच्ने मान्छे व्लगिङ र सोसल मिडिया प्रयोग गर्छन् जस्तो लाग्छ । तर धेरैले राम्रो पनि गरेका छन् जस्तै आकार अनिल । ही इज जेनियून पर्सन फर लर्निङ्ग इन द व्लगिङ सेक्टर ।

सोसल मिडिया विज्नेस मोटीभले प्रयोग गर्नु पनि ठिकै हो  तर जनचेतनाको स्तरलाई वृद्धि गर्नलाई पनि यसको प्रयोगले अँझ मद्दत पुर्‍याउँछ । सोसल मिडिया नीतितिर पनि ध्यान दिने हो कि भन्ने मेरो सोच छ ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग?

दुबै तर धेरै व्लगिङ त सदुपयोग नै छ । किन भने यसमा दुरुपयोग गर्ने ठाँउ धेरै कम हुन्छ । आफ्नो कुने विचारलाई प्रवर्दन गर्ने हिसाबले व्लगिङ गर्नुलाई म नराम्रो मान्दिन तर अन्तरक्रृयात्मक हुनुपर्छ, कमेन्टहरुको उत्तर दिनुपर्छ । व्लगिङ गर्नु धेरै तरिकाबाट अन्यमा सदुपयोग नै हुन्छ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

आकार पोष्ट डट कम, साझा सवाल डट कम, कटुवाल डट कम, जस्ता व्लगहरु मेरो प्राथमिकतामा पर्छन । साह्रै मिहिनेत गर्ने मान्छेहरु छन् यी व्लगहरुमा ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

आचारसंहिता चाहिन्छ किनभने कुनै पनि कुरा प्रकिृयामा चलेको राम्रो हो । आचारसंहिताले मार्गनिर्देशन दिन्छ । कुनै पनि प्रयोगको बैधानिक दिशा चाहिन्छ नत्रभने व्लगिङ क्षेत्र धारासयी भयो भने यसले नराम्रो परिणाम निम्त्याउन सक्छ ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ?

मार्गनिर्देशनलाई ध्यानमा राखेर खासै व्लगरहरु लेख्छन् जस्तो लाग्दैन । साटासाट गर्ने र बस्तुगत हुने गर्छन् धेरै जसो । तर अहिल्यै देखि आचारसंहिताको कुरा गर्‍यो भने एकदिन ढिलै भएपनि कसो नहोला भन्ने मेरो विचार हो । आचारसंहिता नजानेर वा जानेर नेपाली ब्लगरहरुले फलो गरेकै पाउछु म त ।

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

ब्लगिङमा एउटा रामाइलो कुरा के छ भने पाठकहरुले सर्ट एन्सर स्विट कन्टेन्ट हेर्न मन पराउँदा रहेछन् र लामो कन्टेन्ट पढ्ने रहेछन् । यसको कारण बढी व्लग लिंङ्कहरु साइड बारमा हुने भएकोले होला ।

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?

व्लगिङले एकदम औपचारिक र कडा परिश्रमको माग गरेको जस्तो मलाई लाग्छ । ट्वीटरले समय बढी खान्छ र प्रयोगकर्ताहरु पनि निरन्तर अपडेट हुन्छन् । व्लगिङ र ट्वीटरका प्रयोगकर्ताहरु उत्पादक र सिकारु केन्द्रित हुन्छन् तर फेसबुकमा मेरो संका छ । यसमा ५० प्रतिशत भन्दा बढी प्रयोगकर्ताहरु अनऔपचारिक तरिकाले प्रयोग गर्छन्, समयको बढी अनउत्पादकत्वको प्रयोग गरेको पाउछु ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

लेखेका छन् । खास गरेर नेपालीमा मूलभाषी तर जापान र अष्ट्रेलियामा बस्नेले लेखेको पाउछु म त । नेपालको सामाजिक अर्थिक सवालहरु जिम्मेवार तवरबाट सरोकार राख्ने नेपालमा बस्नेभन्दा पनि अमेरिक र अष्ट्रेलियामा बस्ने नेपालीहरु छन् । त्यहाँ इन्टरनेटको सुविधा राम्रो र देशबाट टाढा बस्दा देशको माया लाग्ने भएकोले हुनुपर्छ ।

ब्लगिङलाइ कहिँकतै बैकल्पिक मिडिया अर्थात आफ्ना कुराहरु आफ्नै तरिकाले अभिब्यक्त गर्ने थलो पनि भन्ने गरेको पाइन्छ तर पनि यो अँझै काठमाण्डौ केन्द्रित मात्र भइरहेको छ र मोफसलमा ब्लगरहरु एकदमै कम छन भन्ने पनि गरिन्छ नि । किन होला?

व्लगिङको प्रयोगकर्ता र माध्यम सबै काठमाडौँ केन्द्रित हुने नै भयो । सुरुवातको चरण हो त्यसैले सहरबाट सुरु भएको छ । अरु देशमा पनि त्यहि होला । तर अबका प्रयोगकर्ताहरुले यो इन्टरनेटको माध्यमलाई गाउँ गाउँमा पुर्‍याउने दायित्व बोकेका छन् । अव हाम्रो जेनेरेशनले नै यस्लाई ग्रामिण केन्द्रित बनाउने हो, व्लगिङबाट सबैले फाइदा लिउन् भन्ने मेरो सोच छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

व्लगिङ नागरिककै लागि हो, यसमा कसैले हस्तक्षेप वा नियन्त्रण गर्न सक्दैनन् आफूले बाहेक । सतप्रतिशत स्वतन्त्रता छ, सन्तुष्टि पाइन्छ र धेरै कुरा सिकिन्छ । यो नागरिक पत्रकारिता नै हो, नागरिकबाट वास्तविक तहमा आउने सूचना आदानप्रदान हुन्छ ।

अन्त्यमा,

व्लगिङ जस्तो सानो तर महत्वपूर्ण सवालमा काम गर्नुभएको छ धेरै धन्यवाद । देशको डामाडोल स्थितिमा पनि तपाईहरुले व्लगरहरुलाई एक ठउँमा राखेर आदान प्रदान र सिक्ने वातावरण सिर्जना गर्ने जमर्को गर्दैहुनहुन्छ त्यसको लगि धेरै धन्यवाद र शुभकामना ।

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service