ब्लगिङ केवल एक मञ्च हो, जसले जस्तो सुकै विषय पनि समेट्छ- शशांक श्रेष्ठ

आफुलाई भिडियो सम्पादक भन्न रुचाउने शशांक श्रेष्ठले कम्यूनिकेशन एण्ड मिडिया प्रोडक्नशनको अध्ययन टेनेस्सी, अमेरीकाको 'लि यूनिर्भसिटी'बाट गरेका हुन् । शशांकले एकबर्ष उतै भिडियो सम्पादनको काम गरे अनि यसको स्कोप कस्तो छ भनेर बुझ्न स्वदेश फर्किए । नेपाल फर्किए यता उनी खाली बसेका छैनन् । त्यसैले उनी भन्छन्-'समयमै नेपाल फर्किएकोमा अहिले धेरै खुशी लाग्छ ।' भिडियो सम्पादनका अलावा उनी सोसल मिडिया र ब्लग लेखनमा पनि उत्तिकै सक्रिय छन । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै शशांक श्रेष्ठलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँगको कुराकानी :

शशांक श्रेष्ठलाई अरुले कसरी चिन्ने ?

मेरो मुख्य क्षेत्र मिडिया उत्पादन नै हो । म भिडियो, फोटो अनि स्टोरी टेलिङ्मा बढि काम गर्छु । त्यो बाहेक पढ्ने, घुम्ने त हो नि ! ब्यवसायिक र रुचिको विषय एउटै भएकोले क्यामेरा सधैं साथमा हुन्छ ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

भिज्युल स्टोरी टेलर भनौँ न ! तर ब्लगमा चै बढी फोटो पोष्ट गरिरहेको हुन्छु, फोटो ब्लगिङ पनि ब्लगिङ कै एउटा पार्ट हो तर म इमेजेज तिर बढी केन्द्रित छु ।

तपाँइले चलाउने ब्लगहरु कुनकुन हुन ? http://shashankji.tumblr.com/ बाहेक अरु पनि छन्?

tumblr नै हो । एक समय wordpress मा पनि खोलेको थिएँ तर इमेजेज, मल्टिमिडियाको लागि tumblr नै राम्रो लाग्यो ।

आफ्नो ब्लगमा के कुराहरु राख्न बढी रुचाउनु हुन्छ ?

कथाहरु, अलिकति डकुमेन्ट्री स्वादको हुन्छ । सामाजिक विषयहरु कभर गर्ने थुप्रै ब्लग पहिल्यै छन् । मलाई आफुले देखेका, बोलेका मान्छेहरु, घटनाहरु, अरुसित शेयर गर्न मनपर्छ । सधैं क्यामेरा हुने भएकोले कथाहरु बाँड्ने दायित्व जस्तै हुने रहेछ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो ? 

पहिला त त्यसै त्यसै फेशन जसरी वेवसाइटहरु साइन अप गर्ने चलन जस्तै थियो । त्यो बेलादेखि नै ब्लगस्पोट, हाइ फाइभ, स्पेसेस, वर्डप्रेसमा अकाउन्टहरु बनाइयो, तर कलेज पढ्न थालेपछि फोटोग्राफी पनि अलि बढी गर्न थालेँ । त्यसपछीको प्लेटपर्म धेरै नै राम्रो लागेर त्यसबाटै फोटो ब्लगिङ गर्नथाले । ब्लगिङको कारणले आफ्नो स्किल पनि बढेको र नेटवर्क पनि राम्रो भएकोले निरन्तर पोष्ट गरिरहेको छु ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ? 

आफ्नै लागि भनौँ । फोटोग्राफी इज भेरी सब्जेक्टिभ भन्छन्, त्यसैले आफुले खिचेका फोटोहरु शेयर गरिरहेको छु । कामको सिलसिलामा धेरै घुम्न पाइराखेको हुन्छु । त्यस कारणले पनि आफुले देखेका ठाँउ र भेटेका मान्छेहरुको कुराकानी, कथा बटुलिराखेको छु । सातामा ३ देखि ५ वोटा  पोष्टहरु चै गरिरहेको हुन्छु ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त गाह्रो छ नि है?

राम्रो विषय नभएकोले पनि होला । निरन्तरताको लागि कन्टेन्ट पनि हुनुपर्यो नि ! यदि आफुलाई लालायित बनाउने विषय हो र त्यो बारे तपाई छलफल गर्न चाहनुहुन्छ भने निरन्तरता आफै आउँछ र दर्शक/पाठक पनि ।

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही के हो ?

भिडियोग्राफी, न्यारेटिभ फिल्म मेकिङ अनि संगीत मेरो रुचिको बिषय हो । र ब्लगिङकै कुरा गर्दा यो आफुलाई मनपर्ने विषय लिएर गर्नुपर्छ, सजिलो भईहाल्छ नि ! लेखन सिप, प्रविधिक सिपहरु त सिक्न सकिहाल्छ । पाठक दर्शक आकर्षित तपाईको कन्टेन्टको गुणस्तरले हुने हो । राम्रो कन्टेन्ट पस्किए चुनौती आफै हराउँछ ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ?

सदुपयोग । अत्यन्तै राम्रो नागरिक पत्रकारिता, राजनैतिक विश्लेषण र रचनात्मक सामाग्री देख्न पाइन्छ । भिडियो ब्लगिङको चाहिं खाँचो छ जस्तो लाग्यो तर द्रुत गतिमा सामाजिक सञ्जाल र इन्टरनेट सामाग्री बढी राखेका छन ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ ? 

हेरी हेरी हुन्छ । अन्तर्राष्ट्रिय ब्लग बढी पढ्छु किनकि मेरो लागि चाहिने सुचना ति ब्लगमा बढि हुन्छ । विशेष गरी फोटोग्राफि र भिडियोग्राफि बारे बढी पढिराखेको हुन्छु । अनि नेपाली समाचार ब्लगहरु नियमित रुपमा पढ्ने ब्लग चाहि  fstoppers.com, philipbloom.com, strobist.com / ushaft हरु हुन् ।

पेशाले तपाई भिडियो सम्पादक, आफ्ना कुरा ब्लग मार्फत कत्तिको राख्नुहुन्छ?भिडियो सम्पादकले आफ्ना कुरा अभिब्यक्तिलाई प्रकट गर्ने चलन नेपालमा र नेपाल बाहिर कस्तो छ पाउनुभएको छ ?

पर्दा पछाडिका दृष्यहरुबारे पोष्ट गरिरहेको हुन्छु । भर्खरै आफ्नै प्रोडक्सन कम्पनी पनि खोलेको हुनाले त्यसमा अलि बढि प्रक्रिया र प्रविधिक सामाग्री राख्ने विचारमा छु । अहिले चाहिं सम्पादन भन्दा पनि लोकेशन, फिल्ड सुटहरु र भेटेका पात्रहरु बारे बढी पोष्ट हुन्छ । नेपालमा भिडियो सम्पादन र सिनेमेटोग्राफी बारे चाँहि एकदमै कम सामाग्री पाएको छु । अन्तर्राष्ट्रिय त धेरै छन् र धेरै उद्योगका थट लिडरहरुले  ब्लग गरिराखेका हुन्छन । नेपालमा पनि भिडियो सम्पादकहरुले नि ब्लग गर्नु पर्‍यो  होउ !

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

केही हदसम्म हुनुपर्छ । तर इन्टरनेटको मेरुदण्ड भनेको नै वाक स्वतन्त्रता हो जस्तो लाग्छ । स्व:नियन्त्रण गर्नु नै राम्रो हुन्छ । ब्लगको सामाग्री अनुसारको सोचाईका साथ जानुपर्छ, यदी  हाँस्यब्यंग तपाईको ब्लगको विषय हो भने त्यसलाई हार्ड न्युज जसरी  ब्यवहार गर्न पनि त मिलेन । तर कुनै संस्थाले ब्लगको क्षेत्रलाई नियन्त्रण गर्नु चाँहि हुन्न । वाक स्वतन्त्रता र विचार स्वतन्त्रतालाई स्वतन्त्र नै हुन दिनुस ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ ?

ब्लगहरु राम्रो रुप मै आत्मा नियमन (self regulated) भए जस्तो लाग्छ । कुनैमा पनि दुरुपयोग भएका पोष्टहरु भए जस्तो लाग्दैन, कम्तीमा मैले हेर्ने ब्लगहरुमा त्यस्तो छैनन् ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुहोस न !

ब्लगमा होइन तर फेसबुकमा एकचोटी धिरज राईको पेजमा 'बुद्ध वाज वर्न इन नेपाल' गीतलाई लिएर सानो ब्यंग गरेको थिए उहाँले ब्लक नै गरिदिनु भएछ । हा हा हा ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ ?

धेरै नै । आकारपोष्ट देखि यूसाफ्ट, lexlimbu नै पनि सामाजिक जानकारी (social awareness) तिर कहिलेकाहि मोडिइरहेको हुन्छ । नागरिक पत्रकारिता पनि साह्रै राम्रो छ ।

ब्लगिङलाइ कँहिकतै बैकल्पिक मिडिया अर्थात आफ्ना कुराहरु आफ्नै तरिकाले अभिब्यक्त गर्ने थलो र ब्यक्तिको निजी मिडिया पनि भन्ने गरेको पाइन्छ  । संगसंगै यो अँझै काठमाण्डौ केन्द्रित मात्र भइरहेको छ र मोफसलमा ब्लगरहरु एकदमै कम छन भन्ने पनि गरिन्छ नि । किन होला ?

प्रारम्भिक एडोप्टर प्रभाव  (early-adopter effect) हो कि? पहुँच त काठमाडौंमा पहिला आएको हो त्यसैले गर्दा प्रयोगकर्ता धेरै हुनु स्वभाविक हो । तर मोफसल पनि छिट्टै नजिकिरहेको छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

ब्लगिङको एउटा  पाटो मात्र हो नागरिक पत्रकारिता । हो, नेपाली ब्लगरको एउटा  ठूलो जमातले नागरिक पत्रकारिता गर्छन तर त्यसका साथै सिर्जनात्मक लेखन, लोकप्रिय संस्कृति अनि विभिन्न विषयहरुमा पनि विशेष ब्लगहरु हुन्छन । ब्लगिङ केवल एक मंच हो, जसले जस्तो सुकै विषय पनि समेट्छ ।

तपाई सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ? र नेपालमा सोसल मिडियाको प्रयोग कस्तो  भइरहेको पाउनुभएको छ ?

राम्रै छ । ट्वीटर र ब्लग अलि सामाजिक जनचेतना तिर लागेको जस्तो लाग्यो । फेसबुक पनि सामाजिक चेतना र परिचालनको पाटो त हो तर क्याण्डी क्रस र क्याट पिक्चरले अलि बढी ठाँउ लिएको छ, जुन नराम्रो नि होइन अब सबै जना सिरियस नि हुनु भएन नि । ट्वीटर चाहिं समाचारको सबैभन्दा छिटो साधन जस्तो लाग्यो । जस्तो कि हाम्रो संविभानसभाको चुनावको अपडेट त्यहाँ नै छिटो भइरहेको थियो ।

अन्त्यमा

धन्यवाद ।

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service