स्वतन्त्र अभिव्यक्ति ब्लगिङको आकर्षण हो-सेवा भट्टराई

सेवा भट्टराई विगत एक वर्षदेखी अँग्रेजी दैनिक रिपब्लिकाको ओप-एड पेजमा कार्यरत छिन् । सोसियोलोजीमा स्नातकोत्तर गरेको भए पनि मिडियामा रुची भएकोले उनी पत्रकारितातिर लागेकी हुन् । सेन्ट जेभियर्स कलेजबाट स्नातक र अमेरिकाको वेस्टर्न इलिनोइ युनिभर्सिटीबाट स्नातकोत्तर सेवाको पारिवारमै अध्ययन र साहित्यिक माहौल छ । त्यसैले त उनी आफ्नो अध्ययन र पेशाकर्म बाहेक ब्लगमा समेत श्रृजनात्मक भावहरु लिएर पोखिन्छिन् । लेखहरु एउटा ब्लगमा र कविताहरु अर्को ब्लगमा राखेर उनले आफूलाई सकेसम्म आफू भित्रको विद्वता र साहित्यकारलाई अलग अलग राख्ने कोशिस पनि गरेकी छिन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै सेवा भट्टलाईलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी:

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

सोसल मिडियामा म आफुलाई एउटा व्यक्तिको रूपमा चिनाउन चाहन्छु । ब्लग रहे-नरहे पनि म सोसल मिडियामा एक्टिभ हुन्छु ।  

तपाँईको ब्लग http://sewasmusings.blogspot.com/ http://diteez.blogspot.com/ दुईटा रहेछन् है ! दुईवटा ब्लग बनाउनुको कारण चाँही के नि?

पहिले मैले http://sewasmusings.blogspot.com भन्ने ब्लग बनाएर त्यसमा लेख रचना राख्न थालें। तर म लुकिछिपी कविता पनि लेख्थें । सायद धेरै पर्सनल हुने भएर होला, कविता शेयर गर्ने आँट आउँदैनथ्यो । मैले कविताको लागी छुट्टै ब्लग बनाए http://diteez.blogspot.com । धेरै पछिसम्म यो ब्लग एनोनिमोस थियो र कोहिसंग शेयर पनि गरिन तर साथीभाई हरुले पढेर रेस्पोन्स गर्न थालेपछि अलिकति कन्फ़िडेंस बढ्यो र मैले यो ब्लगलाई आफ्नो हो भन्न थालें।

आफ्ना ब्लगहरुको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न।

http://sewasmusings.blogspot.com मा मेरो लेख रचनाहरु छन। यसमा म मिथक, लोककथा, आप्रवासी विद्यार्थीको जीवन, र लैंगिकताको बारेमा धेरै लेख्छु। http://diteez.blogspot.com मा कविता र भावनाहरु छन। मेरो अर्को एउटा ब्लग पनि छ-http://insulatednrn.blogspot.com/, जसमा चित्रकलाका केहि एक्स्पेरिमेंटहरु छन् तर धेरै भयो, यो अपडेट गरेको छैन। 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

२०१० मा http://sewasmusings.blogspot.com शुरु गरेको हो र २०११ मा http://diteez.blogspot.com

ब्लगिङ किन गर्नुहुन्छ?

मैले ब्लागिङ शुरु गर्नुभन्दा अगाडी आफ्नो रचनाहरु पत्रिकाहरुलाई पठाएँ । मलाई कारण थाहा छैन, तर त्यो बेला प्राय: पत्रिकाले मेरो रचनालाई ठाउँ दिएनन । एक प्रकारको फ़्रसट्रेसनले नै भनौ, आफ्नो कुरा शेयर गर्ने माध्यम खोज्दा ब्लग उपयुक्त होला जस्तो लाग्यो र ब्लगिङ् गर्न थालेदेखि आफुलाई लागेको कुरा भन्ने र रेस्पोन्स पाउने राम्रो ठाउँ पाएँ जस्तो लागेको छ । अहिले म पत्रिकामा पनि लेख्छु, तर ब्लगको आफ्नै डेडीकेटेड अडियन्स हुने रहेछ । साथै ब्लगमा आफ्ना रचनाहरु एकै ठाउँमा संकलन पनि हुन्छन । धेरै चोटी एउटा लेख पढेर मान्छेहरु पुराना लेख खोज्न थाल्छन, जुन ब्लगमा भेटिन्छन । 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

म आफ्नो अनुभव र आफ्नो विचारको बारेमा लेख्छु, चाहे त्यो जुनसुकै विषयमा होस । विषय छान्ने कुनै वस्तुगत मानक छैन । आफ्नो मन जेले छुन्छ, त्यसको बारेमा लेख्छु । विदेशमा विद्यार्थी जीवन बिताएकाले होला, त्यो विषयमा धेरै लेख्छु. मिथकमा किन यति धेरै रुचि लाग्छ, त्यो म आफैंलाई थाहा छैन । 

तपाईंको ब्लगमा साहित्यिक कृतिहरु धेरै रहेछन् । तपाँईलाई साहित्यकार भन्न सकिन्छ?

सकिन्छ । ब्लगमा मात्रै रचना छाप्ने अरु पनि धेरै उम्दा साहित्यकारहरु छन ।

विश्वभर ब्लगिङ कल्चरलाई हेर्ने हो भने साहित्यका ब्लगहरु नै धेरै छन् होला । साहित्यिक कुराका ब्लगहरु यसरी किन धेरै बनेका होलान?

शायद मेरो जस्तै फ़्रसट्रेसनले होला, पत्रिकाले नछापी दिएर । 

साहित्य बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही के हो ब्लगिङ गर्नका लागि?

मैले अघि पनि भनेँ क्यार, मेरो एउटा चित्रकलाको ब्लग छ, र साथै मेरो र मेरो बहिनीको संयुक्त ब्लग छ, खानाको बारेमा http://bubbblingcauldron.blogspot.com/

बै मानिस भित्र एउटा साहित्यकार हुन्छ तर त्यो लुकेको साहित्यलाई बाहिर निकाल्न शब्द तथा श्रृजनात्मकताको मूल चाँही थोरैमा मात्र हुन्छ भनिन्छ । साहित्यिक या अरु लेखाईमा पनि शिर्जनात्मकता कसरी ल्याउने?

मलाई लाग्छ 'श्रृजनात्मकताको मूल' मेहनतबाट आउँछ । मैले माल्कम ग्लाड्वेलको आउटलायर्स भन्ने किताब पढेको थिएँ, उनी भन्छन-'दुनियाको कुनै पनि मास्टरपिसको पछाडी कमसेकम दश हजार घन्टाको मेहनत हुन्छ र दश हजार घण्टाको अभ्यास पुर्‍याउने मान्छेले सफलता नपाएको रेकर्ड नै छैन।' सांगीतिक समूह बिटल्स देखि लिएर बिल गेट्स र ओपेन्हेइमेर सम्मका उदाहरण उनी दिन्छन-'यी सबै सफल व्यक्तित्वले आफ्नो क्षेत्रमा दश हजार घण्टाको अभ्यास पुरा गरेका थिए।' भावना हामी सबैमा हुन्छ, तर भावना हुँदैमा अभ्यास नगरी पहिलो प्रयास मै मास्टरपिस भने लेखिन्न । मलाई लाग्छ लेखन पनि अरु कला जस्तै हो, वास्तुकला, मूर्तिकला, चित्रकला जस्तै, जति अभ्यास गर्‍यो त्यति निखरिन्छ ।

साहित्य र शिर्जनात्मक अभिव्यक्तिमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?

सुरुसुरुमा ब्लगको दुनियाँमा ट्यालेन्टको बहार देखेर आत्तिन सकिन्छ, आफ्नो कन्फ़िडेंस गुमाउन सकिन्छ तर बिस्तारै त्यहि बानी पर्छ र आफ्नो आवाज सुनाउने बानी भैसकेपछि ब्लगको लत लाग्छ । 

तपाँइका अधिकाँश ब्लग पोष्टहरु अँग्रेजीमा लेखिएका छन् । नेपालमा अँग्रेजी ब्लगका पाठकहरु कति छन्?

नेपालीको तुलनामा अंग्रेजी ब्लगका पाठक धेरै छैनन् तर जति छन् तिनले खोजीखोजी पढ्ने र कुरा बुझ्ने भएकाले म यो सानो अडियन्समा खुशी नै छु । 

तपाँईको एउटा ब्लग त एक लाख पटक भन्दा धेरै हेरिईसकेको रहेछ, कस्तो पाउनुभएको छ पाठक प्रतिकृया? कुनै रोचक प्रतिकृया उल्लेख गर्नुस न !

पाठक प्रतिक्रिया विभाजित छ भनौँ । कतिले नयाँ कुरा लेखेको भनेर मन पराउनुहुन्छ, खासगरी नारीहरुले । कतिले भने मिथकलाई सम्मान नगरेको भनेर गाली गर्नुहुन्छ । एकचोटी मैले व्यवसायिक जीवनमा नारीलाई अगाडि बढ्न के कस्ता बाधा अड्चन छन् भन्ने लेख लेखेकी थिएँ । कमेन्ट भने यस्तो आयो-'खास भन्ने हो भने पुरुषहरुमाथि चाँहि बढी दमन हुन्छ, किनकि सधैं बली चढाउँदा भाले कुखुरा, खसी र राँगाको मात्रै चढाईञ्छ।' यो सिङ्ग न पुच्छरको कमेन्टले मलाई धेरै टाउको दुखायो । अर्को चोटी मैले शरीरका अंगहरु (ओठ, आँखा, हात आदि) ले बोल्ने मौका पाए के भन्थे होलान भन्ने हल्का किसिमको व्यंग्यात्मक लेख लेखेकी थिएँ । त्यसमा कमेन्ट आयो-'त्यसो भए टाउकोको बारेमा किन लेख्नु भएन? पुराना लोककथाहरुमा टाउकोको मात्रै मोल तोकेको हुन्छ, टाउकोलाई कति दु:ख लाग्छ होला !' मेरो लेखको स्पिरिट बुझेर हल्का तर चोटिलो कमेन्ट गरेकोमा मलाई एकदम रमाइलो लागेको थियो । 

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्र निकै फस्टाउँदैछ जस्तो लाग्छ। सोसल मिडिया मेरो हरेक खबर थाहा पाउने पहिलो श्रोत हो । आज बन्द छ कि छैन भनेर म ट्विटर हेर्छु । नेपाली ब्लगमा मुलधारले ठाउँ नदिएका फरक धारका रचना पनि पाइन्छन । सबै किसिमका विचार सम्प्रेषण गर्ने, वादविवाद गर्ने र नेपालीको विचारधारा फराकिलो पार्ने ठाउँ भएको छ जस्तो लाग्छ, र यो त शुरुवात मात्रै हो ।

 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ
म नेपाली ब्लगहरु खोजीखोजी पढ्ने गर्छु, खासगरी यी ब्लगहरु: http://fickleandblue.blogspot.com/http://doughnutsanddilemmas.blogspot.com/

http://gooeyjournalism.blogspot.com/http://paintmeblueo.wordpress.com/

http://karuna-tinydancer.blogspot.com/http://pratul-diaries.blogspot.com/

http://prakashpoetry.blogspot.com/http://www.bhoowan.com.np/ त नछुटाई पढ्छु ।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

म नेपाली युवाले लेखेका कविता पढ्न मन पराउँछु । 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

स्वतन्त्र अभिव्यक्ति ब्लगिङको आकर्षण हो र यो अभिव्यक्तिमा कुनै रोकटोक हुनु हुँदैन जस्तो लाग्छ । आचारसंहिता बने नै पनि व्यक्तिगत ब्लगका लागि एन्फ़ोर्स गरिनु हुन्न जस्तो लाग्छ । प्लेजियरिज्मका विरुद्धमा भने आचारसंहिता चहिन्छ । 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना छन् भने बताईदिनुस् न ।

मेरो ब्लगका धेरै पाठकले मलाई 'फायरब्रान्ड' भन्ठान्नु हुँदोरहेछ । विचार त्यस्तै भएता पनि म रियल लाइफमा धेरै कम बोल्छु र त्यो पनि एकदम सानो स्वरमा । पहिलो पटक भेट्ने धेरै मान्छे छक्क पर्नुहुन्छ र सोध्नुहुन्छ: आज तपाईंलाई सन्चो छैन, हो? सुरुसुरुमा मलाई अचम्म लाग्थ्यो, अहिले त बानी पर्‍यो ।  

तपाँई आफूपनि सोसल मिडियाको उपभोक्ता भएको हुँदा हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?

फेसबुक प्राय: साथीभाई तथा परिवारसंग कनेक्सनको लागि प्रयोग हुन्छ, भावनात्मक संदेश र तस्विरको बाहुल्य छ । ट्विटरमा न्युज ब्रेक बढी हुन्छ, साथै वादविवाद र लिंकहरुको आदानप्रदान । ब्लगमा भने यी दुवै भन्दा भिन्न, विचारहरुको संकलन पाएँ। 

नेपाली ब्लगहरु सामाजिक हित वा सामाजिक मुद्दामा लेखिएका कत्तिको पाउनुभएको छ?

धेरै पाएको छु । नेपाली सोसल मिडिया यो कुरामा अगाडी नै छ जस्तो लाग्छ ।  

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो

मेरो सबै भन्दा बढी रुचाइएको ब्लग स्लिपिङ ब्यूटीका बारेमा लेखिएको लेख नै हो । शायद स्लिपिङ ब्युटीमा धेरैलाई रुचि भएकाले होला । 

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?

केहि गुमाइन । आफ्नो भावना शेयर गर्ने र स्टोर गर्ने थलो पाएँ । नियमित पाठक पाएँ र पाठकसंग इन्टर्‍याक्ट गर्ने र आफ्नो ज्ञान बढाउने माध्यम पाएँ । कवितामा आउने रेस्पोन्सबाट आफैंलाई अझ बढी बुझ्ने मौका पाएँ । 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

सबै ब्लग त पक्कै पत्रकारिता होइनन, तर केहि भने हुन । न्युज ब्रेक गर्ने, खबरका लुकेका पाटाहरु खोल्ने, र फरक विश्लेषण गर्ने ब्लगलाई म नागरिक पत्रकारिता मान्छु ।

अन्त्यमा,

किप अप द गुड वर्क मेरोरिपोर्ट !!!

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Pagal Basti on November 22, 2013 at 4:57pm

बधाइ छ सेवा जिलाई

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service