ब्लगिङ गर्दा स्व‌यम् आफू नै आफ्नो लेखको सम्पादक बन्न पाइन्छ : सन्तोष कुमार पौड्याल

गुल्मीका सन्तोष कुमार पौड्याल हाल वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन् । घुमफिर गर्न मनपराउने सन्तोषलाई समसामायिक राजनितीमा पनि रुचि छ । आफ्ना मनमा लागेका कुरालाई छोटो समयमा संसारभर पुर्याउन ब्लगिङ गर्ने गरेको बताउँने सन्तोषले आफ्नो ब्लगको नाम साउँखोला भने आफ्नै गाउँको खोलाको नामबाट जुराएका हुन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै  सन्तोष कुमार पौड्यालसँग कुराकानी गरेकाछाै । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी:

सोसल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ?

सोसल मिडियामा म आफुलाई चिनाउन योग्य त्यस्तो विशेष केही काम गर्न सकेको छैन । तैपनि समसामयिक साहित्यिक र राजनैतिक कुराहरुमा बहस गर्न रुचाउने एक आम सचेत नेपाली युवाको रुपमा आफुलाई चिनाउन चाहन्छु ।

ब्लगिङ नै किन ?

ब्लगिङ आफैमा एउटा स्वतन्त्र लेखन हो । आफ्ना लेख/रचना पत्रपत्रिकामा छपाउँदा त्यहाँ अर्को ब्यक्तिले सम्पादन गरेर आफ्नो लेख/रचनाको मुल आशय नै हराउने गरि बाहिर आउँछन् । तर ब्लगमा आफुलाई ठिक लागेको कुरा लेख्न र बुझाउन पाइन्छ । ब्लगिङ गर्दा स्व‌यम् आफू नै आफ्नो लेख/ रचनाको सम्पादक बन्न पाइन्छ त्यसैले पनि ब्लगिङ । 

ब्लगबारे कँहा सुन्नुभयो या कसैले तपाईलाई ब्लगबारे बतायो ?

मैले ब्लग बारे ५/६ बर्षअघि नै पत्रीकामार्फत थाहा पाएको थिएँ । तर कसरी ब्लग बनाउने त्यहाँ के  लेख्ने भन्नेबारे केही जानकारी थिएन । ४ बर्षअघि ट्विटर दुनियाँमा छिरेपछी मैले ब्लगबारे धेरै जान्न पाएको हुँ । लेलिन बन्जाडेको 'मकै' भन्ने कथा उहाँको ब्लगमा पढेपछी म पनि अब ब्लगिङ गर्छु साहित्यसम्बन्धी केहि कुरा लेख्छु भनेर यूट्यूबमा कसरी ब्लग बनाउने ? कसरी डिजाइन गर्ने ? भन्ने भिडियोहरु हेरेर आफ्नो ब्लग बनाएको हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ?

खासमा मैले ब्लगिङ आफ्ना साहित्यिक रचना र  बाल्यकालका संस्मरणहरुलाई लेखेर संग्रह गर्नको लागि गरिरहेको छु । अब बिस्तारै समसामयिक सामाजिक/राजनितीक बिषयमा पनि लेख्ने विचारमा छु ।

ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?

लेख्ने विषयवस्तुको जिम्मा आफ्नै मनलाई दिन्छु । जबर्जस्ती यो बिषयमा लेख्नैपर्छ भनेर चैं लेख्दैन ।

तपाईले  साउँखोला बाहेक अरु पनि चलाउनु हुन्छ ?

मेरो यो साउँखोला बाहेक अन्य कुनै ब्लग छैन ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?

मेरो ब्लगसम्म पुगेर पढेर ब्लगमै प्रतिकृया दिने पाठकहरु अलि न्यून संख्यामै हुनुहुन्छ । तर पढेर फेसबुक, ट्विटरमार्फत प्रतिक्रिया दिने साथिहरु पनि हुनुहुन्छ। अहिले सम्म सबैले सकारात्मक प्रतिक्रिया नै दिनुभएको छ । केही साथीहरुले अब राजनितीक तथा सामाजिक विषयवस्तुमा पनि लेख्ने गर सधैं कति साहित्यिका कुरा मात्र लेख्छौ भन्नुहुन्छ ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

आख्यान,गैर-आख्यान अध्ययन गर्ने, राजनैतिक, साहित्यिक मुद्दाहरुमा बहस गर्ने घुम्ने रुचि हो । मनै देखिको रुचि चैं ठेट नेपाली लोक गितहरुको संकलन गरेर तिनलाई  रेकर्ड गर्ने हो । तर यो रुचि नभएर मेरो जिन्दगीको एउटा सपना जस्तो भएको छ अहिले ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ  ?

आफ्नो रुचिको बिषय साहित्यबाहेक अन्य बिषयलाई ब्लगमा समेट्न सकेको छैन ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला प्रसंगहरु पनि छन् कि ?

त्यस्तो उल्लेखनिय रमाइलो घटना त केही छैन । मैले ब्लगमा समेटेको  शीर्षकको कविता पढेर केही साथीहरुले मान्छेमा मपाईं  चैं हुनुपर्ने रैछ तँमा जस्तै भनेर जिस्काएको प्रसंगहरु रमाइला थिए ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

ब्लगिङ नागरिक पत्रकारिता हो झैं लाग्छ मलाई पनि । रेडियो, टेलिभिजन र पत्रपत्रिकाले प्रसारण/प्रकाशन गर्ने कुराहरु जस्तै उपयोगी कुराहरु ब्लगिङमार्फत पनि गर्न सकिने र धेरै ब्लगरले त्यसै गरिरहेकाले पनि म ब्लगिङ नागरिक पत्रकारिता हो भन्ने कुरामा सहमत छु ।

अन्त्यमा,  

धन्यवाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service