नेपालमा समाज र पाठकप्रति उत्तरदायी ब्लग गर्ने मान्छेको कमी छ : शान्ति लामा

मेच्छे, काभ्रेकी शान्ति लामा पेशाले सञ्चारकर्मी हुन् । शान्ति घुम्न, पढ्न र लेख्न ज्यादै रुचाउँछिन् । खास गरी शान्तिले नेपाली महिलाको अवस्था र अधिकारका साथमा महिलासम्बन्धि सामाजिक, आर्थिक, राजनीतिक विषयमा अखबारहरुमा समेत लेख लेखिरहन्छिन् । रत्नराज्य क्याम्पसमा स्नातकोत्तर अध्ययन गरिरहेकी शान्तिले अखबारिय लेखनका अलावा ब्लग पनि लेख्ने गर्छिन् । आज हामीले उनै शान्ति लामालाई मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा प्रस्तुत गरेका छौँ ।  प्रस्तुत छ उनीसंग गरिएको कुराकानी : 

आफूलाई  सोसल मिडियामा कसरी चिनाउन चाहानुहुन्छ

आफ्नो वरपरका घटना र थोकहरुप्रति नितान्त व्यक्तिगत विचार र धारणा अभिव्यक्त गर्ने माध्यमको रुपमा मैले प्रयोग गर्दै आएको छु, सोसल मिडियालाई । सोसल मिडियामा जात, धर्म, भूगोल, लिङ्ग, राजनीतिक आस्था जस्ता कुराहरुलाई लिएर सकेसम्म कम बहस गर्न रुचाउँछु । आफ्नै आनन्दको लागि सोसल मिडियामा सक्रिय रहने भएकोले अरुले शान्ति लामालाई त्यसरी नै बुझ्दा हुन्छ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो

ठ्याक्कै कसरी, किन सुरु गरेँ भन्ने राम्रो सम्झना भएन । म दिनेश वाग्लेको ब्लग वाग्ले स्ट्रिट जर्नल (wagle street journal) को फ्यान । उहाँको आर्टिकलहरु पनि म पत्रिकामा भन्दा पनि ब्लगबाट पढ्थेँ । उहाँको ब्लगमा पोष्ट गरिएका फोटोहरु सबै दोहोर्‍याइ तेहर्‍याइ हेर्थें । यस्तै ब्लगर हुन पाए... भन्ने सोच आउँथ्यो तर के कसरी ब्लग गर्ने आइडिया थिएन । पछि ब्लग चाहिँ बनाएँ । धेरै समयसम्म के पोष्ट गर्ने भन्ने थाहा नभएर त्यसै राखेँ ।

सन् २०१३ मा बनाको रैछु ब्लग चाहिँ । ब्लग बनाउनुताका लेखनतिर खासै हात हालिएको थिएन । त्यसैले ब्लग गर्ने सामग्री पनि हुन्थेन । सुरुमा अरुका आर्टिकल, आफूलाई रुची लागेका समाचारको साभार, प्रेरक कथाहरु पोष्ट गरियो । पछि विस्तारै आफैं लेख्न थालेँ, छपाउन थालेँ । तिनैलाई ब्लग गरेँ ।

कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन

म ब्लगिङकै लागि भनेर छुट्टै कुनै विषयवस्तु खोज्दिनँ । अहिले पनि विभिन्न पत्रिकामा छापिएका आफ्नै साहित्यिक रचना, विचारमुलक लेखर्ई ब्लग गर्छु । लेखनमा पनि विषय सोचेर बस्दिनँ । मेरो लेखन एकदम अकेज्नल हो ।

के का लागि ब्लगिङ गर्नुहुन्छ

केका लागि ब्लगिङ भन्दा चाहिँ आफुले लेखेका रचनाहरु अनि आफुलाई मन पर्ने कुराहरु एकै ठाउँ राख्नकै लागि सुरु गरिएको थियो, अहिले पनि ब्लगिङको उद्देश्य त्यहाँभन्दा तन्किन सकेको छैन । दुई वर्षसम्म त एक्लै हेरे ब्लग, कसैलाई देखाइनँ ।

तपाईले http://lamashanti.blogspot.com/ बाहेक अरु ब्लग पनि चलाउनुहुन्छ कि? 

यहि एउटा मात्र हो । कहिलेकाहिँ यसैलाई पनि धेरै समयसम्म अपडेट गर्न पाउँदिनँ । अरु चलाउने सोच पनि छैन । बरु समय मिलाएर यसलाई नै विषयवस्तु र डिजाइनको हिसाबले आकर्षक बनाउने योजना चाहिँ छ । समय र स्रोत साधन भए नियमित र निरन्तर ब्लगिङ गर्न सकिन्छ ।

तपाईको ब्लगको नाम क्षिसाल्मो छ, यसको अर्थ के हो बताई दिनुस न ।

क्षिसाल्मो तामाङ भाषाको शब्द हो । यो तामाङहरुले पुज्ने एक देवीको नाम हो भन्ने कुरा मैले एक जना जान्नेसुन्ने व्यक्तिबाट थाहा पाएँ । वचनकी देवी हो रे । अनि शब्द पनि मीठो लाग्यो । अर्थपूर्ण पनि छ भन्ने लाग्यो । लेख्नु, ब्लगिङ गर्नु भनेको आफूलाई अभिव्यक्त गर्नु हो । अभिव्यक्ति कुनै न कुनै रुपले वचन नै हो । त्यसैले मैले ब्लगको नाम यहि रोजेँ ।

तपाई सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो  भइरहेको पाउनुभएको छ

सोसल मिडियाको प्रयोग गलत र सहि दुवै तरिकाले भइरहेको छ । सोसल मिडिया प्रयोगकर्ताहरुको प्रयासबाट राम्रा सामाजिक कामहरु भएका उदाहरण पनि छन् । कहिलेकाहिँ राजनीतिक नेतृत्व र राज्य सञ्चालकलाई नागरिकप्रति जिम्मेवार रहन खबरदारी गर्ने माध्यम पनि बनेको छ । तर कहिलेकाहिँ गतल सन्देश फैलाउने, प्रचारबाजी गर्ने जस्ता गलत प्रवृत्ति र मनोविज्ञान भएका मान्छेहरुको उपस्थितिले चाहिँ सोसल मिडियाको सुन्दरतालाई खल्बल्याएको हो कि भन्ने लाग्छ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ

पढिन्छ अरुका पनि । चिनेजानेका साथीभाइको पढिन्छ । कसैले राम्रा भनी सिफारिस गरेको पनि पढिन्छ । अखबारिय होस् या साहित्यिक लेखनमा नयाँ प्रयोगहरु सिक्न र थाहा पाउन अरुका ब्लग पढ्छु । मन पर्ने दिनेश वाग्लेको  वाग्ले स्ट्रिट जर्नल (Wagle Street Journal), जोतारे धाइवाको शब्दकोष, डा. समी लगायतका ब्लग हुन् । फुर्सदमा नयाँ लेखकहरुले लेखेका ब्लगहरु पढ्न मन पराउँछु ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङ्गप्रति आर्कषित भईरहेका छन । नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग

ब्लगिङ प्रतिको आकर्षणलाई त राम्रै मान्नुपर्छ तर राम्रा र नियमित ब्लगर कम छन् जस्तो लाग्छ । दुरुपयोग नै भएको त मलाई याद छैन । विषयकेन्द्रित विशिष्टीकृत चाहिँ ब्लग कम छन् ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तरता दिन सक्दैनन् । तपाईको विचारमा ब्लगलाइ समय दिन गाह्रो भएरै हो या अरु कुनै कारणले होला

एउटा त समय पनि होला तर हामीमा ब्लगिङको ज्ञान कम भएर पनि हुन सक्छ । म आफैं पनि के ब्लग गर्ने भनेर योजना बनाएर, रिसर्च गरेर, समयसान्दर्भिक ब्लग गर्न आफू असक्षम भएको देख्छु । ब्लगिङ फुर्सदको काम मात्र सम्झन्छौं हामी । नत्र लेख्न त विषयवस्तुको कुनै खाँचो छैन हामीसँग ।

हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो

ब्लग कम पढिने भए पनि यसको वजन फेसबुक र ट्वीटरभन्दा बढी भन्छु म चाहिँ । फेसबुक र ट्वीटरमा सक्रिय हुन रहर र लहडले पनि चल्छ तर ब्लगिङ गम्भीर क्षेत्र हो । ट्वीटर जस्ता माइक्रोब्लगिङमा कहिलेकाहिँ मानिसहरु हल्काफुल्का भईबस्छन् तर ब्लगरहरु बढी जिम्मेवार हुन्छन् मेरो विचारमा ।  

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ

सामाजिक हितकै लागि भनेर बनाइएको ब्लग भेटाको छैन एकाध बाहेक । धेरैजसो सिक्न खोज्ने युवाहरु छन् ब्लगिङमा । सम्बन्धित क्षेत्रका विज्ञ, विशेषज्ञ, कार्यकर्ताले ब्लगिङ गर्ने भयो भने सामाजिक हितमा पनि ब्लगिङ हुन सक्छ ।

तपाईको ब्लगमा आफ्नो ठाँउको स्थानिय सँस्कृतिका कुराहरु धेरै रहेछन्, कसरी यि विषयवस्तुहरु संकलन गर्नुहुन्छ

हो, मेरो ब्लगमा, मेरा लेखनमा स्थानीय संस्कृति, मानिसका जीवन पद्धति जस्ता विषयमा धेरै कुरा छन् । म लेखनमा सीमान्त आवाजलाई मुखरित गर्न रुचाउँछु । ती कुराहरु कति भोगेर, कति पढेर, कति चाहिँ यात्रा र घुमघामका बेला सिकिन्छ । तिनलाई म कुनै न कुनै रुपमा संकलन गर्छु र उपयुक्त मौकामा स्थान दिन्छु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता

नियमन गरेर काम गर्नु आफैंमा राम्रो कुरा हो । नेपालमा समाज र पाठकप्रति उत्तरदायी ब्लग गर्ने मान्छेको कमी छ, कोहि आत्मप्रचारका लागि गर्छन्, कोहि गलत नियत नै पनि ब्लगिङ गरिरहेका हुन सक्छन् । आचारसंहिता बने तिनलाई नियमित गर्न सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

ब्लगरका लागि उसको ब्लग कसैले पढेको छ र मन पराएको छ भन्ने कुराले नै रोमाञ्चित बनाउँछ । तर ट्वीटरमार्फत हालसालै प्राप्त भएका मेरो ब्लगहरुमाथिको प्रतिक्रियाले उत्साहित बनाएको छ । नचिनेका मानिसहरु पनि ब्लग पढेर प्रभावित भएर फेसबुक ट्वीटरसम्म खोज्न आउन भ्याउँदा रहेछन् भन्ने कुरा सोच्दा रमाइलो लाग्दो रैछ ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त

विचार र समाचारको प्रसार पत्रकारिता हो भने ब्लगिङलाई नागरिक पत्रकारिता भन्न सक्छौं । ब्लगिङमा पनि सूचना र विचार दुवै समावेश हुन सक्छन् । ब्लगर कुनै आधिकारिक सञ्चार माध्यममा संलग्न नहुन सक्छ, तर राम्रो ब्लगर हुनका लागि पत्रकार जत्तिकै चनाखो र जानकार हुनुपर्छ । त्यसैले यो नागरिक पत्रकारिता नै हो ।

अन्त्यमा,

धन्यवाद । सबै ब्लगर साथीहरुलाई आफ्ना ब्लगहरुप्रति जिम्मेवार र जवाफदेही रहौं भन्न चाहन्छु ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service