मैले अहिलेसम्म रद्दी लेखाई, भाषा, मानवीय संवेदनालाई कुल्चीएर लेखिएको ब्लग पढेको छैन-संजोग ठकुरी

बालअधिकार र युवाअधिकारको क्षेत्रमा क्रियाशील युवा हुन संजोग ठकुरी । विशेषतः ठकुरी बालबालिका, किशोरकिशोरी र युवा सहभागिता, समानता र सुशासनका लागि काम गर्दै आईरहेका छन्। सन् २०१५ वर्ष पछिको विश्वमा बालबालिका र युवाहरुको आवाज उठाउँदै Global Youth Advocate का रुपमा कार्यरत ठकुरी युवामुखी संस्था युवालयका संस्थापक सदस्य पनि हुन ।  ठकुरीले नाटक, कविता, ठट्टा, भ्रमण र डायरी लेखन आफ्नो जीवनको अनिवार्य अंग मान्छन् भने सोसल मिडियालाई उनी समाजिक विषयवस्तुको बारेमा जनजागरण ल्याउने मञ्चको रुपमा प्रयोग गर्ने गर्छन् । युवा मुद्दाका अलवा उनी सोसियल मिडियाब्लग लेखन मा पनि उत्तिकै  सक्रिय छन्। मेरो रिर्पोटको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै संजोग ठकुरीलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँगको कुराकानी :  

संजोग ठकुरीलाई अरुले कसरी चिन्ने?

संजोग ठकुरी विशेषत विकासे कार्यक्रममा दशक लामो अनुभव भएको युवा हो । सन् १९९५ देखि नै बाल क्लबबाट हुर्केको संजोग पत्रकारिता, साहित्य र नाटकमा विशेष रुची राख्छ । विशेषतः बालबालिका र युवाअधिकार भित्र पनि उनीहरुको सहभागिता, समानता र सुशासनको अधिकारको लागि आवाज उठाउँदै आइरहेको छ । मानवअधिकार, सहभागिता, सुशासन मेरो कार्य क्षेत्रहरु हुन् भने म गैरसरकारी संस्थामा परियोजना भन्दा पनि अभियानमुखी काम गर्न मन पराउँछु र यी विकासे शब्द र कार्यक्रमबाट टाढा रहेर देशका समसामयिक र राजनीतिक विषयहरुमा लेख्न रुचाउने गर्छु ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ?

म आफुलाई Social Media Enthusiastic भन्न रुचाउँछु । ईन्टरनेट आजको अभिन्न अंग र बालबालिका र युवाहरुसँग जोडिने सबैभन्दा सहज र प्रभावकारी माध्यम भएकोले म यसमा ज्यादै रमाउँछु । तर मेरो धेरै समय ब्लगरको रुपमा भन्दा पनि फेसबुकमा बित्ने गर्छ । आफुलाई ब्लगर नै भनिहाल्न सक्दिन बरु ब्लगको अध्ययन गर्न रुचाउने मानिस चाँहि पक्कै हुँ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो?

मैले सर्वप्रथम सुरु गरेको त सायद जिमेल बनाएपछि नजानेरै जिमेलबाट खुलिने ब्लग थियो क्यार त्यसपछि पनि एकपटक खोले हुँला जस्तो लाग्छ तर ती सबै नजानिँदो प्रकारले बनाएका ब्लगहरु हुन् । खासगरी साथीहरुको ब्लग पढ्न थालेपछि लोभले नै मैले लेख्न थालेको हुँ । यसको अर्को कारण भनेको मलाई मेरा रचनाहरु संग्रह गर्ने ठाउँ पनि चाहिरहेको थियो । तपाईले मेरो ब्लग हेर्नुभयो भने धेरै पुराना रचनाहरु पनि संग्रहित गरेको पाउनुहुन्छ । तर विस्तारै व्लग लेख्न सुरु गरिसकेपछि नयाँ रचना लेख्न, विचारहरु लेख्न पनि हौसला मिल्दै गयो । मेरो हालको ब्लग भने मैले २०१२ डिसेम्बर ४ बाट सुरु गरेको हुँ ।  किन र कसरीको उत्तर मैले माथि नै दिईसकेको छु । साथै यो आफ्नो एउटा व्यक्तिगत वेबसाइट जस्तो पनि हुने कारणले पनि मैले यसको सुरुवात गरेँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?

मैले मेरो ब्लगको व्याख्यामा भावना, विचार र अधिकारकर्म भनेर व्याख्या गरेको छु । तसर्थ तपाईले मेरो ब्लग आफ्ना भावनाहरु, स्वतन्त्र विचारहरुका साथै अधिकारकर्मका लागि मेरा अभिव्यक्तिहरु पनि देख्न सक्नुहुन्छ । ब्लगिङ साँच्चै भन्दा म मेरा लागि नै गर्छु । जहाँ स्वतन्त्र रुपले आफुले चाहेका कुराहरु राख्न सकिन्छ । साथै मेरो विशेष रुची कविता भएकोले कविताहरुको संग्रह झैं भएको छ मेरो ब्लग । मुलतः व्यक्तिगत सन्तुष्टिका लागि नै हो । तथापि यसको पाठक आम मानिस हुने भएकोले विशेषतः समसामयिक कुराहरु लेखेका लेख यहाँ राख्छु नत्र त ७ कक्षादेखि लेख्न थालेको डायरी हालसम्म पनि सुचारु नै छ ।

ब्लगलाई दिने समय भन्ने कुरा चाँहि बडो गाह्रो कुरा हो । नलेखेको धेरै भयो र ब्लग लेख्न कै लागि भने लेख्दिन, घटना, विचार, विषय भयो भने लेख्ने हो । फेरी विकासे काममा संलग्न भएकोले समय अक्सर गरेर प्रतिवेदन, परियोजना, कार्यक्रममै व्यतित हुन्छ । तथापि म आफुले भ्याएसम्म हेर्छु र अरु साथीहरुको पढ्ने गर्छु तर लेख्नै चाँहि धेरै कम ।

आफ्नो ब्लगमा के कुराहरु राख्न बढी रुचाउनुहुन्छ?

मैले अघि भने जस्तै ब्लग कविता संग्रह गर्ने माध्यमको उपजको रुपमा सुरु गरिएको हुनाले तपाईले कविताहरु नै धेरै पाउनु हुनेछ । त्यसका साथसाथै यात्रा संस्मरण, सामाजिक चासोका विषयमा लेखहरु पनि मेरा ब्लगका विषयहरु हुन् । मुलतः मेरा अनुभवहरु, विचारहरु र अधिकारको क्षेत्रमा मेरो रुची र लगाव भएको कारण अधिकारकर्म मेरा कुनैपनि लेखका विषयहरु हुन् जुन तपाई मेरो ब्लगमा पाउनुहुनेछ ।

तपाँइले चलाउने ब्लग http://nicesanjog.wordpress.com/ मात्रै हो कि यस बाहेक अरु पनि छन् ?

संस्थामा आबद्ध भएको हुँदा कहिलेकाँहि युवालयको ब्लग पनि चलाउँछु  (yuwalaya.blogspot.com) तथापि उक्त ब्लग मेरो जिम्मेवारी भित्र भने पर्दैन । मेरो ब्यक्तिगत ब्लग भने यो मात्र हो ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त  गाह्रो छ नि हैन?

यो त तपाईले मलाई नै भन्नु भए झैँ लाग्यो, हा हा हा । कुनैपनि काम सुरु गर्दाको उमंग सधैँ उत्कर्षमा हुन्छ र कथामा हुने क्लाइमेक्ससँगै यो विस्तारै ओरालो लाग्दै पनि जान्छ । तथापि ब्लग लेख्नु र ब्लग पढ्नु दुई फरक पाटाहरु हुन् तर पनि ब्लग पढ्ने बानीलाई पनि सराहना गर्न जरुरी हुन्छ । अरुको ब्लगको अध्ययन पनि एउटा महत्वपूर्ण काम हो ।

मैले मम भन्नु पर्छ कि यो प्रश्न ठ्याक्कै मैमा लागु हुन्छ । मेरो सुरुका दिनमा लगातार कविता पोस्ट गर्थे तर विस्तारै यो कम हुँदै गयो र अहिले त धेरै नै कम हुन थालिसकेको छ तथापि म मेरोरपोर्टले बेलाबेलामा पठाउने ब्लग, साताको ब्लगर वा लेखक, ट्वीटरमा देखिने साथीहरुको ब्लग भने अध्ययन गरिरहेको हुन्छु । काम, अध्ययन, लोडसेडिङ र ईन्टरनेट कनेक्सनले पनि कहिलेकाहि ब्लगसँगको सामिप्यतालाई खलल पार्ने काम भने गर्छ । 

ब्लगिङ गर्न कस्ता कस्ता चुनौतिहरु छन्?

मेरो लागि ब्लगिङमा डिजाइनिङ गर्नु जस्तो गाह्रो काम केहि होईन । एकजना साथीले मेरो ब्लग हेरेर भनेका थिए ब्लगर भनेको अक्षर थोपर्नु मात्र हैन भनेर । मैले आजसम्म उनको मुखमा बुजो हाल्ने गरी आफ्नो ब्लगको आउटलुक हेरुँ हेरुँ बनाउन जानेको छैन । आफ्नै बारेको लिंकहरु राख्न जानेको छैन । मेरा लागि ब्लग लेख्ने र पोस्ट गर्ने त्यसपछि सेयर गर्ने भन्दा धेरै मैले उपयोग गर्न सकेकै छैन । खिन्नता पनि बोध हुन्छ ।

अब लेखाईको नै कुरा गर्दा चैं आफ्ना भावनाहरु लेख्नुपर्ने भएकाले लेख्न समय निकाल्न सकियो भने ब्लगिङ गाह्रो त परै जाओस् बरु सहज रुपमा पपुलर बनिने रमाइलो औजार हो यो । यसले मान्छे र व्यक्तिलाई सहजरुपमा चिनाउन मद्दत गर्छ । तथापि जथाभावी लेख्ने, गाली मात्र गर्ने जस्ता लेखहरु थोपरिनु, निरन्तर ब्लगिङमा जम्न नसक्नु मैले धेरै साथीहरुको समस्याको रुपमा देखेको छु भने ब्लगको पहुँच र जानकारी नहुँदा ग्रामिण मानिससम्म हामी पुग्न नसकेको पनि बोध हुन्छ ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ?

जहाँसम्म मैले भेटेका, पढेका साथीहरु हुनुहन्छ ती सबैका काम, विषय र विवेचना हेर्दा म दंग पर्ने गर्छु । वास्तवमै हामीले ब्लगमा राम्रो फड्को मारिरहेका छौं । तथापि मैले अघि भने झैं केहि मानिसहरु ब्लगलाई उच्श्रृङ्खलताको मञ्चको रुपमा प्रयोग गर्ने, यसको महत्व नबुझ्ने साथीहरुसँग चैं रुष्ट पनि हुन्छु । ब्लग आम मानिसमा सहजता साथ पुग्ने, सस्तो, सुलभ भएकाले पनि यसप्रति अनुशासन कायम गर्नु आवश्यक छ तर त्यो फेरी व्यक्तिमा नै भर पर्ने कुरा पनि हो ।

अर्को यो सदुपयोगको कुरा गर्दा खेरी मलाई जहाँसम्म लाग्छ हामीले ब्लगको संसारमा गर्नुपर्ने काम अझैं धेरै छ जस्तो लाग्छ । ईन्टरनेट पुगेका ठाउँमा मानिसहरु फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा रमाइरहेको बेला हामीले ब्लगको चैं प्रसार र महत्वको बारेमा उत्ति ध्यान पुर्‍याएनौँ कि जस्तो महसुस हुन्छ ।

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही के हो?

मलाई घुम्न मनपर्छ, ट्राभलिङ मेरो ठूलो सौखको विषय हो तर नेपाल नै घुम्ने । त्यससँगै साहित्यमा पनि रुची भएकाले कविता लेख्न र साहित्य रचना पढ्न मनपराउँछु । फुसर्दमा अभिनय गर्नु, रेडियो नाटक गर्न थालेको पनि धेरै वर्ष भईसक्यो । आजकल अपरिपक्व फोटोग्राफरको लाइनमा उभिएको छु । त्यसबाहेक तालिम दिन, नयाँ मानिस भेट्न, कुनैपनि नयाँ ठाउँको रहनसहन, संस्कृति, भुगोलको अध्ययन गर्नु मेरो ठूलो रुचीको विषय हो ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

मैले ब्लग पढ्नमा आजकल अलि बढि मन लगाएको छु तर उसैको नै ब्लग पढ्छु भन्ने चै हुँदैन रहेछ । विशेषतः सोसल मिडियामा आएका ब्लगहरु, विभिन्न संस्थाका ब्लगहरु पढ्ने नै हो । तथापि http://diwapyak.blogspot.com/, http://www.aakarpost.com/, http://face-rubina.blogspot.com/, http://dhaiba.blogspot.com/, http://blogs.worldbank.org/youthink/, http://blog.myworld2015.org/ मेरो रोजाइमा पर्ने ब्लगहरु हुन् । म साहित्य र अधिकारकर्ममा हिंडेको युवा भएको कारणले गर्दा मलाई समसामयिक विषयमा, सामाजिक मुद्दामा लेखिएका, साहित्यीक रचनाहरु नै मनपर्छन् । आजकल यात्रा वृतान्त पनि पढ्न सुरु गर्न थालेको छु ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ ?

यो अलिकति गाह्रो वा भनौं अप्ठेरो प्रश्न भयो मेरो लागि । किनकी म आफैं अझैं पनि आफुलाई ब्लगको विद्यार्थी मान्दै आइरहेको छु । त्यसैले मैले यसबारेमा विश्लेषणात्मक अध्ययन त गरेको छुँईन । फेरी ब्लग व्यक्तिगत अनुभवको पनि सँगालो भएकाले यसमा सामाजिक परिवेशका मुद्दा उत्थानमा मात्र प्रयोग गरिनुपर्छ भन्ने पनि मलाई लाग्दैन । ब्लग कल्चर हुर्कँदैछ र धेरै साथीहरुका भावना समाजकै विषयहरुमा केन्द्रित नै भएको पाएको छु मैले ।

तपाई त बालबालिका तथा युवाका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ, उनीहरुले चाहिं आफ्ना कुरा भन्न कत्तिको रुचि राखेको पाउनुभएको छ, अनि कुन माध्यम उनीहरुको पहिलो रोजाईमा छ? 

बालबालिका र युवाहरुको जमातसँग गरिएको सबैभन्दा ठूलो अपहेलना नै उनीहरुको विचार नसुनिनु वा कदर नगरिनु हो । जसलाई वयस्कहरुले संस्कार र संस्कृतिको रुपमा अँगाली सकेका छन् तै हालको अवस्थामा केहि सुधार भने पक्कै भइरहेको छ । अधिकारको दृष्टिकोणबाट हेर्दा हामी के भन्ने गर्छौ भने जुन मानिसले आफ्नो अधिकारको बारेमा थाह पाउँदैन उसलाई उसको अधिकारको हनन भएको पनि थाहा हुँदैन । तसर्थ सूचना र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार सबैको लागि अपरिहार्य हुन्छ । कतिपय जिल्लाहरुमा, गाउँहरुमा जादाँ उनीहरु विचार पोख्न चाहिरहेका तर ठाउँ नपाएको, विचार कहाँ पोख्ने भन्ने थाह नभएको पनि पाएको छु । तसर्थ अहिलेको पिँढी विचार व्यक्त गर्न पाउने विषयमा सचेत त पाएँ तर कहाँ कसरी गर्ने भन्ने विषयमा भने अवगत नरहेको देखेको छु । अब माध्यम भनेको व्यक्ति, उनको सोच, पहुँच र भुगोलले निक्र्यौल गर्दौरहेछ । हामी कहाँ ईन्टरनेट सहज र सुलभ छ तसर्थ यहाँका बालबालिका र युवाको लागि यो सहज विषय भएको छ तर जिल्ला बाहिर जहाँ ईन्टरनेटको पहुँच सहज छैन त्यहाँ समूहमा, साथीसँग, विभिन्न पत्रपत्रिकामा लेख लेखेर, क्लबहरुमा हुने सिर्जनात्मक कार्यक्रमहरुमा, डायरी लेखेर व्यक्त गर्ने गरेका छन् । र ईन्टरनेटको पहुँच हुने स्थानमा पनि बालबालिकाहरु र युवाहरु व्लग लेख्ने, भावनालाई व्यक्त गर्ने भन्दा पनि फेसबुक स्टाटसको माध्यमबाट, च्याट गरेर आफ्ना विचारको आदानप्रदान गर्ने गर्दछन् ।

सोसियल मिडियाहरुलाई अहिलेका यूवा तथा बालबालिकाले कसरी प्रयोग गरिरहेको पाउनुहुन्छ ?

सोसल मिडिया यति छिटो हामी मानिसको जीवनमा घुलमिल भयो कि सायद यसै कारण यसको नाम नै सोसल मिडिया हुन गयो । बालबालिका र युवाहरुमा यो नवप्रवेशी मिडियासँगको लगाव अत्याधिक मात्रामा पाइन्छ । विशेषतः फेसबुक सबैको रोजाईंमा पर्न गएको छ भने पछिल्लो समयमा ट्वीटरले पनि विस्तारै उनीहरुलाई आकर्षित गर्दै आइरहेको छ ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

ब्लग स्वतन्त्र त हुनुपर्छ तर त्यसो भन्दैमा त्यसले नागरिकको हद भने नाग्नु हुँदैन त्यसकारण आचारसंहिता आवश्यक पनि छ । तर अब लेखाईको आचारसंहिता के हो, मापक के बनाउने, निगरानी र दण्ड सजायको जिम्मा र व्यवस्था अर्को पाटो हो ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?

मैले हेर्ने ब्लगहरुमा भएको नै पाएको छु अर्थात् त्यस्तो रद्दी लेखाई, भाषा, मानवीय संवेदनालाई कुल्चीएर लेखिएको ब्लग पढेको छुईँन हालसम्म ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइदिनुस् न ।

ब्लग लेखनमा मैले अहिलेसम्म नभनेको कुरा भनेको मैले शौखले भन्दा पनि लोभ र ईच्छाले ब्लग बनाएको हुँ । ब्लग कल्चर हुर्कदै गर्दा मैले खासै वास्ता गरिरहेको थिईन तर वरपरका साथीहरुले विस्तारै ब्लगबारेमा कुरा गर्न थाले । ब्लगका विषयवस्तु, यसमा आएका कमेन्ट समूहमा छलफलको विषयवस्तु हुन थाल्यो । फेसबुकका भित्ताहरुमा ब्लगहरु शेयर हुन थाले र आफ्नो पनि त्यस्तै होस् भन्ने लोभले मैले ब्लग सुरु गरेको हुँ ।

तपाइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

सबैभन्दा सहज उत्तर भनेको लेखनका हिसाबले नै हो । ट्वीटरले हामीलाई सिमित शब्दहरु दिन्छ, फेसबुकले त्यो भन्दा धेरै दिएता पनि ब्लगको आफ्नै प्रभावशालिता छ तसर्थ शब्दका हिसाबले यिनीहरुका आ आफ्नै किसिमका विशेषताहरु छन् । मैले बालबालिका र युवाहरुको जमात हेर्दा फेसबुकमा उनीहरुको पहुँच धेरै देखेको छु । ट्वीटर र ब्लग कम पहुँच भनौं वा उनीहरुले कम ईच्छाएका विषयहरु हुन् तसर्थ यसको प्रयोग कम हुन्छ । यिनीहरु सबैको आ-आफ्नै विशेषता र दायराहरु छन् ।

नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ?

पछिल्लो समय सबै मानिसहरुले सोसाल मिडियालाई व्यक्तिगत भन्दा पनि समाजमा रहेका विषयवस्तुहरुको उत्थानमा प्रायोग गरेको पाएको छु र वास्तवमै यो सोसल मिडिया भएको जस्तो भान भएको छ । तथापि मानिस न हो गाली गलौज, हस्तक्षेप यसका कमजोर उदाहणहरु पनि हामीमाझ छ । जे होस् एक वाक्यमा भन्दा सोसल मिडियाले समाजका विषयमा छलफल गर्ने एउटा मञ्चको रुपमा प्रयोग हुन थालेको छ र यसलाई निरन्तरता दिनु भने जरुरी छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

यो त व्यक्तिले कसरी यसलाई लिइराखेको छ भन्ने कुरामा नै निर्भर हुने कुरा हो । पत्रकारिता र ब्लगका विषयवस्तुको अन्तरसम्बन्ध र विश्लेषणले मात्र यसलाई निर्णय गर्न सकिन्छ । तथापि यदि ब्लगले सामाजिक अन्तरवस्तु, समाजको चित्रण गर्छ भने पक्कै यो नागरिक पत्रकारिता भनेर भन्न सकिन्छ होला ।

अन्त्यमा,

हामीजस्ता ब्लगरहरुको लागि भनेर यतिराम्रो मञ्च बनाइदिनुभएकोमा तपाई लगायत मेरोरिपोर्ट टिमलाई धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Amuna Chapagain on September 10, 2014 at 5:40pm

Congratulations !! 

Comment by Prakash Lamichhane on September 10, 2014 at 5:16pm

Congratulations Sanjog !!! Keep Blogging..... :) 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service