मेरो ब्लगमा भएका घटना, पात्रहरु धेरैजसो मेरै विरामीहरु हुन्-डा.समिर लामा

डाक्टर समिर लामा, भरतपुर नगरपालिका, वडानम्बर ११, चितवनका युवा हुन् । मेडिकल साईन्सका विद्यार्थी उनी, हाल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा जेनेरल प्राक्टिसमा एमडि गर्दैछन। उनको एमबिबिएस धरानस्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सन २००८ मा पुरा भएको हो । बालकुमारी उच्च मावि, नारायणगढबाट एसयलसी उत्तिर्ण गरेका उनी आजभोलि फेरी डाक्टरका रुपमा आफ्नै गृहजिल्लामा फर्किएका छन्  चितवनको चितवन मेडिकल कलेजमा । सोसल मिडियामा पनि उत्तिकै सक्रिय डाक्टर समिरले स्वस्थ नेपाल नामक ब्लगमार्फत नियमित रुपमा जानकारीमुलक ब्लगहरु पनि लेखिरहन्छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै डाक्टर समिरलाई उभ्याएका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

 

पेशाले चिकित्सक भएपनि सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?
सोसल मिडियामा फेसबुक, ट्विटरमा अलिअलि सकृय छु । ड्युटी, पढाईले चलाइराख्न भ्याउँदिन तर नियमित अपडेट भने भैराख्छु । फेसबुक, ट्विटरमा एज अ फ्रेन्ड, अनी ब्लग पनि लेख्ने भएकोले ‘ब्लगर’ पनि भन्न मिल्छ होला ।

 

तपाँइको ब्लग http://myhealthynepal.blogspot.com मात्रै कि अरु पनि छन?
अहिले त यही मात्रै हो।

 

तपाँइको ब्लगको नाम  स्वस्थ  नेपाल नै किन?
यसको नाम ‘स्वस्थ नेपाल’ कसरी भयो भन्ने कुरा थाहा पाउन यो ब्लग कसरी शुरु भयो भन्ने थाहा पाउनु पर्छ होला । यसको बारेमा मैले ब्लगमै पनि लेखेको थिएँ, मेरो पहिलो र दोस्रो आर्टिकल । खासमा भएको के थियो भने म त्यतिबेला पढाईको सिलसिलामा न्युयोर्कमा थिएँ । एक दिन ‘माइ संसार’मा प्रकाशित 'अस्पतालमा यस्तो छ लापरवाही' भन्ने लेख पढ्न पाएँ । त्यो लेख एक जना विरामीको भाईले कसरी डाक्टर, नर्सको लापरवाहीको कारणले आफ्नो दिदीको मृत्यु भएको थियो भनेर विस्तृत रुपमा लेखेका थिए । तर उनैको शब्दमा मैले पढ्दा ति सबै लापरवाही भन्दा पनि गर्भावस्थामा हुनसक्ने एक प्रकारको जटिलता र त्यसैको परिणाम थियो भन्ने लाग्यो । डाक्टरले राम्ररी नबुझाउँदा वा विरामीका आफन्तले राम्ररी नबुझ्दा मिस कम्युनिकेसनका कारणले यस्ता धेरै केसहरु भैराखेको देखेको, भोगेको छु । अनी त्यस्ता कुरामा हामी अरुले चाँही बुझ्दै नबुझी पूर्वाग्रही भएर सिधै डाक्टरको लापरवाही, उनीहरुलाई कारवाही गर भन्ने, तल्लो स्तरको गाली दिनेसम्म गरेको देखेको छु । त्यस्तो कुरालाई तथा, डाक्टर र विरामीबिचको दुरीलाई केही कम गर्न सकिन्छ कि, आफ्नै नेपाली भाषामा विभिन्न रोग, लक्षण, उपचार आदिका बारेमा साधारण नेपाली दाजुभाइ दिदीबैनीलाई जानकारी दिन सकिन्छ कि, यसो गरेर नेपालको स्वास्थ्य क्षेत्रमा थोरै भए पनि राम्रो परिवर्तन ल्याउन सकिन्छ कि भनेर मैले यो ब्लग शुरु गरें। अब त यसको नाम यही कसरी जुर्‍यो त भन्नु नपर्ला नि !  ‘सानो प्रयास’ ‘लेखाइको शुरुवात यहाँबाट भएको थियो ।


यहाँको ब्लगमा मानब स्वास्थ्य र चिकित्सा क्षेत्रका बारेमा लेखिएका जानकारीमुलक पोष्टहरु धेरै रहेछन् । खासमा यहाँको ब्लगिङको रुची के हो? 
मेरो ब्लग नै स्वास्थ्य सम्बन्धी जानकारी राख्नका निमित्त भएकोले यसमा म स्वास्थ्य सम्बन्धी नै लेख्ने गर्छु । तर लेख्न थालेपछी, पढ्न थालेपछी रस विस्तारै पस्दोरहेछ के । आजभोलि चाँही अरु विषयमा पनि लेख्छु, ‘नेपथ्य ब्यान्ड’ सम्बन्धी एउटा आर्टिकल ‘नेपथ्य पछ्याउदै नेपालगन्जसम्म’ आकारपोस्टमा पनि छापेको थिएँ । लेख्न मन लाग्छ तर छाप्ने ठाउँ नहुँदा त्यत्तिकै हुँदोरैछ । समय मिल्यो भने स्वास्थ्य बाहेक अरु विषयमा लेख्न अर्को ब्लग शुरु गर्छु होला । पहिले त रोग, स्वास्थ्यवस्था सम्बन्धी पनि धेरै लेख्थेँ तर त्यस्तोमा लेख्न रिसोर्स खोज्नुपर्ने, नेपालीमा ठ्याक्कै उल्था गर्न पनि गाह्रो, आफुसँग टाइम पनि धेरै नहुने भएकोले हिजोआज रोगको जानकारी सम्बन्धी अली कम लेख्छु । अहिले प्राय: मनमा लागेका, आफुले भोगेका, देखेका, चित्त बुझेका, नबुझेका कुराहरु लेखिरहेको हुन्छु । किनकी यस्तो शिर्षकमा लेख्न रिसोर्स पनि खोज्नु नपर्ने खाली मनमा लागेका कुराहरु लेखे पुग्ने । अली अल्छि भएको होकि भनौं न !

 

आफ्नो ब्लगलाई एकलाईनमा चिनाउनु पर्दा?
स्वास्थ्य सम्बन्धी लेखहरु भएको नेपाली भाषामा पढ्न पाईने नेपाली पाठककै लागि लक्षित एउटा ब्लग ।

 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?
२०११ तिरबाट हो । ३ वर्ष जति पुग्न लागेछ ।

 

 ब्लगिङ किन गर्नुहुन्छ?
मनको कुरा पोख्न । मैले यो कुरा मेरा लेखहरुमा पनि बेलाबेलामा भन्ने गरेको छु । हामी चिकित्साकर्मी र विरामीहरुका बिचमा जुन अविश्वासको खाडल बन्दै गैरहेको छ, त्यसलाई कम गर्न । स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन । चित्त नबुझेका, चित्त बुझेका कुराहरु शेयर गर्न । रोगसम्बन्धी जानकारीमुलक लेखहरु बाहेक अरु लेख्दाका भावनाहरु, अवस्थाहरु, पात्रहरु मलाई अहिले पनि ति लेख पढ्दा झल्झली याद आउँछन् । चाहे त्यो विरामीको मृत्युको होस् वा ठीक भएर जाँदाको होस्। कति लेख चाँही पत्रिकाको न्युज, कुनै आर्टिकलको रेस्पोन्समा पनि लेखेको छु । तर अचम्म लाग्छ ठुला पत्रिका, पत्रकारहरुले रेस्पोन्स फर्काउँदैनन् ।

 

किन स्वास्थ्यकै सवाल तपाँईको ब्लगमा प्राथमिकतामा पर्छन्?
नेपालमा स्वास्थ्यका बारेमा जानकीहरु भएका लेख नेपालीमा कमैले लेख्छन् र यस्तो नेपालीमा लेखिनु, भनिनु जरुरी छ । साथै आफ्नो क्षेत्र  पनि यही नै भएकोले स्वास्थ्य सम्बन्धी नै लेख्छु ।

 

चिकित्सा क्षेत्र र स्वास्थ्यका कुरालाई ब्लगिङको बिषय बनाउने ब्लगरहरु निकै कम भेटिन्छन् । किन होला?
डाक्टरहरुलाई त फुर्सद नभएरै पो हो कि ! अङ्ग्रेजीमा त नभएका हैनन् । नेपालीमा भने चिकित्सा क्षेत्रको कुरा उल्था गर्न, अर्थ मिलाएर लेख्न अली गाह्रो छ, त्यही भएर होला ।  रोगको बारेमा बाहेक विरामीहरुको अनुभव, तितोमिठो जे भएपनि, डाक्टरको आफ्नै अनुभव आदि लेख्ने छाप्ने हाम्रोमा त्यति चलन छैन । यस्ता कुराहरु लेखिनुपर्छ, शेयर हुनुपर्छ जस्तो लाग्छ । मानौं कुनै क्यान्सर भएको विरामीले आफ्नो अनुभव शेयर गरेको छ भने अर्को क्यान्सर रोगीलाई त्यो पढेर धेरै सहयोग मिल्छ । त्यस्तै सबैले विरामीको मात्र कुरा गर्छन्, डाक्टर पनि त मान्छे हो, उसको पनि अनुभव हुन्छ, सुख-दु:खका कुरा हुन्छन्, विरामीको पिडाले उसलाई पनि पिडा दिएको हुन्छ, हाँसोले खुशी दिएको हुन्छ । तर यी कुरा आफ्नै सर्कलमा मात्र सिमित हुन्छ, त्यसैले सर्कल भन्दा बाहिर ल्याउन, हामी पनि मान्छे हौं, हाम्रो पनि अनुभुती हुन्छ, हामीलाई पनि दुख्छ, हामी पनि विरामी हुन्छौ आदि आदि थाहा दिन हामीले लेख्नुपर्छ जस्तो लाग्छ । त्यस्तै हिजोआज पत्रिकाहरुमा मेडिकल जानकारी विना एकतर्फी रुपमा गलत अर्थ लाग्ने गरी स्वास्थ्य सम्बन्धी समाचारहरु धेरै लेखिएको पाईन्छ, त्यसैले पनि 'मेडिकल जर्नालिज्म' हुनुपर्छ भन्ने कुरा नि आइरहेको छ ।

 

 चिकित्सा क्षेत्र र स्वास्थ्यका कुरा बाहेक अर्को कुनै फलानो बिषयमा ब्लगिङ गर्न पाए हुन्थ्यो भन्ने केही छ कि?  यही बिषय भन्ने त छैन तर मन लाग्यो भने र समयले भ्यायो भने अरु विषयमा पनि लेख्छु ।

 

तपाँईले झैँ यही स्वास्थ्यका बिषयमा ब्लगिङ गर्छु भन्ने चाहना राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?
त्यस्तो जान्नै पर्ने कुरा त के होला र !  जुन बिषयको बारेमा आफुलाई थाहा छ, आफु जुन क्षेत्रको हो त्यसैको बारेमा लेख्नु ठीक होला, हैन र? अनी ब्लग एडिटिङ, साइटहरु कसरी मिलाउने आदी बारे पनि थाहा भएको राम्रो । मलाई त्यो चाँही त्यत्ति आउँदैन । फ्री हुँदा अलीअली सिक्न खोजेको थिएँ तर भ्याइएन र आएन पनि । ब्लग आकर्षक बनाउन चाँही ति काम लाग्छन् जस्तो लाग्छ ।

 

 तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?
मैले त्यस्तो धेरै नियालेको छुइन। धेरैले धेरै थरीका लेख्छन्, टाइमले भ्याएको, मनले खोजेको जस्तो भेटें भने पढ्छु ।

 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ
अलिअली पढ्छु । ट्विटर, फेस्बुकबाट लिंक लिएर रमाइला, जानकारीमुलकहरु पढ्छु । प्राय: हेर्ने भनेको माइ संसार, आकारपोस्ट हुन् । अरु चाँही चलेको लेख, फेसबुक ट्विटरमा शेयर गरिएका चित्तबुझ्दा ब्लगहरु भ्याएसम्म हेर्छु ।

 

 विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?
यस्तै नै भन्ने छैन । साहित्य, कथा, कविता, जानकारीमुलक, रमाइला, स्वास्थ्य क्षेत्र सम्बन्धी आदी आदी। इन्ट्रेस्टिङ सबै खाले भनौँ न।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?
ब्लगिङ भनेकै स्वतन्त्रताको अर्को नाम हो जस्तो लाग्छ, तर स्वतन्त्रताको नाममा छाडापन, व्यक्तिगत गाली जस्तो लेभलमा उत्रनु भएन । बोल्न, लेख्न, पढ्न, शेयर गर्न पाउने स्वतन्त्रतालाई असर नपर्ने गरेर अरु कुरालाई कन्ट्रोल गर्न आचारसंहिता लागु गरे हुन्छ । अनी अर्काको ब्लग ठाडै कपीपेस्ट गरेर ब्लग चलाउनेलाई चै कारवाही गर्नुपर्छ। आफ्नो कृयटिभिटी देखाउनुस् न, अर्काको किन चोर्नुहुन्छ, लेखक र लेखलाई सम्मान दिनुस् न, हैन !

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।
मेरो ब्लगमा भएका घटना, पात्रहरु धेरैजसो मेरै विरामीहरु हुन्, उनीहरुको ‘आइडेन्टिटी डिस्क्लोज’ नहोस् भनेर चाँही म सक्दो ध्यान पुर्‍याउँछु। विरामीसँगका धेरैजसो यादगार पलहरु दु:खका, पिडा दिने नै हुन्छन् । केही रमाइलामा चाँही एकजना विरामीले ठीक भएर जानेबेलामा “थ्यान्क यु” भनेर चक्लेट दिएको हो, जस्को बारेमा सानो आर्टिकल पनि लेखेको थिएँ। अर्को चाँही म काठमाण्डौमा भएको बेलामा मेरो ब्लग पढेर एक जना विरामी मलाई खोज्दै चितवनको हस्पिटलहरुमा पुग्नुभएको रहेछ । त्यताको साथीले फोन गरेर मलाई यो कुराको जानकारी गराउँदा अचम्म अनी खुशी पनि लागेको थियो।

 

तपाइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?
ब्लग र ट्विटरमा भ्यु, भावना एक्स्प्रेसनको कुरा फेसबुकमा भन्दा अली बढी हुन्छ जस्तो लाग्छ । केही अपडेट नगरी, अरुको फोटो, स्ट्याटस मात्रै हेरेर पनि कतिले फेसबुक चलाइरहेका हुन्छन् तर त्यसो गरेर ब्लग, ट्विटरमा सर्भाइभ गर्न सकिन्न, आफु एक्टिभ नभैकन यहाँ अल्छीलाग्दो हुन्छ । फेसबुक त हिजो आज भोट माग्ने र लाइक गन्ने साइट जस्तो भा'छ । केही कृयटिभ तरिकाले प्रयोग गर्नु ठीक हुन्छ ।

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?
सामाजिक हित भन्दा पनि ब्लगिङमा व्यक्तिगत अभिव्यक्तिको कुरा बढी हुन्छ जस्तो लाग्छ । त्यसैबाट पनि समाजको कतिलाई थाहा पाई-नपाई सहयोग पुगिरहेको हुन्छ । कसैलाई नराम्रो हुनेगरी लेख्नु पनि एक प्रकारले हित हो नि, हैन? भनिन्छ नि-सफा गर्न सक्नुहुन्न भने फोहोर नगरेको राम्रो ।

 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?
'हामी भित्रका डाक्टरहरु' भन्ने हो । मलाई आँफैलाई धेरै मन परेको चाँही 'डाक्टर भगवान हैन', 'अस्पतालका हरेक बेडको एउटा कथा हुन्छ', 'आइसियुमा युद्धको अनुभुति', 'ईसिजी र जिन्दगी', 'के डाक्टरले विरामी बचाउने मात्रै गर्छन्' आदी हुन् ।

 

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?
आत्मसन्तुष्टी पाइराख्याछु, धेरैको रेस्पोन्स, धन्यवाद पनि पाइराख्याछु, मनको कुराहरु लेख्न पाउँदा आँफैलाई आनन्द आउँछ, हल्का महसुस हुन्छ । अनी त्यही कुराले कसैलाई फाईदा पनि गरिराख्या छ भन्ने थाहा पाउँदा खुशी लाग्छ । गुमाएको चाँही खासै छैन ।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?
अली अली होला पनि तर ब्लगिङ ठ्याक्कै पत्रकारिता हो र? जस्तो मेरो ब्लगिङलाई पत्रकारिता भन्न मिल्ला र? मलाई त बरु व्यक्तिगत अभिव्यक्तिको थलो हो जस्तो लाग्छ । कसैले पत्रकारिताको स्टाइलमा गर्छ भने चाँही होला। पत्रकारिताको ‘ब्रोड डेफिनिसन’मा यी सब पर्छन कि, त्यो चाँही मलाई थाहा भएन।

 

अन्त्यमा,
सबैभन्दा पैले त धन्यवाद, बिहे नगरि बाउ(BOW) बनाइदिनुभ'कोमा, हेहेहे। जोकिङ है ! कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद । सबैजनालाई चाँही के भन्न चाहन्छु भने अस्पताल, स्वास्थ्य क्षेत्र, स्वास्थ्य, रोगहरु सम्बन्धी आफ्ना तितामिठा अनुभव छन् भने लेख्नुस्, शेयर गर्नुस्, हामी यी बारेमा पनि कुरा गरौं, कती राजनितिको मात्रै कुरा गर्ने, हैन? स्वास्थ्य सम्बन्धी केही लेख भए पठाउनुहोला, मेरो ब्लगमा ठाउँ छ। अन्त्यमा सबैलाई दसैंको शुभकामना।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service