आफ्नो मनभित्रका र अन्य टिनएजरका भावनालाई चित्रण गर्न ब्लगिङ गरेकी हुँ-समिक्षा निरौला

ट्रिनिटी ईन्टरनेशनल कलेजबाट प्लस टु उत्तिर्ण गरि विज्ञानको एक प्रतिस्पर्धात्मक क्षेत्रमा स्नातक गर्नका लागि तयारी गर्दै गरेकी समिक्षा निरौला देख्दा जस्तो लाग्छिन् त्यो भन्दा निकै रचनात्मक तरिकाले आफ्नो ब्लगमा प्रस्तुत हुन्छिन् । गोंगबु, काठमाण्डौकी स्थायी बासिन्दा समिक्षा ब्लगिङका अलावा सामाजिक संजालहरु ट्विटरफेसबुकमा पनि उत्तिकै सक्रिय छिन् । फेसबुकमा आफ्नो बास्तविक नामबाटै चिनिएकी उनी ट्विटर र ब्लगमा भने आफूलाई Culprit Forever भनेर चिनाउन चाहन्छिन् । किन आफूलाई यस नामले चिनाउन चाहनुहुन्छ भन्ने हाम्रो प्रश्नमा समिक्षा भन्छिन्-'म आफ्नो नजरमा दोषी नभएपनि जानी-नजानी कसैलाई चोट त अवश्य पुर्‍याएको छु होला। जस जसलाई चोट पुर्‍याएँ उनीहरुको नजरमा सधै कल्प्रिट नै हुन्छु भन्ने भावनाले Culprit Forever राखेकी हुँ।' मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै Culprit Forever अर्थात समिक्षा निरौलालाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

आफूलाई ब्लगरको रुपमा चिनाउन म त्यति सक्षम र मेरो लेखनशैली त्यति गुणस्तरिय छन् जस्तो लाग्दैन । सबैको आ-आफ्नै सोचाइ हुन्छ । सबैले मलाई नकारात्मक भन्दा सकारात्मक रुपले चिनुन् भन्ने नै चाहन्छु।

आफ्नो ब्लग http://culpritforever.blogspot.com/ को बारेमा थोरै बताईदिनुस् न । कस्तो खालको ब्लग हो यो?

मेरो ब्लग मेरो लागि विभिन्न भावना र तस्विर समेटिएको एउटा खुल्ला पुस्तक हो ।   

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभएको नि?

ट्विटरबाट ब्लग पनि हुन्छ भन्ने थाहा पाएँ तर लेख्ने आँट थिएन । पछि एउटा नयाँ अनुभव न हो भन्दै सन् 2013 को सेप्टेम्बरबाट मात्रै ब्लगिङ सुरु गरेँ। 

ब्लगिङ किन गर्नुहुन्छ?

म एउटा टिनएजर हुँ र टिनएजर भएकाले आफ्नो मनभित्र उब्जेका भावना तथा अन्य टिनएजरका भावना तथा सोचलाई शाब्दिक रुपमा चित्रण गर्न रमाइलो लागेकाले ब्लगिङ गरेकी हुँ ।

तपाईंको ब्लगमा प्राथमिकतामा कस्ता बिषयबस्तु पर्छन् र किन?

किशोर अवस्थामा हुने गरेका प्रेम र विछोड, साथै टिनएजरका अधिकार र कर्तव्यका कुराहरुलाई मुख्य प्राथमिकता दिन्छु । साथै आफूलाई मनपरेका प्रकृतिसँग सम्बन्धित तस्विरहरु पनि समावेश गरेकी छु । 

हामीले हेर्दा चाँही तपाईंको ब्लगमा साहित्यिक कुराहरु नै धेरै हुन् कि झैँ लाग्यो । प्रेमका अभिब्यक्तिहरुलाई साहित्यिक तरिकाले ब्यक्त गर्नेगरी नै मुख्य बिषयबस्तु बनाउनुभएको हो?

यस्तो हो, जति साहित्यको गहिराइमा डुबेर मनका भावनालाई प्रकट गर्न सक्छु त्यति अरु कुनै विधामा सक्दिन त्यसैले साहित्यलाई नै मुख्य बिषयवस्तु बनाएँ। 

तर नि, साहित्य सम्बन्धी ब्लगहरु धेरै पाइएपनि धेरैजसो यस्ता ब्लगहरु आफ्नै कथा र गन्थनमन्थनमा रमाउने खाले तथा, मनको बह पोख्नका लागि लेखिएका हुन्छन भनेर सोसल मिडियामा खुब गाली पनि गरिन्छ। किन होला ?

साहित्य लेखन गर्दा पाठकको मन र मस्तिष्कमा काल्पनिक नभई वास्तविक चरित्र चित्रण गर्ने मनासयले गरिएको हुन्छ । त्यसैले साहित्यिक लेख पढ्दा मनको बह पोख्न लेखिएको जस्तो लाग्नु स्वाभाविक हो। 

साहित्यबाहेक तपाँइको अर्को रुची चाँही के नि ब्लगिङका लागि?

फोटोग्राफी मेरो अर्को रुचीको बिषय हो ब्लगिङ गर्नका लागि।

सबैजनाको मनमा, अँझ खासगरी टिनएजमा त विभिन्न भावहरु मनमा तरंगित भैरहेका हुन्छन् तर अभिब्यक्त गर्न कसैले शब्द भेट्दैनन् कसैले माध्यम पाउँदैनन् । अनुभुतिहरुलाइ साहित्यिक अभिव्यक्तिको ढाँचामा बदल्नका लागि भाषा बलियो हुनैपर्छ भने लेखाइपनि शिर्जनशिल (Creative) हुनैपर्छ भनिन्छ । शिर्जनशिल लेखाइ कसरी आउँछ?

लेख्छु र लेख्नसक्छु भन्ने भावना जागृत भएपछि Creative Thinking आफै आउने रहेछ। 

साहित्यका कुरा र शिर्जनशिल लेखाइमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?

पहिले त कथाको काल्पनिक पात्रहरुद्वारा पाठको मनमा वास्तविक चरित्र स्थापित गर्न सक्नु, साथै नेपाली साहित्यमा र शिर्जनशिल लेखाइमा रुचि राख्ने भएपछि भाषा शैली र व्याकरणमा त्रुटि हुनु हुदैन जस्तो लाग्छ। 

तपाइले हामीकहाँको अहिलेको ब्लगिङ कल्चर र सोसल मिडियाको क्षेत्रलाइ कसरी हेर्नुभा छ?

एउटा पुस्तकालय, जहाँ समाजमा घटेका समसामायिक घटना र काल्पनिक घटनाहरु बारे पढ्न सकिन्छ। 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ

ट्वीटरफेसबुकमा देखेका ब्लगहरु र कसैले पढ्न सल्लाह दिएका ब्लगहरु प्रायः सबै पढ्छु। 

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?

समसमायिक घटना र किशोर अवस्थालाई मध्यनजर गर्दै लेखिएका ब्लगहरु मेरो नजरमा पर्छन्। 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

अवश्य छ । 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ ?

अहिलेसम्म मैले पढेका प्रायः सबै ब्लगहरुमा आचारसंहिताको उल्लङ्घन भएको पाएकी छैन। 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका अथवा सोसल मिडियामा बहस गर्दाका कुनै रमाइला घटना वा प्रसंग भए बताइदिनुस् न ।

संविधानसभाको चुनावको सकिए लगतै उठेका प्रसङ्गहरुमा गरेका ट्विटका साथै त्यस ट्विटमा अरुको supportive अन्तरक्रिया सम्झिँदा रमाइलो लाग्छ ।

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका प्लेटफर्महरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

फेसबुक अलिक प्राइभेट हुन्छ भने ट्विटरब्लगमा प्राइभेसी भन्दा पनि समाजको जल्दोबल्दो कुरा र आफ्नो मनमा उब्जेका भावनाहरुलाई शाब्दिक रुपान्तरण गरी विचार साटासाट गर्ने ठाँउ हो । 

नेपाली ब्लगहरु सामाजिक सवालमा कत्तिको लेखिएको पाउनुभएको छ?

समाजका घटिआएका नराम्रो घटना र कुरितिलाई, सामाजिक चेतनालाई आधार बनाएर लेखिएको ब्लगहरु पनि पाएको छु । जुन सामाजिक हितसँग सम्बन्धित हुन्छन्। 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो ? 

भर्खरै 'प्रेम दिवस'लाई आधार बनाएर 'के थियो हाम्रो सम्बन्ध??' भन्ने कथा लेख्न प्रयास गरेकी थिए। त्यो ब्लग धेरैले मन पराउनुभयो । 

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ ?

समयलाई यसै बर्बाद हुन दिनु भन्दा सदुपयोग गर्छु भन्ने मनासयले ब्लगिङ सुरु गरेकी हुँ। त्यसैले केही गुमाए जस्तो लाग्दैन। 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

'नागरिक पत्रकारिता' मात्रै त भन्न मिल्दैनहोला तर समाजमा घटेका र घट्न सक्ने कुराहरुलाई केन्द्रीत भएर लेखिएको हुनाले 'नागरिक पत्रकारिता' पनि हो चाँही भन्न मिल्ला कि ! 

अन्त्यमा,

'मेरो रिपोर्ट'लाई ह्दयदेखी नै धन्यवाद भन्न चाहान्छु । :)

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service