ब्लगले रातारात ब्यक्तिलाइ व्यक्तित्व बनाईदिँदो रहेछ-डा.समीरमणि दिक्षित

डाक्टर समीरमणि दिक्षित, पेशाले जनस्वास्थ्यको सेरोफेरोमा काम गर्ने ब्यक्तित्व । अँझै खुलाउनुपर्दा, आफ्नै संस्था सेन्टर फर मलेक्युलर डाइनामिक्स नेपालका राष्ट्रिय निर्देशक, तर यतिमात्र भनियो भने उनको परिचय अपुरो हुनसक्छ । सोसल मिडिया खासगरी ट्विटरका प्रयोगकर्ताहरु भने उनलाइ मौसमविद्का नामले चिन्छन् । किनकी हरेक दिनजसो उनको ट्विटले काठमाण्डौ खाल्डो,खासगरी पाटन आसपासका क्षेत्रको मौसमी विवरण अध्याविधक गरिरहेको हुन्छ । राजधानी काठमाण्डौको सेन्ट जेवियर्स स्कुलबाट माध्यामिक तह तथा आइएस्सीसम्मको अध्ययन पछि अमेरिका र अष्ट्रेलियाबाट उच्चशिक्षा एवं पिएचडीको अध्ययन सकि नेपालमै सक्रिय रुपमा पेशागत एवं सामाजिक कार्यहरुमा संलग्न उनी परिवार सहित पाटनमा स्थायी रुपमै बसोबास गर्छन् । सोसल मिडिया फेसबुक, ट्विटरजी प्लसका साथै ब्लगिङमा पनि उत्तिकै सक्रिय डा. समीर आफूलाइ चिनाउनुपर्दा 'सोसल प्राणीको रुपमा चिनिनमा कुनै हानी ठान्दिन' पनि भन्छन् । सोसल मिडियामा सर्वाधिक चर्चा-परिचर्चा गरिएको नेपाली चलचित्र 'हाइवे'का निर्माता समेत रहेका डाक्टर समीरमणि दिक्षितलाई मेरोरिपोर्टको साप्ताहिक स्तम्भ 'साताका ब्लगर'मा यसपल्ट हामीले प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

 

तपाँइको ब्लग http://sameermdixit.blogspot.com/ का बारेमा बताइदिनुस न अलिकति?

यो सुरुवात कै रुपमा छ तर म मनमा आएका भावनाहरु, तथा पत्रपत्रिकामा छापिएका लेखहरु राख्छु यसमा । डायरीको रुपमा अलिक लग्न सकेको छैन मैले।

सोसल मिडिया र ब्लगिङमा खासगरी युवाहरुको वर्चश्व रहेको पाइन्छ, तपाँइ आफुलाइ यसमा कुन उमेर समुह अन्तर्गत राख्न रुचाउनुहुन्छ?
म मनमा त संधै युवा नै ठान्दछू ;-) तर म हरेक कुरामा संलग्न राख्ने हुनाले, बिशेषगरी ट्विटरमा, मलाइ उमेरले भन्दा पनि मेरो बिचारहरुले तान्दछन् ।

कतिबर्ष हुनुभयो? उमेर बताउन मिल्छ?
महिलाले त आजकल लुकाउंदैनन् हेहे। म यो भाद्रको अन्यमा ४२ पुरा हुन्छु ।

हुन त यो दिक्षितहरुको बिषेशता नै हो है ! तपाँइहरु कुनै न कुनै रुपमा मिडिया वरिपरी हुनुहुन्छ नि !
हाहाहाहाऽऽ हुन त हो तर म मेरै किसिमले बाँच्दैछु र सायद मेरो सोसल मिडियामा देखिने रुप पनि त्यै हिसाबले सबैले लिएका छ्न् भन्ने आशा छ । J

तपाँइ सोसल मिडियामा निकै सक्रिय हुनुहुन्छ । ट्विटरमा मात्रै चार हजार सातसय भन्दा धेरै तपाँइका फलोअरहरु छन् तर ब्लग चाँही अलि कम नै अपडेट गर्नुभएको हो कि भनेर मैले सोधेँ भने के भन्नुहुन्छ?
ठीक हो भन्छु । अघि भने जस्तै, ब्लगलाइ व्यक्तिगत बनाउने कसरत गर्दैछु, र समयको अभावले सो हुन सकिरहेको छैन।

तपाँइसंग सोसल मिडिया प्रयोगको विविध खालको अनुभव पनि छ, तपाँइहरुकै दावी अनुसार पनि तपाँइले निर्माण गर्नुभएको चलचित्र हाइवे सोसल मिडियामा धेरै बहस गरिएको चलचित्र रहेछ है?
गज्जबै नै । अर्को बनाएपछि पनि त्यस्तै गर्ने बिचार छ । सोसल मिडिया भनेको साइबर दोस्ती, छलफल, बहसको थलो हो । यहाँ कुराहरु अगाडि नराखे नयाँ-सडकको त्यो पिपलबोट मुनि गएर राखे मात्रै हो । राम्रो/नराम्रो छलफल गर्न म डराउन्न ।

हुन त सोसल मिडियाले मानिसको ब्यक्तित्वलाइ चम्काएको छ, सम्बन्धको दायरा फराकिलो पारेको छ, सम्बन्ध र सहयोग आदानप्रदान समेत भइरहेको छ तर पनि मानिसहरु सोसल मिडिया र ब्लगिङलाइ 'अल्लारेहरुको भँडास पोख्ने थलो' या 'प्रेम र यौनका कुरा गर्ने कृडास्थल' भनेर कठोर रुपमा आलोचना गर्न पनि पछि पर्दैनन्, यस बारेमा के भन्नुहुन्छ यहाँ ?
जसले जसरी मनलाग्छ चलाउन् भन्छु । आखिर यो एक थलो हो जसमा आफ्ना अन्तर्मनका खुशी, वेदना, सबै छर्लङ्ग्याउन पाइन्छ । अरुलाइ व्यक्तिगत लाञ्छना र बेइज्जत नगरी मनका खुल्दुली र भावना पेश गर्नमा कुनै नराम्रो देख्दिन ।

अब फेरी तपाँइको ब्लगको कुरा गरौँ, तपाँइको ब्लगमा नेपाली तथा अँग्रेजी दुबै भाषामा लेखिएका ब्लगपोष्टहरु रहेछन् । खासमा यहाँको ब्लगिङको रुची के हो? लेख्ने बिषयबस्तु दुबैका बारेमा भन्नुपर्दा?

म नेपाली, आफ्नो भाषाप्रति गर्व छ मलाइ तर भाषामाथि पक्कड अलिक कमजोर छ जस्तो लाग्छ, जुन म सुधार्न खोज्दैछु । त्यसैले नेपालीमा सकेसम्म ट्विट गर्न र लेखहरु लेख्ने जमर्को गर्छु । अंग्रेजीमा धेरै पढें, र अंग्रेजी बोल्ने देशमा धेरै समय बिताएँ। पढाइ पनि मुख्यत: अंग्रेजी मै भयो, त्यसैले पक्कड राम्रो छ र समय मिलाएर लेख्छु पनि ।

 

यहाँले कसलाइ लक्षित गरेर ब्लग लेख्ने गर्नुहुन्छ? कि मात्र अखबारमा प्रकाशित आफ्ना लेखहरु आर्काइभिङ गर्न ब्लग खोल्नुभएको हो?

खासै यो कुनै बिचारमा बाँधिएर लेख्दिन। हाल ब्लग भन्दा धेरै पत्रपत्रिकामा लेख्ने गरेको छु। त्यसैले ती ब्लगमा देखिएका हुन् । एक किसिमको आर्काइभिङ पनि भैराछ । आउँदा दिनमा के हुन्छ, हेरुँ !

 

ब्लग बाहेक ट्विटरमार्फत माइक्रो ब्लगिङमा पनि उत्तिकै लागि पर्नुहुन्छ । ट्विटरमा कहिलेदेखि प्रवेश गर्नुभयो र यहाँलाइ लेख्न मन लाग्ने सवालहरु के हुन?

ट्विटरमा त मनमा लागेका कुरो झ्याम्मै लेखिहाल्छु, बिचारै नगरी ! प्रवेश गरेको त ३ बर्ष भयो क्यारे ! तर साँच्चै लागेको भने सायद २ बर्ष काट्यो । 'गुड गभर्नेन्स' बारे धेरै लेख्न रुचि लाग्छ । युवाहरुलाइ यसबारे सचेत गर्न खोज्दछु ।

 

माइक्रो ब्लगिङ र ब्लगिङमा के फरक रहेछ?

परिभाषा मै अल्मलिएँ त ! तर ट्वटिरमा देखिने भावनाहरु स्वत:स्फुर्त निक्लेका भावना बढि हुन्छन। ब्लगमा त अलिक धेरै बिचार पुर्याउनुपर्छ ।

 

केहीको मुखबाट मैले सुनेको छु कि 'माइक्रो ब्लगिङ भनेको फाष्टफूड हो भने ब्लगिङ चाँही पकाएर खानुपर्ने खाना । अचेल मानिस फाष्टफूडको चक्करमा खाना पकाएर खानै छाड्न थालेको छ, जव कि फाष्टफूड कतिपय अवस्थामा स्वास्थ्यका निम्ति प्रतिकुल पनि हुन्छन् ।' यस बारेमा के भन्नुहुन्छ यहाँ । कतै तपाँइ पनि फाष्टफूडमै रमाइरहनुभएको त हैन?

हाहाहाहाहाऽऽऽऽभनेपछी मैले परिभाषा नबुझे पनि सार बुझेछु । हो जुन संज्ञा दिइएको छ, त्यो ठिकै हो । दुबैमा रमाइलो छ । चपाएर खाने बानी छ भने दुबैको मज्जा बेग्लै छन् । चपाउन चाँही बिर्सनु भएन ।

 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

त्यो पनि सुरु गरेको १ बर्ष जति भो ।

 

कसरी र किन ब्लगिङ सुरु गर्नुभयो?

'ब्लगर अफ द विक' हुन पाइएला की भनेर, भन्ने रे क्या ! हाहाहाहाहाऽऽऽऽ तर खासमा त्यसै। अरुले सक्छन भने म पनि सक्छु भन्ने बिचारले हो खासमा साथै नेपाली लेख सुधार्ने बिचारले ।

 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

त्यस्तो बिचार गर्ने लेभलमा पुगिसकेको छैन ।

 

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त गाह्रो छ नि है? यहाँले पनि रुची हुँदाहुँदै ब्लग अपडेट गर्न नभ्याउनुभएको पनि छ कि?
पक्का पनि । मेरो फ्रि समय परिवार र स्वयमलाइ दिन्छु । अरुबेला काममै मस्त !

 

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो?

सोसल मिडिया बाहेकका कुरा सोध्नुभएको हो भने साइकल एक्टिभिजम, भ्रष्टाचार बिरोधी अभियान, रंगमञ्च, धेरै छन् ।

 

सोसल मिडियाको सक्रिय उपयोगकर्ताका नाताले भन्दा, नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ?  

मैले त राम्रै पाएको छु। सबैभन्दा राम्रो कुरो, बहस र छलफल हुन थालेका छन्, स्वच्छ र सकारात्मक हिसाबले । नेताहरुलाइ पनि तान्दैछ यसले । वार्ताको बाटो बनाएको छ, राज्य हाँक्ने र जनता बिच।

 

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ? सदुपयोग या दुरुपयोग?

अहिलेसम्म देखेका अधिकांश राम्रै देखिन्छन।

 

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ? प्राय: पढने ब्लगहरु?

शब्दचित्र नामक मिलन बगालेज्युको ब्लग पढ्छु र समय हेरिकन अरुको पनि । सुरज अर्यालको ब्लग नाटकले त तहल्का मचायो पोहोरसाल । साह्रै मन पर्यो-'मृत्यु बिक्रिमा छ ।'

 

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

त्यती धेरै पढ्ने समय पाउँदिन। कहिलेकाँही मात्रै हो ।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

जरुर । यो त हरेक क्षेत्रमा चाहिन्छ । जिम्मेवारी हरेक क्षेत्रले बोक्नुपर्छ । आत्मसम्मान तथा अरुको सम्मान जरुरी छ ।

 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?
अहिले सम्म जे देखेको छु, ठिकै लागेको छ ।

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

काठमाण्डौ विश्वविद्यालयका नराम्रा पक्ष बिषयमा लेख्दा निक्कै प्रतिकृया पाएको थिएँ। यहि कुरा केहि बर्षअघि कुनै अखबारले छाप्न मानेका थिएनन् !

 

सोसल मिडियामा पनि उत्तिकै सक्रिय भएका नाताले भन्दिनुस् न, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

सबै रमाइला नै छन् । तर ट्विटर अझै 'मच्योर' लाग्छ । फेसबुक अलिक बचपना जस्तो लाग्छ । हुन त म दुबै चलाउँछु । ब्लगले त रातारात ब्यक्तिलाइ व्यक्तित्व बनाईदिँदो रहेछ !

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

छन्। राम्रै बिचारधाराहरु आउँछ्न।

 

ब्लगिङलाइ कहिँकतै बैकल्पिक मिडिया अर्थात आफ्ना कुराहरु आफ्नै तरिकाले अभिब्यक्त गर्ने थलो र ब्यक्तिको निजी मिडियाका रुपमा पनि भन्ने गरेको पाइन्छ तर पनि यो अँझै टाँठाबाठा र बोल्ने थलो पाउनेहरुको पहुँचमा मात्रै सिमित छ पनि भनिन्छ नि, किन होला?

एक किसिमले त हो नि ! पढेलेखेका र इन्टरनेट बुझ्नेले धेरै चलाएको पाइन्छ र बिशेषगरी युवा पुस्ताले । त्यसैले पहुँचको चर्चा हुनु स्वभाविकै हो ।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

जरुर। अघि भने जस्तै, काठमाण्डौ विश्वविद्यालयका कुकर्तुतहरु विरुद्द केहि समय (५ बर्ष) अघि कुनै अखबार लेख्न चाहँदैनथ्यो । त्यो बेला ब्लग अहिले जस्तै मेरो पहुँचमा भएको भए मज्जासंग लेखिन्थ्यो । यस्ता उदाहरण प्रशस्त होलान । जिम्मेवारीपुर्वक लेख्ने हो भने यसले सुचना आदानप्रदानमा निकै टेवा दिन्छ ।

 

अन्त्यमा,

मेरा बिचारहरुलाइ स्थान दिनुभो । धन्यबाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on August 16, 2013 at 8:12pm

हार्दिक बधाई डाक्टर सा'बलाई

Comment by Kranti Darai on August 15, 2013 at 12:32pm

congratulations dai.... :) 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service