सोसल मिडिया एउटा अचम्मको धागो हो र मलाई त्यो धागो मनपर्छ-सायद अशोक

उनी देखेका सपनाहरु यथार्थमै प्राप्त गर्न सकिन्छ भन्ने विश्वासलाई ज्यूँदै राख्नुपर्छ भन्ने मान्यता राख्दछन् । यही मान्यताको उपज हो उनको कित्ली सपना । उनी यतिबेला काठमाडौं मलको माथिल्लो तलामा फूलाउँदैछन आफ्नो कित्ली आर्ट एण्ड ग्यालरी सपना । सपना देख्न मन पराउने उनी अर्थात सायद अशोक, रंगमञ्च र चलचित्रमा लेखक तथा अभिनेताका रुपमा क्रियाशिल छन् । कलाको परिधि भित्रै बस्न रुचाउने उनी कुनै पनि कुराको प्रस्तुतीकरण सबैभन्दा महत्वपूर्ण हुन्छ भन्ने मान्दछन् । रंगमञ्च, अभिनय र चलचित्र लेखनका अलावा उनी सोसल मिडियाब्लगिङका क्षेत्रमा पनि कृयाशिल छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै सायद अशोकलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसँगको कुराकानी :

सुरुवात यहाँको नामबाटै गरौँ, तपाईको वास्तविक नाम नै सायद अशोक हो र !

हा हा हा हा । यो प्रश्न धेरैले सोधेका छन् । मलाई रमाइलो लाग्छ । नाम एउटा आवरण हो र त्यो पनि यस्तो आवरण जुन आफ्नो लागि सबैभन्दा प्यारो हुन्छ । झन् हामी त कलाकारितामा संलग्न भएकोले सधैँ नै आफ्नो अस्तित्व दाबी गरिरहेका हुन्छौँ, त्यही भएर आफ्नै खुशीले रोजेको नाम हो सायद अशोक । अनि अर्को कारण चाहीँ, आफ्नो नाम एकपल्ट भनेपछि मान्छेले याद गर्छन्, अलिकति फरक सुनिने भएकोले पनि ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

म प्रोफेसनल ब्लगर होइन । मलाई कुनैबेला स्ट्राइक गरेर मैले कुनै लेख रचना सिर्जना गरेपछि त्यसलाई आफ्नो ब्लगमा राख्ने गरेको छु । अनि ती लेख रचना र अन्य सिर्जनाहरु कहाँ कसरी प्रकाशित भए, त्यसको लिंक पनि राख्ने गरेको छु बेलाबेलामा । कुनैबेला आफ्नो र आफ्नो नजिकमा भएका मान्छेहरुसँग सम्झनायोग्य पलहरु कैद भएका फोटाहरु राखिरहेको हुन्छु । सोसियल मिडियामा म धेरै नै सकृय छु । अपडेट भइराख्छु । किनभने त्यो एउटा अचम्मको धागो हो र मलाई त्यस्तो धागो मनपर्छ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी?

भयो होला ४ वर्ष जति तर सुरुका दिनहरुमा मेरो ब्लग अरु नै थियो । त्यो खास पत्रकारिताको परीक्षा केन्द्रित थियो । पछि लेख रचनाहरु दैनिक अखबारका परिशिष्टांकहरुमा छापिन थालेपछि पहिलाको ब्लगलाई डिएक्टिभ गरेर नयाँ ब्लग बनाएको हूँ । सायद अशोक भन्ने मान्छेलाई बुझ्नका लागि उसले सिर्जना गरेका कुराहरुको अध्ययन गर्नुपर्छ ।

अघि भनेझैँ हामीलाई सबैभन्दा धेरै आफ्नो अस्तित्व दाबी गरिरहनुपर्छ । त्यही भएर, आफूलाई मान्छेहरुले चिनुन्, बुझुन् र स्वीकारुन् भनेर आफ्ना कामहरुका बारेमा ब्लगमा पोष्ट गर्न थालेँ । ब्लगलाई एउटा संकलन केन्द्र बनाउन सकिन्छ भन्ने लागेर पनि हो । अनि अर्को कुरा, म जस्तै रुची भएका र म सकृय रहेकै क्षेत्रमा भएका स्वजनहरुका लागि पनि काम लाग्ने कुराहरु मैले भेटिरहेको हुन्छु इन्टरनेटमा, तिनलाई सेयर गर्दा धेरैलाई उपयोगी हुन्छ भनेर पनि ब्लग र अन्य सोसियल मिडियामा सकृय भएको हुँ ।   

ब्लगिङका लागि कति समय दिनुहुन्छ?

त्यस्तो धेरै समय दिन्नँ तर दिएको बेलामा पूरै फोकस्ड भएर लामो समय बिताउँछु ।

आफ्नो ब्लगमा कस्ता कुराहरु राख्न बढी रुचाउनुहुन्छ?

म आफ्ना कुराहरु व्यक्त गर्नका लागि ब्लगमा समय बिताउँछु । धेरैजनालाई धेरै कुराहरु भन्नु छ । मेरो प्रकृति पनि त्यस्तै हो । आफ्ना कुराहरु गर्ने र आफ्नाहरुका बारेमा अनि आफ्नाहरुका लागि काम लाग्ने कुराहरु खोजिरहने, सिर्जना गरिरहने हुँदा ब्लगको नाम नै आफ्ना कुरा राखेको हुँ । सम्झना, अनुभव, नोल्टाल्जियाका कुराहरु अनि हरेक कुराको कलात्मक प्रस्तुतीकरण आफूले मन पराउने हुँदा त्यस्तैमा बढि लेख्ने गरेको छु ।

तपाँइको ब्लग http://aafnakura.tumblr.com/ मात्रै कि अरु पनि छन्?

यो बाहेक अरु कुनै ब्लग छैन ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त गाह्रो छ नि हैन

हजुर । यो कुरा सत्य हो । हरेक कुरा अनिवार्यता, बाध्यता या रोजगारी सम्बन्धि निरन्तरतामा केन्द्रित छ भने त्यसमा धेरै समय बिताइरहेका हुन्छन् जोकोहीले पनि । त्यो भन्दा बाहेक यदि आफ्नो रुची छ या आफूलाई भन्ने कुराहरु धेरै छन् भने पनि समय दिन भ्याइन्छ । सायद त्यस्तै होला भन्छु । के लेख्ने, किन लेख्ने, केका लागि लेख्ने अनि लेखेपछि मैले साँच्चै सन्तुष्टि पाउँछु या पाउँदिनँ भन्ने खालमा प्रश्नहरुको उत्तर दिन सकियो भने लेखाईको क्रमले निरन्तरता पाउँछ । हैन भने त रहरमा मात्रै सिमित हुन्छ ।

ब्लगिङ गर्न कत्तिको सजिलो छ? कस्ता कस्ता चुनौतिहरु छन्

खै, मलाई त त्यस्तो गाह्रो, अप्ठेरो या चुनौति अनुभव भएको छैन । कोहीबेला प्राविधिक कुराले चाहीँ केही समस्या निम्त्याएको हुन्छ । म आफूले किन ब्लगिङ गर्छु भन्ने कुरामा स्पष्ट छु त्यही भएर पनि मलाई सजिलो लागेको होला । तर मैले अघि भनेका प्रश्नहरुको उत्तर आफू भित्रैबाट दिन सकिँदैन भने पक्कै पनि चुनौतिहरु छन् । फेरी म पर्सनल ब्लगर हूँ । म कुनै समालोचक या कुनै इस्युमा केन्द्रित भएर ब्लगिङ् गर्दिनँ । त्यही भएर चुनौतिहरुले नै अड्काएको अनुभव चाहीँ छैन ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग

सदुपयोग नै हो । निकै सजिलैसँग ब्लगको स्पेस लिन पाइन्छ र आफूलाई मन लागे जसरी व्यक्त गर्न पाइन्छ । समाज, मानव र जिन्दगीसँग जोडिने धेरै कुराहरु ब्लग मार्फत सम्बोधित भएका छन् । त्यस अर्थमा नेपाली ब्लगिङ्को प्रयोग सदुपयोग नै हो भन्ने मेरो ठम्याई छ । हो, निकै सजिलोसँग स्पेस पाइने र आफूलाई मन लागे जसरी आफूलाई व्यक्त गर्न पाइने हुँदा गुणात्मक हिसाबले निकै कमसल प्रयोग पनि भइरहेका छन् । तर तिनलाई पनि दुरुपयोग नभनिकन त्यो प्रयोगकर्ताको दृष्टिकोण हो भनेर बुझिदिने हो भने, एउटा पाठ नै हो त्यो पनि । जिन्दगीमा पाठहरु त पढिन्छ नै ।

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही के हो

राती अबेलासम्म फुटबल हेर्ने, मन मिल्नेहरुसँग घुमघाम गर्ने, कहिले आफ्नो घरमा नभए साथीहरुको घरमा पार्टी गर्ने । अनि सबैभन्दा आनन्द लाग्ने चाहीँ वृद्धवृद्धाहरुसँग गफ गर्ने । त्यसले के हुन्छ भने, आफू जन्मिनुभन्दा अघिको समाज, मानिस अनि व्यवस्था कस्ता थिए, कस्ता खाले कपडाहरु चल्तीमा थिए, ... यस्तै यस्तै कुरा थाहा हुन्छ ।

तपाई त रंगकर्मी पनि, रंगकर्महरु बारे ब्लगमा कत्तिको लेख्नुहुन्छ  

लेख्छु । नाटक गर्दाखेरीको प्रकृया अनि भोगाईका विषयमा लेख्न खुब रमाइलो लाग्छ । अनि रंगकर्म गरिरहँदा त्यसले मेरो व्यक्तिगत जीवनमा के कस्ता परिवर्तनहरु निम्त्याइदिएको छ भनेर सोचिरहन्छु । अनि सोचेका कुराहरु भन्छु साथीहरुसँग । अनि जे भन्छु, त्यसलाई सकेसम्म मिठो प्रस्तुति सहित लेख्छु ।

रंगकर्मीहरुले ब्लग मार्फत आफ्ना अभिब्यक्तिलाई प्रकट गर्ने चलन नेपालमा र नेपाल बाहिर कस्तो पाउनुभएको छ

यो मलाई थाहा नभएको कुरा पर्‍यो । मैले रंगकर्मीहरुको ब्लग देखेको छैन । त्यही भएर म ठ्याक्कै केही भनिहाल्न सक्दिनँ । एक दुईजनाले लेखेको जस्तो पनि लाग्छ । खै, खासै थाहा भएन ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

साहित्य, समाज र जिन्दगीका दर्शनहरुको गहिरो अध्ययनसहित लेखिएका ब्लगहरु मन पर्छन् । हल्काफुल्का, टाइमपास टाइपका ब्लगहरु जस्तोसुकै राम्रा भनिएकाहरुको भए पनि पढ्दिनँ । सही र छरितो सूचना प्रवाह गर्ने ब्लगहरु पनि मेरो रोजाईमा पर्छन् ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ

सबै त भन्न सक्दिनँ तर केही ब्लगहरु साँच्चै नै सामाजिक हितमा प्रभावकारी देखिएका छन् ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता

आचारसंहिता अरु कसैले तोकिदिनु भन्दा पनि स्व-अनुशासन पालना गर्नु मानिसको नैतिक दायित्व हो । सजिलै प्लेटफर्म भेटियो भन्दैमा कसैले पनि पढ्दैनन् र जे पनि लेख्छु भन्नु चाहीँ मूर्खता हो ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ

हावादारी ब्लगहरु पढ्दै पढ्दिनँ । गतिला ब्लग लेख्नेहरु सचेतहरु नै हुन्छन् । तपाईँ आफैँ भन्नुस् कत्तिको पालना भएको छ भनेर ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न !

माइसंसार डटकम् पढ्दाखेरी हरेक ब्लग या समाचारीय कन्टेन्टहरुको टाइटल रमाइलो लागिरहेको हुन्छ । त्यस्तो सुनाउनै पर्ने खालको रमाइलो भन्ने त केही छैन ।

तपाइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो

फेसबुक सजिलो र रमाइलो लाग्छ । ट्वीटरको एकाउन्ट मात्रै छ तर चलाउँदिनँ । ब्लग त डायरी नै भइहाल्यो ।

नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ

सोसल मिडियाको प्रयोग स्वतन्त्रताको प्रतिक जस्तो भएको छ । राम्रो उपयोग भएको छ । केही अपवादहरु त छोडिदिनुपर्छ नै ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त

समाज, जनता र मानवीय संवेदनाहरुको महत्व राम्ररी बुझेर गर्ने हो भने ब्लगिङ् पक्कै नागरिक पत्रकारिता हो । किनभने, सूचना ठूलो कुरा हैन । समाज, जनता र मानवीय संवेदनाहरुको महत्व बुझेर दिइने सूचना ठूलो कुरा हो । र यो कुरा, मैले स्नातक तहसम्म पत्रकारिता नै पढेको आधारमा निर्धक्क भएर भन्न सक्छु ।

अल्लि फरक प्रश्न गरौ है, यहाँहरुले तन्नेरी पुस्तालाई लक्षित गर्दै नाटक हेर्ने, कफी खाने, वाईफाई चलाउने र अनडिमान्ड सिनेमा हेर्न थलो पनि बनाउँदै हुनुहुन्छ रे, यसको बारेमा पनि अलिकति बताईदिनुस न ।

अलिकति हैन धेरै नै बताउँछु । हा हा हा हा .... हो । एकदम सही हो । काठमाडौँ मलको सबैभन्दा माथिल्लो तलामा बन्दै गरेको रंगमञ्च आफैँमा एउटा आकर्षण हो शहरका नाटकप्रेमीहरुका निम्ति । त्यसमाथि त्यहीँको बाल्कोनीमा, धरहरा देखिनेपट्टी एउटा बेग्लै खाले क्याफे बन्दैछ । “कित्ली” नाम राखेर सञ्चालन गर्न लागिएको त्यस क्याफेलाई क्याफे/ग्यालरी भनिएको छ । ग्यालरी यस अर्थमा कि त्यहाँ दिनभरी बसेर पुस्तकहरु पढिरहन पाइन्छ, सदस्यता लिएका व्यक्तिहरुले त्यहाँको टिभी रुमको एक्सेस पनि पाउँछन् जसले गर्दा त्यहाँ डिभिडि मा राखिएका सिनेमाहरुबाट आफूलाई मनपरेको सिनेमा पनि हेर्न पाइन्छ । साथै, वरपर सजाइने फोटो र चित्रहरुले त्यो ठाउँलाई कलाको मिश्रण थलोका रुपमा परिचित गराओस् भन्ने हाम्रो विश्वास छ । १५ जना जति अट्ने ठाउँको उद्धेश्य भनेको त्यहाँ पुगेपछि कमसेकम एकपल्ट कोही मान्छे “आफू” हुन पाओस् र आफूलाई मन परेका अनि आफूजस्तै मान्छेहरुको वरपर रहिरहोस् भन्ने हो । यो समुना र मेरो निकै पहिलेदेखिको सपना हो । पहिला एक्लाएक्लै देखेको सपनालाई अहिले साथै मिलेर मूर्त रुप दिँदैछौँ । हामीले रंगमञ्चमा काम गर्दाखेरी जति साथी, संस्कार र आत्मीयता आर्जन गर्यौँ, त्यसैलाई अँझ प्रगाढ बनाउन पनि यो क्याफे/ग्यालरी सञ्चालनमा जोड दिएका हौँ ।

कोही मान्छे चिया-कफी पिउँदै पुस्तक पढेर दिनभरी कुनै शान्त ठाउँमा बस्न रुचाइरहेको हुन्छ । साथै कसैलाई वाधा नपुग्ने गरी हेडफोन लगाएर सिनेमा हेर्दै चिया कफि पिउन खोज्नेहरु पनि हुन्छन् । कोही पुस्तक पढ्दाखेरी कानमा इयरफोन लगाएर इन्स्ट्रुमेन्टल म्युजिक सुन्न चाहिरहेको हुन्छ । सँगैको थियटर हलमा रंगमञ्चका गतिविधिहरु भइरहेका हुन्छन्, नेपाली रंगमञ्च र सिनेमाका स्थापित कलाकार, प्राविधिक, लेखक, निर्देशकहरुको निरन्तरको उपस्थिति पनि त्यो ठाउँमा भइरहेको हुन्छ । यी सबैकुराहरु एकै थलोमा हुने भएपछि “कित्ली क्याफे एण्ड ग्यालरी” लाई कलाको एउटा संगमस्थल भन्न दुईपल्ट सोच्नै पर्दैन । 

अन्त्यमा,

यति धेरै प्रश्न गर्नुभयो, म त आत्तिएँ । हा हा हा हा ...... म र मेरो ब्लगसँग सम्बन्धित अन्तर्वार्ताका लागि धेरै धन्यवाद । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by ruchi luintel on July 3, 2014 at 12:58pm

look likes prakash sir but interview ekdam ramro lagyo la badai 6 aasok sir tara blog padna chai...

Comment by Prakash Lamichhane on July 3, 2014 at 10:08am

बधाई छ अशोकजी । :) 

Comment by Amuna Chapagain on July 2, 2014 at 1:53pm

धेरै धेरै बधाई अशोक....

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service