कैले रिस, कैले गुनासो, कहिले माया पोख्न ब्लगिङ गर्छु-रुबिना श्रेष्ठ

रेडियो कान्तिपुरकी समाचार प्रस्तोता तथा संवाददाता रुबिना श्रेष्ठ आफ्नो नाम 'बुवाले राखिदिनुभएको'ले परिचय माग्दा भन्छिन-'त्यस्तो अरुले चिन्नैपर्ने र चिनाउन सक्नेगरी कुनै उल्लेख्य काम गरिसकेको छैन ।' सिरुटार १ भक्तपुरकी स्थायी बासिन्दा उनी युवा तथा किशोर किशोरीका लागि कार्यरत संस्था युवालयमा पनि आवद्ध छिन् । रेडियोको काम बाहेक उनी कहिलेकाहिँ बालबालीका तथा किशोरकिशोरीका लागि संचालन गरिने विभिन्न तालिमहरुमा सहजकर्ताको भूमिकामा देखिने गर्छिन् । रत्न राज्य क्याम्पस पुतलीसडकमा पत्रकारितामा स्नातकोत्तर तह अध्ययनरत रुबिना पत्रकारका अलावा ब्लगर र सोसल मिडियामा सक्रिय युवा पनि हुन् । उनको ब्लग 'फेस'मा उनी कहिले कविता भएर पोखिन्छिन त कहिले भावनाहरुमा पनि बहकिन्छिन् । उनै रुबिना यसपल्ट मेरो रिपोर्ट साप्ताहिक स्तम्भ साताका ब्लगरमा झुल्किएकी छिन् । प्रस्तुत छ उनीसंगको कुराकानी :  

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?
नियमित ब्लगहरु लेख्दिन तर अन्य सोसियल मिडिया जस्तै फेसबुकट्वीटरमा तुलनात्मक रुपमा अलि धेरै सक्रिय छु । ब्लगरकै रुपमा चिनाउँदा साँच्चैका ब्लगरहरु माथि अन्याय हुन्छ । त्यसैले सोसियल मिडियामा चिनाउनकै लागि भनेर त्यस्तो स्पेसिफिक केहि छैन ।

तपाँइको ब्लग http://face-rubina.blogspot.com/ मात्रै कि अरु पनि छन?
ब्लग यहि मात्र हो ।

तपाँइको ब्लगको नाम FACEs' किन?
नाम त्यस्तो योजनाबद्ध रुपमा राखिएको हैन । सुरुमा अरुको ब्लग पढ्दा आफुलाई पनि लेख्न मन लाग्यो । यसै जानी नजानी ब्लग बनाउन त भनेर लागियो । के नाम राख्ने भनेर सोच्दा Faces भन्ने नाम दिमागमा स्ट्राइक गर्‍यो र राखियो । विस्तारै यसलाई समाजका विभिन्न रुपहरु देखाउने माध्यम बनाउँछु भन्ने सोचेँ तर सोचे अनुरुप देखाउन भने सकिन ।

तपाँइ पेशाले पत्रकार तर ब्लगमा साहित्यिक रचनाहरु त्यसमा पनि अधिकाँश कविताका ब्लगपोष्टहरु धेरै रहेछन् । खासमा यहाँको ब्लगिङको रुची के हो? भाषा तथा लेख्ने बिषयबस्तु दुबैका बारेमा भन्नुपर्दा?
पहिला पहिला स्कुल पढ्दा कविताहरु लेखिन्थ्यो । डायरी बनाएर त्यसैमा सबै कविता लेख्ने गरिन्थ्यो । कलेज पढ्ने भएपछि विस्तारै बानी हट्दै गयो । भएको डायरी पनि हरायो । लेख्ने बानी पनि छुट्दै गयो । मैले ब्लगिङ सुरु गर्नुको कारणनै आफ्नो लेख्ने बानी नहराओस् भनेर हो । एक हिसाबले भन्नुपर्दा आफ्ना लेख रचना संग्रहित गर्ने माध्यम मैले ब्लगलाई बनाएको छु ।  र अर्को कुरा संचारकर्मी भएकैले मैले आफ्नो व्यक्तिगत कुराहरु अभिव्यक्त गर्नको लागि धेरै सोच्नुपर्ने हुन्छ, कतै त्यसले दुईअर्थ नलागोस । ब्लग पोष्टहरुमा म आफु संचारकर्मी हुँ भन्ने छनक् कतैपनि दिन चाहन्न । कामका दौरान वा भनौ कसैसंगको संवादका दौरान, यात्राका क्रममा कुनैपनि बेला कुनैपनि करा चित्त बुझेन वा राम्रो लाग्यो भने म त्यो मेरो ब्लगको विषय बन्छ ।

यहाँले कसलाइ लक्षित गरेर ब्लग लेख्ने गर्नुहुन्छ?
मेरो लेखाई कसैप्रतिपनि लक्षित हुन्न । धेरै आफैमाथि केन्द्रित हुन् । कसैसँग मेल खान गए त्यो संयोग मात्र हो । प्राय जसो self realization मै आधारित छन् । त्यसबाट आफुलाई चाहिने कुरा पाठकले आफैले छानेर निकाल्नुहुन्छ भन्ने लाग्छ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी?
सन् २०१० बाट सुरु गरेको रहेछु ब्लगिङ गर्न । मलाई यात्रा संस्मरण पढ्न रमाइलो लाग्थ्यो । म लगायत मेरा २ जना साथीहरु एउटा तालिमको लागि लमजुङ जाँदै थियौँ । तीन जना लमजुङका तीन गाविसमा बाँडिनुपर्ने थियो । त्यहि क्रममा हामीले आफ्नो आफ्नो यात्रा संस्मरण लेख्ने भयौँ तर त्यो लेखिसकेपछि कहाँ कसरी राख्ने भनेर सल्लाह गर्दा ब्लग क्रियट गर्ने कुरा सुझ्यो र सुरु गरियो ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?
केका लागि गर्छु भन्ने नै छैन । कैले रिस पोख्न, कैले गुनासो पोख्न, कहिले माया पोख्न । समग्रमा आफ्नै लागि लेख्छु । अलिअलि भको क्रियटिभिटि पनि मर्नेभो भनेर खुबै डर लाग्थ्यो । समाचारै लेख्दै गर्दा पनि कैलेकाहिँ कविता फुर्थ्यो, कैले रिपोर्टिङको बेला कैले बसमा कैले हिँड्दै गर्दा तर फर्किएर कापिमा लेख्न झ्याउ लाग्ने । लेखाईलाई निरन्तरता दिन र अर्को कुरा कतै केहि गुनासो पोख्नु छ भने म ब्लगमा पोष्ट गर्छु । बेक्कारमा अरुलाई किन सुनाउनु जस्तो लाग्छ । लेखेर पोष्ट गर्‍यो मन पनि हल्का हुने सुन्नेलाई नी दिक्क नलाग्ने ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?
त्यसरी यहि विषय मेरो प्राथमिकता भन्ने छैन । धेरै कविता नै पोष्ट गरिरहेको हुन्छु । त्यसबाहेक सामाजिक उत्तरदायित्व, व्यक्तिगत उत्तरदायित्वका विषयलाई समावेश गर्ने प्रयास गरेको छु । सामाजिक र व्यक्तिगत उत्तरदायित्वका विषय किन प्राथमिकतामा परे भन्दा हामी सँधै अरुको मुख ताक्छौँ यो भएन त्यो भएन, उसले गरेन त्यसले गरेन भनेर दोष दिन्छौँ तर त्यहिँनिर मैले के गरेँ मैले के भने, मैले गर्न सक्ने के छ भन्ने कुरा भने बिर्सिरहेका हुन्छौँ ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त गाह्रो छ नि है?
समय र गाह्रो भन्दा पनि इच्छाशक्तिमा भर पर्छ जस्तो लाग्छ । कसैसंग समय पनि हुन्छ लेख्ने विषय पनि हुन्छ तर लेख्न अल्छि लागिदिन्छ अनि कस्को के लाग्छ । 

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो?
हाँस्ने र हल्ला गर्ने ठूलो रुची यी बाहेक सकेसम्म नयाँनयाँ ठाउँ घुम्न, गीतसंगीत तथा पुस्तक पढ्न र साथीहरुसंग धेरै भन्दा धेरै समय विताउन रुचाउँछु ।

तपाँइ पत्रकारका अलावा सोसल मिडियामा पनि उत्तिकै सक्रिय ब्यक्ति हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ?
बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पेटो भने जस्तै हो । जसले सदुपयोग गर्न जानेका छन् उनीहरुले सोसियल मिडियाको प्रयोग राम्रैसंग गरेको पाएको छु जस्ले बुझेका छैनन् उनीहरुले आफ्नो मात्र हैन अरुको पनि समय बर्बाद गरिरहेका छन् । सोसियल मिडियाको धेरै प्रयोग भयो भनेर कतिपय मिडिया हाउसमा ब्याण्ड गरेका खबर पनि हामी माझ छन् ।

मुलधारको मिडियाले सोसल मिडियालाई कसरी र कत्तिको प्रयोग गरेको पाउनुभएको छ नि?
धेरैजसो मुलधारे मिडियाले सोसियल मिडिया ब्याण्ड गरेका छन् भन्ने सुनिन्छ कसरी प्रयोग गरीरहेका छन् भन्नु । तर पनि केहिले भने आफ्नो संचारमाध्यममा/छापामा छापिएका विषयवस्तु प्रचारका लागि सोसियल मिडियालाई राम्रोसंग प्रयोग गरिरहेको जस्तो लाग्छ ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ? सदुपयोग या दुरुपयोग?
अहिलेसम्म जतिजस्को ब्लग पढेको छु सदुपयोग नै गरिरहेको पाएको छु ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ
धेरै पढ्दिन । किताब पढेजस्तो हुँदैन । अनलाइन स्क्रल गर्दै पढ्न अल्छि लाग्छ । मैले पढ्ने ब्लगहरुमा जोतारे धाइबाको शब्दकोष http://dhaiba.blogspot.com/, रुपेश श्रेष्ठको ब्लगस्ट्रिट http://blogstreet.wordpress.com/ र जनकराज भट्टको http://www.jawknock.com/ तथा माइसंसार डट कम नियमित अन्तरमा पढ्छु ।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?
म एकदम धेरै नराम्रो लेख्ने मान्छे । कैलेकाहिँ आफ्नो लेखाइ देखेर रुनै मन लाग्छ । कविता, कथा लेखनमा रुचि हुँदाहुँदै लेख्न नजानेर बसेको । त्यैभएर अलि साहित्यीक छनक भएका ब्लगनै रोजाइमा पर्छन् ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?
मलाई के लाग्छ भने आचारसंहिता मान्छेलाई मर्यादामा बाँध्ने कुरा हो । जसले ब्लगिङ गर्नुहुन्छ उहाँहरुले मर्यादाभित्र रहेर गर्नुभयो भने आचारसंहिताको आवश्यकता पर्दैन जस्तो लाग्छ । तर पनि झकझक्याउनका लागि भने केहि हदसम्म आवश्यक पनि होला ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?
मैले पढ्ने गरेका ब्लगहरु प्राय साहित्यिक खुराकका हुने गरेकोले त्यसमा आचारसंहिताका कुरा कहाँनेर जोडेर हेर्ने भन्ने मेसो पाउँदिन ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।
त्यस्तो कुनै छैन तर आफैले लेखेको एउटा ब्लग 'सम्भावना अझै बाँकी छ' लेखेपछि आत्म-मुल्यांकनको अवसर जुर्‍यो । कतै केहि असभ्य काम गर्नै लागेँ भने नी यो सम्झिन्छु ।

सोसल मिडियाको सक्रिय उपभोक्ताका हिसाबले भन्नुपर्दा, हामीकहाँ बढी चल्तीमा रहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?
आफ्नै अनुभव भन्नुपर्दा ट्वीटर चलाउन थालेपछि एक प्रकारले ब्लगबाट टाढा भइएको छ । पैला दिमागमा आएका कुरालाई अलि मलजल गरेर लामो बनाएर ब्लग लेखिन्थ्यो । ट्वीटर चलाउन थालेपछि ब्लग बन्न सक्ने विषय पनि १ सय ४० शब्दमा छोट्याउन थालेको छु । यस हिसाबले भन्दा ब्लगले समय धेरै माग्छ, फेसबुकट्वीटरले भन्दा । तर सबै आफ्ना विचार अरु समक्ष राख्ने माध्यम नै हुन् जस्तो लाग्छ ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?
सामाजिक हित भनेर कस्तो विषयलाई भन्ने ? मैले लेखेको ब्लगले समाजका कुनै व्यक्ति वा अंगमा सकारात्मक प्रभाव परेको छ भने अवश्यपनि त्यो सामाजिक हितमा लेखिएको हुनसक्ला । तर हामीकहाँ जसलाई लक्षित गरेर लेखिएका हुन्छन् ती सम्बन्धित निकायसम्म नै पुग्ने गर्दैन । सामाजिक हितकै लागि भनेर लेखिएपनि पुग्नुपर्ने ठाउँसम्म नपुगेपछि त्यसलाई सामाजिक हितका लागि लेखिएको भन्ने कि नभन्ने ?

ब्लगिङलाइ कहिँकतै बैकल्पिक मिडिया अर्थात आफ्ना कुराहरु आफ्नै तरिकाले अभिब्यक्त गर्ने थलो र ब्यक्तिको निजी मिडियाका रुपमा पनि भन्ने गरेको पाइन्छ तर पनि यो अँझै बिस्तार हुन सकेको छैन र अधिकाँश यसका प्रयोगकर्ताहरु पत्रकार या मिडियाकर्मी र छिटपुट मिडियामै पहुँच राख्नसक्ने बर्गका मानिसहरु मात्रै छन् । मिडियाको पहुँच नभएको बर्गमा यो पुग्न सकेकै छैन पनि भनिन्छ नि । साँच्चै होला त?
सबै व्यक्तिको अभिव्यक्ति, धारणाहरु मिडिया सम्म पुग्न सक्दैनन् । र मिडियाकर्मी स्वयमले पनि आफुलाई चित्त नबुझेका कुरा वा राम्रा लागेका कुरा मिडिया मार्फत पोख्न पाउँछन् भन्ने छैन । अझै समाचारमा काम गर्नेले त त्यसो गर्न झन पाउँदैनन् । त्यस्तो बेलामा आफ्ना भनाईहरु ब्लगमार्फत पोख्न सकिन्छ र पोख्ने गरेका पनि छन् । त्यसैले पनि ब्लगिङलाई निजी मिडिया भन्दा फरक पर्दैन । र तपाईले भनेजस्तो यो सिमित व्यक्तिको पहुँचमा मात्र छ । सबैको पहुँचमा इन्टरनेट सुविधा पुगेको नै छैन त्यसमाथि इन्टरनेट प्रयोग गर्ने सबैलाई ब्लगिङको जानकारी छ नै भन्ने पनि छैन ।

ब्लगिङ अर्थात सोसल मिडिया मार्फत मुलधारको मिडियाले उठाउन नसकेको सवालहरु कत्तिको उठेको पाउनुभएको छ हामीकहाँ?
त्यसको अभ्यास विस्तारै हुँदैछ । माइसंसार, मिडिया कुराकानी जस्ता ब्लगले मुलधारे मिडियाले नउठाएका र नजरअन्दाज गरेका विषय उठान गरीरहेका छन् । मोरङ्गमा दलित महिलामाथि भएको दुर्ब्यवहारको घटनालाई माइसंसारले उठाएको २ दिनपछि मुलधारका मिडियामा आयो । यस्ता धेरै उदाहरण छन् जसले मुलधारका मिडियालाई लुकेका विषयवस्तु खोज्न प्रेरित गरेको छ । झकझक्याएको छ । त्यस्तै फेसबुक ट्वीटरले पनि कतिपय विषय उठानका लागि झकझक्याएको छ जस्तो मलाई लाग्छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?
ब्लगिङलाई निजी मिडिया भनेपछि नागरिक पत्रकारिता पनि भन्न मिल्ला नि ।

अन्त्यमा,
धन्यवाद । अरुलाई साताको ब्लगर भनेर पढिरहेको थिँए । आफ्नै पालो पनि आयो । म पनि ब्लगिङ गर्छु भन्ने सम्झाइदिनुभएकोमा अँझै धेरै धन्यवाद । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Lava Kafle on September 6, 2013 at 3:46pm

woooow

Comment by Binaya Shekhar on September 4, 2013 at 9:51pm

Congratulations! 

Comment by Amuna Chapagain on September 4, 2013 at 9:35pm

Congratulations  :) !!!

Comment by Luna Bhattarai on September 4, 2013 at 8:24pm

Congratulation Pyaree :)

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service