साताका ब्लगर: रुपेश श्रेष्ठ

कान्तिपुर टेलिभिजनमा बडो बुलन्द आवाजका साथ समाचार बाचन गर्ने रुपेश श्रेष्ठलाइ सायद टिभी हेर्ने हामी सबैले चिन्छौँ होला तर त्यो भन्दा पहिलेदेखि नै रेडियो मार्फत आफ्नो आवाजलाइ परिचित बनाइसकेका रुपेशको अर्को परिचय ब्लगरका रुपमा समेत छ । http://blogstreet.wordpress.com/ मार्फत साहित्यका कुराहरु र भावनात्मक कुराहरु लेख्ने  रुपेशको ब्लगमा भेटिने अरु सामग्री भनेका अडियोमा राखिएका कथा कविताहरु पनि हुन् । यसका अलावा रुपेश सामाजिक संजालहरु ट्विटरफेसबुकमा समेत उत्तिकै सक्रिय भएर अन्तरकृयामा रमाउँछन् । मेरो रिपोर्टले यो साता साताका ब्लगर स्तम्भमा उनै रुपेश संग भलाकुसारी गरेको छ । प्रस्तुत छ मेरो रिपोर्टका लागि रुपेशसंग प्रकाश लामिछानेले गरेको कुराकानी :

 ब्लग लेखन कहिलेदेखि शुरू गर्नुभयो?

२००५ तिरबाट। ठ्याक्क त याद छैन। पैले सुरु गरेको ब्लग चाहिं अहिले छैन।

के का लागि ब्लग लेख्नुहुन्छ?

धेरै आफ्नै लागि। रहरका लागि केहि समय अडियो ब्लग पनि गरें। एउटा ब्लग www.sirutar.wordpress.com चाहिं म जन्मेको गाउँठाउँका बारेमा अनलाइन प्रेजेन्सका लागि।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ?

विशेषत: आफ्नै कुराहरु। अलिक भावनात्मक कुराहरु धेरै कवितामा, केहि मनोवाद शैलीमा। आक्कलझुक्कल कथाहरु बन्छन्।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

ब्लगिङ् म जस्ता कतिपयका लागि रुचि र आफ्नो एक्सप्रेसनको आउटलेट भएको छ भने कतिपयका लागि पेशा र  व्यवसाय पनि बनेको छ जुन राम्रो पनि हो। नेपालि ब्लगिङ्को सुरुवातका दिनहरुलाई विशिष्ट मान्दछु। समय समयमा ब्लगिङ्ले समाजमा तरङ्ग पैदा गरेको पनि छ। कैलेकाहिं ब्लगले मूलधारे संचारमाध्यमका विकल्पका रुपमा पनि आफुलाई प्रस्तुत गरेका छन्। यसरी हेर्दा समग्रमा सन्तोषजनक र आशालाग्दो देख्दछु।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ?

पहिलो ब्लग blogspot मा रजिष्टर गरेपछि भटाभट समाचार चोरेर ४-५ वटा पोष्ट हालेर साथीहरुलाई देखाएको थिएँ। पछि त्यो ब्लगको नाम सहित एडमीन पासवर्ड बिर्सें। जिन्दगीको पहिलो रजिष्टर्ड ब्लग हरायो, अहिले सम्झिंदा चैं हाँसो लाउने यहि एउटा प्रसँग हो।

कुनै बिवादास्पद बहसहरुमा सहभागी हुँदाको घटनाहरु छ केही? जसले आफुलाइ सोसल मिडियाको प्रयोगका बारेमा सचेत गराएको होस् !

प्रयोगका बारेमा सचेत गराएको भन्दा पनि एकपटक साथीहरुले मैले विज्ञापन खेलेको बारेमा बहस खोले। जुनपछि storify पनि गरिदिए। त्यस बहसले म आफ्नो काममा कति क्लीयर छु र मान्छेहरुले मेरो कामलाई कसरी हेर्छन् भन्ने कुरा पनि थाहा लाग्यो।

तपाईं त मुलधारको संचारमाध्यममा समेत कार्यरत हुनुहुन्छ, नेपालमा मुलधारका मिडियाले उठाउने बहस र सामाजिक संजालहरुमा बहसहरु उस्तै उस्तै छन् कि भिन्न भिन्न छन?

बहसको प्रवृत्ति भिन्न देखिन्छ तर विषय उस्तै लाग्छ। सामाजिक संजालहरुमा हुने बहस विश्रृंखलित भएर आउँछन्। सामाजिक संजालको त्यो विशेषता पनि हो। कतिपय सन्दर्भमा भने भ्युपोइन्ट फरक पाइन्छ सामाजिक संजाल र मूलधारका मिडियामा। त्यो स्वभाविक पनि हो।

सामाजिक संजालमा हुने बहसले कहिलेकाँही फेसबुकका भित्ता र ट्विटरका टाइमलाइन निकै तातेका हुन्छन, मुलधारका मिडियाले यस्ता बहसलाइ स्थान नदिने हुँदा मानिसहरु बैकल्पिक मिडियाको खोजी गर्दै ब्लगिङ र सोसलसाइटमा रमाएका त हैनन्?

कता कता हो पनि। तर त्यसरी लिनुभन्दा उत्तम चाहिं के हुन्छ भने सामाजिक संजाल र ब्लगिङ् मिडियाको अर्को रुप हो, छापा, टिभी, रेडियो जस्तै। विकल्पको खोजी त जहिले पनि हुन्छ। परम्परागत मिडिया सामाजिक संजालजस्तो र ब्लगिङ्जस्तो हुनै सक्दैनन्, न त परम्परागत मिडियाजस्तो यिनीहरु हुन सक्छन्। यीनका आ-आफ्नै अस्तित्व र महत्व छन्।

सोसल मिडियाले उठाएका यस्ता बहसले मुलधारका मिडियालाइ सहयोग गर्छ, फरक पार्दैन या अब मुलधारका मिडियाले बिषयबस्तुका बारेमा सोच्न जरुरी छ? के लाग्छ यहाँलाइ?

कसैले भनेका छन्,'Every piece of paper you find on the street can be source of information.' त्यसैले सोसल मिडियामा उठ्ने बहस मूलधारका भनिने मिडियाका कन्टेन्ट हुन सक्छन् र मूलधारे मिडियामा आउने विषय सोसल मिडियाका कन्टेन्ट बन्न सक्छन्। खोज र अनुसन्धानसहितको innovation त दुवैमा उत्तिकै आवश्यक छ।

तपाइको सबैभन्दा धेरै हेरिएको ब्लगपोष्ट कुन हो?

'फेरि घाम उदायो' नाउँको कविता। 'चंगा सपना' पनि धेरैले हेरेका छन्।

अरुको ब्लग कत्तिको हेर्नुहुन्छ? केही छन् सम्झिएका ब्लगहरुको नाम लिनुपर्दा?

बानी कम छ, तर हेर्छु। जोतारे धाइवाको dhaiba.blogspot.com आकारपोष्टको aakarpost.com, लगायतका केहि चाहिं नियमित हेर्छु।

ब्लग लेखेर मात्रै भएन, त्यसले पाठकको ध्यान तान्न पनि उत्तिकै जरुरी छ । हामीकहाँ लेखिने कस्ता ब्लगले धेरै जसो पाठकको ध्यान तानेजस्तो लाग्छ तपाइलाइ?

तात्तातो विषयमा गरिने चर्का टिप्पणीहरु समेटिएका ब्लग बढि हेरिन्छन् झैं लाग्छ। हाहा ।

आफुले साहित्यिक ब्लग चलाउने तर ताता बहसमा पाठकको ध्यान जान्छ भन्ने? तपाइलाइ ताता बहसवाला ब्लग लेख्न मन लागेन र?

हो, छद्म नाममा हामी दुइ तिन जना साथीहरु मिलेर छुट्टै ब्लग सुरु गर्यौं। केहि विवादास्पद विषयमा अभिमत दिंदै केहि रहस्यहरु खोल्ने काम पनि गर्यौं। तर पेशा र व्यवहारका कारण निरन्तरता दिन सकिएन। तर साहित्यिक पोष्टहरु समेटिने मेरो ब्लगमा धेरै पाठक आउन भन्ने त लाग्छ, तर हुटहुटी हिट मात्रै बढोस् भन्ने चाहिं लाग्दैन। पाठकले मैले गरेका पोष्टहरु बुझुन् र केलाउन सकून् र प्रतिक्रिया दिन सकून् मात्र लाग्छ। किनकि कविता धेरै लेख्ने भएकोले कविता कमले पढ्छन् भन्ने थाहा छ ….हाहाहा…..

पाठकको कुरा गर्दा सम्झिएँ, तपाइ त सेलिब्रेटी संचारकर्मी पनि हुनुहुन्छ तपाइले लेखेको ब्लगलाइ पाठकले ब्लगरका रुपमा बुझेका छन कि तपाइको पेसासंग जोडेर पनि प्रतिकृया जनाउने गर्छन?

मेरो ब्लग नियमित हेर्ने सुरुका पाठकहरुले मेरो पेशा थाहा पाएका थिएनन् र त्यसै अनुसार प्रतिक्रियाहरु आउँथ्यो । तर अचेल सोसल मिडियाका कारण मेरो पेशा जान्नेले ब्लगमा पेशासँग जोडेर हेर्ने पनि गर्छन्। तैपनि म ब्लगमा, संचारकर्मी भन्दा आम मान्छे ज्यादा हुन्छु र त्यसै अनुसार प्रस्तुत हुन्छु ।

कसरी अलग राख्नुभएको छ यी दुइ कुरालाइ? किनकी मान्छेको अभिब्यक्तिमा पेशागत कुराहरु पनि रिफ्लेक्ट भैहाल्छ नि हैन र?

खै, पाठकले कसरी लिन्छन्? म कवितामा म संचारकर्मी जस्तो लाग्दिन सायद। संचारकर्मका बारेका एउटा बाहेक सायद अर्को पोष्ट गरेको छैन । कथाहरुमा, मनोवादहरुमा, चिठीहरुमा म संचारकर्मी रुपेश भन्दा पनि व्यक्ति वा आम पात्रका रुपमा प्रस्तुत हुन्छु। संचारकर्मी भएर नलेख्ने हुनाले ब्लगमा संचारकर्मी देखिन्न हुँला । अडियोमा सुन्ने स्रोताले चाहिं समाचार भन्ने मान्छे भनेर ठम्याउँछन् र तुलना गर्न भ्याउँछन् समाचार प्रस्तुती र ब्लगका प्रस्तुतिमा। हुन त सोच्दाखेरि पाठकको दिमागमा गिजिङ्मिजिङ् हुन्छ होला.. मलाई जस्तै…हाहाहा…

सोसल मिडियामा हुने बहस र ब्लगिङ गरेर गरिएका बहस एकै खाले छन् कि फरक फरक छन?

सोसल मिडियामा हुने बहसमा तर्क कम र बहकाव बढि हुन्छ। ब्लगिङ्मा पर्सपेक्टिभ ज्यादा पाइन्छ। एक हिसाबले मैले हेर्दा सोसल मिडियामा One liner सूचनाका लागि सहभागी हुन्छु। ब्लगमा सूचना भन्दा विचार र विषयको अन्तर्वस्तु केलाउन हेरिन्छ।

सामाजिक संजालको खास महत्व के?

संजालिकरण, सूचनाको सरलीकरण र आदानप्रदान।

तपाइको विचारमा सामाजिक संजाल, सुचना र समाचारका लागि, बहसका लागि, विज्ञापनका लागि या मुलधारका संचारमाध्यमको विकल्पका रुपमा आएको अल्टरनेटिभ मिडिया, के हो?

सबै हो। "विकल्पका रुपमा आएको" चाहिं भन्दिन। कारण प्रविधिको विकासका क्रममा आविष्कार भएको यो नयाँ संचारमाध्यम हो।

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच केहि फरक छ ?

नागरिक पत्रकारिताबारेमा हामीकहाँ बुझाई स्पष्ट नभइसकेको हुँदा परिपक्वताका हिसाबले यो अलिक कच्चा लाग्छ। विषय विविधिरकणका हिसाबले र पर्सपेक्टिभका हिसाबले मूलधारको पत्रकारिता भन्दा नागरिक पत्रकारिता Rich हुन्छ।

ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि चाहिन्छ भन्ने बहस पनि छ एकातिर, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

यसमा मेरो स्पष्ट धारणा त छैन, तर चाहिन्न।

अन्त्यमा,

धन्यवाद।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Amuna Chapagain on December 14, 2012 at 12:39pm

बधाई बधाई बधाई :)

Comment by Roopess on December 13, 2012 at 12:43pm

धन्यवाद पागलजी, प्रकाशजी, शेरबहादुरजी, रमेशजी, कृष्णजी र मधुसुदन दाजुमा!

Comment by Pagal Basti on December 12, 2012 at 4:05pm

Rupes jyu lai badhai. Swikar hos

Comment by Prakash Lamichhane on December 12, 2012 at 2:08pm

बधाइ हो बधाइ । :)

Comment by sherbhhadur bhujel on December 12, 2012 at 11:52am

“मेरोरिर्पोट” साताको ब्लगर रुपेश श्रेष्ठलाई हार्दिक बधाई गएको वर्ष रेडियो प्राविधिक प्रशिक्षणका क्रममा चिनजान भएको थियो

Comment by ramesh khatri on December 12, 2012 at 11:52am

बधाई छ साताको ब्लगर बन्नु भएकोमा |

Comment by Krishna Guragain on December 12, 2012 at 11:41am

बधाई रुपेश जी :)

Comment by MadhuSudhan Guragain on December 12, 2012 at 11:36am
बधाई छ, रुपेशजी साताको ब्लगर हुनुभएकोमा ।

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service