दुई दिनमा तीनओटा ब्लग लेखेर म पनि ब्लगिङको खुद्रा पसले भएँ- सुमन 'रक्स' पोखरेल

आफ्नो परिचय खुलाउँदै ट्विटर मार्फत माईक्रो ब्लगिङमा सक्रिय रक्स पोखरेल उर्फ सुमन पोखरेल भन्छन्-'नाम मै समस्या छ, नागरिकतामा Suman Pokharel र पासपोर्टमा Suman Pokhrel गरि भिन्न भिन्न नाम कायम छ ।' स्थाइ ठेगाना गोरखा भएका सुमन हाल हाल काठमाडौँमा बस्छन् र विज्ञान विषयमा स्नातक गर्ने तरखरमा छन् । कहिले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई 'मैले भ्रमवश दिएको भोट पनि फिर्ता गर' भनेर त कहिले सरकारलाई 'होटल, लजका विस्तारामा नाङ्गै सुतेकालाइ खोज्नुको सट्टा बरु यो जाडोमा बाटो, पाटी र प्रतिक्षालयमा नाङ्गै सुतेकालाइ सिरक ओडाइदेउ ।' भनेर या कहिले मायाको परिभाषा दिँदै 'तिमीले थपीथपी भात खाएर हात पुछ्‍दै गर्दा भान्सामा आमाले पनियोले कसौँडी कतरकतर गरेर कोतरिरहेको आवाजको धुन नै "माया" हो' भनेर '१४० क्यारेक्टर'मा चोटिला तथा गहकिला कुराहरु गरिरहेका हुन्छन् रक्स अर्थात सुमनले । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै माईक्रो ब्लगिङमा चर्चित तथा भर्खरै ब्लगिङमा पाईला सार्दै गरेका सुमन 'रक्स' पोखरेललाई उभ्याएका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

 

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, पेशागत कुराहरुबाट, ब्लगर या अरु केही?

समान परिस्थिती र भोगाइ छन् । म पनि यहि समाजको हिस्सा हो । मलाइ सोसल मिडियामा यसरी नै चिनियोस् । 

 

तपाँईको ब्लग http://idiosyncraticno1.wordpress.com/ मात्रै कि अरुपनि छन्? आफ्नो ब्लगका बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

मेरो यत्ति एउटा ब्लग छ । ब्लग लेख्न धैर्यता चाहिन्छ जुन मसँग छैन । ट्विटर पर्स हो र ब्लग बाक्सा हो । मेरो लागि विचारका लामा त्यान्द्रा पट्याएर सुरक्षित राख्ने ठाउँ मेरो ब्लग हो ।

 

ब्लगिङ गर्न थालेको कति दिन भयो?

ब्लग भन्ने कुरा पनि हुन्छ भनेर ट्विटरमा थाहा पाएँ । हालसालै दुई दिनमा तीनओटा ब्लग लेखेर म पनि ब्लगिङको खुद्रा पसले भएँ ।

 

यत्रो दिनसम्म ट्विटरमा मच्चिएको मान्छे एकाएक ब्लगिङतिर पदार्पण गर्नुको खास कारण केही छ कि?

एक्सपेरिमेन्टको लागि टुइटर छिरेको थिएँ । फेरी नयाँ एक्सपेरिमेन्टको लागि ब्लगिङमा छिरेको हुँ । आखिर जिवन नै एक्सपेरिमेन्ट हो । 

 

कस्ता बिषयबस्तुमा 'शब्दबाण हान्न'का निम्ति ब्लगिङतिर आउनुभएको हो?

ब्लगमा Quantum Theory देखि भागवत गितासम्मका कुरा लेख्ने विचार छ ।

 

ब्लग भन्दा पनि तपाँई माईक्रो ब्लग अर्थात ट्विटरमा निकै सक्रिय हुनुहुन्छ र १४० अक्षरको सिमामा रहि सामाजिक विकृतिको चिरफार गर्न तपाँई निकै माहिर हुनुहुन्छ भन्छन् नि साथीहरुले !

मैले ट्विटरमा नयाँ कुरा लेखेको हुँदिन । सबैले देखिराखेको र भोगिराखेको समाजको बारैमा नै लेख्ने प्रयास गर्छु । ठिक ठिक ठाउँमा पूर्णविराम र अल्पविराप लगाउँछु, सायद ! त्यसैले साथिहरु मन पराउँछन् होला ।

 

अनि ट्विटरमा १ सय ४० क्यारेक्टरको सिमामा रही ब्यङ्ग्यबाण र बिम्बात्मक शब्दलेख्न माहीर मान्छेको आफ्नो क्यारेक्टर चाँही कस्तो हो नि !

ट्विटर कै सामान्तर छ । म खासै बोल्दिन तर चित्त नबुझेको ठाउँमा अरुलाइ बोल्न दिन्न । 

 

खासमा तपाँईले बिगतमा ब्लगिङ नगर्नुको कारण के? लामो ब्लग लेख्न समय नपुगेर कि अल्छी लागेर?

पुष महिनामा नुहाउन झैँ ब्लग लेख्न पनि साहस चाहिन्छ । लेख्दै जाँदा शब्द र विषयवस्तु नसकिने ग्यारेन्टी हुनुपर्छ । साहस जुटाउन नसकेर यो भन्दा अगाडी ब्लग नलेखेको हुँ ।

 

ब्लगिङ गर्न असाध्यै रुची रहेको तर नभ्याएको बिषय पनि केही छ कि यहाँको?

मलाइ मेरो दैनिक माइक्रो यात्राको संस्मरण लेख्न मन छ । धेरै लामो हुने डरले लेख्ने साहस बटुल्न सकेको छैन ।

 

'हे सरकार! होटल,लजका विस्तारामा नांगै सुतेकालाइ खोज्नुको सट्टा बरु यो जाडोमा बाटो,पाटी र प्रतिक्षालयमा नांगै सुतेकालाइ सिरक ओडाइदेउ। बचाउ!' गतहप्ताको एउटा समाचारपछि फूरेको ट्विट हुनुपर्छ सायद यो तपाँईको । जुन ट्विट यो कुराकानी गर्दासम्म ४५ रिट्विट भैसकेको रहेछ । कसरी फूर्छन् यस्ता चोटिला कुराहरु?

जल्दोबल्दो छापामार प्रहरी काण्ड र चिसोले मान्छेहरु मरेको समाचारलाइ संयोजक पदले जोडेर कमा र पूर्णविराम लगाएको मात्र हुँ । फुराएको होइन ।

तपाँईलाई आफूले अहिलेसम्म गरेका ट्विट बाणहरु मध्ये भित्तामै पुर्‍याउन्जेल गोदेँ भन्ने लागेको ट्विट चाँही कुन हो नि?

एक पटक बाबुराम कमरेडलाइ सद्भावका साथ मेन्सन गरेको थिएँ उनले गरेको ट्विट 'अर्जुन नरसिंह केसीले मलाई भ्रमवश दिनुभएको 'धन्यवाद' वहाँलाई नै फिर्ता गरेको छु।' भन्ने ट्विटको जवाफ स्वरुप 'मैले भ्रमवश दिएको भोट पनि फिर्ता गर ... सक्छौ ?' भनेर । कमरेडको मनमा बिझेको भए माफी माग्न चाहन्छु ।

 

आफ्ना फलोअरहरु माझ लोकप्रिय अथवा सबैभन्दा धेरै बहस सृजना गर्न सफल ट्विट चाँही कुन नि?

केही समय अघिको एउटा ट्विट 'तिम्ले थपीथपी भात खाएर हात पुछ्दै गर्दा भान्सामा आमाले पनियोले कसौँडी कतरकतर गरेर कोतरिरहेको आवाज सुनेको छौ, सायद त्यहि हो धुन "माया"को ।' सबैको घरको कथा भएर सायद धेरै ट्वटेले यो मनपराउनुभयो ।

 

आफ्ना फलोअरहरुबाट आफ्नो ट्विट या आफ्नो बारेमा पाउनुभएको भिन्न धारणा या रोचक प्रतिकृया सम्झिनुहुन्छ?

कतिपय ट्वटेहरुले लेखाइको ह्रस्व दीर्घ हेरेर मान्छेहरुप्रति धारणा बनाउँछन्, मूल्यांकन गर्छन । यो प्रवृत्ति मलाइ चित्त पर्दैन । मैले पनि भिन्न भिन्न सकारात्मक र नकारात्मक प्रतिक्रिया पाएको छु तर मनमै गडेको त्यस्तो कुनै प्रतिक्रिया याद छैन ।

 

उसो त ट्विट पनि ब्लगिङ नै हो, माईक्रो ब्लगिङ । जबर्जस्ती कनिकुथी लामा लामा र पट्यारलाग्दा शब्दहरुको खेती गरेर भकारी भर्दै ब्लगिङ गर्नुभन्दा चसक्क मनछुनेगरी लेखिएका सरल ट्विटहरु नै प्रभावकारी हुनेगर्छन् तर पनि यहाँलाई मैले तपाँई किन ट्विटरमा मात्रै सक्रिय? फेसबुक या ब्लगिङतिर किन यस्तो अरुची भनेर सोधेँ भने !

ट्विटर सटिक छ । १४० क्यारेक्टरमा समाजको चासोको विषय रोचक तरिकाले प्रवाह गर्न सकिन्छ । साथसाथै ट्विटरको जमात बौद्दिक छ । विचारहरुले राम्रो प्रतिकृया पाउँछन । त्यसैले ट्विटरमा रमाउँछु ।

 

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ यहाँले कसरी नियाल्नुभएको छ?

सोसल मिडियामा नेपाली समाजमामा उब्जेका सवालहरुको सहि व्याख्या बिश्लेषण हुन्छ । मलाइ सोसल मिडियामा देखिएको चेतनाको स्तर नेपाली समाजको भविष्य हो जस्तो लाग्छ । सोसल मिडियालाइ समाजको परिवर्तनको संवाहकको रुपमा नियालिनुपर्छ ।

 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ? प्राय: पढने ब्लगहरु?

रोचक क्याप्सन भएका ट्विटरको टाईमलाईनमा देखिएका ब्लगहरु प्राय: पढ्छु ।

 

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

सामाजमा घटेका परिघटनालाइ सबै आयामबाट विश्लेषण गरिएका ब्लगहरु मेरो पहिलो रोजाइमा पर्छन् । प्रचुर काल्पनिकता भएका कथाहरु पनि मनपर्छन् ।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

ब्लगिङमा पनि विकृति भित्रिन थालेको छ । निश्चित आचारसंहितामा बाँध्न सके अँझ राम्रो होला । यसो गर्दा कसैलाइ हानी पनि नहुने र अभिव्यक्तिको अधिकार पनि सुनिश्चित हुने थियो ।

 

तपाँई आफूपनि सोसल मिडियाको उपभोक्ता भएको हुँदा हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु: ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?

मेरो विचारमा फेसबुकको प्रयोग अलि व्यक्तिगत हुन्छ । टुइटर र ब्लग मुख्यत: विचार आदनप्रदानको लागि गरिन्छ ।

 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो

'सन् २०७०!' यो ब्लग धेरैले मन पराउनुभयो । यद्दपी ट्विटरलाइ विषयवस्तु बनाउनु हुन्थेन भन्ने विरोध आयो । मैले सबै विरोध सुझावको रुपमा लिएको छु ।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

आफ्नो रुची र ज्ञानका आधारमा समाजमा प्रत्यक्ष असर पार्ने विषयवस्तु, घटना वा कल्पनामा आधारित भएर लेखिन्छ । ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्न सकिन्छ ।

 

अन्त्यमा,

मेरो बारेमा रिपोर्ट गर्दिनुभएकोमा 'मेरो रिपोर्ट'लाइ धन्यवाद भन्न चहान्छु । :)

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Pagal Basti on January 16, 2014 at 3:56pm

बधाइ पोख्रेलाई

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service