भुकम्पपछि सरकारी सुचना, उद्दार र राहतको काममा सोसल मिडिया निकै नै उपयोगी भयो-ऋषिराम पराजुली

गोरखाको हर्मीमा जन्मिएर स्थानिय सरस्वती प्राथमिक विद्यालयबाट अक्षर चिने उनले । त्यसपछि चलेको उनको पढाई डिप्लोमा ईन सिभिल ईन्जिनयरिङ, बिई सिविल, एमई अर्थक्वेक एण्ड स्ट्रक्चर हुँदै अहिले पिएचडीसम्म पुगेको छ । उनी अर्थात ऋषिराम पराजुली भन्छन्- 'सानोमा गाउँतिर अरुले ओभरसियर भएपछि त राम्रो जागिर पाईन्छ भनेको सुनेर त्यसैले रहरै रहरमा ईन्जियरिङमा छिरियो।' यसपालीको भुकम्पका बेला सोसल मिडिया तथा अरु न्यूज पोर्टलबाट समेत भुकम्प सम्बन्धि सचेतना फैलाउन उनी अध्ययनका क्रममा हाल आफू रहेको देश जापानबाट भएपनि अहोरात्र खटिईरहे । भुकम्प सम्बन्धि उनको अध्ययन चाहीँ जापान सरकारको छात्रबृत्तिमा सन २०११ मा क्योटो पुगेर शुरु भएको हो । भुकम्प सम्बन्धि बिषयमा स्नातोकत्तर पुरा गरेपछि अहिले ऋषिरामले सोहि बिषयमै बिद्यावारिधि गर्दैछन्। मेरोरिपोर्टको नियमित साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै ऋषिराम पराजुलीसंग भुकम्प र सचेतनाका निम्ति सामाजिक संजालको उपयोगको सेरोफेरोमा रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी:

ऋषिजी, सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ?

सामाजिक संजालहरुमा म आफुलाई एक आम प्रयोगकर्ता भनेरै चिनाउन रुचाउँछु। सदैव पेशागत कुराहरु हुदैनन् । हुन त मैले पेशागत कुराहरु ट्विट गर्न @seismoblogs पनि चलाउँछु तर यसपटक त्यो भन्दा सबै ट्विटहरु नेपालीमै हुँदा सजिलो हुने हुनाले @rrp447 मात्रै प्रयोग गरेँ। मेरो ब्लगिङ पनि उति नियमित छैन तर छान्नै पर्‍यो भने पेशागत कुराहरुबाट नै आफुलाई चिनाउन चाहन्छु किनकि मेरो ब्लगिङ त्यसैमा आधारित हुन्छ।

तपाईको ब्लग http://www.seismoblogs.com/ मात्रै कि अरुपनि छन्?

मेरो मुख्य ब्लग त यहि नै हो, यसमा बिशेषत भुकम्प र अन्य सिभिल ईन्जिनियरिङकै बिषयहरुका बारेमा लेख्ने प्रयास गर्छु। कहिलेकाहिं मनमा लागेका अन्य कुराहरु पोख्न यसकै सबडोमेन डायरी प्रयोग गर्ने गर्छु।

ब्लगिङ गर्न थालेको कति भयो?

मैले लेखेको पहिलो ब्लग बाग्मतीलाई सम्झदा हो, जुन मैले २०१२ को फेब्रुअरीमा लेखेको थिएँ। जापान आएको केहि समयपछि ब्लगहरु कोर्न शुरु गरेको हुँ।

तपाईंको फिल्ड अनुसार र यसपालीको महाविपत्ति कै सन्दर्भमा हामी कुराकानी गर्दैछौँ, यसपालीको विपदका बखत सोसल मिडियाको भुमिका कस्तो पाउनुभयो?

यस पटकको विपद् पश्चात सामाजिक संजालहरुमा मानिसहरुको सक्रियता निकै धेरै पाएँ। म आफै पनि सामाजिक संजाल त्यति धेरै चलाउने गर्दैनथेँ तर यसपटकको भुकम्प पश्चात मेरा यहाँका केहि काम थाति राखेरै पनि सामाजिक संजालको प्रयोग गरेको छु। मेरो बिचारमा सामाजिक संजालको भुमिका धेरै राम्रो रह्यो तर केहि प्रयोगकर्ताहरुले यस परिस्थितिको नाजायज फाईदा उठाउन पनि खोजे । केहीले अन्जानमा गरे होलान् तर धेरैले जानिबुझी नै त्यस्तो काम गरे । विशेषगरी कपिपेष्ट गरेर अनलाईनमा समाचार साईटहरुले गरेको देखियो । समग्रमा भन्दा भुकम्पपछि सरकारी सुचना, उद्दार र राहतको काममा सोसल मिडियाको निकै नै उपयोगी भयो।

विपदका बखत सोसल मिडिया सुचना प्रवाह गर्न र अफवाह फैलाउन दुबैका निम्ति उत्तिकै प्रयोग भईरहेको हुन्छ र आम नागरिकलाई कुन सुचना हो र कुन अफवाह हो भनेर छुट्याउन पनि गाह्रो हुन्छ । त्यस्तो बेला तपाईजस्ता यहि क्षेत्रमा विज्ञता हाँसिल गरिरहेका ब्यक्तिहरु सोसल मिडियामा भेटिँदा धेरैलाई सुचनाको खास श्रोत भेटिएको महसुस हुन्छ । यसपाली तपाईलाई श्रोत मान्दै मुलधारका मिडियाहरुले पनि रिपोर्टिङ गरे होलान् नि ! आफ्नो अनुभव सुनाउनुस् न !

मलाई यो 'विज्ञ' भन्ने पगरी जतापनि प्रयोग भएको अलि चित्त बुझ्दैन। सम्बन्धित क्षेत्रमा काम गरेर सेवानिवृत्त हुनुभएका अग्रजहरुलाई बाहेक सिक्दै, पढ्दै या काम गर्दै गरेका सबैलाई विज्ञ भन्नु उपयुक्त नहोला।
यसपटक अफवाहहरुको त बाढी नै आयो।  बिशेषगरी तिनै दोकानदारहरुले कुराहरु बंग्याउने र सनसनी पुर्ण रुपमा सामाजिक संजालमा पठाउने गर्नाले धेरै यस्तो समस्या आयो। बिशेषगरी फेसबुकमा यस्तो धेरै देखियो जबकी ट्विटरमा यस्तो निकै कम देखियो।

अहिलेको भुकम्प पश्चात म अलि धेरै सक्रिय रहेँ। बिषेशत ट्विटरमा जहाँ धेरै मानिसहरुका धेरै थरी   जिज्ञासाहरु पाएँ। जस्तो कि म्याग्निच्युडको किन फरक? अब फेरी भुकम्प आउँछ कि आउदैन? अहिले कतिको आएको? यस्तै यस्तै।

सोसल मिडियामा पनि धेरै विविधता छन् विपदका बेला सबैभन्दा भरपर्दो सुचनाको माध्यम कुन भयो तपाईको बिचारमा?

मेरो बिचारमा सबैका आफ्नै महत्व छन । कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने कुरा भयो। छोटो छोटो समयमा नै सुचनाहरु आदान प्रदान हुने र विश्वसनियता पनि हेर्दा मलाई तुलनात्मक रुपमा सिमित शब्द नै भएपनि ट्विटर भरपर्दो लाग्यो।

जस्तो तपाई अहिले जापानमा हुनुहुन्छ, भुकम्प लगत्तै सोसल मिडिया तथा मुलधारका मिडियामा देशमा कल्पनै गर्न नसकिने क्षति भयो भनेर प्रचार पनि भयो, यद्यपि जति भयो त्यो पनि कम हो भन्न खोजेको हैन, तर पनि एउटा खाले अफवाह फैलियो । त्यस्तो रोक्न, संयमित हुन, सकिन्थ्यो होला या थिएन होला !

जति क्षति भयो त्यो कल्पना बाहिरको त थिएन । म यसै बिषयको बिद्यार्थीका नाताले हेर्दा तर जे भएको थियो त्यसलाई देखाईने, समाचार बनाईने कुरामा चाहीं हाम्रोमा अलि संवेदनशिलता कम भयो की भन्ने मलाई भान हुन्छ। हाम्रो मिडियामा सकारात्मकतालाई खोजेर पस्किने, उजागर गर्ने प्रयास कम भयो। अर्को हामी निकै संवेदनशील भयौं । कैयौँ कुराहरु गलत रुपमा बुझ्यौँ त्यसकै ऐना हो मिडिया, सोसल मिडिया। हामी सबैले आफ्नो जिम्मेवारी अलि बढी महशुस गरेको भए सायद केही मानसिक राहत हुने थियो।

तपाईले जुन बिषयमा ब्लगिङ गरिरहनुभएको छ, त्यो नितान्त प्राविधिक कुरा हो । जसले यस बारेमा अध्ययन गरेको छैन, उसले यी कुराहरु यसरी ब्यक्त गर्नै सक्दैन पनि । तर पनि हामीकहाँ अब एकपछि अर्को गर्दै भुकम्पका क्रममा आफूले भोगेको कुरामा थपथाप गरेर संस्मरणात्मक भुकम्पिय साहित्य लेख्ने होडबाजी सुरु भएको छ । यो ठिक छ? यसरी लेखिँदा मानिसका भोगाईहरु पढ्न पाईन्छ या यसले अझ त्रसित बनाउँछ मान्छेलाई, के भन्नुहुन्छ?

भुकम्प आउदा वास्तवमै हुने के हो त? वाताबरण कस्तो हुन्छ? हामीले के/के तयारी गर्नुपर्छ? भन्ने कुराहरु प्राविधिक मात्रै नभएर सामान्य पनि हुनुपर्छ। जो सबैले बुझिराख्नु जरुरी छ। त्यसैले यस्ता साहित्य आउनु राम्रो हो, जसले सबैमा एक किसिमको चेतना भर्ने काम गर्छ तर मुख्य कुरा डरलाग्दा कुराहरु गर्ने समय भने अहिले अलि आईसकेको छैन । अहिलेको हाम्रो प्राथमिकता जनजीवनलाई सामान्यिकरण गर्नेतर्फ जानुपर्छ। अझै पनि सानासाना धक्काहरुको क्रम रोकिएको छैन। यो क्रम घट्दै जान्छ तर १/२ बर्ष सम्म पनि यस्ता धक्काहरु आईरहन सक्छन, त्यसैले अहिलेको प्राथमिकता सुरक्षा र मानसिक स्वास्थ्यमा दिनुपर्छ भन्ने लाग्छ।

नेपालमा बिभिन्न बिषयमा केन्द्रित भई गरिएको सोसल मिडियाको प्रयोगलाई कसरी हेर्नुभएको छ?

यसलाई मैले राम्रो रुपमै लिएको छु, प्रविधिको विकाससंगै धेरै कुराहरु अन्तर्सम्बन्धित हुँदै अघि बढिरहेका छन। मैले पनि करिब २ बर्षअघि भुकम्पका बारेमा मानिसहरुको सोचाई, ज्ञान कस्तो छ त भन्ने बारे सर्भे गर्न सोसल मिडिया कै प्रयोग गरेको थिएँ।

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ यहाँले कसरी नियाल्नुभएको छ?

नेपाली ब्लगहरु र सोसल मिडिया निकै उपयोगी लाग्छन । हामीले धेरै कुरा सिक्न सक्छौँ संगसंगै कति फिल्टर गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । कन्चन नदीमा पनि कतै कतै धमिलो पानी त भर्इहाल्छ नि।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

म आफ्नै विषय सम्बन्धित केहि ब्लगहरु हेरिरहन्छु संगै केहि नेपाली ब्लगहरु पनि पढ्छु। यिनै बिशेष भन्ने त छैन तर सोसल मिडियातिर आएका ब्लगहरु पढ्ने गर्छु।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

आफ्नै अध्ययनको मुख्य विषय बाहेक, साहित्यिक र सामाजिक कुराहरु नै मेरो रोजाईमा पर्छन।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

एकदमै जरुरी छ, सबैलाई बाँध्ने एउटा रेखा त चाहिएकै छ।

तपाई आफूपनि सोसल मिडियाको प्रयोगकर्ता भएको हुँदा हामीकहाँ उपलब्ध सोसलमिडियाका थलोहरु : ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?

ब्लगमा बिस्तृतरुपमा कुराहरु लेख्न पाईने साथै मेरो आफ्नै कुरा गर्दा केहि फोटा, चित्रहरु सहित प्राविधिक कुराहरुपनि साधारण तरिकाले बुझाउन पाईने, खोज्दा सजिलै भेटिने हुदा ब्लगको आफ्नै महत्व छ। फेसबुक लिंक शेयर गर्ने, फोटा र भिडियो अपलोड गर्ने माध्यम जस्तो मात्रै बनेको आभाष हुँदैछ। ट्विटरमा छोटा सन्देशहरु दिन, कुनै बिषयमा अन्तर्क्रिया गर्न निकै सजिलो माध्यम हो भन्ने लाग्छ।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लगर/ट्विटर/फेसबुक स्टाटस कुन हो?

पछिल्ला दिनमा भुकम्प सम्बन्धि निकै अफवाहहरु फैलिरहेको बेला यसको बास्तविकता के हो त भनेर मैले लेखेको ब्लगहरु मध्ये अहिले पछिल्लो समयमा सबैभन्दा धेरै रुचाईएको ब्लगमा पहिलो के हो त USGS को सतर्कतारु यसको हिसाब कसरी गरिन्छ ? अनि भुकम्प मापनका बारे केही कुरा हो । जुन मेरो ब्लगमा करिब २० हजार र उज्यालो अनलाईनमा करिब ५ लाख ५० हजारपटकसम्म पढिएको छ। अर्को ब्लग अत्याबश्यक जानकारीः आफ्नो घर फर्किनु अघि घरको सामान्य जाँच यसरी गर्नुस, जो मेरो ब्लगमा करिब ५० हजार पटक, उज्यालो लगायत अन्य अनलाईनहरुमा लाखौं पटक पढिएको छ। त्यस्तै भावी भुकम्पका संभावनाबारे USGS रिपोर्टः ९९.७% अब तत्कालै ठुलो भुकम्प जादैन भन्ने ब्लग मेरो ब्लगमा करिब ७० हजारका साथै विभिन्न अन्य मिडियाहरुले पनि साभार गरेर राखेको देखिन्छ।

ट्विटमा सायद नेपालमा ज्वालामुखिको पनि संभावना भन्दै हल्ला चलेको रहेछ, जमिनमुनीबाट पानी वालुवा र माटोको लेदो निस्कनु सामान्य हो,यसलाई लिक्विफ्याक्सन भनिन्छ। भन्ने ट्विट पनि धेरै हेरिएको देखिन्छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

पक्कैपनि यसलाई नागरिक पत्रकारिताकै रुपमा लिन सकिन्छ। पत्रकारिताको अर्थ कसरी लगाउने भन्नेमा फरक परेमा बाहेक सुचित गराउने कुरामा ब्लगिङ उत्तिकै रुपमा सफल छ भन्ने लाग्छ।

अन्त्यमा,

धन्यबाद ! नागरिक पत्रकारिताको पक्षमा अँझै धेरै मानिसलाई जिम्मेवार बनाउँदै लैजाने काममा यसले पनि भुमिका खेल्न सकोस्, तपाई सम्पुर्ण टिमलाई शुभकामना।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on June 1, 2015 at 3:33pm

Congratulations Rishi ji.... 

Comment by Amuna Chapagain on May 27, 2015 at 5:25pm

Congratulations ! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service