सुचनाको आदानप्रदान मात्र पत्रकारीता हो भने ब्लगिङ नागरिक पत्रकारिता हैन : रमेश अधिकारी

दर्शन र साहित्यका किताब पढ्न रुचाउने रमेश अधिकारीले अंग्रेजी साहित्य र पश्चिमा दर्शनमा स्नातकोत्तर गरेका छन् ।कास्की हेम्जाको सुइंखेतका रमेश विगत १० वर्ष देखि मानव अधिकार र शान्तिको क्षेत्रमा कार्यरत छन् । घुमफिर गर्नु अनि त्यसबाट बटुलेका अनुभव ब्लगमा राख्नु उनको रुचिको विषय हो । 

दर्शन र साहित्यका पुस्तक अध्ययनका बाहेक आफ्ना अनुभवहरु ब्लगमा लेख्न पनि रुचि राख्दछन् रमेश अधिकारी । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै रमेश अधिकारीलाई प्रस्तुत गरेका छौ ।   

रमेश अधिकारीलाई  सोसल मिडियामा कसरी  चिनाउन चाहानुहुन्छ

म आफुलाई सोसल मिडियामा रमेश अधिकारी नै भनेर चिनाउछु । त्यसका साथै मेरो साहित्यिक नाम अधिकारी स्मित चाँही मेरो हरेक अकाउन्टहरुको युजर नेम रहेको छ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो

मैले ब्लग चाँही सन् २००८ मा खोलेको हो । तर त्यसलाई कसरी चलाउने भन्ने खासै ज्ञान थिएन  आफुपनि व्यस्त नै हुने भएकाले एक दुईवटा पोष्ट मात्र गरेको थिए।

एकपटक मैले लेखेका १०० भन्दा बढी गजल भएको कापी कोठा सर्ने क्रममा हरायो । मलाई त्यो घटनाले करिब एक हप्ता सम्म तनाब दियो । सोचें अब ब्लगलाई सक्रिय रुपमा प्रयोगमा ल्याउँछु र त्यसमा आफुले लेखेका रचना संग्रह गर्छु । त्यसपछि एकजना कम्प्युटर इन्जिनियरिंग गर्दै गरेको भाइको सहयोगमा एक दिनभरी कसरी ब्लग चलाउने भनेर सिकें । त्यसपछि नियमित ब्लगमा छु ।

केका लागि ब्लगिङ गर्नुहुन्छ कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन

खासमा शौखको रुपमा मैले ब्लगिङ सुरु गरेको थिए । सुरुमा त सुचनामूलक ब्लग बनाउने सोचेको थिए । तर समयको पनि अभाव र सूचनामुलक सामग्रीका लागि देशमा कयौं अनलाइन न्युज पोर्टल पनि भएकाले आफ्नै सिर्जना साहित्यिक रचना र लेख, अनुभूतिहरु नै राख्न थाले । मेरो ब्लगमा अहिले तपाईं मैले लेखेका साहित्यिक रचना अलि बढी, लेखहरु र अनुभूतिहरु पढ्न सक्नुहुन्छ ।

तपाईले  http://www.adhikarismit.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ

यो बाहेक मेरो अरु कुनै ब्लग छैन । साथीहरुले खोल्नु भएका केहि अनलाइन न्युज साइटहरुमा कहिलेकाही समाचारहरु राखिदिने तथा सम्पादन गरिदिने काम गर्छु त्यो पनि एकदमै ब्रेकिंग न्युज भएको अवस्थामा ।

तपाई सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ

हेर्नुस् सकारात्मकता र नकारात्मकता सबै चिजमा हुन्छ । हाम्रोमा पनि सोसल मिडिया त्यसबाट अछुतो छैन । तर यदि नियालेर हेर्ने हो भने हाम्रोमा सोसल मिडियाको ‘लिटरेसी’ मा यथेस्ट मात्रामा बढोत्तरी आएको छ । प्रयोगकर्तामा सोसल मिडिया प्रयोग गर्दा जिम्मेवार हुनुपर्दछ भनेर केहि हदसम्म सचेतना आएको मैले पाएको छु । गलत प्रयोग गर्नेहरु बिस्तारै यो ‘भर्चुवल वर्ल्ड’ बाट बहिस्कृत पनि हुदै गएका छन । सोसल मिडिया अहिले आफ्ना फोटा सेयर गर्ने थलो मात्र नभएर सुचनाको महत्वपूर्ण स्रोत, ठुलाठुला अभियानहरुको माध्यम पनि बन्न थालेको छ । अझ राजनीतिक पार्टीका नेताहरु समेत सोसल मिडियामा नियमित हुन थालेपछि त यो एक किसिमको पुल जस्तो बनेको छ । त्यसैले केहि अपवादलाई छोडेर हेर्दा सोसल मिडियाको प्रयोग नेपालमा सकारात्मक नै छ भन्ने मलाई लाग्छ ।

सोसल मिडियामा पनि धेरै विविधता छन् । विपदका बेला सबैभन्दा भरपर्दो सुचनाको माध्यम कुन भयो तपाईको बिचारमा ?

बिपदका बेला मेरा लागि फेसबुक र ट्विटरले ठुलो काम गरे सूचना प्रवाह गर्न र सूचना पाउनका लागि ।

भूकम्प आउँदा म ललितपुरको पाटन क्षेत्रमा थिए, फोन लागेको थिएन । अनामनगरमा भएका मेरा परिवारका सदस्यको चिन्ताले ज्यान आधा भएको थियो । यतिकैमा भाइले फेसबुकमा स्टाटस हाल्यो “हामी सुरक्षित छौं” । म ढुक्क भए र मैले पनि आफु सुरक्षित भएको भनि फेसबुक र ट्विटरमा लेखें । सोसल मिडियामार्फत स्वःस्फुर्त रुपमा हजारौंको संख्यामा युवाहरु उद्दारमा जुटेका हामीसँग उदाहरण छन । फेसबुक धेरैले प्रयोग गर्ने भएकोले बिपद्का बेला यसले धेरै ठुलो भूमिका खेल्यो भन्ने मलाई लाग्छ ।

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ प्राय पढ्ने ब्लगहरुरु कुन् कुन् हुन् विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्

मलाई अरुका ब्लग पढ्न मन लाग्छ र मनग्य पढ्छु । खासगरी साहित्यिक सामाग्री समेटिएका ब्लग बढी हेर्ने गर्छु । सूचनामुलक सामग्रीका  लागि अब हाम्रोमा अनलाइनहरुको कमि रहेन ।  मलाई मेरै साथीहरु ऋचा भट्टराईजोतारे धाइबा अनि लेखक तथा चिकित्सक जीवन क्षेत्रि का ब्लग अत्यन्त स्तरीय लाग्छन । हामी कलेज पढ्दा ‘कलेज कलम’ भन्ने नाम दिएर साहित्यिक कार्यक्रम गर्थेउ । कलेज कलमको पनि साथीहरुले ब्लग बनाएका थिए ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङ्गप्रति आर्कषित भई रहेका छन, कस्तो देख्नु हुन्छ ब्लगिङको भविष्य

ब्लगिंग आफैमा एउटा सकारात्मक काम हो भन्ने मलाई लाग्छ । ब्लग खोलेको युवा कम्तिमा आफ्नो ब्लगमा के हाल्ने भनेर सकरात्मक सोचमा त पर्छ । केहि अपबाद जहाँ पनि हुन्छन । मलाई नेपालमा ब्लगको प्रायोग निक्कै सकारात्मक रुपमा भएको छ भन्न कुनै हिच्किचाहट छैन । ब्लगिंग नै भविष्य हो भन्ने मान्छे परें म त । आजकल मानिसहरु कापी कलम भन्दा बढी इलेक्ट्रोनिक डिभाइसमा लेख्न थालिसकेका छन् । आफ्ना लेख रचना विद्युतिय माध्यममा सुरक्षित राख्नका लागि ब्लग भन्दा राम्रो मंच मैले त अरु देखेको छैन ।

हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ईनस्टाग्राम, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो

यी सबैका आ-आफ्ना बिशेषता छन् । ब्लग अलि खदिँलो र पठनीय सामग्रीको भण्डार बनिरहेको छ । फेसबुक र ट्विटर अलिक तत्कालका घटनाक्रममाथि आफ्ना आवेगहरु बिसाउने चौतारी जस्ता भएका छन् , ईनस्टाग्रामले फोटो धुलाएर एल्बममा राख्नु पर्ने बाध्यतालाई नयाँ बिकल्प उपलब्ध गराएको जस्तो लाग्छ ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ

सामाजिक हित केलाई भन्ने भन्ने कुरो महत्व पूर्ण छ । कसैले साहित्य लेख्यो भने त्यो सामाजिक हितमा हुन्छ कि हुदैन? यदि हुन्छ भने नेपाली ब्लगहरु सामाजिक हितकै काम गरिरहेका छन् ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता

मलाई यो आवश्यक छ भन्ने लाग्दैन । गलत खालका ब्लग र ब्लगरहरुलाइ पाठकले आफै किनारा लगाईदिन्छ्न । तपाईं भन्नु त गलत नियतले ब्लगिंग गर्ने को चिरास्थाई बनेको छ ? त्यसैले तैले यो लेख यो नलेख भनेर मान्छेको दिमागमा अंकुश लगाउनु हुदैन भन्ने मेरो तर्क हो ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

मैले “रुपचन्द्र, थाह र अठ्ठा जोक्कर” भन्ने ब्लग गरेको तिन दिनमा मलाई इमेलमा एउटा प्रतिक्रिया आयो । बेलायती एक नागरिकको इमेल थियो त्यो । उनले लेखेकी थिईन कि उनलाई त्यो पोष्ट अत्यन्त मन पर्यो । म छक्क परें बेलायती नागरिकलाई मैले नेपालीमा लेखेको अनुभूति कसरि मन पर्यो? यहि प्रश्न सोधेर मैले जवाफ दिएँ इमेलमा । उनले भेटेर सबै कुरा गर्ने भन्दै आफु काठमाडौँमा आएको बेला भेट्ने बचन दिईन । पछि उनलाई भेटेपछि म छक्क परें उनि त मैले भन्दा राम्रो नेपाली बोल्न र लेख्न जान्दि रहिछन । आज पनि हामी अत्यन्त आत्मीय साथि छौं ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त

फेरी प्रश्न उठ्छ पत्रकारिता भनेको के हो ? यदि सुचनाको आदानप्रदान मात्र पत्रकारीता हो भने ब्लगिङ नागरिक पत्रकारिता हैन तर पत्रकारिता त्यो भन्दा अरु पनि चिज केहि हो भने यो नागरिक पत्रकारिता हो ।

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service