सोसल मिडियाबाट अन्धकार भएर मूलधारको मिडियाकर्मी टिक्न सक्दैन : रवि मिश्र

कसैले ब्यङ्ग्यकार, कसैले चित्रकार त कसैले पत्रकारका रुपमा समेत चिन्ने भएकाले समष्टिमा यही ट्रिपलकार आफ्नो परिचय हो पनि भन्छन् कारोबार दैनिकमा कार्टूनिष्टका रुपमा कार्यरत रवि मिश्र तथापि उनलाई आफूलाई कार्टूनिष्टकै रुपमा चिनाउन मनपराउँछन् । कार्टून तथा ब्यङ्ग्यप्रधान ब्लग सिसाकलमचलाईरहेका मिश्र कला सिर्जनाप्रतिको रुचिले कार्टूनिष्ट बनेको बताउँछन् भने सोखका कारणले ब्लगर । ट्विटरमा @rabimishra हेण्डलबाट परिचित यिनै रवि मिश्रलाई मेरो रिपोर्टको नियमित स्तम्भ साताका ब्लगरमा यो साता हामीले प्रस्तुत गरेका छौं । प्रस्तुत छ उनीसंगको कुराकानी :

ब्लग लेखन कहिलेबाट सुरु गर्नु भएको हो ?

मैले २०६४ साल देखि ब्लग लेख्न थालेको हुँ । त्यतिबेला इन्टरनेटमा सर्च गर्दै जाँदा ब्लग डट कम फेला पारे । 'रबि’ज क्रियसन' नामको ब्लग बनाएर त्यसमा कविता गजलहरु पनि पोष्ट गर्नथालें । युनिकोडमा लेख्न आउदैन थियो । पछि झ्याउ लागेर आयो, डिलिट हाने । केहि समय पछि एक अखबारमा ब्लग बारेको आर्टिकल पढेँ र फेरि ब्लग शुरु गरें । त्यसपछि कहिले डिजाइन फेर्दै, कहिले डोमेन फेर्दै त कहिले नामै फेर्दै अहिलेको सिसाकलम सम्म आएको छ ।

ब्लगिङ किन गर्नुहुन्छ ?

म अलि अन्तर्मुखी मान्छे हुँ । गफै गरेर सबै फिलिङ्गसहरु सिध्याउन गाह्रो हुन्छ त्यही भएर ब्लगमा पोख्छु । :D  ब्लग लेख्न, शेयर गर्न र अरुले त्यसबारे गरेको प्रतिक्रिया सुन्न रमाइलो लाग्छ र त्यसले आत्मसन्तुष्टि दिन्छ ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन्  किन ?

मेरा सिर्जनाहरु र मनमा उठ्ने तर्कनाहरु नै मेरा ब्लगका प्राथमिकतामा पर्छन् । ती बिषय जसले मलाई छुन्छन् र प्रभाव पार्छन् त्यसलाई नै म ब्लगको रुप दिन्छु । हाम्रा सामाजिक राजनीतिक र आर्थिक क्षेत्रका देखा पर्ने लोभीपापी मान्छेहरु, बेथिती र गलत प्रवृत्तिलाई व्यङ्ग्यात्मक तरिकाले खुइल्याईदिन मज्जा लाग्छ । यिनै बिषयबस्तु नै मेरो ब्लगको प्राथमिकतामा पर्छन् ।

तपाईंको ब्लग सिसाकलममा कार्टुन र व्यङ्ग्य आलेखहरु धेरै पाईयो । किन यसैलाई मुख्य बिषयबस्तु बनाउनुभयो ?

धेरैजसो ब्लगहरुमा शब्दकै हालीमुहाली छ । छिटफुट फोटो र भिडियो ब्लग देखिन्छन् । यसमा नयाँ स्वाद थपुँ भनेर ब्लगमा कार्टुनलाई मुख्य बिषयवस्तु बनाएँ। कार्टुनिङ्ग मेरो पेशा पनि भएकोले मेरो अभिव्यक्तिको खुबी पनि यसैमा देखिने भयो । दोस्रो, बिषयवस्तु व्यङ्ग्य कार्टूनमा नभई नहुने कुरा हो । त्यसैले व्यङ्ग्य कार्टूनको एउटा अङ्ग हो र कार्टून पनि व्यङ्ग्यको अङ्ग  ।  व्यङ्ग्य र कार्टून एकै सिक्काका दुई पाटा जस्तै हुन्,  मात्र त्यसको माध्यम फरक हो । एउटाको माध्यम शब्द हो भने अर्कोको चित्र । हरेक दिन कार्टून बनाउने क्रममा विभिन्न सवालहरुमा दिमाग खेलाउनु पर्नेहुन्छ । त्यतिबेला मनमा खेलेका कुराहरु जुन कार्टून बन्न सकेनन्, त्यसलाई बेलुका डायरीमा लेख्ने गर्छु र व्यङ्ग्य लेखको रुप दिन्छु । फेरि मेरो ब्लग भिजिट गर्नेहरुलाई पनि मुड फ्रेस गराऊँ, एकछिन भएपनि हसाऊँ भनेर यसैलाई मुख्य बिषय बनाएँ ।

कत्तिका छन् कार्टुन केन्द्रित ब्लगहरु नेपालको सन्दर्भमा ?

नेपालमा कार्टुन केन्द्रित ब्लगहरु त्यति छैनन् । मैले थाहा पाए सम्म योगेश खपांगीको आकाशवाणी, ब्लगर बासु क्षितिजको माइ वर्ल्ड अफ क्रियशन  छ ।

व्यङ्ग्य तपाईको रुची मात्र कि पेशा ?

दुवै ।

तपाईँ त मूलधारको सञ्चारमाध्यम (छापामाध्यम) को क्षेत्रमा क्रियाशील व्यक्ति पनि । मूलधारको सञ्चारमाध्यम (छापामाध्यम) को लेखन र ब्लग लेखनमा के फरक पाउनु भयो ?

मूलधारको सञ्चारमाध्यमका आफ्नै नीतिनियम र संस्थागत सीमाहरु हुन्छन् । मूलधारको सञ्चारमाध्यमको लेखाइहरुमा निश्चित सीमाहरु हुने नै भयो । त्यसैले जसरी ब्लगर ब्लगमा प्रस्तुत हुन सक्छ त्यसै गरी मूलधारका सञ्चारमाध्यमहरुमा प्रस्तुत नहुन सक्छ । ब्लगमा ब्लगर स्वतन्त्र ढङ्गले प्रस्तुत हुने हुनाले उसको लेखाइ पाठकको लागि बढी रुचिकर हुनसक्छ । तर ब्लगमा उसको लेखन छापामाध्यममा जस्तो अनुशासित नदेखिन पनि सक्छ ।

ब्लगका लागि अलग्गै समय खर्चेर रिपोर्टिङ्ग गर्नुहुन्छ कि अन्य सञ्चारमाध्यमका लागि गरिएका रिपोर्ट नै ब्लगमा पोष्ट गर्नुहुन्छ ?

मेरा ब्लगमा प्रस्तुत हुने बिषयहरु रिपोर्टिङ भन्दा पनि सृजनाहरु हुन् । जसमध्ये  केही ब्लगकै लागि भनेर पनि लेखेको/कोरेको छु भने अन्य सञ्चारमाध्यमका लागि तयार गरिएका पनि पोष्ट गरेको छु ।  सञ्चारमाध्यममा प्रकाशित सामग्री पनि प्रकाशित  सञ्चारमाध्यमको पहुँच भन्दा पर सम्मलाई पनि पुर्याउँ भनेर ब्लगमा पोष्ट गर्ने गरेको छु । तर यसो भन्दैमा सधैं  अन्य सञ्चारमाध्यमकै मात्र सामग्री ब्लगमा राखेर पाठकलाई दिक्क चैं पार्दिनँ ।

तपाईंका सिर्जनाले ब्लगका लागि पहिलो प्राथमिकता पाऊँछन् कि मूलधारको मिडियाका लागि जहाँ तपाईं आवद्ध हुनुहुन्छ ? र किन ?

म पहिला सिर्जना गरेर यो कार्यरत मिडियामा प्रकाशित  गर्ने हो की ब्लगमा पोष्ट गर्ने हो भनेर छुट्याउदिनँ । दैनिक रुपमा आवद्ध मिडियाकै लागि सिर्जना गर्छु र बचेको समयमा, अनि मुड आउदा ब्लगको लागि सिर्जना गर्छु । जुन सिर्जना मूलधारको मिडियाकै लागि गरिन्छ त्यसले मूलधारको मिडियाकै लागि पहिलो प्राथमिकता पाउने नै भए । मूलधारको मिडिया गुजारा गर्ने माध्यम हो भने ब्लग सोख र आत्मसन्तुष्टी । त्यसैले मूलधारको मिडियाले नै पहिलो प्राथमिकता पाउँछन् ।

तपाईँले ब्लगमा राख्नु भएको सामग्री पहिले तपाईँ कार्यरत सञ्चारमाध्यममा राख्न वा त्यसबाट दिन कत्तिको दबाव आउँछ ?

मेरो सिर्जना कहाँ पोष्ट गर्ने भन्ने मेरो स्वतन्त्रताको कुरा हो । त्यसैले कार्यरत सञ्चारमाध्यमले पहिला यहाँ प्रकाशित गर अनि यसैबाट ब्लगमा लैजाउ भन्ने कुरा हुन्न । मलाई त्यस्तो दबाब आउने गरेको छैन ।

मूलधारको मिडियाकर्मीको लागि सोसल मिडिया वा न्युमिडिया जान्नुप्रयोग गर्नु आवश्यक छ छैन् । किन ?

एकदमै आवश्यक छ । अब सोसल मिडियाबाट अन्धकार भएर मूलधारको मिडियाकर्मी टिक्न सक्दैन । सोसल मिडिया समाचारको प्रमुख श्रोत बनिसकेको छ । मूलधारको मिडियाका सवालमाथि सोसल मिडियामा चर्चा भए जस्तै सोसल मिडियाका सवालमाथि पनि मिडियामा चर्चा हुन थालेका छन् र अचेल सोसल मिडियाले मूलधारको मिडियालाई उछिन्न थालेका छन् । कुनै पनि समाचार छापा, रेडियो, टेलिभिजन भन्दा अगाडी सोसल मिडियाबाट बाहिर आउँछ । एउटा मिडियाकर्मी सधै एक कदम अगाडी नै हुनुपर्छ । तर उसले सोसल मिडिया वा न्युमिडिया जान्दैन भने उ पाठक भन्दा पछाडीपनि पुग्न सक्छ ।

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ?

अहिले नेपाली ब्लग र सोसल मिडिया एउटा बेग्लै शक्तिको रुपमा विकास भएको छ । राजनीतिक, सामाजिक देखि लिएर जनजीविकासम्बन्धी हरेक बिषयलाइ लिएर सोसल मिडियामा बहस हुने गरेकाछन् र त्यसले सम्बन्धित निकायहरुलाई दबाब दिने काम गरेको छ । सोसल मिडियामा हुने बहसले प्रधानमन्त्रीसम्मलाई आलोचना सुन्न र जवाफ दिन बाध्य बनाएको छ । यसमा गम्भीर बिषयका बहस देखि हाँसीमजाक र ख्याल ठट्टा पनि उत्तिकै छ । अनि ब्लग र सोसल मिडिया हाम्रो जीवनशैलीसँग जोडिएर आएकोले हामीसँग सम्बन्धीत हरेक कुराहरुमा यसको क्षेत्र बिस्तार भएको पाएकोछु  ।

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ ? प्राय: पढने ब्लगहरु ?

अरुको ब्लग पढिन्छ नै । फुर्सदमा ब्लग पढ्न आनन्द लाग्छ । कतिपय ब्लगका हरेक पोष्ट छुटाइन्न । कतिपय नपढ्ने भिजिट गरिरहने पनि छन् । प्राय: पढ्ने ब्लगहरुमा शब्दचित्रबाबाजी बिचार चौरपानी अल्टिमेट , आकारपोष्टमिडिया कुराकानी , पिपलचौर आदी हुन् ।

लिङ्क कहाँबाट लिनु हुन्छ वा खोज्नु हुन्छ ?

सोसल मिडियामा शेयर गरिएका, टवीटरमा शेयर भएका र बिषयअनुसार कहिलेकाहीँ गुगलसर्च गरेर   समेत लिङ्क लिनेगर्छु । 

विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?

कला, साहित्य र हास्यव्यङ्ग्यका ब्लग बढी मनपर्छ ।

ब्लगिङ्ग वा ब्लगरका लागि आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेकोछ, जरुरी छ ब्लगरका लागि आचारसंहिता ?

ब्लग फ्री प्लेटफर्म हो । जोसुकै मान्छेले ब्लग खोल्न र पोष्ट गर्नसक्छ । त्यसैले दिनहुँ सयौँ ब्लग एकाउन्ट खोलिने, पोष्ट गरिने हुनसक्छ । यस्तो अवस्थामा ब्लगिंङ्मा आचारसंहिता बनाउन त सकिएला तर त्यसलाई कार्यान्वयन गराउनु भनेको समुद्रमा घैटो डुबाएर सबै पानी त्यसै भित्र पार्छु भन्नु जस्तै हो । ब्लगरका लागि आचारसंहिता भन्दा पनि उ आफै नैतिकताको सीमाभित्र बाँधिनु जरुरी छ । असलहरु आफै नै अनुशासित छन् । गति छाड्नेहरुलाई आचारसंहिताले तह लगाउन सकिन्न । तिनीहरु रमाइलोको लागि केहि समय ब्लगिङ्ग गर्छन् । पछि दिक्क लाग्छ छोड्छन् । कस्तो पोष्ट गर्ने कस्तो नगर्ने ? आफ्नो पोष्टले अरुलाई हानि गर्छ कि गर्दैन भन्ने कुरा बिचार पुर्याउनुपर्छ । अन्यबाट साभार गर्दा अनिवार्य रुपमा श्रोत खुलाउने जस्ता कुरामा ब्लगर आफै सचेत हुनुपर्छ ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?

कतिपयका ब्लगमा अरुको कपीपेष्ट गरिएका सामग्री, भद्दा र अलि अपाच्य लेखन र गालीगलौजको भाषा समेत भेटिन्छन् । शायद आचारसंहिता पालना नभएको भनेको यहि होला तर मैले भिजिट गरिरहने ब्लगहरुमा आचारसंहिताको पालना भएकै पाउँछु ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका रमाइला घटना वा प्रसङ्ग छन् कि ?

एक पटक मोफसलको एउटा पत्रिकाले मेरो ब्लगको सामग्री छापेछ । त्यहाँ मेरो नाम लेखिएतापनि साभार कहाँबाट गरिएको भन्ने खुलाइएको थिएन । मैले त्यस पत्रिकालाई इमेल गरें र भनें – “मेरो रचना छापी दिनुभएछ, धन्यवाद । पढ्ने सौभाग्य मिल्यो । खुशी लाग्यो |”

करीब आधाघण्टा भित्रै “यो मात्रै कहाँ हो र ? यसअघि पनि तपाईका कति रचना छापिदिएका छौ |” भनेर जवाफ आयो ।

मैले अर्को इमेल लेखें – “अझै धेरै धन्यवाद । म अर्को ब्लग पोष्ट ‘व्यङ्ग्यचोर पत्रिका शीर्षकमा लेख्दैछु, कृपया यसलाई पनि छापिदिनु होला ।”

त्यसपछि महिनौं भयो उता बत्ति गएको गयै भएको होकी इन्टरनेट कनेक्सन चेट हो, अहिले सम्म रिप्लाई आएको छैन । त्यो रिप्लाई पढ्न नपाएर बेला बेला हाँसो उठ्छ ।

तपाईँको ब्लगका भिजिटर कति छन् ?

राम्रै छन्  । तर अहिले सम्म त्यो पाँच अंकमै सिमित छ ।

ब्लगट्वीटर र फेसबुकमा के फरक पाउनु भयो ?

सामग्री हुँदा फुर्षद पाउँदा ब्लगमा पोष्ट गरिन्छ, छोडिन्छ । ढुक्कै हुन्छ । घरि घरि लगइन गरिन्न । कसले के भन्यो, कसले लाइक गर्यो, कसले कमेन्ट गर्यो र कसले रिटुईट गर्यो भन्ने छटपटी हुन्न । तर फेसबुक, ट्वीटरमा जस्तो प्रत्यक्ष अन्तरक्रिया ब्लगमा हुनसक्दैन । जसरी फेसबुक ट्वीटरमा घण्टौं भुल्न सकिन्छ त्यसैगरि ब्लगमा भुल्न सकिदैन । फरक पाएको त यस्तै हो । ब्लग,फेसबुक, ट्वीटरले दिने आनन्द बेग्ला बेग्लै छन् । त्यही आनन्दको परिमाण र टेस्ट हेरी यिनीहरुमा फरक पाएको छु ।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग ?

गालाको आत्मकथा शीर्षकको ब्लग जुन एमाओवादी अध्यक्ष प्रचण्डले थप्पड खाएपछि लेखेको थिएँ । त्यसको निकै राम्रो प्रतिक्रिया आएको थियो |

ब्लगबाट के पाउनुभयोके गुमाउनु भयो ?

पाएको त्यस्तो ठोस कुरा केही छैन, गुमाएको त झन् छँदैछैन । पाएको गुमाएको कुरा केही नहुँदा पनि बीचमा एउटा राम्रै कुरा पाइदो रहेछ । त्यो  हो – सन्तुष्टि,  जुन मैले ब्लगबाट पाएको छु ।

ब्लगिङ्लाई केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छके ब्लगिङ् नागरिक पत्रकारिता नै हो त ?

हो । मान्न सकिन्छ ।

ब्लग लेख्न चाहँने र लेखिरहँनु भएकाहरुलाई के सन्देश दिनु हुन्छ ?

तपाइँ ब्लग लेख्न चाहँदै हुनुहुन्छ भने शुभकामना र लेखी रहनुभएको छ भने बधाई । ब्लग लेख्नु राम्रो काम हो । यसले लेख्ने र पढ्ने दुबैलाई आनन्द दिन्छ । ब्लग लेखनको शैली मौलिक हुनुपर्छ र सिर्जनात्मक पनि । तपाईंका विचार र सिर्जनाहरुलाई बाँकी विश्व उत्सुकतापूर्वक पर्खीरहेका छन् । उनीहरुको लागि केहि दिनुहोस् |

अन्त्यमा,

मेरो रिपोर्टले नागरिक पत्रकारिता प्रवर्द्धनका लागि अग्रणी भूमिका खेलेको छ । व्यक्तिगत तवरमा अरुले पनि खेलेका होलान् तर संस्थागत र देखिने, सुनिने रुपमा भूमिका खेल्ने मेरो रिपोर्ट नै हो । यसले आफूसंग समाचार, रिपोर्ट, लेख  शेयर गर्न, छलफल बहस चलाउन उत्प्रेरित गरेको छ र ब्लगिङ्को लागि प्रोत्साहन गरेको छ । नागरिक पत्रकारिताप्रति रुची राख्नेहरुका निम्ति मेरो रिपोर्ट चौतारी बनेको छ  । साताको ब्लगरको रुपमा आफ्नो बिचार राख्ने जुन अवसर दिनु भो त्यसको लागि मेरो रिपोर्टलाई धेरै धन्यवाद ।

 

ब्लग लिंक: http://www.rabimishra.com/

फेसवुक लिंक: http://www.facebook.com/rabimishra

ट्विटर हेण्डल: @rabimishra

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Pagal Basti on March 21, 2013 at 5:15pm

मिस्र जि लाई बधाइ

Comment by Kranti Darai on March 20, 2013 at 5:12pm

congratulations :)

Comment by pawan neupane on March 20, 2013 at 4:52pm
Congratulation Rabi Ji
Comment by Prakash Lamichhane on March 20, 2013 at 4:19pm

बधाइ छ है रविजी :)

Comment by Amuna Chapagain on March 20, 2013 at 4:08pm

बधाई छ है !!!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service