हिँड्दा हिँड्दै, वोल्दा वोल्दै, सुन्दा सुन्दै वा दिनचर्याका हरेक मोडमा कुनै न कुनै विचार आउँछ - पुण्य भट्टराई

यसै साता आफ्नो निबन्ध संग्रह यार्साको हुक्का सार्वजनिक गर्ने तयारीमा रहेका उनी पाँच वर्षे सकृय पत्रकारिता पछि अहिले निजामती सेवामा कार्यरत छन् । सधैं आफ्नो लेखको विषय खोजीरहन्छ र पत्रपत्रिकामा समयसापेक्ष लेख लेखिरहने उनी हुन् इलामका पूण्य भट्टराई । लेख लेख्नु तथा कार्यलयको काम पछि बचेको समयमा उनी लोकसेवाको तयारीमा रहेका प्ररीक्षार्थीलाई परामर्श पनि दिने गर्छन । मनका उकुस मुकुसलाइृ पोख्न भट्टराईले ब्लगलाई माध्यम बनाएका छन्। मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा हामीले उनै पूण्य भट्टराईलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :
 

पुण्य भट्टराईलाई के भनेर चिन्ने अलिकति आफ्नु बारे बताइदिनुस न ।

यतिखेर नै मलाई यो भनेर चिन्ने आधार म केही पनि देख्दिन । नितान्त विद्यार्थी हुँ, गरेका कामहरु केवल विद्यार्थीका प्रोजेक्ट वर्क हुन् । सरकारी नोकरीमा भएकाले विहान ९ बजेदेखि वेलुकी ६ बजेसम्म मेरो कार्यालयमा रहुन्जेल कर्मचारी हुँ, बाँकी समय विद्यार्थी ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?

म केही लेख्दै छु । लेख्न सिक्दै गरेको एउटा सिकारु लेखक हुँ भनेर चिनाउन चाहन्छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो ?

सकृय पत्रकारिताको अन्त्यपछि थालेको हुँ । विचारहरु जताततै जन्मन्छन्, हिँड्दा हिँड्दै, वोल्दा वोल्दै, सुन्दा सुन्दै वा दिनचर्याका हरेक मोडमा कुनै न कुनै विचार आउँछ, जुन वर्तमानको असन्तुष्ठि वा विद्यमान समस्याग्रस्त अवस्थाबाट जन्मन्छ । सबै व्यक्तिका सबै विचारलाई पत्रपत्रिका वा विद्युतीय सञ्चारका माध्यमले स्थान दिएर साध्य हुँदैन । कुनै दिन यस्तो विचार आउँछ जुन सबैलाइ सुनाउँ सबैलाई भनुँ जस्तो पनि लाग्छ, तर सजिलो र मितब्ययी माध्यम पाउन सकिन्न । पत्रपत्रिकाका समयतालिका, ती माध्यमका उद्देश्य जस्ता कुराहरुको नजानिदो तगारो देखिन्छन् ती विचारहरु प्रकाशन या प्रशारण गर्नका लागि । यी यावत कारणले मेरो ब्लगिङ शुरु भएको हो ।

के का लागि ब्लगिङ गर्नुहुन्छ  ब्लगिङ गर्न कत्तिको सजिलो छ ?

पहिलो कुरो त आत्मसन्तुष्टिका लागि ब्लगिङ गरेको हुँ । उकुशमुकुशलाई सार्वजनिकीकरण गर्दा आनन्द मिल्छ । वाँकी कुरा त्यसमा कला र विचारको पक्ष पनि विद्यमान रहन्छ । कला र विचारले आफूलाई समाज सामू अर्थपूर्ण बनाउने प्रयत्न गरिरहेको हुन्छ । अझ भन्दा मनभित्र रहेको काइनेटिक इनर्जी लाई पोटेन्सियल इनर्जी मा परिणत भएर समाजमा पुगेको जस्तो लाग्छ व्लगिङ गर्दा वा पत्रपत्रिकामा प्रकाशन गर्दा । व्लगिङ पनि एककिसिमले हेर्दा गाह्रो काम नै हो । केही आन्तरिक चुनौतीहरु पनि छन्, नेपालमा इन्टरनेटको प्राप्ति सहज नभएको कारण जुनसुकै स्थानमा पुगेको समयमा प्रकाशन गर्न सकिन्न, पाठकलाई विश्वासको घेराभित्र राखिरहन र नयाँ पाठक खोज्न अलि गाह्रो छ । सेवाप्रदायकले नेपाली व्लगहरुलाई कमै विश्वास गर्ने गरेको पाइन्छ, जसका कारण व्लगका लागि विज्ञापन पनि प्राप्त गर्न कठिन छ । यीनै चुनौतीसँग आएका समस्या नै व्लगिङलाई असहज बनाउने अवयव हुन् ।

तपाँइ नोकरी पनि गर्नुहुन्छ, http://anupras-anuprash.blogspot.com/?m=1  मा सम्पादक हुनुहुन्छ अनि पुस्तक पनि लेखिरहनु भएको छ , ब्लगिङका लागि समय कसरी मिलाउनु हुन्छ ?

म खासमा जाँगरिलो ब्लगर होइन, मेरो कार्यालय समय विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म हो, बाँकी समय पत्रपत्रिकाका लागि लेख पनि लेख्छु, आफ्ना दैनिकी सम्पन्न भएपछिको बाँकी फूर्सदको समयमा व्लग लेख्छु यदि समय वाँकी रहेन भने पत्रिकामा प्रकाशित आफ्नै रचनालाई त्यहाँ साभार गर्छु । अनौपचारिक तर महत्वपूर्ण विचारहरु आएभने जसरी पनि ब्लगमा राख्छु । कार्यालय समयमा कहिल्यैपनि व्लग खोल्दिन । सुत्नुअघि उभ्रिएको केही समयमा अरुको ब्लग पढ्ने र लेख्ने गर्छु ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा  प्राथमिकतामा पर्छन् ?

समाजका विकृति, पुस्तान्तरका भोगाइका अनुभूतिहरु, समाजका फरक भोगाइहरुलाई सकेसम्म पत्रपत्रिका र पुस्तकका लागि निश्चित फम्र्याटका लेख्ने कोशिस गर्छु । त्यसबाट निस्रित भएको र निश्चित फम्र्याटभन्दा बाँकी अनौपचारिक लेखाइले व्लगमा स्थान पाउँछ जुन पाठकका लागि नवीन र फरक होओस । त्यसमा साना साना र फरक विषय पर्दछन् । छोटो र अनौपचारिक लेखाई रहन्छ त्यहाँ । वृद्धवृद्धाहरुसँगको अन्तर्वार्ता, स्थानपरक मानिसहरुसँगको कुराकानी, कार्यालय जाँदा वा फर्कँदा नागरिकका रुपमा भोगेका सार्वजनिक भोगाइहरु व्लगमा प्रकाशित हुने विषयवस्तु हुन् । यिनीहरुलाई आम पाठकले आफ्ना भोगाइका रुपमा अनुभूत गरेर पढ्दछन् त्यसैले यी प्राथमिकताका विषय हुन् ।

तपाँइले चलाउने ब्लगहरु कुन कुन हुन  http://anupras-anuprash.blogspot.com/?m=1  बाहेक अरु पनि छन् ?

 मैले चलाउने व्लग एउटा मात्र हो । साँच्चै भन्ने हो भने म धेरै समय उभार्न सक्दिन ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन त गाह्रो छ नि हैन ?

जे काम पनि निरन्तर रुपमा गरिरहन सजिलो छैन । निरन्तरताका लागि थप इच्छाशक्ति र समयको जरुरत पर्दछ । सबैलाई आफ्ना कुरा अरुलाई सुनाउन पाउँदा खुशी लाग्छ, त्यही खुशी ब्लगिङको पहिलो उदेश्य हो, त्यसपछि सामाजिक उत्तरदायित्व र आत्मविश्वास । समय अनुसार ब्लग पाठकको पनि रुचि फरक हुन सक्छ । रुचिलाइ बुझेर सामाग्री पस्कन पछिल्लो समयमा व्लगरदेखि मिडियासम्मको चुनौती हो । त्यसैले अलि गाह्रो कामलाई निरन्तरता दिन सबैलाई सहज नहुन सक्छ । 

नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ?

 नेपालीमा ब्लग लेख्नेहरु कम छन् । अझ भन्दा नेपालमा बसेर नेपाली सामाग्री सहितको ब्लग चलाउनेहरु कमै देखिन्छन् । यसैगरी पाठकहरु पनि कमै छन् । यतिखेर ब्लगको दुरुपयोग हुनसक्ने अवस्था कमै रहन्छ ।

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही के हो ?

रुचिको विषय पत्रकारिता नै हो । त्यसैका विकल्पमा ब्लगमा समय बिताउँछु । देश,काल,परिस्थितिले अनुभूतिहरुको सिर्जना गर्दछ, असन्तुष्टिहरुको चाङ लगाउँछ । तिनै अनुभूतिहरुको प्रकाशन नै मेरो रुचि हो, त्यसले खोज्ने विधा वा माध्यम जेसुकै हुन सक्छ ।

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ ? विशेष गरी कस्ता विषयवस्तु समेटिएका  ब्लग तपाईँका रोजाइमा पर्छन् ?

ब्लगिङ गर्ने विचार नै अरुका व्लग पढेपछि आएको हो । सामाजिक विषयवस्तुहरुलाई उजागर गरेर ल्याइने, समाचारप्रधान ब्लगभन्दा पनि आत्मपरक ढंगबाट लेखिने ब्लगहरु मलाई मन पर्छ । यसमा सामाजिक औपचारिकता भन्दा सत्यताको प्रस्तुति मनपर्छ । नेपाली अनलाइनमा रहेका प्राय सबै ब्लग साप्ताहिक रुपमा पालो मिलाएर हेर्छु र चाख लागेको विषयवस्तु पढ्छु ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ ? नेपालमा सोसल मिडियाको प्रयोग चै कस्तो भइरहेको पाउनुभएको छ ?

नेपालमा पनि हाल सोसल मिडियाहरुको प्रयोगकर्ता अत्यन्तै बढेका छन् । उनीहरुको रुचि र क्षमता अनुसार त्यसको रसस्वादन गर्ने गरेकोजस्तो लाग्छ । सोसल मिडियाको प्रयोगमा व्लग अलि प्राविधिक र विचारप्रधान भएको कारण यसको प्रयोग कमै भएको छ । सामाजिक रुपान्तरण र परिवर्तनका लागि पनि व्लगरहरुले प्रयास गरेका छन् । मनोरन्जनका लागि मात्र व्लगमा समय खर्च गर्नेहरु पनि नभएका होइनन् तथापि समाजका विद्धत वर्गले समेत क्लिक गर्ने व्लगहरुले सामाजिक रुपान्तरण र विकासकालागि शब्द र समय खर्च गरेकै छन् जस्तो लाग्छ ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

समाजमा समयले नै हरेक कुराको आविश्कारको माग गरेको पाइएको छ । व्लगरहरुको संख्याको बढोत्तरीसँगै उनीहरुको विषयवस्तुमा आएका विभिन्नता र फरकपनालाई सामाजिक रुपान्तरणसँग समानान्तरीय रुपमा अघि बढाउन आचारसँहिताको जरुरत पर्दछ । सामाजिक विकास सँगै नै कानूनी मूल्यमान्यताहरुको आवश्यकता र विकास भएको देखिन्छ, त्यसैले पछिल्लो समयमा व्लगलाई सामाजिक रुपान्तरणको माध्यमका रुपमा आत्मसाथ गर्ने हो भने यसलाई नियमन र समन्वयका खातिर आचारसंहिता लागू गर्न जरुरी हुन्छ । जुन कुरा आवश्यकताको महशूस भएर नै उठेको हो ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?

सबै तहका पाठकहरुका नजरमा पर्न सक्ने नेपाली व्लगहरु कमै नै छन् । यी वाहेकका कतिपय व्लगहरुले नेपाली सामाजिक सहिष्णुता र मूल्यमान्यतालाई त्यति ख्याल गरेको पाइन्न, हुन त यी कुराहरु नेपाल इतरका क्षेत्रमा सहज लाग्लान् । थोरैले मात्र सामाजिक मूल्य मान्यतालाई आत्मसाथ गरेका होलान, जुन मूल्यमान्यता नै आजका लागि अलिखित आचारसंहिताको रुपमा रहेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक मुलुक भएका कारण अनौपचारिक रुपमा लेखिने कुराहरुमा पनि अन्य वर्गको आत्मसम्मानलाई ख्याल राख्न जरुरी छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

उल्लेख्य घटना छैनन् । एकपटक मैले व्लगमा उठाएको विषयवस्तुलाई हेरेर मित्र उत्तम भट्टराईले त्यसलाई पुस्तकका रुपमा लेख्न सुझाए, मैले उनको सुझाव अनुसार त लेखिन, तथापि खोजवीन पछि लेखका रुपमा आएको सो विषयवस्तु एउटा अनलाइन पत्रिकाले प्रकाशन गरेको थियो । वाल वलात्कारीका सम्बन्धमा आएको त्यस लेखलाई एकसय भन्दा वढी अनलाइन पत्रिका तथा व्लगहरुले साभार गरेका थिए । पाठकका प्रतिकृया पनि उत्तिकै रुपमा प्राप्त भएको थियो । व्लगमा प्रकाशित करिब २ अनुच्छेदको विषयबस्तुलाई उत्तमजीको सल्लाहले त्यति धेरै पाठकसामू पु¥याउन सकेको याद यतिखेर स्मरणीय छ ।

तपाइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

फरक त्यस मिडियाको प्रकृति र हाम्रो दृष्टिकोणमा भर पर्ने कुरा हो । तथापि सबैको मुख्य ध्येय सुचना, मनोरञ्जन र ज्ञान नै हो । सूचना, मनोरञ्जन र ज्ञानलाई कुन मिडियाले कसरी प्रस्तुत गर्छ भन्ने कुरा हो । यी मिडियामा अनौपचारिक विषयबस्तुहरुलाई अनौपचारिक शैलीमा नै पस्कने गरिएको पाइन्छ, तथापि ती विषयबस्तुले सामाजिक मूल्यमान्यता र दृष्टिकोणलाई आत्मसाथ गरिनु पर्छ । व्लगको संचालन र पाठक पनि फेसबुक र ट्वीटर भन्दा अलिक फरक हुन्छ यसमा विश्लेषणसहितको सूचना पस्कन सकिन्छ भने अरुमा सूचनामात्र राख्न सकिन्छ । सामाजिक प्रतिकृयाका लागि पनि व्लगमा केही झण्झटिलो तर परिपक्व हुन सक्छ, तथापि अन्य सञ्जालमा त्यति परिपक्व हुन्छन् भन्न सकिन्न । एक प्रकारले भन्ने हो भने, व्लग सम्पादकीय सहितको प्रकाशन नै हो, जुन सरकारी कानूनअनुसार दर्ता नभएपनि सरकारी कानून भित्र रहेर नै सञ्चालन गरिएको हुन्छ, अन्य सामाजिक मिडियामा जस्तो लचकता यसमा नहुन सक्छ । फेसबुक, ट्वीटर र व्लग एउटै किसिमका सञ्चार माध्यम भएपनि व्लगलाई वढी जिम्मेवार र परिवर्तनगामी साधनका रुपमा हेर्नुपर्दछ । 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

कतिपय ब्लगहरु त अहिले व्यवसायिक रुपमा पनि चलेका छन् । एक व्यक्तिले मात्र नभइ टीमले पनि सञ्चालन गरेको समेत पाइन्छ तथापि यो सञ्चालनमा सहजताका कारण एकै व्यक्तिले नै सञ्चालन गरिरहेका उदाहरण धेरै छन् । कुनै निश्चित उदेश्य र दृष्टिकोणलाई आत्मसाथ नगरी जुनसुकै विषयवस्तुलाई कस्टोमाइज गरी प्रकाशन गरिने भएकाले यसलाई नागरिक पत्रकारिता भन्न सकिन्छ । यो प्रविधिको पछिल्लो देन हो । व्यक्तिपिच्छेका विचार र जानकारीलाई सार्वजनिकीकरण गर्न सक्ने खुवी र प्रकृति यसमा रहेकाले यसलाइ नागरिक पत्रकारिताका रुपमा हेर्दा फरक पर्दैन । मैले पनि पत्रकारिताको विकल्पका रुपमा यसको प्रयोग गरेको छु ।

अन्त्यमा,

साताको ब्लगरलाई थप अर्थपूर्ण  बनाउन प्रयास गर्नु अझ राम्रो हुन्छ । ब्लगरले मेरो रिपोर्टले गरेको आफ्नो पहिचानलाई सम्पत्ति बनाएर राख्न सकोस । समाजमा रहेका असहजता, अविकास र निरक्षरताका बिषयबस्तु समेटिएको मेरो निबन्ध सङ्ग्रह यार्साको हुक्का यो हप्ता सार्वजनिक हुँदैछ, कृपया फूर्सदमा पढिदिनहुन अनुरोध गर्दछु । धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on October 8, 2014 at 4:17pm

Congratulations !!!! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service