सोसल मिडियाको त म फगत ‘युजर’ मात्रै त हुँ नि - प्रकाश झा

सप्तरी जिल्लाको राजविराजबाट काठमाण्डौंको वडा नंम्बर १३, कलंकीमा परिवार सहित स्थायी रुपमै बसाई सरी आएकाप्रकाश झाले माध्यामिक तहसम्मको शिक्षा राजविराजबाटै सम्पन्न गरे । त्यसपछि भने उनले मिथिला युनिभर्सिटी, बिहार भारतबाट सन १९९६ मा अंग्रेजी बिषयमा स्नातक तहको अध्ययन् सम्पन्न गरे । कम्प्युटरमा प्रोग्रामिङ र नेटवर्किंङ सम्बन्धि तालिमहरु लिएपछि आफूलाई प्रकाश 'वत्सप्रिय' भन्न रुचाउने प्रकाश झाले १० बर्षसम्म राजधानी काठमाण्डौकै एक परामर्शदाता कम्पनीमा काम गरे । प्रकाश पछिल्लो समयमा सन् २००६ देखि कतारको दोहामा एउटा निर्माण विकास सम्बन्धित कम्पनीमा आन्तरिक परिक्षक (Internal Auditor) को हैसियतले आईएसओ स्टाण्डर्सहरूले निर्धारण गरेको हदबन्दी अनुसार कम्पनीको स्तर ब्यबस्थापन कार्यमा संलग्न छन् । पेशागत कामका साथमा सोसल मिडिया र ब्लगिङमा पनि सक्रिय प्रकाश झासंग हामीले मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरका लागि कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

ट्विटरमा तपाँईको नाम प्रकाशसंगै आफ्नो नामको पछाडी 'वत्सप्रिय' भनेर पनि चिनाउन खोज्नुभएको छ । किन यो नाम राख्नुभएको ? केही बताउन मिल्छ?
सानामा लागेको रहर मात्रै हो । साथीहरुले नाम पछाडी बैरागी, पागल, बिवश ईत्यादी लेखेको देख्दा दिक्दार लाग्थ्यो । उपनाम अलिकति मौलिक त हुनु पर्‍यो नि, हामी मैथिल ‘झा’ थरका ‘वत्स’ गोत्री हौ, म एक्लो छोरा सबैको प्रिय भएकोले आफै यो उपनाम राखेको हुँ ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छएउटा ब्लगरका रुपमा या अरु केही?
सोसल मिडियाको त म फगत ‘युजर’ मात्रै त हुँ नि । ब्लग भनेकै नितान्त ब्यक्तिगत धारणा राख्ने ठाँउ भएको र २/४ टुक्रा मनका गाँठो बिसाई सकेको वेबपोर्टलको स्वामित्वमा रहेको हुँदा ब्लगर पनि भन्दा हुन्छ तर प्रोफेसनल (दैनिक रुपमा अपडेट गर्ने) ब्लगर चाहिँ होइन । यस मानेमा फेसबुक र ट्विटरको स्टाटस भन्दा बढी शब्दमा कुनै धारणा राख्न जाँगर चलेको खण्डमा ब्लग लेखेर जानकारी गराउन सकिने माध्यम बनाएको छु ।

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न । 
सन २००० को दशकमा सुचना प्रविधीमा भएको ब्यापक विकास र त्यस सम्बन्धित समाचार, बिभिन्न बिषयगत बिज्ञहरुको बिष्लेषण ब्यक्तिगत पोर्टलमा आउने परिपाटीले मलाई पनि एउटा ‘सार्वजनिक डायरी’ बनाउँ कि भन्ने चासो भयो, जहाँ म समसामयिक कुराहरुमा आफ्नो ब्यक्तिगत धारणा राख्न पाऊँ, कथंकदाचित उजागर हुने साहित्यिक भावनाका शब्दहरु टिपोट गरि राखौँ । तर समय र जाँगर दुइटैको आभावमा मेरो ब्लगमा मेरो धारणाहरु निकै कम छन् । केहि मन परेका बिषयबस्तुहरु पनि साभार गर्ने गरेको छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

बडा रोचक प्रसंग कोट्याई दिनुभयो । सुरु गरेर शुभकामना सन्देश त २००८ मा नै दिईयो नि !  तर धेरैपछी सन् २०११ तिर मात्रै अलि सक्रिय हुन थालेँ । अझैँ पनि यसलाई सक्रिय त के भन्नु र ! बरु निष्क्रिय हुन नदिएको भन्दा ठिक होला ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?
समसामयिक कुराहरुमा आफ्नो ब्यक्तिगत धारणा तथा कथंकदाचित उजागर हुने साहित्यिक भावनाका टुक्रा शब्दहरु तथा कुनै मन परेको रचना जुन कतै वेबमा हुन्नन् । किन भन्दा कुनै बेला शब्द बढी भएर त कुनै बेला मन परेको रचना संकलन गर्ने एक मात्र उदेश्य हो ।

तपाईंको ब्लगमा समसामियक र साहित्यका कुराहरु धेरै रहेछन् । किन साहित्यलाइ नै मुख्य बिषयबस्तु बनाउनुभयो ?
खासै कुनै एक बस्तुस्थिति प्रति झुकाव नहुँदा हुँदै पनि, सिमित समयमा सजिलो गरि पोष्ट गर्न सकिने कुराहरु मात्र राख्न सकेको छु । कतिपय कुरामा अरु मित्रहरुको बिचार/ब्लगमा सर्बसम्मत सहमति भएर उनैका ब्लग लिंक पोष्ट गर्ने गरेको छु । सहृदयी मन भएको मान्छे को होला र साहित्यमा आकर्षित नहुने ! तर पनि यो श्रेय पनि समयाभावलाई नै जान्छन्,साहित्यिक कृति सानो र पोष्ट गर्न सजिलो भएर हुन सक्छ ।

साहित्यका ब्लगहरु धेरै नै पाइन्छन तर धेरैजसो साहित्यिक ब्लगहरु गुणस्तरिय साहित्य भन्दापनि आफ्नै कथाहरु र आत्मरतिमा रमाउने गरी लेखिएकामनको बह पोख्न कै लागि लेखिएका हुन्छन भनेर सामाजिक संजालमा आलोचना पनि हुन्छ सर्जकको । किन होला ?

आत्मरतिकै कुरामा पनि राम्रो भाव छ, जीवन कथाबाट अरूले केहि जानकारी वा शिक्षा प्राप्त गर्छन् भने पक्कै सम्मानको हकदार हुन्छन् । ब्लग ब्यक्तिगत धारणा राख्ने ठाँउ भएपनि सामाजिक मर्यादा कायम राख्दा राम्रो । लोकतन्त्रको उपलब्धी संगै हामीले आर्जेको स्वतन्त्रता माथी केहि सर्जकहरू द्वारा मानमर्दन हुने गरेको कुरामा आलोचना हुनु स्वभाविक हो जस्तो लाग्छ मलाई, र हो, हुनु पनि पर्दछ ।

साहित्यबाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?
समाज सेवामा दिने/हुने गरेका योगदान, सांस्कृतिक पहिचान बचाउन चालिएका कदमहरु जस्ता बिषय संगसंगै आम समाजमा हुने गरेका समसामयिक घटनाहरु बढि रूचिकर लाग्छ ।

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?
आजको मितिसम्ममा यो अत्यन्तै प्रभावशाली ठहरिएको छ, पृथ्वी हल्लिने देखी देश हल्लाउने तावड्तोड समाचारहरु,ब्यक्तिगत धारणा र बिचारहरू यहि माध्यमबाट सबैको हातहातमा पुग्ने गरेको छ । यसको प्रभाव अँझै बलियो पार्न आत्म-अनुशासनको कदर गरि उपयोगी कुराहरूको छनौट गर्नुका साथै अन्तरमनलाई दृढ राखि आ-आफ्नो खुबी अनुसार सुधार गर्न समेत प्रेरित गरिनु पर्दछ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?
प्राय: ट्विटर टाइमलाईनमा आएका सबै लिंकलाई हेर्छु । सधै नै राम्रो लेख्नेलाई सब्सक्राइब गरेर राख्छु । नयाँ केहि आउना साथ नोटिफिकेसन आउँछ र फलोअप गर्न सजिलो हुन्छ । फुर्सदको बेला उनै मन परेको ब्लगरको नपढेको ब्लगहरु पढेर बस्छु । रेन्डमली नाम लिने हो भने टिएफसी नेपाल, आकारपोष्ट, जनकराजा, सेवा, श्रृचा, सनपोख, बरूणकम्पनी, बाबाजी,एकतारे, लेन्दाई, अनन्त, स्टोनमेन (अनुप), का साथै संभव भएसम्म मैले ट्विटरमा फलो गरेका मध्ये सबैको, साथ साथै रिट्विट भएर आउने लिंकहरु नछुटोस् भन्ने प्रयास हुन्छ ।

नेपाली ब्लगरहरुले उठाउन छुटाएको कुनै सवाल देख्नुभएको छ?
केहि पनि छुटेको जस्तो लाग्दैन मलाई । संस्कृतको श्लोकदेखि संस्कृति पतनको पराकाष्ठासम्म सामेल गरेका छन् । कुनै सिन्डिकेट नबन्ला भन्न सकिन्न, तबसम्मलाई स्वतन्त्रता पुर्वक आ-आफ्ना कुरा उठाई रहेका छन् र आगामी दिनहरूमा पनि नयाँ बिषयबस्तु आउनेछन् भन्ने आशावादी रहेको छु ।

रोजाईका हिसाबले विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?
समसामयिक प्रविधि, राजनीति, विकास माथी हुने बहसहरू र जुन ब्लगरले राजनीतिक, समाजिक कुरामा चोटिलो घारणा राख्दछन् र साहित्यिक कृतिमा आँसु झार्न सक्ने करूणा भरेका हुन्छन्, त्यस्ता रचनाहरु मलाई खास मन पर्ने हुन् ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छतपाईंलाई के लाग्छजरुरी छ ब्लगरका लागी आचारसंहिता?
यो आचारसंहिता, रुलबुक, गाईडलाईन जस्ता कुराहरु नभएका होइनन्, लागु गर्न त आत्म-अनुशासन चाहियो । वास्तविक रूपमा हेर्ने हो भने हाम्रो धर्म, संस्कृति र हाम्रा अविभावकहरुले दिएको संस्कारको एक तिहाई भाग पनि पालना गर्ने हो भने यस्ता कुनै नियम बनाएर ब्यबस्थापन गर्नु पर्ने आवश्यकता नै रहँदैन ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?
पालना भएको छ, धेरैले पालना गरेका छन् । दुई चार जना ब्लगलाई समाचारको रुपमा प्रचार गर्न सस्तो लोकप्रियताको लागि ‘प्रोपागाण्डा’ सिर्जना गर्छन् ।

 

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छहामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?
बिभिन्न प्लेटफर्मका आ-आफ्नो बिशेष उपयोगिता छन्, हामी युजरले आइडेन्टीफाई गरि त्यसको उचित प्रयोग गर्नुपर्‍यो । जस्तै फेसबुकमा मलाई मन परेको एउटा कुरा ‘ईभेन्ट म्यानेजमेन्ट’, जमघट गर्नुछ भने गेस्ट लिस्ट, आउने-नआउने,लोकेसन् ईत्यादी कुराको जानकारी सजिलै दिन सकिन्छ जुन ट्विट गरेर गर्न सकिन्न । ट्विटरमा फोटो पोष्ट गर्न लाग्यो भने रेस्पोन्स कसरी जनाउने, आदी ईत्यादी ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?
सामाजिक हित भनिँदा मैले बुझेको कुराहरुमा समसामयिक परिस्थितीमा समाजको हित बिपरित हुने कार्यको निन्दा गर्नु सच्याउने उपाय औँल्याउनु, साथसाथै हुने भएका समाज सेवाका कार्यक्रम सम्बन्धी जानकारी उपलब्ध गराउनु हो भने प्रशस्त देख्न पाईन्छ । 'टिएफसी नेपाल', 'हाम्रो ब्लड'लाई यसको उदाहरणमा लिन सकिन्छ ।

ब्लगिङ गरेर या सोसल मिडियामा आएर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?
पाउने कुरामा पहिचान, मित्र, सहयोगी, सल्लाहकार, जानकारी ईत्यादी संगै लिस्ट लामै हुनेछ, बर्णन गरि के साध्य होला !गुमाउने कुरा अहिलेसम्म ठम्याउन सकेको छैन । सायद केहि नगुमाएर नै होला ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छके ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

मर्यादामा रहेर सार्वजनिक रुपमा दिइने अभिब्यक्ति, सहि सुचना यथाशक्य चाँडो जनताको बिचमा पुर्‍याउने बचनबद्धता पत्रकारिता हो र हाम्रो देशका हाल यस पत्रकारिता क्षेत्रको अवस्था देख्दा ब्लगरलाई पत्रकार भनेर पत्रकारिता पेशाको स्थान उच्च भएको छ ।

अन्त्यमा,
महागुरुहरुको कुम्भभेलामा संगै उभिन योग्य ठानी 'दुई शब्द' पस्किने मौका दिनु भएकोमा हार्दिक धन्यबाद । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by प्रकाश [वत्सप्रिय] on February 23, 2014 at 2:52pm

धन्यबाद गुरु !

Comment by Pagal Basti on February 20, 2014 at 4:36pm

बधाइ

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service