शुन्यबाट सुरु गरेर प्रगती गर्ने नेपाली धेरैछन क्यानाडामा: प्रज्ज्वल चापागाईं ।

प्रज्ज्वल चापागाईंको जन्मघर चन्द्रनिगाहपुर, रौतहट हो । हाल वहाँ क्यानडा बस्नहुन्छ । नेपालमा रहुञ्जेल चापागाईले पत्रकारिता, प्राध्यापन, अनुसन्धान तथा राजनीति समेत गर्नुभयो । वहाँको लेखनमा हिड्दा हिड्दै नामक पुस्तक पनि प्रकाशन भएको छ । समसामयिक सवालमा वहाँ पत्रपत्रिकामा लेखहरु पनि लेख्नुहुन्छ । त्यो बाहेक हिजोआज वहाँको नयाँ परिचय थपिएको छ ब्लगर। ब्लगिङ्गमा बामेसर्दै गरेका चापागाईलाई आज हामीले साताको ब्लगर स्तम्भमा प्रस्तुत गरेकाछौ ।

आफुलाई कसरी चिनाउनुहुन्छ ?

चन्द्रनिगाहपुरको जनज्योती माध्यमीक विद्यालयमा पढें । केहि समय ललितकला क्याम्पस पढेर कलाकार बन्ने सपना देखेँको थिएँ । त्यो सपनाबाट चिप्लीएर पत्रकार बन्न पुगेँ । पन्चायती कालरात्रीका पछिल्ला काला दिनहरुमा रत्नराज्य लक्ष्मी क्याम्पसको विद्यार्थी नेता बन्न पुगेँ । सँगसँगै विद्यार्थि आन्दोलनमा लागेका रमेश सिलवाल, योगेश भट्टराई, गोकर्ण विष्ट, विन्दा पाण्डे, सुजिता शाक्य, रेवती भण्डारी, राजेन्द्र राई, विशाल भट्टराई लगायत कैयन साथिहरु आ-आफ्नो तर्फबाट देशका लागि केहि गर्दै छन । यसरी विद्यार्थी आन्दोलनसँग जोडीँदै राजनीतिक परिवर्तनका लागि पूर्णरुपमा लागेँ ।  

जिवनको कथाले फेरि पत्रकार भएर बाँच भन्यो, त्यही भएँ । रेडियो नेपालमा पत्रकार भएर झण्डै पाँच वर्ष काम गरेँ । पत्रकारितामा अष्ट्रेलियाको द युनिभर्सिटी अफ क्विन्सल्याण्ड, ब्रिसवेनबाट स्नातकोत्तर तह गरेँ । त्यसपछि स्पेशटाइम दैनिक, राजधानी दैनिक, नेपाल टेलिभीजनमा काम गरेँ । बढदो पारिवारीक खर्च धान्न धौ भएपछि मुलधारको पत्रकारितासँग मोहभँग भो । त्यसपछि रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता अध्यापन गर्न थालेँ । सँगसँगै हेल्मेट मास्टर भएर काठमाडौंका नामुद नीजि कलेजहरुमा पढाएँ । नीजि कलेजका विद्यार्थीहरुमा तिमीहरु जति राम्रो मास्टर भएपनि हामीले शुल्क तिरेको हुनाले पढाउन आएका हौ भन्ने भावना बढी भएको जस्तो लागे पछि सबैतिर छोडेँ । स्वतन्त्ररुपमा अनुसन्धानमूलक सामाग्रीहरु हिमाल, हाकाहाकी जस्ता पत्रिकामा प्रकाशित गर्न लागी परेँ । त्यसबाहेक परामर्शदाता, अनुवादक, अनुसन्धानकर्ताको रुपमा पनि काम गरेँ ।

लेख्न रहर गर्ने तर कहिल्यै गतिलो लेख्न नसक्ने मान्छे हुँ । केहि न केहि लेखौं भन्ने लागिरहन्छ; त्यसैले आत्म सन्तुष्टीको लागि लेख्छु ।

मेरो लेखन पाठक, साथि-भाईले मन पराईदिँदा रमाइलो लाग्छ । मलाई जिवनी पढन मन पर्छ । कसैको जिवनी लेख्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । मैले केहि वर्ष अघि संघर्षशिल, जुझारु र वचनमा अडिने एक नेपालीको बारेमा जिवनी लेख्न खोजेको थिएँ । त्यतिबेला हामी दुवैको व्यस्तता र समयसिमाले गर्दा संभव भएन । त्यो जीवनी लेख्न नपाएकोमा पछुतो लाग्ने हो की भन्ने डर छ । कसैले मलाई किन लेख्छस भनेर सोध्दा यसो भन्ने गरेको छु, म मरिसकेको छैन, जिउँदै छु भन्ने जानकारी दिन लेख्छु ।

सोसल मिडियामा आफुलाई कसरी चिनाउन चाहानुहुन्छ ?

लेखनसँग गाढा माया गाँसिएको एउटा नेपाली हुँ । लेखनमा ढाँट्नु हुन्न, ढाँट्ने हो भने लेख्नुहुन्न भन्ने मान्यतामा विश्वाास राख्ने जिवनभरि पत्रकारिताको विद्यार्थीको रुपमा चिनिन चाहाने एउटा नेपाली भनेर चिनाउन चाहान्छु ।

कुन कुन सोसल मिडिया प्लेटफर्महरु प्रयोग गर्नुहुन्छ? र किन?

सुरु सुरुमा फेसबुक धेरै चलाएँ । अहिले ट्विटर, गुगलप्लस र ब्लग चलाउँछु । फेसबुकको प्रयोगकर्ता धेरै भएकोे हुनाले यसको प्रयोग धेरै गर्छु । यो सामाजिक संजालको प्रवृति र आयामलाई केलाउन र अधिकाशं साथिभाई इष्टमित्रसँग प्रगाढ सम्बन्ध कायम राख्न प्रयोग गर्छु । ट्वीटर संसार थाहा पाउन प्रयोग गर्छु । गुगल प्लसचाहिँ मेरो ब्लगको साइनो परेको हुनाले बढी चलाउँछु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो ?

मैले ब्लगिङ थालेको डेढ वर्ष भयो । पहिला मेरो आईटि गुरु छोरो अविरलसँग सिक्दै विब्लीमा मेरो ब्लग चलाएँ । तर गुरुको मात्र भर पर्नु हुन्न भनेर  आफैं ब्लगपोष्टमा चलाउन थालेँ ।

किन ब्लगिङ गर्नुहुन्छ ?

यो प्रश्नको जवाफ अलि भारी होला तर सजीलोसँग भन्ने प्रयास गर्छु । दिनमा ५-६ घण्टा अध्ययनको लागि कम्प्युटर र इन्टरनेट मै हुन्छु । पढदै जाँदा नेपाली सन्दर्भ र समाग्री पढ्दा कैयन सामाग्री हावादारी पाउँछु । आमसञ्चार माध्यम धेरै चुकेको र अधिकाश सामाग्री एजेण्डा सेटिङ र गेट किपिङ्ग सिद्घान्तको अत्यन्तै साँघुरो सिमामा घेरिएको भएको पाउँछु । अनी आफूलाई अलि अलि पढेको ठान्ने नेपाली नागरिकलाई असह्य हुन्छ, औडाहा हुन्छ, ज्वरो आउला जस्तो हुन्छ, केहि त भनौं केहि लेखौं जस्तो हुन्छ, अनी त्यसको निवारण लेखेर गर्छु । हो ठ्याक्के यो पत्रकारितालाई नागरिक पत्रकारिता भनिन्छ ।

ब्लगिङमा कस्ता विषयवस्तु तपाईको रुची र रोजाईमा पर्छन ?

त्यसको कुनै सिमा, परिधी, आकार, प्रकार केहि छैन ।मानवशास्त्र,समाजशास्त्र,राजनीति,संस्कृति, संस्कार,इतिहास, मनोविज्ञान लगायत अनेकन छन रुचिका विषयवस्तु ।

तपाईको ब्लग http://prajjwalchapagain.blogspot.ca/ मात्र हो?

अहिलेलाई यो मात्र हो ।

अनि नियमित रुपमा ब्लगिङ गर्नुहुन्छ?

समय, मुड, विषयबस्तु मन पर्दा सकेसम्म नियमित ब्लगिङ गर्छु । समय अभावले नियमित हुन सकिएको छैन् । तर सक्दो नियमित गर्ने प्रयास जारी छ ।

तपाई बसेको ठाउँ वा देशमा कति नेपाली छन्?

म यतिबेला मेरो व्यक्तिगत, शैक्षिक र पारिवारीक अनेकन कारणले क्यानडाको एडमण्टनमा छु । एडमण्टनको नगरपालिका कार्यालयको ताजा तथ्याङ्क अनुसार यो शहरमा नेपालीको जनसंख्या ५ हजार ४ सय चानचुन छन्  । क्यानडाभरी कति नेपाली छन् भन्ने चाहिँ थाहा छैन ।

उनीहरु के गर्छन् प्रायः? कामको सवालमा?

क्यानडामा नेपालीहरुको जीवनस्तर राम्रो छ । एडमण्टनमा अधिकाशं व्यवसायिकप्राविधिक तालिम र शिक्षा लिएका मानिसहरु छन । विश्वविद्यालयमा प्राध्यापन, नगरपालिका, प्रदेश र संघीय तहका सरकारी र नीजि क्षेत्रमा काम गर्ने नेपालीहरुको संख्या लगभग ३० प्रतिशत होला । बाँकी अरु प्लम्बिङ्ग, ट्रक चालक, इन्सुलेटर, सिएनसि, बैंकको सल्लाहकार, मोटरगेज विशेषज्ञ, विभिन्न स्टोरमा सामान बेच्ने मिलाउने, ४५ प्रतिशत पुरुषहरु सुरक्षा गार्डको काम गर्नेहरु छन । यो शहरमा भएका नेपाली महिलाहरु करिव ९० प्रतिशत महिलाहरु बालबच्चा स्यहार केन्द्रमा सहयोगी, बाल वच्चा स्याहर प्रमुख र निरिक्षकको रुपमा काम गर्छन । केही महिला सौन्दर्यप्रशाधन र श्रृगांरको काम गर्छन, कतिपय महिलाहरु बैंकमा सल्लाहकार, स्वास्थ्य परिचारीका, अस्पताल, वृद्द स्याहार केन्द्रमा काम गर्छन ।

यो अवसरै अवसरको शहर हो । यहाँ नेपालीहरु सून्यबाट सुरु गरेर निक्कै माथि पुगेका छन । यहाँ कामलाइ पूजा गर्ने र ठूलो सम्मान गर्ने चलन छ । यहाँ अघि बढने मानिसलाई नियम, अनुसाशन, समयको महत्व बुझेर जीवन चलाउँदा हुन्छ ।

बिदेशमा बस्ने नेपालीहरुको सोसल मिडिया वा ब्लग मोह कस्तो पाउनुभएको छ?

यो उल्कैसँग बढ्दो छ । मेरो ब्लगमा भर्खर आलेखहरु राख्न थालेको छु तर यसलाई संसारका नेपालीले हेर्दैछन । यसले पनि बुझिन्छ नेपालीहरुको सोसल मिडिया मोह कतिको बढदै छ भन्ने कुरा । यो बिस्तारै अपरिहार्य हुँदै जाने संभावना प्रबल छ ।

बिदेशमा बसेर नेपालको सोसल मिडियाको प्रयोग हेर्दा कस्तो लाग्छ तपाईलाई?

म भर्खर बामे सर्ने अवस्थामा छु । समग्रमा नेपाली सोसल मिडिया हामी नेपाली जस्ता छौ, त्यस्तैै छ । विषयवस्तुहरु हेर्दा चाहिने भन्दा बढि भावुक, चरम आग्रह पूर्वाग्रह राखिनु, तथ्य तथ्यांक र सत्यको नजिक रहने प्रयत्नको अभाव देखिन्छ तर सोसल मिडिया भर्खरै प्रयोगमा आएको नागरिक पत्रकारिता र नयाँ मिडिया हुनाले र नेपालीलाई आफ्नो कुरा राख्ने ठूलो मञ्च प्राप्त भएको हुनाले यसको भविष्य धेरै उज्ज्वल र संभावना पनि असिम देख्छु । अहिले जारी नागरिक पत्रकारितामा पनि हामी धेरै अघि बढन सक्ने संकेतहरु देखा परेको छ । पहिला संख्या उल्कैसँग बढ्ला अनि विस्तारैै गुणस्तर पनि बढदै जाला ।    

एउटा व्यक्तिले सोसल मिडिया वा ब्लग किन प्रयोग गर्नुपर्ला?

आफुलाई  लागेको कुरा अभिब्यक्त गर्न, समाजमा गलत दिशामा जान लागेको विषय, मुद्दा, निर्णयलाई सहि दिशा दिन यसको प्रयोग गर्नु पर्छ । यो एक हिसाबले सचेत नागरिकको दायित्व हो त्यसैले नागरिक पत्रकारिताको प्रयोग दिन प्रतिदिन अपरिहार्य हुँदै गएको छ ।

तपाईलाई मनपर्ने देशी वा बिदेशी कुनै ब्लगहरु छन् भने लिंकसहित शेयर गर्दिनुहोस न ।

अनेकौं छन । त्यसैले पक्षपात नगरौं होला ।

फेरी ब्लगिङकै कुरा गरौ, तपाईलाई ब्लग लेखनबाट व्यक्तिगत रुपमा के फाइदा पुग्यो, पुगिरहेको छ? 

फाइदाहरु यस्ता छनः पहिलो, मेरो लेखन जमेर फोहर हुन थालेको इनार जस्तो भैसकेको थियो अहिले सलल बग्न थालेको छ । दोश्रो, कुनै पनि विषयबस्तुमा आफूलाई चित्त नबुझेका र मनमा लागेका विचार, दृष्टिकोणहरु अघि सार्न पाएको छु । तेश्रो, नेपालमा सामाजिक सम्बन्ध, पहिचान र प्रतिष्ठा एक तहसम्म उठेको थियो, त्यो हराउला कि भन्ने त्रास थियो । यसलाई कायम राख्न सकिन्छ भन्ने लोभ लाग्न थालेको छ । चौथो, नयाँ-नयाँ साथिभाई र पाठककको बीचमा पुग्न पाइरहेको छु । पाँचौ, हुनसक्छ पछि मैले सोच्ने तरिका र लेख्ने तरिकामा दम रहेछ भने मेरो नागरिक पत्रकारिताले ठूलो आकार र आवाज ग्रहण गर्ला भन्ने आशा र संभावना देख्छु । तर कहिलेकाँही समय दिन नपाएको कारण मेरो ब्लगलाई पछ्याउनेहरुको विश्वास गुम्ला, मेरो ब्लग पढनेहरुको संख्या भुसुक्कै घट्ला भन्ने डरले त्राहिमाम हुन्छु । 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

मेरा विद्यार्थीहरुका अनुसार मैले केहि वर्ष अघि रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाएको विद्यार्थि शिवहरि ज्ञवालीले ईसमतामा यस्तो लेखे नेपालमा नअटेका मधेशी : विभेदबारे एक बाहुनको बकपत्र -३। यो पढदै गएपछि नेपालको इतिहास थोर बहुत थाहा पाएको र मिश्रित समाजको पक्षमा अनुसन्धान गरेर लेखिएको एउटा लेख हिमाल खबरपत्रिकामा छापिएको थियो । त्यसपछि मैले माथिको लेखमाथि टिप्पणी लेख्दै हिमाल खबरपत्रिकामा पहिले छापिएको लेखलाई समेत जोड दिएँ । मैले अघिसारेको सन्दर्भ यो लिँकमा हेर्न सकिन्छ ? नेपालमा श्रीलंकामा भए जस्तो तामिल विद्रोह

ब्लग वा सोसल मिडिया प्रयोगमा आचार व्यवहार संहिताको चर्चा पनि हुनेगर्छ? किन होला?

यो चर्चा मात्रै होइन आवश्यक नै होला । एउटा व्यक्तिको त व्यक्तिगत तहमा आचारसंहिता हुन्छ : रक्सी खाने कि नखाने ? खाए कति खाने? कति र कतिपटक खानेलाई जँडयाहा भन्ने ? लगायत यहाँ कति धेरै पृथक आचारसंहिताहरु विभिन्न मानिसको । त्यस अर्थमा ब्लगिङका लागि आचारसंहिता अपरिहार्य देख्छु म । 

ब्लगिङ नागरिक पत्रकारिता पनि हो ?

ब्लगिङ उच्चकोटिको नागरिक पत्रकारिता हुनसक्छ यदि यसलाई गुणस्तरिय तरिका र मर्यादित ढंगले प्रस्तुत गरियो भने ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

राजनीति, साहित्य, समाजशास्त्र र सामाजिक मान्छेका बारेमा विस्तृत जानकारी लिइराख्नु मेरा रुचिका विषय हुन् ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ ?

कविताहरु बेला बेलामा पोष्ट गर्न थालेको छु ।

अन्त्यमा, मेरो रिपोर्टले सोध्न बिर्सेका तर तपाईलाई भन्न मनलागेका केही कुराहरु छन् भने भन्न सक्नुहुन्छ।

हा हा हा केहि छैन । सम्पादन चाहिँ राम्ररी गर्नु ।

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service