‘घामकिरी’ लेख्ने बेलामा विभिन्न ब्लगहरुबाट प्रशस्त सूचनाहरु लिएको छु-नयनराज पाण्डे

साहित्यकार नयनराज पाण्डे, आफैमा यति परिचय काफी छ उनका निम्ति । तर त्यस बाहेक उनी कहिले कथा, पटकथा/सम्वाद लेखक तथा निर्देशकका रुपमा सिनेमाका पर्दाहरुमा पनि झुल्किने गर्छन् त कहिले कविका रुपमा सोसल मिडियाको एउटा कुनो http://nayanrajpandey.blogspot.com/ मा पनि डेरा जमाएर बसेका हुन्छन् । साथै हामीकहाँ चर्चित सोसल मिडियाका थलोहरु फेसबुकट्विटरमा पनि उनको सक्रियता उत्तिकै हुनेगर्छ । खासगरी पछिल्ला उनका दुई औपन्यासिक कृतिहरु ‘लू’ र ‘घामकिरी’लाई लिएर सोसल मिडियामा सकारात्मक तथा आलोचनात्मक टिप्पणी र बहसहरु पनि धेरै नै भए । तर साहित्यकार नयनराज पाण्डे भन्छन्- सोसल मिडियामार्फत आउने प्रतिक्रिया मलाई बढी जेनुइन लाग्छ । छलछाम र बिना आग्रह पूर्वाग्रह आएका हुन्छन् त्यस्ता प्रतिक्रियाहरु । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले यिनै साहित्यकार नयनराज पाण्डेसंग कुराकानी गरेका छौँ । प्रस्तुत छ पाण्डेसंगको कुराकानी :

 

आफ्नोबारेमा अलिकति बताइदिनुस न । दाई नेपालगञ्जको कि काठमाण्डुको?

मेरो जमिन नेपालगन्ज हो । मेरो धरातल त्यही हो । मेरा जराहरु त्यहीँ गाडिएका छन् । जन्मिएको त काठमाण्डुमा हुँ । तर म हुर्किएँ त्यहीँ । कक्षा एकदेखि प्रमाणपत्र तहसम्म त्यहीँ पढेँ । किशोरवय जहाँ बित्यो, आजीवन त्यहाँको स्मृतिहरुले पच्छ्याइरहँदो रहेछ । म आफ्नै स्मृतिहरुसित लेखेटिएर काठमाण्डुमा बसिरहेछु अचेल ।

 

परिवारमा को को हुनुहुन्छ? भन्न मिल्छ?

श्रीमती, दुई छोरा र म । सबैभन्दा महत्वपूर्ण कुरा आमा हुनुहुन्छ परिवारमा ।

 

दाईले स्कुल/कलेजको कालोपाटीमा मास्टरसापले पढाउने औपचारिक शिक्षालाई कहाँसम्म पुर्‍याएर साँङ्गे गर्नुभयो नि !

मैले कानुनमा स्नातक गरेपछि र त्यसको आधारमा अधिवक्ताको लाइसेन्स लिए पनि औपचारिक अध्ययनलाई छोडेँ । मन लागेन त्यसपछि कलेज या युनिभर्सिटी धाउन । मलाई लाग्यो, हाम्रो समाज, हाम्रो जीवन, हामी वरिपरिको परिवेश महाविश्वविद्यालय हो । त्यहीँ पढ्छु, त्यही सिक्छु । पास फेल जे भए पनि यहीँ हुन्छु । यो महाविद्यालयमा निकै पढियो । तर यसको सर्टिफिकेट हुन्न । अनुभव र अनुभूतिका बिटाहरु भने हुन्छन् । त्यही मेरो प्राप्ति हो । त्यही मेरो कमाइ हो । त्यसैलाई भजाएर खाइरहेछु ।

 

लेखनी बाहेक अरु कुनै पेशामा पनि आवद्द हुनुहुन्छ कि कतै? हामीले थाहा नपाएको पनि हुन सक्छ नि !

लेखन । पूर्ण लेखन । कैलेकाहीँ छोटो समयलाई केही संस्थाहरुमा आवद्ध भएपनि ती सबै लेखनीसितै सम्बन्धित हुँ । त्यसैले मलाई पूर्णकालीक लेखक मान्न सकिन्छ । मसित अनेक खल्तीहरु छन् । कुनै दिन छाम्नु भयो भने हरेक खल्तीमा अक्षरहरु भेटिनेछन् । अक्षर मेरा सहयात्री हुन् ।

 

हामीले सोसल मिडियाको थलो ‘मेरोरिपोर्ट’का लागि कुराकानी गर्दैछौँ, दाई सोसल मिडियामा कहिले देखि हुनुहुन्छ?

झल्याकझुलुक आउजाउ अघिदेखिनै चलिरहे पनि सामाजिक संजालहरुमा नियमितरुपमा भने चारपाच वर्षदेखि छु क्यार ।

 

एउटा लेखक वा साहित्यकार नयनराज पाण्डेले सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहन्छ, लेखक/साहित्यकारकै रुपमा या ब्लगरका रुपमा?

म त सबैले मलाई लेख्ने मान्छे कै रुपमा चिनुन् भन्ने चाहन्छु । सोसल मिडियामा मेरो उपस्थितिलाई साथीभाइ सबैले त्यहीरुपमै लिनु भएको छ। ब्लगिङ पनि आफूलाई अभिब्यक्त गर्ने माध्यम नै हो । त्यसैले त्यहाँ पनि मेरा अभिब्यक्तिहरु लेखककै हैसियतले प्रकट भैरहेका हुन्छन् ।

लेखक/साहित्यकारका रुपमा यहाँलाई मुलधारका मिडियाले प्रशस्त स्थान दिएकै छन्, बर्षेनी किताबहरु निकालिरहनुहुन्छ फेरी तपाँईलाई यो भर्चुअल संसारको कुनो http://nayanrajpandey.blogspot.com/ किन चाहिएको भनेर मैले सोधेँ भने?

धेरै साथीहरुले छापा माध्यममा पढ्नु हुन्छ मलाई । म मेरा साथीहरु, मेरा पाठकहरुको दायरा अझै फराकिलो होस् भन्ने चाहन्छु । कैलेकाहीँ पत्रपत्रिकामा नछापिएका वा छापिन नसकेका रचनाहरु ब्लगमा राख्ने गर्छु । ब्लगका माध्यमबाट मभित्रको लेखकको अर्को छवि पनि प्रकट होस् र त्यो पनि चिरपरिचित बनोस् भन्ने चाहन्छु । मसित पत्रपत्रिकाले कविताहरु माग्नु हुन्न । कथा, लेख वा संस्मरणहरु माग्नु हुन्छ । तर म कविता पनि लेख्छु । कवि नै भनेर नचिनिए पनि कैलेकाहीँ अरु माध्यममा अभिब्यक्त हुन नसकेका कुराहरु कवितामा अभिब्यक्त गर्न सजिलो हुन्छ । मेरो त्यस्तो ब्यक्तित्वलाई ब्लगले उज्यालोमा ल्याइदिन्छ । त्यसैले पनि यसप्रति मेरो आत्मीय साइनो गाँसिएको छ ।

 

आफ्नो ब्लगमा पत्रपत्रिकामा आईसकेका या कतै प्रकाशित भईसकेका कृतिहरु राख्नुहुन्छ कि, सोसल मिडिया मार्फत पनि कहिलेकाँही साहित्यिक कृतिहरुले ‘ब्रेक थ्रु’ पाउँछन्?  

अघि पनि भनिसकेँ । कतै प्रकाशित नभएका कविताहरु पनि यसमा राख्ने गरेको छु मैले ।

 

तपाँईको उपन्यास ‘लू’ लाई लिएर सोसल मिडियामा निकै बहस पनि भयो, केहीले ‘प्रो-लू’मा लामै ब्लग लेखे भने केहीले ‘एण्टी-लू’मा पनि ल्यापटप/कम्पुटरका किवोर्डहरुमा औँला कुदाए, पढ्नुभयो ब्लगरहरुका प्रतिकृयाहरु सोसल मिडिया मार्फत?

एकदमै पढेँ । लू मात्र किन हालै प्रकाशित “घामकिरी”बारे पनि त्यसरी नै प्रतिक्रियाहरु आइरहेछन् । सकारात्मक प्रतिक्रियाले खुसी नहुने त को नै पो होला र ? तर म नकारात्मक प्रतिक्रियालाई पनि सहजरुपमा लिन्छु । हरेक पाठकको किताबलाई पढ्ने र बुझ्ने आफ्नै खालको तौरतरिका हुन्छ । मैले सबैलाई स्वीकार गर्नुपर्छ । सोसल मिडियामार्फत आउने प्रतिक्रिया मलाई बढी जेनुइन लाग्छ । छलछाम र बिना आग्रह पूर्वाग्रह आएका हुन्छन् त्यस्ता प्रतिक्रियाहरु । पढ्दा मजा आउँछ ।

 

सोसल मिडिया मार्फत हुने यस्ता रचनात्मक बहसहरुले लेखक/साहित्यकारहरुलाई कत्तिको श्रृजनशील हुन घचघच्याउँछ, अथवा कत्तिको कामलाग्दो बहस हो यो यहाँहरुका लागि?

निकै काम लाग्छ । मलाई त लागेको छ । मिडियाको बहसलाई कसरी ग्रहण गर्ने त्यसमा पनि भर पर्छ । म सुन्छु, पढ्छु । तर पाठकसित झैझगडा गर्नतिर लाग्दिन । देउतासित झगडा गर्नु हुन्न । पाठक त देउता हुन् नि थाहा छ ?

 

सोसल मिडियामा प्रयोग हुने भाषाशैलीलाई लिएर कहिलेकाँही यसकै प्रयोगकर्ताहरु बिच पनि निकै ठुलो बहस भईरहेको हुन्छ, कैले फण्ट, यूनिकोड-रोमनाईज्ड तथा शुद्दाशुद्दिका सवालमा त कहिले शैलीका सवालमा । यहाँलाई कितो लाग्छ, सोसल मिडियाको भाषा र शैलीले साहित्यिक माहौल, भाषा र शैलीमा योगदान गरेको छ या झन् धराशयी बनाउँदैछ?

सोसल मिडियाले हाम्रो भाषा, शैली, साहित्यिक माहौललाई खराब गरिराछ भन्ने हो भने सोच्नु पर्छ, समस्या सोसल मिडियामा हैन हाम्रो साहित्यक माहौल, हाम्रो साहित्य र हाम्रो भाषामा छ । मलाई त यसले भाषालाई अझै परिष्कार गरिरहेको छ भन्ने लाग्छ । भाषा झनै आम मान्छेको निकट पुग्दैछ । भाषा त झन् बलियो बनिरहेको छ भन्ने लाग्छ मलाई । सोसल मिडियाकै कारण हो, हाम्रो भाषा गुगल ट्रान्सलेटरको पहुँचसम्म पुगेको । हाम्रो भाषाले पहिचान ग्रहण गर्दैछ। खुशी पो छु म त ।

 

सबै ब्लगरहरु तथा सोसल मिडिया प्रयोगकर्ताहरु आफ्ना अभिब्यक्तिहरु पनि सबैमाझ रुचाईयून, चर्चित होउन् भन्ने चाहन्छन् । तर चर्चित हुनका लागि बिषयसंगै ब्लगरको लेखाईको पनि निकै ठूलो भुमिका हुन्छ । लेखाई राम्रो शिर्जनशिलताले हुन्छ । अब भन्दिनुस न लेखाईमा शिर्जनात्मकता कसरी ल्याउने?

यसको कुनै सजिलो सूत्र छ जस्तो त लाग्दैन मलाई । तर आफ्नो लेखनलाई सरल र सम्प्रेषणीय चाहिँ बनाउनुपर्छ । अभिब्यक्तिमा सहजता हुनुपर्छ । आफूले जानेको बुझेको र आफूलाई सजिलो लागेको कुरा सजिलो किसिमले नै अभिब्यक्त गर्नुपर्छ । ज्यादा भाषिक कसरत लेखनीको लागि हानिकारक हुन्छ । सिर्जनात्मक लेखनको लागि कसैलाई गुरु थाप्नु पर्दैन । हामी सबै आफ्नो गुरु आफैँ हौँ । यो गुरुले हामीलाई लट्ठी हान्दैन । त्यसैले यही नै काइदाको गुरु हो । यही गुरुले लेख्न सिकाउँछ । फेरि लेख्छु भन्दैमा लेखक भइने पनि त हैन नि । लेखनमा रुचि छ भने तपाईँको अन्तर्मनले बाटो देखाउँदै जान्छ । अन्तत: यसैले तपाईँलाई पुर्‍याउँछ सिर्जनाको हाइवेमा । यो हाइवेमा निरन्तर कुद्नुपर्छ । यही निरन्तरताले तपाईँको लेखनीलाई स्वत:परिष्कार दिन्छ । 

 

शिर्जनात्मक अभिब्यक्तिमा रुची राख्ने ब्यक्तिले जान्नुपर्ने कुराहरु यी यी हुन् भन्ने केही छन्?

आफ्ना वरिपरि कस्ता मान्छे छन्? के के खान्छन्? के के कुरा गर्छन्? कहिले हाँस्छन्? कतिबेला रुन्छन्? कसरी माया गर्छन्? कसरी बाँच्छन् र कसरी मर्छन्? बस्, पालैसित यो पत्ता लगाउनुस् त ! लेख्न चाहनेले कम्तिमा यति कुरा चाहिँ बुझ्नुपर्छ । बाँकी कुरा समय र सन्दर्भहरुले आफैँ सिकाउँछन् ।

 

आफ्ना पाठकहरुसंग सोसल मिडियामार्फत अन्तरकृया गर्नेहरुमा बुद्दिसागर र यहाँको नाम अग्रपंक्तिमा आउँछ । सोसल मिडिया मार्फत आफ्ना पाठकहरुबाट कस्तो पाउनुभएको छ प्रतिकृया? कुनै रोचक प्रतिकृया उल्लेख गर्नुस न !

मैले सोसल मिडियाका मेरा साथीहरुमार्फत निकै ऊर्जा पाएको छु । विश्वविद्यालयका प्राध्यापकहरुले गर्ने समीक्षा, समालोचना भन्दा बढी मलाई सोसल मिडियामार्फत मसम्म आइपुग्ने प्रतिक्रियाहरु बढी ईमान्दार र उपयोगी लाग्छन् । कैलेकाहीँ ‘फेक’ नामबाट निकै गाली पनि आउँछ । तर त्यसबाट पनि म मेरो समाजको मनोविज्ञान बुझ्न सक्छु नि ! मेरो एकजना भाइको मुटुको शल्यक्रिया हुँदा ‘ओ पोजिटिभ’ रगत चाहियो । मैले फेसबुकमा राखेँ । कतैबाट जुर्न नसकेको सहयोग त्यहीबाट जुर्‍यो । रगत दिन आउने जतिले भन्नुभयो, मैले तपाईँको ‘लू’ पढेको छु । मैले पाठकको माया कस्तो हुन्छ, त्यतिबेलै बुझेँ । मैले त्यसपछि नै थाहा पाएँ, हाम्रो समाज कति सहयोगी छ ।

 

एउटा लेखक/साहित्यकारका लागि न्यू मिडिया वा सोसल मिडियाले पुर्‍याएका पाईदा र बेफाईदा बारे यहाँको टिप्पणी केही छ? (यो कुरा गर्दैगर्दा म यहाँलाई सोसल मिडियामा हुने अन्तरकृया, सोझो सम्पर्क, अडियो बुक, ई-बुक र ब्रजेशको यायावर उपन्यासको पिडिएफ पाईरेसीलाई पनि सम्झिन आग्रह गर्छु।)

मिडियालाई कसरी प्रयोग गर्ने भन्ने कुरामा सचेत चाहिँ हुनपर्दछ । प्रविधिसँगै यात्रारत हुनुपर्छ हामी । अब फेरि हामी दोस्रो डाइनोसोर भन्नु हुँदैन । तर हरेक प्रविधिका सीमाहरु पनि छन् । यो सीमालाई बुझ्नुपर्छ । किताब निस्केको वर्षदिन पछि बल्ल समीक्षाहरु निस्कने जमाना थियो । अब तत्काल आफ्नो सिर्जनाको हैसियत थाहा हुन्छ । राम्रो लेख्नुभयो भने प्रसंसा र कमजोर लेख्नु भयो भने तुरुन्त गाली पनि पाउनु हुन्छ । यसले नराम्रो गरेकै छैन । पाठकहरुको अभिबृद्धि भएको छ । पठन संस्कृतिको विकास भएको । फेसबुक, ट्वीटरमा चर्चा पढेर मेरो किताब किन्ने पाठक प्रशस्त हुनुहुन्छ । यो त सकारात्मक कुरा हो । एक हजार किताब बिक्न मुस्किल हुने समय थियो, अहिले अलिकति राम्रो किताब छ भने १०-१५ हजार सजिलै बिक्छ । लेखकको आर्थिक र सामाजिक हैसियत पनि बढेको छ । यसमा सोसल मिडियाको ठूलो देन छ। रह्यो कुरा पाइरेसीको, कतिपय हकमा हाम्रै र हाम्रै साथीभाइको कारणले पनि यसो भैदिन्छ । यायावरको हकमा पनि त्यस्तै केही भएको हुनुपर्छ । तर हालसम्म यसले ठूलो समस्या निम्त्याएको छैन । नेपालमा किताबै पनि शेयर गरी गरी पढ्ने चलन छ। एकजना धरानका मेरा अत्यन्त प्रिय कवि मित्रले ‘लू’ पढेपछि मलाई फेसबुकमा सन्देश पठाउनु भयो । ओहो, कति राम्रो लेख्नु भएको । मैले मेरो किताब २५ जनालाई पढाएँ । म त्यो आत्मीय प्रतिक्रिया पढेर निकैबेर अलमलमा परेँ । हाँस्नु कि रुनु? तर पाइरेसी विरुद्ध पनि प्रविधि आइरहेछन् । भविष्य सुखद होला, आशा गरौँ न ।

 

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

यो फैलिँदो छ । प्रिन्ट मिडियाको बिकल्पको रुपमा शक्तिशाली भएर आउँदैछ । अब आफ्ना रचनाहरु कतै छापिएनन् भनेर चित्त दुखाएर कुण्ठित हुनु पर्ने दिन गए । अब कुण्ठामुक्त लेखकको जमात आउने छ र उसले शक्तिशाली रचनाहरु दिनेछ पाठकहरुलाई । मैले जे लेखे पनि पढिहाल्छन् भनेर पुरातन सोच राख्ने लेखकहरुका दिन गए । ती लेखकहरुका लागि ब्लगरहरु चुनौती बनेर आउँदैछन् ।

 

अरुका ब्लगहरु पनि पढ्नुहुन्छ कि? कुनै ब्लगहरु सम्झिनुहुन्छ?

पढ्छु । यही नै त भन्न नसकुँला यतिखेर । तर ‘घामकिरी’ लेख्ने बेलामा विभिन्न ब्लगहरुबाट प्रशस्त सूचनाहरु लिएको छु । केही लोककथाहरु त्यहीबाट टिपेर त्यसैलाई मोडिफाइ गरेको हुँ । ‘लू'मा टुटे पण्डितले पाएको आयुर्वेदको ज्ञान यस्तै यस्तै माध्यमबाट पनि लिएको हुँ ।

 

अरुका कस्ता विषयवस्तु समेटिएका ब्लग तथा कृतिहरु तपाईँका रोजाइमा पर्छन्?

म विशेष गरेर साँस्कृतिक कुराहरु लेखिएका ब्लगहरु पढ्न रुचाउँछु । अनुसन्धानमूलक सामग्री मेरो रुचिमा पर्छन् । यात्रासाहित्य पनि पढ्न रुचाउँछु । तर पढ्दै जाँदा मूडमा पनि भर पर्ने रहेछ । कैले आयुर्वेद र चिकित्साशास्त्रसित सम्बन्धित कुराहरु पनि पढिन्छ ।

 

तपाँई आफूपनि सोसल मिडियाको उपभोक्ता भएको हुँदा हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु: ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?

सबैका आफ्नै खालका भिन्नता र सबैका आ-आफ्नै विशेषता छन् । ब्लग त एउटा डायरी वा किताब जस्तै हो । आफ्ना लामा छोटा सिर्जनाहरुका लागि बढी प्रयोग भएको जस्तो लाग्छ ब्लग । ट्विटरमा समसामयिक विषयहरुमा आफ्ना प्रतिक्रियाहरु अभिब्यक्त गर्न र अरुका प्रतिक्रियाहरु जान्न बुझ्न पाइन्छ । फेसबुकमा आफ्ना साथीहरु, फलोअरहरुसित प्रत्यक्ष सम्वाद गर्न सकिन्छ । म तीनै माध्यममा धेरथोर उपस्थित छु ।

 

फेरी साहित्यतिरै फर्किउँ, ‘लू’ पछिको यहाँको अर्को कृति ‘घामकिरी’ बारे सोसल मिडिया मार्फत पाठकहरुको प्रतिकृया कस्तो पाउनुभयो?

सोसल मिडियाबाट प्रशस्त प्रतिक्रिया पाएँ । यी मिडियाहरुमा एक खालका बौद्धिक पाठकहरुको उपस्थिति हुने भएकोले उहाँहरुको प्रतिक्रिया अर्थपूर्ण पनि हुन्छ मेरालागि । ‘घामकिरी’ विषयका लागि भन्दा उपन्यासको शिल्पगत र शैलीगत पक्षका कारण पनि पढियोस् भन्ने लागेको हो मलाई । मैले अलिक फरक ढंगको कथावाचनको शैली अपनाएको हुँ यसमा । धेरैले रुचाउनुभयो र खुलेर तारिफ पनि गर्नुभयो । केहीलाई मन परेन, मज्जाले गाली पनि गर्नुभयो ।

 

अब पाठकमाझ आउन लागेको यहाँको अर्को कृतिबारे बताईदिनुस् न !

कृतिकै रुपमा अहिले नै त केही लेख्न थालेको छैन । फुटकर लेखिरहेको छु । तर आख्यानकै योजना बनाइरहेको छु । दुई बर्षे योजना अन्तरगत काम थाल्ने योजनामा छु ।

 

अन्त्यमा,

मेरो रिपोर्टमार्फत आम ‘नागरिक पत्रकारिता’को सुन्दर अभ्यास हुँदैछ । यसको समाजमा विशिष्ट महत्व छ । आम सरोकारका बढी भन्दा बढी सामग्री यसमा प्रकाशित हुन् । शुभकामना छ मेरो ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service