सोसल मिडियाले लोप हुने अवस्थामा पुगेका गाउँघरतिरका झर्रा शब्दलाई जोगाएको छ-नारायण अमृत

माध्यामिक विद्यालय तहमा पढ्दादेखि नै पत्रपत्रिका पढ्न रुची राख्ने नारायण अमृतलाई त्यतिबेला खासगरी साहित्यिक पत्रिका प्रतिको सम्मोहन ज्यादा थियो । उनकै शब्दमा पछि काठमाण्डौ आईसकेपछि पत्रकारिता तिर रुची बढ्यो र पत्रकारिता गरौँ गरौँ लाग्यो । अनि एनपिआईबाट एक दुईवटा सानातिना तालिममा सहभागी भइ उनले पत्रपत्रिकाहरुमा अलिअलि लेख्न पनि सुरु गरे । उनको अखबारमा लेख्ने क्रम देशान्तर, विमोचनमा हुँदै अघि बढ्यो र उनकै शब्दमा भन्दा पत्रकारिता सुरु गरेको यो १५ बर्षको यात्रामा उनले आफ्ना साथीहरुमाझ ठट्टै सही, सबैभन्दा धेरै मिडिया हाउस परिवर्तन गर्नेको परिचय पनि बनाएका रहेछन् ।

हाल नेपाल साप्ताहिकमा कपी ईडिटरका रुपमा कार्यरत नारायण अमृत पत्रकारिताका अलावा ब्लगिङ्ग पनि गर्छन भने सामाजिक सञ्जाल ट्विटरमा उनलाई @amritna मा फलो गरेकाहरुले उनका चोटिला ट्विटहरु पनि पढ्न पाईरहेका हुन्छन उत्तिकै सक्रिय रुपमा । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपटक हामीले उनै पत्रकार तथा ब्लगर नारागण अमृतसंग पत्रकारिता, ब्लगिङ्ग र सोसल मिडियाको भाषा लगायतका सवालमा कुराकानी गरेका छौँ । प्रस्तुत छ विनय गुरागाईँ र प्रकाश लामिछानेले गरेको कुराकानीः 

सोसल मिडियामा कहिले देखि हुनुहुन्छ? खासगरी ट्विटर फेसबुकमा?

फेसबुकमा चाँही अलि पहिल्यैदेखि अर्थात ४–५ बर्षजति भयो क्यारे । एकाउण्ट खोलेपनि फेसबुक सुरुसुरुमा त्यति चलाईएन । बिस्तारै आफ्ना साथीहरु जोडिन आउने क्रम बढ्यो अनि चलाउने क्रम पनि बढ्यो । मैले २ बर्षजस्तो त फेसबुक यसरी चलाएँ कि धेरै चलाउँदा–चलाउँदा बिस्तारै त्यसप्रति अनाकर्षण पनि बढ्दै जानेरैछ । त्यसपछि म ट्विटरमा आएँ । खासमा ट्विटर मलाई थाहा नै थिएन, मेरा एकजना भान्जाले मेरो एकाउण्ट खोलिदिएका हुन् । पछि कताकता म हाम्रो ट्विटरमा सक्रिय काकाहरुको समुहमा पुगेछु । मलाई ट्विटरमा सक्रिय बनाउन, रस पसाउनमा काकाको ठुलो हात पनि छ । नत्र सुरुमा म त्यति सक्रिय थिईन । एउटा स्टाटस लेख्ने, छोड्ने गर्थेँ । मलाई मेन्सन हेर्नेसम्म थाहा थिएन तर बिस्तारै रस पस्दै गएपछि सक्रिय हुँदै गएँ । फेसबुक र ट्विटरमा अन्तर के छ भन्ने प्रश्न पनि आउला, यसको अन्तर भनेकै सामुहिक र अलग–अलग जवाफ तथा तत्काल प्रतिकृयाको हो । ट्विटर बढि अन्तरकृयात्मक र तत्काल प्रतिकृया पाइने खालको छ ।

एउटा पत्रकारले सोसल मिडिया चलाउनुको फाईदा बेफाईदा के?

सोसल मिडियामा भएको एउटा पत्रकारले सुचना साटासाट गर्ने, अरुका कुरा सुन्ने र त्यसलाई सकारात्मक रुपमा ग्रहण गर्दै त्यसलाई परिस्कृत र परिमार्जित गर्दै लैजान र आफुलाई परिपक्व बनाउन यसको प्रयोग गर्ने हो भने त्यो एकदमै राम्रो हुन्छ । कहिलेकाँही समय नै नष्ट हुनेपनि हुन्छ र अनावश्यक कुरामा डिल गर्न थालियो भने चाँही त्यो प्रतिकुल हुन्छ फेरी । किनभने कहिलेकाँही आक्षेप पनि लाग्ने गर्छ कि सोसल मिडियामा हुने अन्तरकृयामा पत्रकारहरुले रेस्पोन्स गर्दैनन भनेर । मानिसहरु बुझ्दैनन कि कहिलेकाँही समय नभएर पनि त्यसो गरिएको हुनसक्छ भनेर बरु त्यसोगर्दा बरिष्ठ पल्टिए भनेर प्रतिकृया आउँछ । त्यसलाई सापेक्ष रुपमा हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाँही । यही कुरालाई लिएर पत्रकारहरुले सोसल मिडिया प्रयोग गर्न जानेनन् भन्नुचाँही ठिक हुँदैन जस्तो लाग्छ मलाई ।

अहिले सोसल मिडियालाई साथीहरुले न्युजको सोर्सका रुपमा पनि लिनुभएको छ । जस्तै बाबुराम भट्टराई, मनिषा कोईरालाले सोसल मिडियामा लेखेका कुराहरुलाई लिएर साथीहरुले न्युज पनि बनाएका छन् । मानिसलाई चासो भएका कुरामा समाचार बनाउनु राम्रो कुरा हो। यसलाई सहि ढंगले प्रयोग गरियो भने बेफाईदा छैन भन्छु म चाँही।

तपाई सोसल मिडिया प्रयोगकर्तासंग धेरैजसो अन्तरकृयामै भईरहनुहुन्छ, अरुले गरिरहेका अन्तरकृयालाई कसरी नियाल्नुभएको छ? कसरी प्रयोग भैरहेको छ सोसल मिडिया?

म एउटा मुलधारको मिडियामा काम गरेको पत्रकारको हिसाबले भन्दा मैले लेखेका सबैखालका कुराको प्रतिकृयाहरु पाईरहेको छु । सकारात्मक वा नकारात्मक जे सुकै होस् । ति प्रतिकृयाले मलाई सकारात्मक प्रतिफल नै दिएको छ र म सकेको सुधारको कोशिष पनि गर्छु । खासगरी समसामयिक विषयमा साथीहरुले व्यक्त गर्नुभएका विचारहरु हेर्दा, आफ्ना विचार पोख्ने र अरुका विचार बुझ्ने एउटा मिडियम भैदिएको छ सोसल मिडिया । यो बडो गजबको थलो पनि भएको छ । सबैका सकारात्मक नकारात्मक दुबैखाले कुराहरु बुझ्नलाई यो निकै सस्तो र सुलभ माध्यम पनि भएको छ । तर यसलाई दुरुपयोग गर्ने, घण्टौ बिताएर समय बर्बाद गर्ने गरियो भने अर्को पाटोबाट नकारात्मक परिणाम निस्किन पनि सक्छ ।

तपाई ब्लग पनि निरन्तर चलाउनुहुन्छ क्यारे हैन?

मेरो ब्लगको कुराचाँही अलि बेग्लै छ । मेरो ब्लग अरु साथीहरुको जस्तो निरन्तर अपडेट भैरहेको छैन । मैले माईसंसारमा ५–६ वटा ब्लग लेखेँ अहिलेसम्म । माईसंसारमा मैले मेरो छोरीमाथि लेखेको ब्लग धेरै चर्चित भयो । हुन त अरु पनि लेखेको थिएँ । म एउटा एकल पिताका हिसाबले नानीलाई हुर्काउँदाको मेरो फिलिङ्गस माथि लेखेको त्यो ब्लग धेरै चर्चित भो, देशविदेशबाट धेरै प्रतिकृया आए । कैलेकाँही ब्लग लेखिरहनुपर्छ भनेर त्यसले मलाई उक्साईरह्यो ।

हामी मुलधारका मिडियामा काम गर्नेहरुको सन्दर्भमा कुरा गर्दा हामीले आफ्नो संचारमाध्यममा जुन भाषा र शैली प्रयोग गर्छौँ त्यो भन्दा फरक तरिकाले लेख्न पाउने हुँदा ब्लगप्रतिको प्रेम बेग्लै खालको छ । हुन त अहिले मेरो आफ्नै छुट्टै ब्लग पनि छ तर त्यो त्यतिधेरै अपडेट भैरहेको छैन । किनकी ब्लगमा लेख्नका लागि बिषयबस्तुले मनैदेखि उक्साउनुपर्छ । मैले जुन मिडियामा काम गर्छु त्यहाँ पनि अनौपचारिक राईटअपका लागि ठाउँ छ, तर ब्लगमा त त्यो भन्दा फरक बिषय दिनुप¥यो नि ! त्यो, र अर्को समय पनि नमिलेर लेख्न सकिरहेको छैन । नत्र ब्लग एउटा शशक्त मिडिएम हो आफ्ना कुराहरु बाहिर ल्याउनका लागि ।  

जस्तो पत्रकारहरुका लागि त लेख्ने बोल्ने माध्यमहरु छँदैछन नि, ब्लग नै किन ?

हैन यस्तो छ, मुलधारका मिडियाका आफ्नै सिमाहरु हुन्छन् । अनौपचारिक राईटअप नै भनेपनि त्यहाँका आफ्नै मुल्य र मान्यता हुन्छन् । सबै सवालहरु मुलधारका मिडियाका सामग्री नबन सक्छन् । तर ब्लग यो हिसाबले त स्वतन्त्र छ नि त ! जस्तो, मानौ मैले बाटोमा हिँड्दा कुनैपनि असमचार ब्यक्ति वा कुनै पात्रको हाउभाउ, कथा, मनोदशाले मलाई छोयो भने त्यो मेरो मिडियाको बिषय भन्दा मेरो ब्लगको सामग्री बन्नसक्छ । त्यसलाई मुलधारको मिडियाको सामग्री बनाउँदा भन्दा मेरो ब्लगको सामग्री बनाउँदा बढि न्याय हुन्छ जस्तो लाग्छ मलाई ।

केही साथीहरुले निकै राम्रो ब्लगहरु चलाईरहनुभएको छ । सुचना, प्रविधि, जानकारी र आफ्ना अनुभव अनुभुतिहरु बाँड्ने हिसाबले निकै राम्रो गरिरहनुभएको छ । कैलेकाँही त मुलधारका मिडियालाई समेत स्टोरीका निम्ति, एङ्गलिङका लागि समेत आईडिया बनाउन र बिषय छान्न पनि ती ब्लगहरुले सहयोग गरिरहेका छन् ।

तपाईँको ब्लगको नाम अमृत बचन नै किन ?

यस्तो छ, म मिडियामा आवद्द हुनेबेलै मेरो नाम नारायण अमृत थियो । यो ब्लगको नाम अमृत बचन चाँही मेरो साथी साँहिलादाईले राखिदिएको हो । हाम्रो गफैगफमा उसले तपाईँको ब्लग चाहिन्छ भनेपछि, ‘लौन त नाम जुराउँ’ भन्दा उसैले यो नाम जुरायो र मलाई पनि यो मनपर्यो, अनि राखियो ।

अर्को कुरा, तपाईँ साहित्यको र मिडियाको पाठक हुँदै पत्रकार र सोसल मिडियाको प्रयोगकर्ता हुनुभएको छ । सोसल मिडियामा प्रयोग हुने भाषाप्रति तपाईको भनाई?

हैन यस्तो छ, सोसल मिडिया हामी बिस्तारै प्रयोग गर्दै, सिक्दैको चरणमा छौँ । केही गरिरहेका छौँ, बिस्तारै सिक्दैछौँ, गल्तीहरु सच्याउँदै छौँ । त्यसैले यसमा भाषा, शैली र अभिब्यक्तिमा ब्यक्तिगत लाल्च्छना, गाली र अशुद्ध भएपनि यो पक्कै सुध्रिन्छ भन्ने कुरामा मलाई बिश्वास छ ।

यो कुरा किन पनि सोधियो भने पत्रिकाको लेखाई, रेडियो कार्यक्रममा बोलिने भाषा र अहिले सोसल मिडियामा प्रयोग भैरहेका भाषा, यी सबैलाई हेर्दा सोसल मिडियामा त बिल्कुलै बोलिचालीको भाषा प्रयोग भैरहेको छ । फन्ट पनि युनिकोड र रोमनको कुरा अर्कोतर्फ छ । फेरी सोसल मिडिया त एउटा अर्कै समुदायजस्तो पनि भैसक्या छ । त्यसैले यसमा भाषाको शुद्धता कत्तिको जरुरी छ?

सिक्ने सिकाउने क्रम चलिरहेको हुँदा पक्कै सुध्रिन्छ तर भाषामा जुन जडता छ त्यो भने सुध्रिनुपर्छ । संधै एउटै खाले भाषाको जडतामा अडिइरहनुपर्छ भन्ने मेरो भनाई हैन । तैपनि भाषाको पनि आफ्नो बेग्लै बिज्ञान छ फेरी । तर त्यसो हो भन्दैमा भाषाको मुल्य मान्यता नबुझेको भनेर कसैले अभिब्यक्त गरेको कुरा नै मिलेन भन्नु त भएन नि ! अर्कोतर्फ, कतिपय कुराहरु चाहेर पनि नियन्त्रणमा आउँदैन, त्यो बिस्तारै हुने कुरा हो । हामी भाषाप्रति त्यति धेरै चिन्तित हुनुपर्ने कारण छैन् । हाम्रो भाषा त्यति छिटै विलय हुनेवाला पनि छैन । तर भाषाका नाममा भाषालाई कुण्ठित बनाउने, चिमोट्ने पनि गर्नुभएन ।

सोसल मिडियाको भाषाकै कुरा गर्ने हो भने यसले कतिपय अवस्थामा लोप हुन लागेका, विलय हुने अवस्थामा पुगेका हाम्रा गाउँघरतिरका झर्रा शब्दहरु बिशेषणहरुलाई जोगाएको छ । कतिपय साथीहरुले लेख्नुभएका सम्वाद र गीतले पनि त्यो देखाएकै छ । यी ठेट शब्दहरु मुलधारका मिडियामा काम गर्नेहरुले पनि सिकिरहेका छन् सोसल मिडियाबाट । म त भन्छु यी शब्दहरु हराउने जोखिमबाट सोसल मिडियाले जोगाएको छ बरु ।

अन्त्यमा,

सोसल मिडियालाई धेरै हिसाबले प्रयोग गरिएको छ, सुचनाको खोजीका लागि, मनोरञ्जनका लागि, ब्यापारका लागि, लगायत अरु पनि होलान् । हामीकहाँ सोसल मिडिया बिस्तारै हुर्किने र सुध्रिने क्रममा नै देख्छु म । सोसल मिडियाले कसैलाई नराम्रो गर्दैन । किनकी यो थलो हो, थलोलाई कसरी उपयोग गर्ने भन्ने कुरा हामी मै भरपर्छ । राम्रोसंग प्रयोग गरौँ, त्यही हो ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Amuna Chapagain on January 28, 2013 at 5:15pm

Congratulations Dai

Comment by Kranti Darai on January 23, 2013 at 3:50pm

Congratulations Dai :)

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service