आचारसंहितालाई बन्धन भन्दा पनि क्षेत्राधिकार निर्धारण भनि वुझ्नुपर्छ-मिरा ढकाल

जन्मथलो स्याङ्जा भएपनि पोखरालाइ कर्मथलो बनाएकी मिरा ढकाल पेशाले गैह्र सरकारी संस्थामा आवद्द छिन् । मिराको परिचय सोसल मिडियामा ब्लगरको रुपमा समेत छ । अँग्रेजी साहित्य र कानुनकी विद्यार्थी मिरा साहित्य र फोटोग्राफी दुवैमा उत्तिकै रुची राख्छिन् । उनले खिचेका राम्रा राम्रा फोटोहरु फ्लिकरमा हेर्न पनि सकिन्छ । यसका अलावा मिराले आफ्नो ब्लगमा साहित्यिक र सामाजिक दुवै सवालमा भावनाहरु अभिब्यक्त गर्छिन् । सोसल मिडियामा आफूलाइ कसरी चिनाउनुहुन्छ भनेर जिज्ञासा राख्दा मिरा भन्छिन- 'म सोसल मिडियामा त छु तर आफूलाइ ब्लगरका रुपमा भने चिनाइसकेको छैन ।' मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै मिरासंग कुराकानी गरेका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले गरेको कुराकानी :


आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

मेरो व्लगको सुरुवातको कहानी अलिक अनौठो छ । एक पटक साथीहरु सहित विहानै शान्ति स्तुपा (पोखराको चर्चित पर्यटकस्थल) गएर फर्किँदा बाटो भुलेर र जुकाले सताएर निकै दु:ख पाएका थियौँ । त्यो अनुभुती, त्यो पिँडा, हराउँदाको डर, बाटो पत्ता लगाउँदाको खुसीलाई त्यसै खेर जान दिन मन लागेन । ति सबै अनुभुति कैद गर्नकै लागि लेखेँ र साथीमाझ बाँड्न ब्लगमा राखेको थिएँ । हाल आएर लेखेका सामग्री थन्क्याउने थलो भएको छ, ब्लग मेरा लागि । 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

जुलाई २००९ देखि ब्लग लेख्न थालेपनि २०१० लगभग शुन्यप्राय: रह्यो । २०१२ देखि यता सक्रियता वढ्दैछ । पहिले वर्डप्रेसबाट ब्लग गर्थेँ, अचेल व्लगस्पटमा पनि राख्छु । 

ब्लगिङ किन गर्नुहुन्छ?

ब्लगिङ आफ्नै सन्तुष्टीका लागि गर्छु । कति कुराहरुमा आफ्नो विचार प्रस्तुत गर्न मन लाग्छ, असहमति जाहेर गर्न मन लाग्छ । यसकै माध्यम बनेको छ ब्लग ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

सबै भन्ने गर्छन्, म अलि बढि संवेदनशिल छु । हो जस्तो पनि लाग्छ, कहिलेकाँही साह्रै साना कुराले पनि गहिरो प्रभाव पार्छ । अनि त्यो प्रभावले मनमा पारेको डोबलाई लेखेर व्लगमा राख्छु । सामाजिक र समसामयिक विषयवस्तुले मेरा व्लगमा प्राथमिकता पाउँछन् ।

तपाईंको ब्लगमा साहित्यका कुराहरु धेरै रहेछन् । किन साहित्यलाइ नै मुख्य बिषयबस्तु बनाउनुभयो?

म साहित्यकै विद्यार्थी भएकोले मेरो लगाव र झुकाव साहित्यतिर नै छ । त्यसका अलावा र्‍यान्डम रिडर्स सोसाइटी नामक संस्थासंग सम्वन्धित छु । जहाँ पुस्तक,  दर्शन र सान्दर्भिक विषयवस्तुउपर परिचर्चा हुन्छ, मासिक रुपमा । प्रत्येक हप्ता नयाँ साहित्यको खोजीमा पुस्तक पसल पुग्ने बानी भइसक्यो, पोखरामा हुने धेरैजसो साहित्यकि कार्यक्रममा सहभागीता जनाउँछु । आफुलाई प्रस्तुत गर्नको लागि उत्तम विधा साहित्य नै लाग्छ, त्यसैले पनि साहित्य मुख्य विषयवस्तु भएको होला ।

साहित्यका ब्लगहरु धेरै नै छन तर धेरैजसो साहित्यिक ब्लगहरु आत्मरतिमै केन्द्रित भएका भनेर सामाजिक संजालमा आलोचना पनि हुन्छ सर्जकको । किन होला?

कुनै पनि लेखकको लागि पहिलो पाठक स्वयं उ आफैँ हो, तसर्थ आफ्नै कथा, आफ्नै वह पोखिनु स्वभाविक नै जस्तो लाग्छ मलाई त । सर्जकका भावनाले कुनै न कुनै रुपमा पाठकसंग सरोकार राखेकै हुन्छन् । लेखकको व्यक्तिगत अवस्थितिको चित्रण र अभिव्यक्ति मात्र भन्दा पनि धेरै पाठकसँग कसरी कुनै साहित्य सृजना पुग्छ भनेर विचार गरिनुपर्छ ।  

साहित्यबाहेक तपाको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?

साहित्य वाहेक समसामयिक विषयवस्तु र सामाजिक चेतना सम्वन्धी विषयले मलाई छुन्छन् । भ्रष्टाचार, दण्डहिनता, हराउँदै गएको जवाफदेहिता र विना कुनै आधार बढाइने बजारभाउ आदि जस्ता विषयवस्तु पनि समेटिन्छन् ।

साहित्यिक अभिव्यक्तिका लागि भाषा बलियो हुनैपर्छ भने लेखाइपनि शिर्जनशिल हुनैपर्छ भनिन्छ । शिर्जनशिल लेखाइ कसरी आउँछ?

पढ्दैमा लेख्ने भइँदैन भन्छन्, साँचो नै जस्तो लाग्छ । तर नपढे त झनै लेखिँदैन जस्तो पो लाग्छ । सृजनशिलता प्रत्येक व्यक्तिमा हुन्छ, तर त्यसलाई मलजल गर्ने, गोडे मात्र सृजनाको बिरुवा झाँगिन्छ, नभए विलाउँछ । सृजनशिल लेखाईको लागि निरन्तरको अभ्यास र अध्ययन जरुरी हुन्छ जस्तो लाग्छ ।

साहित्यका कुरा र शिर्जनशिल लेखाइमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?

भन्छन्  नमरी स्वर्ग पुगिन्न, त्यसरी नै नपढी लेखिँदैन । नलेखी सृजनशिल होइँदैन । व्लग वा अन्य विधा पढौँ, लेख्न प्रयास गरौँ, शिजृनशिलता पक्कै बढ्दै जानेछ । 

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

युवापुस्ताको माझमा ब्लग सक्रियता निकै वढ्दो देखिन्छ । सोसल मिडियालाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको जस्तो लाग्छ । मुलधारका पत्रिकाले पाठक प्रतिक्रियाको रुपमा केहि प्रतिनिधि फेसबुक स्ट्याटस र ट्वीट राख्नु पनि यसको उदाहरण हो ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

पढ्छु ।  अमित रिजाल, उपेन्द्र पौडेल, सुर्य प्रतिक, बाबाजी, ऋचा भट्टराई, लेनिन बञ्जाडे, नारायण अमृत, जनक, अनन्त कोइराला, उज्वल आचार्यको व्लग नियमित रुपमा पढ्छु ।

विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन?

विश्लेषणात्मक ब्लग, सोचपरक ब्लग, सामाजीक चेतना र साहित्यिक ब्लग मेरो लागि प्राथमिकतामा पर्छन ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

ब्लगिङ मात्र नभई प्रत्येक क्षेत्रमा नै आवश्यक छ, आचारसंहिता । आचारसंहिता भन्ने वित्तिकै 'स्वतन्त्रताको समाप्ति' भनी वुझेको जस्तो मान्छु । आचारसंहितालाई बन्धन भन्दा पनि क्षेत्राधिकार निर्धारण भनि वुझ्नुपर्छ । आचारसंहिताको विकास भन्दा पनि परिपालना महत्वपूर्ण पक्ष जस्तो लाग्छ । 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ?

धेरै जसो ब्लगहरुमा आचारसंहिताको पालना भएकै पाएको छु । यदाकदा संहिता पालना नगर्नेहरु पनि भेटिन्छन्, कहिलेकाँही त अझ छ्यापछ्याप्ती भेटिन्छन् ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न !

हालै मैले एउटा ब्लग लेखेको थिएँ, बोक्सी सम्वन्धमा । जुन कान्तिपुरमा छापिएको पनि थियो । लगभग २ हप्ता जस्तो त मलाई साथीहरुले नाम नै बोक्सी राखीदिएका थिए । अर्को घटना चैँ, धेरै साथीहरु आफ्नो घरभेटी देख्नासाथ मेरो कविता याद आउँछ पनि भन्छन् ।

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरुस् ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

पछिल्लो समयमा ट्विटरले निकै तानेको जस्तो लाग्छ मलाई । यहाँको वहस लोभलाग्दो लाग्छ । अनि यहाँ ट्विटरमा परिचित र अपरिचित दुवैसँग कुराकानी हुन्छ । फेसबुकमा भने साथी र पारिवारिक सदस्यको जमघट गर्ने थलो भइसकेको छ । व्लग चाँही अलिक बढि समय दिने, खटेर लेख्नेका लागि हो जस्तो लाग्छ ।  

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

मैले प्रायजसो मेरा साथीहरु र ट्विटरबाट परिचित साथीहरुको व्लग फलो गरेको छु । लगभग धेरै जसो नै सामाजिक हितमा लेखिएको पाउँछु, अपवाद त छँदैछन् । 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?

विर्सिएको वालेट र नयाँ गाडी हो ।

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?

ब्लगिङ गरेर केहि गुमाएको जस्तो लाग्दैन, बरु धेरै पाएको छु । साथीहरु माझ पहिला कुन किताब पढ्यो, कुन लेख पढ्यो भनी गफ हुन्थ्यो, आजकल त लेखाई सम्वन्धी पो गफ हुन्छ ! मेरो सहपाठी, सहकर्मी, र परिवारले लेख्ने उर्जा थपिरहनुहुन्छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता हो त?

ब्लगिङ नागरीक पत्रकारिता नै हो जस्तो लाग्छ । किनकी यहाँ ब्लगरको ईच्छाको आधारमा मात्र ब्लग रहन्छ । न की कसैको दवाव, अनुरोध, प्रभाव वा बाध्यतामा । विभिन्न कारणले गर्दा पत्रकारितामा नअटेका सवालहरु ब्लगिङ मार्फतबाट आएका हुन्छन् ।

अन्त्यमा,

मेरोरिर्पोटले साप्ताहिक रुपमा कुरा गर्ने स्तम्भ 'साताका ब्लगर'बाट मैले धेरै मित्रहरुको व्लग पढ्ने मौका पाएको छु । मेरोरिर्पोटले व्लगिङलाई उत्साहप्रद वनाएको छ । आगामी दिनमा अँझै धेरै व्लगरहरु मेरो रिर्पोटमा समेटिनेछन् र पढ्न पाइनेछ भन्ने आशा छ । व्लगरलाई स्पेस दिने मेरो रिर्पोटको काम प्रशंसनिय छ । अवसरको लागि मेरोरिपोर्ट टिमलाई धन्यवाद । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Mira Dhakal on May 27, 2013 at 4:56pm

Thank you all for taking your time to go through this. Thanks for your likes, views, suggestions and inspiration :-)

Comment by Lava Kafle on May 26, 2013 at 8:54am

wowowow

Comment by Ram Kumar D.C. on May 24, 2013 at 10:46pm

good idea.

Comment by Prakash Lamichhane on May 24, 2013 at 12:19pm

तपाँइको ब्लग पढ्न पाइयोस अरु पनि । :) शुभकामना । 

Comment by Ananta Koirala on May 23, 2013 at 11:12am

Congratulations !!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service