साताको ब्लगरः लेनिन बन्जाडे

लेनिन बन्जाडे मुलतः पत्रकार हुन् । तर उनको पछिल्लो परिचय ब्लगर र त्यो भन्दा पनि बढी 'मकै' शीर्षकको सँस्मरणात्मक निबन्धका लेखकको रुपमा बन्दै गैरहेको छ । आजै प्रकाशित हिमाल पाक्षिकमा पनि उनको 'फिलिम' शीर्षकको कथा प्रकाशित भएको छ । ट्वीटरमा (र फेसबुकमा पनि) भने उनको परिचय काठमाडौँका घरबेटी र अहिलेका उपप्रधानमन्त्री बिजय गच्छेदारका सर्वकालिक आलोचकका रुपमा पनि बनेको छ । उनीसँग 'मकै' निबन्धको श्रृजना गर्भ र अन्य थुप्रै विषयमा मेरोरिपोर्टका लागि इन्द्रध्वज क्षेत्रीले कुराकानी गरेका छन्:

 

पत्रकारिता र ब्लगिङको यात्रा

तपाइँ त मुलधारको पत्रकारिता पनि गर्नुहुन्छ, ब्लगिङको आवश्यकता किन पर्यो ?

मूलधारे पत्रकारितामा केही लक्ष्मणरेखा हुन्छन् । केही सीमितता हुन्छन्- कहीँ लगानीकर्ताको, कहीँ सम्पादकको र कहीँ पाठकको । ब्लगिङको अन्तर्य पत्रकारितासँग जोडिएको छैन र यी फरक विधा हुन् । म ब्लगिङ गर्छु, यसको अर्थ हो- म मूलधारे पत्रकारितामा आफूलाई खन्याउन सक्दिनँ । कतिपय अवस्थामा मूलधारे ठूला पत्रिकाहरूले मलाई 'स्पेस' पनि दिँदैनन् ।

पत्रकारितामा आफ्नो करिअर हिस्ट्री बताइदिनुस् न ।

पत्रकारिता सुरूमा बिघ्न रहर थियो । यसमा छिर्नु पनि एकखालको सपनाजस्तै थियो । मान्छेहरूले हरेक बिहान पढ्ने पत्रिकामा आफ्नो नाम पनि छापियोस् र उनीहरूले मलाई चिनेर धाप मारून् भन्ने उत्कट चाहना हुन्थ्यो । प्रेसमा काम गर्ने अथाह रूचिकै कारण एकपटक बुटवलबाट निस्कने 'लुम्बिनी' दिनभरि हातमा समाएर बेचें पनि :) । दाङबाट साप्ताहिक रूपमा निस्कने 'युगबोध'को कार्यालयमा हरेक मंगलबार जान्थें र पत्रिका पट्याउन सघाउँथें । म किन यसो गर्थें, उनीहरूले कहिल्यै बुझेनन् । मलाई पैसा कमाउनु थिएन, भर्खर प्रेसबाट छापिएर आउने पत्रिकाको बासना अचम्म लाग्दो मीठो लाग्थ्यो ।

दाङले पत्रकारिता र साहित्यमा एकखाले इतिहास बनाएको छ र त्यहाँ पढ्ने संस्कार पनि छ । म पनि पढ्थें । 'युगबोध' र 'गाउँघर' पत्रिका साप्ताहिक रूपमा निस्कन्थे, म सानातिना फुटकर समाचार पठाउँथें । साहित्यमा पनि सानैदेखि रूचि हो, लेख्थें र छाप्थें पनि । राजधानीबाट निस्किने 'नवयुवा', 'नवप्रतिभा', 'विमोचन', 'सारथि' पढ्न र तिन्मा लेख्न कहिल्यै छुटाइनँ । दाङमा हरेक शनिबारजसो हुने साहित्यिक कार्यक्रममा पनि भ्याएसम्म कहिल्यै छुटाइनँ । कारण- कविता, मुक्तक, गजल वाचन गर्ने सबैको नाम अर्को दिन युगबोधमा छापिन्थ्यो, त्यसको कतै कुनामा मेरो पनि हुन्थ्यो । अनि म हर्षले उफ्रिन्थें ।

मैले युगबोधमा निःस्वार्थ सहयोग गरिराखें, नाम छाप्ने रहरले । एसएलसी दिँदासम्म मैले धेरै बाइलाइन पाइसकेको थिएँ । र, एसएलसी सकेको महिना नपुग्दै 'युगबोध'ले औपचारिक रूपमा जागिरमा बोलायो । यो मेरो पत्रकारिताको सुरूवात थियो :) । त्यसपछि एटलस साइकलमा करिब ७ वर्ष दौडिएँ समाचार खोज्न ।

अनि ब्लगिङ कसरी सुरु गर्नुभयो?

युगबोधमा छिर्नु मेरो जीवनको एउटा फड्को थियो । त्यो एउटा त्यस्तो प्लेटफर्म थियो, जसलाई टेकेर म शिखर पुग्न सक्थें- सपनाको शिखर । समाचार संकलन, लेखन, सम्पादन, डिजाइनदेखि त्यससँग जोडिएका हरेक प्रविधि र प्रयोगहरूबारे नजिकबाट बुझ्नसक्थें । र, अर्को महत्वपूर्ण पक्ष थियो- इन्टरनेटसँगको सामीप्यता । त्यतिबेला नेपालगन्जको लाइनबाट डायलअप इन्टरनरनेट चल्थ्यो, मैले त्यसको भरपूर उपयोग गरें ।

हरेक शनिबार म युगबोधमा केही साहित्यिक चिज लेख्थें, निबन्ध र अनुभूति बढी चासोको विषय थियो । त्यतिबेला नेपालमा भर्खर-भर्खर ब्लगिङको अभ्यास हुँदै थियो । म मिडियामै भएकाले यसको विकासबारे अनभिज्ञ थिइनँ र त्यही रहरमा मैले पनि ब्लग बनाएको थिएँ । शनिबार युगबोधमा छापिने हरेक साहित्यिक रचनालाई ब्लगमा राख्थें । इन्टरनेटको असुविधाका कारण मेरो ब्लग सीमित पाठकले हेर्थे । त्यतिबेला ब्लगको प्रचार पनि सम्भव थिएन, किनकि सामाजिक सञ्जाल थिएनन् । लेख/रचनाको पुछारमा साना अक्षरमा ब्लगको यूआरएल राखेर पनि प्रचार गरियो कहिलेकाहीँ :D

'मकै' अघि र पछि

'मकै' भन्ने ब्लगले एक्कासि तपाइँलाई लोकप्रिय बनायो । लेख्नुअघि त्यस्तो लागेको थियो ?

'मकै' हरेक सपनाजीवीको साझा कथा हो । विदेश उड्ने सपना बोकेर काठमाडौं छिर्ने हरेक गरिबको आफ्नो कथा हो र यसको पृष्ठभूमिमा हरेकले आफूलाई पाउँछ । 'मकै'ले चर्चा पाउनुमा त्यही अनुभूतिले भूमिका खेलेको हो । बिरानो काठमाडौं सहर र बिराना मान्छेको बीचमा सपना फिँजाउने त्यस्ता असंख्य एक्ला 'गरिब'हरूको कथा भएकैले यसले सोचेभन्दा बढी चर्चा पायो, त्यसले मलाई सन्तोषी बनायो । तर 'मकै' लेख्नुअघि मैले योबिघ्न चर्चाको आशा र परिकल्पना गरेको थिइनँ ।

के मकैको सफलताले थप साहित्य लेखनतर्फ पनि आकर्षित गर्यो?

लेख्न त मैले पहिलेदेखि नै लेख्थेँ । पत्रिकामा समाचार छापिनुअघि मेरा कविता छापिए । यसमा दुइटा कारण थिए- एक त साहित्य मेरो रूचि हो, दोस्रो- कविता भनेकै भरमा पत्रिकामा नाम छापिन्थ्यो त्यतिबेला :D मैले दुवै अवसर उपयोग गरें । ८ कक्षामा पढ्दाताका नै स्थानीय पत्रिकामा मेरा नाम धेरैपटक 'कम्पोज' भइसकेका थिए । पत्रिकाप्रतिको उत्कट आकर्षणले गर्दा पनि मलाई साहित्य लेख्न ऊर्जा मिलेको थियो । यो क्रम ०६२ सालसम्म निरन्तर चल्यो ।

दाङमा हुँदा हरेक शनिबार मेरो एउटा कोलम छापिन्थ्यो, औपन्यासिक कथावस्तुमा । करिब २० वटा शृंखलापछि म अध्ययनका लागि काठमाडौं छिरेँ । ७ वर्षजति लेखन सुस्तायो । ७ वर्षअघिका केही रचना अहिले पनि ब्लगमा सुरक्षित छन् । अहिले 'मकै'बाट चाहिँ कमब्याक गरेको हुँ :)) । 'मकै'ले आकर्षित होइन कि अरू लेख्ने ऊर्जा र उत्साह दिएको छ ।

 

पत्रकारिता छाडेर साहित्यतिरै लागौँ भन्ने विचार त आएको छैन ?

पत्रकारिता मेरो मूल पेसा हो, यसले मलाई साँझ र बिहान पेट पाल्न सक्षम बनाएको छ । साहित्य अहिलेसम्म मेरो रूचि हो । साहित्य लेखेर पेट पाल्छु भन्ने चेत अझै आइसकेको छैन । समयक्रममा म बिकाउ बन्दै गएँ भने र लेखेरै पनि यो महँगी थेग्न सक्ने भएँ भने त्यो मेरो करिअरको अर्को पाटो हुनेछ ।

तपाइँ उपन्यास लेख्दै हुनुहन्छ भन्ने हल्ला पनि छ बजारमा ? हामीले कहिले पढ्न पाउँछौँ ?

'मकै'सँगै उपन्यासको पनि चर्चा चल्यो । खासगरी यो विषयमा अनेक हाँगाबिँगा जोडेर उपन्यास बनाउन सकिन्छ भन्ने धेरैबाट सल्लाह/सुझाव पाएँ । 'मकै'को धरातलसँग जोडिएका सामाजिक-आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक अवयवहरूलाई उन्दै जाँदा यसले उपन्यासको आकार लिनसक्ने सम्भावना देखें पनि । मलाई औपन्यासिक चेतबारे अझै केही अध्ययन जरूरी छ र म अहिले प्रारम्भिक अध्ययनकै क्रममा छु । कतिपय विषयवस्तु मनोविज्ञान र चिकित्सकीय क्षेत्रसँग पनि जोडिएकाले म अहिले त्यसमा बढी केन्द्रित छु ।

फिलिम खेल्ने?!

केही साथीहरु के पनि भन्छन् भने तपाइँले एउटा फिलिमको लागि पनि कथा लेख्दै हुनुहुन्छ रे । र त्यसको हिरो पनि आफैं हुन खोज्दै हुनुहुन्छ रे । यसबारे सत्य कुरा के हो?

हाहाहा, तपाईंलाई कसले उल्क्याइदिएछ । हिरो हुने रहर त हो तर हाइटले मार खाएँ (धेरैबेरसम्म हाँसोः हाहाहाहा) :D अभिनय मेरो विषय होइन ।

राम्रो लेख्न सकें र पटकथा जोड्न सकें भने उपन्यास नभएर फिल्म पनि बन्नसक्छ, त्यो अर्को पाटो हो । फिल्मभन्दा पनि मलाई 'डकुफिक्सन'ले बढी तानेको छ । उपन्यासको अन्त्य जहाँनेरबाट हुन्छ, त्यहीँनेरबाट विकसित घटनाक्रमलाई लिएर डकुफिक्सन बनाउने योजना भने छ ।

मेरो अहिलेसम्म जीवनको आधा उमेरमा फिल्मले धेरै प्रभाव पारेको छ । एउटा फिल्म हेर्न मैले केसम्म गर्थें भनेर एउटा सानो संस्मरण लेखेको छु, भरे भोलिमा त्यो पनि ब्लगमा राख्छु ।

तपाइँको अभिनयतर्फ रुचि भएको कुरा त सत्य हो नि ?

होइन । अभिनय मेरो विषय र रूचि दुवै होइन ।  म अन्तर्मुखी स्वभावको मान्छे हुँ, म छिटो अरूसामु खुल्दिनँ । म माइकदेखि त डराउँछु ! :)

तपाइँको अहिलेको परिचय के हो? ब्लगर, पत्रकार, साहित्यकार, कलाकार वा 'मकै' लेखक?

साहित्यबाट सुरू गरेर पत्रकारितामा आएँ र त्यो प्लेटफर्म उपयोग गरेर ब्लग लेखें अनि 'मकै' जन्मियो । कलाकारितासँग मेरो सिंगो वंशको साइनो छैन ।

साँच्चिकै कोरियाको भिसा लागेको भए जिन्दगीमा के फरक पर्थ्यो होला?

कोरियाको भिसा लागेको भए म यसपालि दसैंमा अलि धेरै पैसा बोकेर घर फर्किन्थें हुँला, हातमा ठेला पर्थे होला, दुई-तीन वर्षमा एकपटक नेपाल टेक्थें होला, ट्विटर/फेसबुकमा देशको उत्कट माया पोख्थें हुँला, हरेक हप्ता फोन गर्दा आमा सुँक्कसुँक्क गर्थिन् होला । मुख्य कुरा- कोरिया गएको भए श्रीमती (प्रज्ञा)सँग भेट हुँदैनथ्यो :P

भावी योजना

अब जिन्दगीका योजना के छन् ?

हामी मध्यमवर्गीय मान्छेका ठुल्ठुला योजना हुँदैनन् । मसँग पनि अबका एक-डेढ वर्षमा उपन्यास लेख्छु भन्नुभन्दा ठूला योजना केही छैनन् ।

केही डोज उपदेश

राम्रो लेखनका लागि नयाँ/पुराना सिकारुहरुलाई के सल्लाह र सुझाव दिनुहुन्छ ?

राम्रो लेख्ने कला जन्मजात प्राप्त हुने होइन, सिक्दै जाने कुरा हो । राम्रा पाठक हुन नसक्नेहरू कहिल्यै राम्रा लेखक हुँदैनन्, त्यसैले हरेक साहित्य पढ्नुपर्छ । अध्ययनबिनाको लेखनी त स्क्रिप्टबिनाको फिल्मजस्तो हो । सकेसम्म धेरै पढौं, मन्थन गरौं र आफ्नै शैली विकास गरौं ।

 

हालसम्म फिचर भएका साताका ब्लगरहरु 

 

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।  

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Lenin Banjade on October 30, 2012 at 1:13am

सबैलाई धेरैधेरै धन्यवाद :))

Comment by Rahul Vista on October 21, 2012 at 12:24am

padher derai khusi lagyo :) yekadam saral sidha sada antarbarta :) jiban ma dherai safalta paun ajh baki nai cha ---nirantar yeserai nai safalta tir ti paila badhi rahun  dherai subhkamna cha :)

Comment by sabita Acharya on October 18, 2012 at 4:28pm

kati majja ko kura kani......patak patak padhana man lagne......badhai 6 tapae lai

Comment by Indra Dhoj Kshetri on October 18, 2012 at 3:34pm

Smooth Heart, we have embedded his blog link. If you could not get, it's here: http://lendaai.wordpress.com/

Comment by Smooth Heart on October 18, 2012 at 12:44pm

Can we get his Blog's URL ? 

amt congrats Lenin brother.

Comment by Dilli Malla on October 18, 2012 at 8:53am

मान्छेहरूले हरेक बिहान पढ्ने पत्रिकामा आफ्नो नाम पनि छापियोस् र उनीहरूले मलाई चिनेर धाप मारून् भन्ने उत्कट चाहना हुन्थ्यो ।....रमाइलो, गहकिलो र मन छुने कुराकानी । लेख्न त सिपालु थिए, थिए– कुराकानीमा पनि खप्पिस रै’छन् यी त । any way बधाई छ, साताको ब्लगर भएकोमा लेनिन जी ।

Comment by Luna Bhattarai on October 17, 2012 at 3:49pm

congrats :)

Comment by pawan neupane on October 17, 2012 at 2:57pm

hardik badai @lendaai 

Comment by Kranti Darai on October 17, 2012 at 2:45pm

अन्तरवार्ताले व्यक्तिको स्वभाव झल्काउँछ भन्थे हो रहेछ, अन्तरवार्ता निकैनै उत्कृष्ट लाग्यो दाजु तपाइ जस्तै । वधाइ छ । 

Comment by Binaya Shekhar on October 17, 2012 at 2:44pm

Congratulations to Bhatij. 

Comment by Ananta Koirala on October 17, 2012 at 12:41pm

यही अन्तर्वार्ता पनि 'मकै'को दोस्रो संस्करण जस्तै लाग्दो रै'छ :)) बधाइ तथा शुभकामना लेन्दाइ ::))

Comment by Lenin Banjade on October 17, 2012 at 12:37pm

Thank you very much :))

Comment by Ajeeta Sigdel on October 17, 2012 at 12:34pm

Congratulations. 

Comment by Prakash Lamichhane on October 17, 2012 at 12:28pm

बधाइ छ दारीजी । बडो शानदार अन्तरवार्ता । खासगरी "हामी मध्यमवर्गीय मान्छेका ठुल्ठुला योजना हुँदैनन् ।" यो वाक्य यो अन्तर्वार्ताको बाइट अफ दि विक । :P

Comment by sabinsingh on October 17, 2012 at 12:19pm

बधाई छ लेन्दाई । यि हुन् असली ब्लगर अफ द विक...:) लेन्दाईको अन्तरवार्तामा वर्णविन्यास तथा Typo error सुहाएन । तुरन्तै सच्याईयोस् :)

Comment by Pagal Basti on October 17, 2012 at 12:11pm

बधाइ एबं शुभकामना

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service