पत्रिकाजस्तै चलाउँछु भन्ने सोचले ब्लग चलाएको होइन-खेमराज गाउँले

खेमराज गाउँले रोल्पा जिल्लाको लिबाङमा बसोबास गर्छन् तर उनको घर भने रोल्पा सदरमुकाम लिबाङदेखि पुर्वतिरको खुमेल भन्ने गाउँमा पर्छ । हाल लिबाङमै रहेको जलजला बहुमुखी क्याम्पसमा बीएड तेस्रो वर्षमा पढ्दैगरेका खेमराज भन्छन्-'अन्य पेशाको रूपमा केही छैन।' तिनवर्ष स्थानिय रेडियो रोल्पामा काम गर्नुका साथै दुईवर्ष जलजला पोष्‍ट साप्ताहिकमा काम गरेको अनुभव संगालेका खेमराजका निम्ति पत्रकारिता रूचिको विषय हो रे तर पनि उनी 'अहिले कतै जोडिन सकेको छैन' भन्छन् । पत्रकारितासंगै उनको अर्को रुचिको बिषय भनेको साहित्य पनि हो । 'जिल्लामा भएका साहित्यिक कार्यक्रमहरू लुखुरलुखुर हिंडिरहन्छु'-खेमराज भन्छन् । पत्रकारिता र साहित्यप्रतिको रुचीलाई भोग्न अनि पत्रकारका रुपमा कतै जोडिन नसक्दाको भोक मार्न होला सायद उनले रोल्पामै बसेर ब्लगिङ पनि गरेरहेका छन् 'गाउँले मन' नाममा ।  मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै गाउँले मन लिएर रोल्पा जिल्लाको एउटा गाउँ खुमेलबाट सदरमुकाम लिबाङमा भौँतारिँदै गरेका खेमराज गाउँलेलाई उभ्याएका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा तपाँईले आफ्नो नाम खेमराजसंगै नामको पछाडी 'गाउँले' भनेर पनि चिनाउन खोज्नुभएको छ । किन यो नाम राख्नुभएको? केही बताउन मिल्छ?

उसो त सोसल मिडियामा खासगरी ट्विटरमा धेरै साथीहरू फरक नामले परिचित हुनुहुन्छ । तर मैले खेमराज गाउँलेकै रूपमा खाता खोली चलाइलहेकै छु । गाउँले मान्छे¸  उसैमाथि लप्पनछप्पन नजान्ने परिएछ । सुरूमा गाउँले नाम ख्यालख्यालै राखियो । अहिले सबैले गाउँले भनेर चिन्न थालेपछि फाल्न सकिएको छैन । अहिले त गाउँले नै प्यारो लाग्छ मलाई ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या पत्रकारका रुपमा?

म ब्लगर नै हुँ जस्तो लाग्छ ।

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न । यो बिशुद्द ब्लग हो या पत्रकारिताको प्लेटफर्म पनि?

म इन्टरनेटमा छिरेदेखि नै ब्लग चलाउन थालेको हुँ । गाउँलेमन डट ब्लगस्पट डटकम मैले सुरुदेखि चलाउँदै आएको ब्लग हो । यसमा कुनै कुनै समयमा समाचारहरू पनि राख्ने गरेको छु । त्यसैले यो ब्लग बिशुद्ध ब्लग नभई पत्रकारिताको प्लेटफर्मजस्तै पनि छ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

मैले २०६५ सालदखि नै ब्लगिङ सुरु गरें, पत्रकारितासँगसँगै । सुरुमा मैले फेसबुक खोलें । त्यससँगसँगै ब्लग पनि खोले । http://gaunleman.blogspot.com का साथसाथै https://listenrolpa.blogspot.com पनि चलाउँछु ।

ब्लगिङ किन गर्नुहुन्छ?

सुरुमा रहरै रहमा ब्लगिङ सुरु गरियो । चलाउँदै जाँदा जिम्मेवारी पनि थपिने रहेछ । समाजको लागि केही गर्नुपर्छ भन्ने सोचमा छु । तर गर्न सकिएको छैन ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन ?

मैले मेरो ब्लगमा थोरै मात्रामा समाचारहरू राखेको छु । बढी त मेरा सिर्जनाहरू छन् । विशेषगरी साहित्यिक विषयवस्तुले नै प्राथमिकता पाएका छन् मेरा ब्लगमा ।

तपाईंको ब्लगमा समसामियक समाचार, सुचनामुलक सामग्री र साहित्यका कुराहरु पनि रहेछन् । किन यसरी 'खिचडी ब्लग' बनाउनुभयो? कतै आफु पत्रकारिता पृष्ठभुमिको भएकोले यसलाई पनि पत्रिकाको रुप दिन खोज्नुभएको त हैन?

सुरूमा ब्लग खोल्दा फरक फरक विषयवस्तुका फरकफरक ब्लग चलाउनु पर्‍यो भनेर सोचें । धेरै ब्लगहरू चलाउँदा समय पनि धेरै खर्च हुन्छ जस्तो लाग्यो । धेरै ब्लगहरु चलाउँदा पाठकहरु पनि बाँडिन्छन् कि भन्ने लाग्यो । त्यसैले सबै विषयवस्तु एउटै ब्लगमा राखें । यसरी चलाउँदै जाँदा पत्रिकाजस्तै भएको हो । पत्रिकाजस्तै चलाउँछु भन्ने सोचले ब्लग चलाएको होइन । पछिल्लो समयमा http://listenrolpa.blogspot.com चलाउन थालें । यसमा रोल्पाका गीतसंगीत र रेडियो कार्यक्रमहरू राख्ने प्रयास गरेको छु ।

ब्लगहरु धेरै नै पाइन्छन तर धेरैजसो ब्लगहरु कुनै एक बिषयमा केन्द्रित हुन्छन् । जस्तो साहित्यिक, समसामयिक, बिचारमुलक, हाँस्य प्रधान या छद्म भाषामा लेखिने खालका । तर यहाँले अखबारजस्तै बिभिन्न सेग्मेन्टहरु राखेर ब्लगिङ गरिरहनुभएको छ । किन होला ?

अघि भनेझैँ मेरा ब्लगका पाठकहरु नबाँडियून भनेर नै यसो गरेको हुँ ।

पत्रकारले झैँ सुचना र समाचार बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?

साहित्यको विकासका लागि केही गर्नुपर्छ भन्ने सोच छ । विशेषगरी रोल्पाको साहित्यलाई विश्‍वमाझ पुर्‍याउन अथवा रोल्पाको साहित्यलाई प्रचारप्रसार गर्नुपर्छ भन्ने मेरो सोच हो ।

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

मान्छेहरूले सजिलो बाटो मात्रै रोजेका छन् । अधिकांश युवाहरु फेसबुक र ट्विटरमै अलमलिएका छन् । थोरै युवाहरू मात्रै ब्लगतिर लागेका छन् । तैपनि नेपाली ब्लग निकै अगाडि बढिरहेको छ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

नियमित रूपमा नपढे पनि अरूको ब्लग पढ्छु । आफ्नै गाउँठाउँका साथीहरू ब्लगहरु धेरै हेर्छु । प्रायः हटारु¸ चिन्तन चौतारी¸ सुमन मञ्जरी  लगायतका ब्लगहरु पढ्छु । फेसबुक र ट्विटरका टाइलाइनमा बाँडिएका लिङ्कहरू समय मिलेसम्म खोलेर पढ्छु ।

नेपाली ब्लगरहरुले उठाउन छुटाएको कुनै सवाल देख्नुभएको छ?

इन्टरनेटको पहुँच गाउँगाउँमा पुग्न सकेको छैन । त्यसैले ग्रामीण क्षेत्रका अधिकांश कुराहरू¸ विषयवस्तुहरू अझै बाहिर आउन सकेका छैनन् ।

रोजाईका हिसाबले विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?

ब्लगमा मैले धेरैजसो समय सिर्जनाहरू पढ्ने गरेको छु । यसकारण साहित्यिक विषयवस्तुहरू समेटिएका ब्लगहरू मेरो रोजाइमा पर्छन् ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

ब्लगरहरूले आफूखुसी ब्लगिङ गरिरहेका छन् । जस्तो पायो उस्तै ब्लगिङ गर्ने प्रचलन छ । आफूखुसीले गर्दा अरूलाई नराम्रो हुन पनि सक्छ । त्यसैले ब्लगिङका लागि आचारसंहिता अनिवार्य छ ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ?

धेरैले आचारसंहिताको पालना गर्नुभएकै पाएको छु । थोरै छन् आचारसंहिता उल्लेख गर्नेहरु । तिनीहरू पनि नबुझेर गरेका होलान् जस्तै लाग्छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

मैले केही समय अघि मात्रै 'पूर्वी रोल्पाको एक मात्र रेडियो’ शीर्षकमा लघुकथाजस्तै लेख राखेको थिएँ । धेरै साथीहरूले फोनमार्फत् बधाई तथा शुभकामना दिए । लेख लेखेकोमा हैन¸ रेडियो खोलेकोमा । सबै साथीहरूलाई त्यो लेख सबै पढ्न लगाएँ । पछि थाहा भयो उनीहरूलाई कथा रहेछ भनेर अहिले साथीहरुले मलाई ´रेडियो चौरपानी’को स्टेशन म्यानेजर भनेर जिक्याउँछन् । पछि पत्रिकाले पनि छाप्यो । मलाई पनि रमाइलो लाग्छ ।

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु: ब्लग,  ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

ब्लग¸ ट्विटर र फेसबुकका आआफ्नै विशेषता छन् । ट्विटरमा गफिन मजा¸ फेसबुकमा मनका कुरा पोख्न मजा¸  ब्लगमा विचारहरू राख्न मजा ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?  

सबैजसो ब्लगहरु सामाजिक हितमा नै लेखिएको पाएको छु ।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?

पछिल्लो समयमा पूर्वी रोल्पाको एकमात्र रेडियो नै धेरैले हेरे ।

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ ?

ब्लगिङ गरेर मैले सारा संसार पाएको छु । सारा साथीहरु भेटाएको छु । परिचय भएको छ । यसैले मलाई चिनाएको छ । तर पनि मैले धेरै समय यसलाई दिनुपर्छ । त्यसैले समय मात्रै गुमाएको छु ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

भन्नलाई ब्लगिङलाई नागरिक पत्रकारिता भनिएको पाइन्छ । तर पत्रकारिता क्षेत्रमा नागरिक पत्रकारिता भन्ने कतै उल्लेख छैन जस्तो लाग्छ । तर ब्लगिङको प्रभावकारिता भने दिनप्रतिदिन बढ्दै गएको छ ।

अन्त्यमा,

मेरोरिपोर्ट नियमित रूपमा पढ्छु ।  यसमा मेरो पनि खाता छ । तर नियमित चलाउन सकिएको छैन ।    

सोसल मिडियामा खेमराज गाउँले

मेरोरिपोर्ट: http://meroreport.net/profile/KhemrajGaunle

फेसबुक : www.facebook.com/gaunleman

ट्विटर :  www.twitter.com/khemrajgaunle ;

ब्लग :   www.gaunleman.blogspot.com

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kashiram Dangi on February 2, 2015 at 3:12pm

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service