सुरुसुरुको डायरीमा लेख्ने बानी सन् २०१० देखि ब्लग गर्ने बानीको रुपमा विकसित भयो-कञ्चन ओझा

आफूलाइ 'कञ्चनपुरको कञ्चन' भन्दै परिचित गराउन चाहने कञ्चन ओझा बातावरण विज्ञान विषयको अध्ययन पश्चात हाल संरक्षण कै क्षेत्रमा काम गर्दैछिन् । घुम्न निकै मन पराउने कञ्चन ब्लगिङमा पनि उत्तिकै रुची राख्छिन् र आफ्नो ब्लग 'यूरेका'मा आफ्ना अनुभुतिहरुलाइ शब्दमार्फत पस्किन रुचाउँछिन् । कार्यक्षेत्रको माग तथा कामले गर्दा पनि घुमिरहनुपर्ने भएकोले मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरका लागि कुराकानी गर्दापनि उनी कामका निम्ति धनगढीतिर खटिइरहेको हुनाले 'भनेकै समयमा सवालजवाफ गर्न सकिँदैन कि' भन्दैथिइन् । तथापी यूरेकामा धेरैजसो अँग्रेजी र यदाकदा नेपालीमा ब्लगिङ गर्ने कञ्चन ओझालाइ यसपालीको साताका ब्लगर स्तम्भमा उभ्याउन हामी सफल भएका छौँ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानी :  

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?
सोसल मिडियामा मलाई कञ्चन मात्रै भनेर चिन्दा पुग्छ। :-) ब्लग, म मिलेसम्म लेखिराखेको हुन्छु र यसले मलाइ एउटा छुट्टै पहिचान पनि दिएको छ । ब्लगरका रुपमा चिनिँदा खुसी नै लाग्छ ।

  

तपाँइको ब्लग http://kanchan-ojha.blogspot.com/ मात्रै कि अरु पनि छन?

मैले Wordpress र Tumbler मा पनि ब्लगिङ गरिराखेको हुन्छु । Wordpress मा म अनियमित भए तापनि Tumbler मा मैले नियमित जस्तो केही पोष्ट गरिराखेकै हुन्छु । त्यस्तै मेरा कविताहरु मैले WritersCafe मा नियमित रुपमा पोष्ट गरिराखेको हुन्छु ।

तपाँइको ब्लगको नाम Eureka किन?
Archimedes ले प्रयोग गरेको त्यो शब्द मलाइ निकै मन परेर र आफुलाई एक्स्प्रेस गर्न पाउनुको खुसी नि ! :-)

तपाँइको ब्लगमा एकाध नेपाली बाहेक अँग्रेजी भाषामा लेखिएका ब्लगपोष्टहरु धेरै रहेछन् । खासमा यहाँको ब्लगिङको रुची के हो? भाषा तथा लेख्ने बिषयबस्तु दुबैका बारेमा भन्नुपर्दा?

मैले यस्तै 'विशेषधार'मा लेख्छु भन्ने छैन । जुनबेला जस्तो तरिकाले मनमा केही लेख्न आउँछ, लेखिहाल्छु । कुनैबेला वर्तमान परिवेश, कुनैबेला मनमा लागेका केही कुराकै सेरोफेरोमा मेरो लेखाइ अगाडि बढ्दछ। भाषागत रुपमा भन्नुपर्दा चाँही अङ्ग्रेजीमा लेख्दा चाँढो आउने भएर पनि होला र नेपालीको टाइपिङ्ले पनि मलाइ दु:ख दिने कारणले हो म नेपालीमा त्यति साह्रो लेखिराख्दिन ।  

 

अँग्रेजी भाषाको ब्लगका पाठकहरु को हुन्? अर्थात यहाँले कसलाइ लक्षित गरेर लेख्ने गर्नुहुन्छ?

मैले लेख्ने हो, अब फलानोलाई नै मनपर्छ भनी भन्न त सक्दिन तर मेरो ब्लग नियमित पढ्नुहुने साथीहरुले सल्लाह सुझाव दिएर यस्तो गर भन्नुहुन्छ ।

 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी या किन ब्लगिङ सुरु गर्नुभयो?

सुरुसुरुको डायरीमा लेख्ने बानी सन् २०१० तिर देखि ब्लग गर्ने बानीको रुपमा विकसित भयो । मेरो साथी सुमनले ब्लगको विषयमा कुरा गर्दागर्दै र उसैको ब्लगहरु पढ्दापढ्दै म ब्लगिङ् प्रति आकर्षित भएकी हु ।

 

केका लागि ब्लगिङ गर्नुहुन्छ?

लेख्न मनपर्छ मलाई । लेखेर भनेको कुराले निकै आत्मसन्तोष प्रदान गर्छ भन्नुपर्दा त्यहि भएर नै ब्लगिङ गर्छु ।

 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

लेखाइलाइ प्राथमिकताको आधारमा त त्यसरी छुट्ट्याएको छैन मैले तर मनमा आएको कुरा, केहि पढेको कुरा, केहि आफुले भोगेको कुरा, केहि वरिपरि भै राखेका कुरा माझ नै मेरो लेखाइ घुम्दछ ।

 

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त गाह्रो छ नि है?

वास्तवमै गाह्रो छ नि ! नियमित रुपमा लेख्नु भनेको साह्रै गाह्रो काम हो । मैले कतिपय लेख्न खोजेका लेखहरु त्यत्तिकै ड्राफ्टमा नै थन्किएर बसेका छन् राम्रो अन्त्य नपाएर । :-) तर फेरि कहिलेकाँही यस्तो लेख्न फुर्छ कि, हातलाइ रोक्नै सकिँदैन ।

 

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो?

मलाइ लेख्न बाहेक पढ्न मनपर्छ । मिलेसम्म विभिन्न किताब/लेखहरु पढ्ने कोशिश गर्छु । लेखाइको यो संसार नै मनपर्छ त्यही भएर ट्विट गर्न पनि मनपर्छ । मौका मिलेसम्म कुनै नयाँ ठाँउ घुम्ने चान्स पनि छोड्दिन । 

 

तपाँइ सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ?

सोसल मिडियाले वास्तवमा नै हामीलाइ आफुलाइ एक्स्प्रेस गर्न निकै सहज वातावरण बनाइदिएको छ । वाक स्वतन्त्रता छ, आफुखुसी प्रयोग गर्न पनि पाइएको छ र सोसल मिडियाले गर्दा नै कुनै कुनै राम्रो कामहरुको लागि अभियान नै सुरुवात गरिएको देख्दा खुसी लाग्छ । नेपाल युनाइट्स वा अकुपाइ बालुवाटार को अभियान किन न होस्, वा टिएफसी नेपालले गर्ने सामाजिक कार्य होस् अथवा अनुराधा कोइराला र पुष्पा बस्नेतलाइ सिएनएन हिरो बनाउन नै किन नहोस्, यी सबै सोसल मिडियाले हामीलाई दिएको साथका देन हुन् ।

 

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ? सदुपयोग या दुरुपयोग?
नेपाली ब्लगरहरुको राम्रै जमात देखेको छु मैले । वास्तवमा लेखकहरुलाइ आफुलाइ एक्स्प्रेस गर्न राम्रो थलोको रुपमा विकसित हुन सफल भएको छ ब्लगिङ र जुन किसिमका ब्लगहरु पढ्न पाइराखिएको हुन्छ त्यो हेर्दा लाग्छ सदुपयोग राम्रै भाको छ ब्लगको ।

 

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ? प्राय: पढने ब्लगहरु?

म अरुको ब्लगहरु पनि मिलेसम्म पढिराख्छु। शब्दहरुले मलाइ जहिले नि बाधेर राख्छन् । J मैले फलो गर्ने ब्लग पनि धेरै छन् । मेरो साथी @blithes ले लेख्ने ब्लग म निकै चाखका साथ पढ्छु, त्यस्तै @aakarpost बाट मैले ब्लगिङ् गर्ने बारे धेरै कुरा सिकेको छु । त्यस्तै @beeshalll ले एवरनोटमा लेख्नुहुन्छ त्यो पनि निकै राम्रो लाग्छ । साथसाथै ट्विटरमा पोष्ट हुने ब्लगहरु पनि पढ्न भ्याउँछु । @lendaai @been_gr @somesh_verma @Jaw_Knock @mesam620 @dacharya @anitapthapa लाई पनि रेगुलर रुपमा पढ्छु म ।

 

बिशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

मलाइ हरेक किसिमको लेखाइले प्रभवित गर्छ । कहिले टेक्नोलोजी ब्लग, कहिले कुनै कथामा आधारित, खोजमुलक -नयाँ जानकारी प्रदान गर्ने होस्, खेल समाचार भएको होस् वा आफुमा घटेका घटनाहरुमा आधारित, सबै खाले लेखले मलाइ आकर्षित गर्छन्, बस्, शब्दको बहाव चाँही राम्रो हुनुपर्‍यो ।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

लेखकलाई अलि खुला छोडिदिएकै राम्रो । लेखनमा पनि अँकुश् लाग्नथाले अलि गाह्रो हुन्छ । लेख्नेले जवाफदेहिताका साथ चाँहि लेख्नुपर्छ र आफुले बोलेको बोलीमा कायम पनि हुन सक्नुपर्छ ।  

 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?

मैले पढ्ने ब्लगका लेखकहरुले त अहिलेसम्म राम्रो नै लेखेको पाएको छु । वास्तवमा भन्ने हो भने त्यो लेखाइकै कारण गर्दा पनि राम्रो साथीहरु बनाउने मौका पाएकी छु । 

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

ब्लग लेखेकै कारणले साथी/दाइले जुन किसिमले लेख्न अभिप्रेरित गर्दै झक्झक्याउनु हुन्छ त्यसले मलाइ लेख्न साह्रै उर्जा प्रदान गर्छ । त्यसैगरी एक जना साथीले मैले लेखेको ब्लगको विषयमा नै Eureka शिर्षक मा लेख लेखिदिँदा अनौठो र रमाइलो मिश्रित किसिमको अनुभव भएको थियो । अनी ब्लग लेख्ने क्रममा नै आज यहाँ अन्तरवार्ता दिँदा पनि अली अनौठो नै लागिराखेको छ । 

 

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

तीनवटै माध्यम आफ्ना कुरा राख्न सशक्त रुपमा प्रयोगमा आएको देखिन्छ। यतिभन्दाभन्दै पनि मुख्य भिन्नता भन्दा फेसबुक, परिवार/चिनेको साथीहरुलाइ नजिकै राख्ने राम्रो विकल्पको रुपमा प्रस्तुत भएको छ । ट्विटरले नचिनेको मान्छेहरु बिच सुमधुर सम्बन्ध जोड्ने काम गरेको छ । साथसाथै ट्विटरबाट जानकारी हरु पनि छिटोछिटो सम्प्रेषण हुन सजिलो हुन्छ । सानो बहस देखि लिएर ठुल्ठुला चिन्तनहरु पनि ट्विटरमा निकै रोचकताका साथ प्रस्तुत हुन्छन् । ब्लगले बैचारिक कुराहरुलाइ एउटा गति दिएर आफुले भन्न चाहेको कुरालाइ सही दिशा प्रदान गर्दछ ।

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

कुनै कुनै नेपाली ब्लगहरु वास्तवमा नै राम्रो लेखिएका हुन्छन् र राम्रो कामहरु सह्रानिय पनि छ ।

 

ब्लगिङलाइ कहिँकतै बैकल्पिक मिडिया अर्थात आफ्ना कुराहरु आफ्नै तरिकाले अभिब्यक्त गर्ने थलो र ब्यक्तिको निजी मिडियाका रुपमा पनि भन्ने गरेको पाइन्छ तर पनि यो अँझै काठमाण्डौ केन्द्रित मात्र भइरहेको छ र मोफसलमा ब्लगरहरु एकदमै कम छन् भन्ने पनि गरिन्छ नि । किन होला?
ब्लगिङ् मात्र हैन हरेक कुराको नम्बर मोफसलमा कम नै छ । पहिलो त तपाइले लेख्ने मान्छे नै कम भेट्नुहुन्छ, दोस्रो लेख्ने मान्छे भएपनि इन्टरनेटमा पहुँच भएको मान्छे कम भेट्नुहुन्छ, त्यसपछि त्यहि लेख्ने मान्छे र इन्टनेट प्रयोग गर्ने मान्छेको नम्बर झन् कम हुन जाँदा ब्लगरहरुको नम्बर औँलामा गिन्ती बराबरको मात्र रहन जान्छ ।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

लेखकहरु किसिम-किसिमका छन् यहाँ । कुनैकुनै कुरा उठाउन ब्लगिङ एउटा सशक्त माध्यमको रुपमा अगाडि आएको छ, त्यसैले कहिलेकाँही वैकल्पिक मिडिया पनि भन्न मिल्छ कि !

 

अन्त्यमा,

यो साताका ब्लगरको अवधारणा मलाइ एकदम मन पर्छ । आज आफुले नै यहाँ सहभागिता जनाउन पाउँदा निकै रमाइलो लागिराखेको छ । मेरोरिपोर्ट टिमलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथसाथै यसैगरी  निरन्तर रुपमा यहाँहरु अगाडि बढिरहनु होस्, मेरोरिपोर्ट टिमलाइ शुभकामना !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by अल्टर कान्छो’ on July 27, 2013 at 10:26am

साताको हुन सफल कञ्चनलाई बधाई ।

Comment by Kanchan Ojha on July 26, 2013 at 11:12am

Thank you all :-)

Comment by Udaya GM on July 24, 2013 at 11:15pm

badhai ho kanchan ji lai hami bhutpurba bow haru ko pani. he he

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on July 24, 2013 at 6:15pm

लौ है बधाई छ

Comment by Aakar Anil on July 24, 2013 at 5:45pm

Congratulations Kanchan. :)

Comment by Pagal Basti on July 24, 2013 at 5:44pm

बधाइ कञ्न्चन ज्यूलाई

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service