कमेन्टमार्फत सवालजवाफ गर्दा एक युवतीसँग भर्चुअल दुनियाँमै झन्डै प्रेम गाँसिएको थियो-कमल कुमार

काठमाण्डौ सँगै जोडिएको मकवानपुर जिल्लाको हेटौंडाका कमल कुमार १२ कक्षासम्मको पढाई हेटौंडामैँ सकेर काठमाडौं छिरे । सन् २००३ मा कम्युनिकेशन कर्नरबाट पत्रकारिताको जागिर सुरु गरेका कमलले सेफर्ड कलेज काठमाण्डौबाट मिडिया टेक्नोलोजीमा स्नातक र रत्नराज्य क्याम्पस पत्रकारितामा स्नातकोत्तर गरेका छन् । पेशागत रुपमा मिडिया तथा पत्रकारितामै समर्पित उनी कम्यूनिकेशन कर्नरपछि कान्तिपुर टिभी, नागरिक दैनिक हुँदै अहिले बीबीसी मिडिया एक्सनमा कार्यरत छन् । मूलधारको मिडियाकर्मका साथसाथै आफू पुगेका ठाउँमा देखे भोगेका कुराहरु र मनमा उब्जिएका यथार्थ तथा कल्पनाका हुँण्डरीहरुलाई उनी ब्लगिङ मार्फत पनि अभिब्यक्त गर्ने गर्छन् आफ्नो ब्लग कमलकुमार डटकम डट एनपी मार्फत । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै कमल कुमारलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

 

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

अन एण्ड अफ ब्लगर भन्छन् नि, हो त्यही । ब्लगर भन्दा बढि जिज्ञासू, हरेक विषयमा रुची राख्ने मान्छे । ज्याक अफ अल मास्टर अफ नन ।

 

तपाँईको ब्लग http://www.kamalkumar.com.np/ को थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न।

यसमा धेरैजसो पत्रहरु छन् । पहिले पहिले मेरो ब्लगमा पत्रहरु मात्रै हुन्थे । हावादारी पत्रहरु । कुनै बिल गेट्सलाई लेखिएका, कुनै डायनालाई लेखिएका । कुनै चाहिँ प्रेमिकाहरुलाई लेखिएका तर नपठाइएका । पत्रहरु चाहिँ अँग्रेजीमा लेखिएका छन् । अहिले पढ्दा त्यो बेला लेखिएको भाषा हेर्दा हाँसो उठ्छ । तैपनि प्यारो लाग्छ । पछिपछि यसमा कविता पनि राख्न थालेँ । साथसाथै अखवारमा छापिएका लेख रचना पनि ब्लगमै राख्ने गरेको छु । साथसाथै जुन विषयमा जे लेख्न मन लाग्यो तेइ राख्ने गरेको छु ।

 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

ठ्याक्कै याद छैन । शायद सन् २००४/२००५ तिरबाट हुन सक्छ, जतिखेर जागिर खान थालियो र सित्तैमा इन्टरनेट चलाउने मौका पाइयो । सँधै नयाँ प्रयोग गर्न र इन्टरनेटमा पनि जे नौलो भेट्यो त्यही 'ट्राइगर्न' मन लाग्ने हुँदा थरिथरिका ब्लगिङ प्लेटफर्म ट्राइ गरियो । पछि मर्कन्टाइलले सित्तैमा आफ्नो नामको डोमेन दर्ता गरिदिएपछि चाहिँ हालको ब्लग नै निरन्तर छ ।

 

ब्लगिङ किन गर्नुहुन्छ?

आफूलाई लागेका कुरा अरु समक्ष राख्न । तर यसको मतलब म पाठकको लागि लेख्दिनँ । आफ्नो लागि लेख्छु । रुचि हुनेले पढ्लान् । अरुले पढे पनि नपढे पनि मेरा भावना पब्लिक डोमेनमा पोखिएका छन् भन्ने महशुस हुँदा त्यसले एक किसिमको हल्कापनको अनुभव दिँदो रहेछ । सुरुमा त यो ब्लग भन्ने कुरा के रहेछ भनेर एक्सप्लोर गर्न नै सुरु गरियो होला । तर पछि पछि चाहिँ यसलाई अभिव्यक्ति स्वतन्त्रताको सुन्दर र शक्तिशाली माध्यमको रुपमा बुझ्न थालेको छु ।

 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

त्यस्तो खास कुनै विषयको एक्सपर्ट होइन म । त्यसैले मेरो ब्लगको नाम जस्तै मेरा Musings हरु नै हुन्छन् यसमा । सोच्नोस् यो मेरो डायरी हो । जहाँ सबथोक अटाउँछन् ।

 

तपाईंको ब्लगमा अलिक साहित्यिक कृतिहरु धेरै रहेछन् । काम चाँही मिडिया क्षेत्रमा गर्नुहुन्छ, विगतमा पनि पत्रकारिताकै पृष्ठभुमिबाट हुनुहुन्छ, तपाँईलाई हामी पत्रकार भनौँ कि साहित्यकार?

दुबै शब्द अलि गह्रुँगो भए कि । हुन त जसलाई जे मन लाग्छ त्यही भन्दा हुन्छ । पत्रकार वा संचारकर्मीका रुपमा मेरा काम व्यक्त गर्ने अरु माध्यम छन् । तर त्यो बाहेकका मेरा रुचि र भावना व्यक्त गर्ने ठाउँ मेरो ब्लग हो । साहित्यकार त होइन, बरु कवि चाहिँ हो कि ! हुन त हरेक मान्छे कवि हो, कोही कविता लेख्ने कवि कोही कविता नलेख्ने कवि । म चाहिँ कहिलेकाहिँ कविता लेख्ने कवि ।

 

साहित्य जस्तै तपाँइको अर्को रुचीको बिषय चाँही के हो ब्लगिङ गर्नका लागि?

मेरो रुचिको विषय प्रविधि हो । तर प्रविधिलाई ब्लगमा धेरै समेट्न सकिएको छैन । प्रविधिमा पनि सोसल मिडियाका ट्रेन्डहरुमा रुचि राख्छु । तर मेरा विचार अलिकति एग्रेसिभ हुन्छन् । कतिपय विषयमा लेखेर पनि पोष्ट गरेको हुन्न । त्यसको लागि एउटा समय आउँछ । केही पेशागत र सामाजिक कमिटमेन्टहरुबाट मुक्त भएपछि जोडदार लेख्ने विचार छ ।

 

ब्लग चर्चित हुनका लागि बिषयसंगै ब्लगरको लेखाईको पनि निकै ठूलो भुमिका हुन्छ । लेखाई राम्रो शिर्जनशीलताले हुन्छ । अब भन्दिनुस न लेखाईमा शिर्जनात्मकता कसरी ल्याउने?

मैले बुझेको सिर्जनशीलतामा दुईवटा कुरा हुन्छन् । एउटा इमान्दारिता र अर्को अराजकता । तर भावनाले मात्रै पूर्ण सिर्जनशीलता ल्याउँदैन । भाषा र लेखनका केही प्राविधिक कुरा पनि जान्नु आवश्यक छ ।

 

शिर्जनात्मक अभिब्यक्तिमा रुची राख्ने ब्लगरले जान्नुपर्नेक कुराहरु यी यी हुन् भन्ने केही छन्?

हरेकको लेखनका आफ्ना आफ्ना शैली हुन्छन् । आफ्नै किसिमका क्षमता हुन्छन् । आफ्नो शैली र क्षमतामा गर्व गर्नुपर्छ । फलानोको जस्तो लेख्छु भनेर कहिले पनि हुँदैन । मलाई लाग्छ-Everyone is Special. कुनै नियममा बाँधिनु पनि हुँदैन जस्तो लाग्छ ।

 

तपाँइका आधाउँधी ब्लगहरु अँग्रेजीमा लेखिएका छन् भने आधाउँधी चाँही नेपालीमा । यस्तो खिचडी ब्लग किन बनाउनुभयो भनेर मैले सोधेँ भने !

अब अलिकति बाठो भएर भन्ने हो भने त मेरो ब्लग अँग्रेजी मात्रै वा नेपाली मात्रै बुझ्ने दुबै खालेको लागि फिट भयो भनेर जस्टिफाइ गर्नुपर्ला । तर इमान्दार भएर भन्नु पर्दा चाहिँ, मेरा भावनालाई जुन भाषामा पोख्न मन लाग्यो त्यसमै पोखेको हुँ । मलाई लाग्छ यसमा पनि कुनै नियममा बाँधिनु पर्दैन होला ।

 

ब्लगका भिजिटरहरुबाट कस्तो पाउनुभएको छ प्रतिकृया? कुनै रोचक प्रतिकृया उल्लेख गर्नुस न !

पहिले पहिले केही नियमित कमेन्ट गर्नेहरु थिए । कतिपयले मैले लेखेका पत्रमा कमेन्टमार्फत नै जवाफ फर्काउँथे पत्रकै रुपमा । यसरि कमेन्टमार्फत सवालजवाफ गर्दा गर्दै कोही चिन्दै नचिनेको एक युवतीसँग भर्चुअल दुनियाँमै भए पनि झन्डै प्रेम नै गाँसिएको थियो ।

 

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

मान्छेका भावना, विचार र विद्रोहका चेतहरु नयाँ होइनन् । ब्लग, सोसल मिडिया केवल व्यक्त गर्ने माध्यम हुन् । इन्टरनेट टेक्नोलोजीका नयाँ आयाम र सर्वसुलभताले ब्लग र सोसल मिडियाका माध्यममा सबैको पहुँच हुन थालेको छ । मलाई लाग्छ यी अभिव्यक्ति स्वतन्त्रताका माध्यम हुन् । साझा थलो हुन् । हाम्रो जस्तो हुर्किँदो लोकतान्त्रिक समाजलाई ब्लग र सोसल मिडियाले परिपक्व बनाउन सहयोग गर्छन् ।

 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ

नियमित रुपमा यही हेर्छु भन्ने छैन । कहिले काहिँ गुगल गरेरै पनि रुचिको विषयका ब्लग खोज्छु । सोसल मिडियामा शेयर गरिएका लिङ्कले तान्यो भने पनि पढ्छु । माइसन्सार चाहिँ हेरिराखेको हुन्छु । उसको मार्केटिङले गर्दा पनि होला । अरु ब्लगले मार्केटिङ खासै गर्न सकेका छैनन् जस्तो लाग्छ । विदेशी चाहिँ म्यासेबल, लाइफह्याकर, नियमित हेर्छु । अँ साँची ! पहिले पहिले दिनेश वाग्लेको वाग्ले स्ट्रीट जर्नल खुब पढ्थेँ । आजकल नि पढ्छु तर अलि कम । ब्लगिङमा कुनै समय उनी मेरा 'हिरो' थिए ।

 

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

कला र प्रविधि । अनि मान्छेका व्यक्तिगत भावना पनि पढ्न मन लाग्छ । फरक विचार राख्नेहरुको ब्लग पनि मन पर्छ ।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

ब्लगिङ आचारसंहिताको म घनघोर विरोधी हुँ । आचारसंहिताको दायरामा ब्लगलाई ल्याउन सकिँदैन र ल्याउन सम्भव पनि छैन । हरेक मान्छे सामाजिक उत्तरदायित्व र नैतिक नियममा बाँधिएको हुन्छ । त्यही कुराले उसका हरेक क्रियाकलापलाई समेट्छ । ब्लगको लागि छुट्टै आचारसंहिताको संस्थागत वकालत गरेर यसलाई इस्यु बनाइरहनु पर्दैन ।

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना छन् भने बताईदिनुस् न

ठ्याक्कै त्यस्तो केही याद भएन ।

 

तपाँई आफूपनि सोसल मिडियाको उपभोक्ता भएको हुँदा हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?
नेपालमा ब्लग पहिले भित्रिए पनि फेसबुक बढि भाइरल भयो । ब्लग खोल्न र चलाउन बढि प्राविधिक ज्ञान चाहिने भएर पनि होला । ट्वीटर एउटा सिमित संख्याले मात्रै चलाउँछ । यो पनि एउटा जमातमाझ फेसनको रुपमा भन्दा माथि उठ्न सकेको छैन । बरु जे जस्तो भए पनि एक अर्कासँग बाँधेको फेसबुकले नै छ । मेरी आमा स्कुल जानु भएन । तर उहाँ मजाले फेसबुक चलाउनुहुन्छ ।

 

नेपाली ब्लगहरु सामाजिक हित वा सामाजिक मुद्दामा लेखिएका कत्तिको पाउनुभएको छ?

लेखिएका छन् । प्रशस्तै लेखिएका छन् । तर लेखेर मात्र हुँदैन पाठक हुनुपर्‍यो । अनि ब्लग वा सोसल मिडियामा यस्ता मुद्दामा जोडदार बहस पनि हुनु आवश्यक छ । सरोकारवालाले पनि ब्लगको महत्व बुझ्नुपर्छ । तर यी सबै बिस्तारै हुने कुरा हुन् । विशेषगरी इन्टरनेटसँग जोडिएको सूचना सँस्कृति रातारात बन्ने कुरा होइन । त्यो अपेक्षा गर्न पनि हुँदैन । प्राविधिक कुरासँगै जोडिएको हुनाले पूर्वाधार र पहुँचका कुरा पनि सँगसँगै आउँछन् । म निकै आशावादी र सकारात्मक छु । जति भइरहेको छ गजब भइरहेको छ र यो भन्दा गजब हुनेछ ।

 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो

मेरो ब्लगलाई कहिले वर्डप्रेस र कहिले ब्लगरमा सार्दा सार्दा पुराना स्ट्याटहरु हराएको अवस्था हो । अहिले चाहिँ मेरो ब्लगमा सबैभन्दा धेरैले हेरेको पोस्ट चाहिँ 'अरब सपनाहरु' हो । यो एउटा भिडियो ब्लग हो । यसमा मैले धम्पुसमा केही केटाकेटीसँग गरेको संवाद राखेको छु ।

 

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?

केही पनि गुमाएको छैन । पाएको मात्रै छु । साथी पाएँ, पाठक पाएँ, अलिअलि ज्ञान पनि पाएँ होला । प्रेरणा पाएँ, सकारात्मक सोच पाएँ र शब्दमा व्यक्त गर्न नसकिने तीतामीठा अनुभव पाएँ ।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

नागरिक पत्रकारिता भन्ने शब्द नै ठीक भएन । ब्लगिङलाई तपाईंले भन्ने गरेको नागरिक पत्रकारिता मान्ने हो भने फेसबुकका स्टाटस, ट्वीट, च्याट, एसएमएस, फोन कल सबै नागरिक पत्रकारिता हुन् ।

 

अन्त्यमा,
मेरो रिपोर्टलाई यी प्रश्नहरु सोधेकोमा धन्यवाद । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on December 8, 2013 at 8:55pm

बधाई

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service