ब्लगिङ गर्नु भनेको आफ्नो लेख्ने बानी र सिर्जनशिलता बढाउनु पनि हो-कल्पना भण्डारी

चितवनकी कल्पना भण्डारी पछिल्लो करिब एक दशकदेखि पत्रकारितामा आवद्द छिन् । वातावरण विज्ञानको विद्यार्थी भएपनि पढ्दैगर्दा पत्रकारितामा लागेका कारण उनले स्नातकोत्तरमा आमसंचार र पत्रकारिताको यात्रातर्फ लागिन् । अहिले परिवारसहित कलंकी, अमृतनगरमा बसोबास गर्ने कल्पना गीत सुन्नु, पुस्तक पढ्नु र घुमफिर गर्नु आफ्नो रुची भएको बताउँछिन । पत्रकार भएका नाताले रुची र बिषय अनुसार रिपोर्टिङमा जाने त भई नै हाल्यो । यसका अलावा उनी ब्लगर पनि हुन् । सोसल मिडियामा पनि आफुलाई अपडेटेड राखिरहन रुचाउने कल्पनाको परिचय यत्तिमात्रै भनियो भने अपुरो हुनसक्छ । खासगरी भिज्युअल मिडिया अर्थात टेलिभिजनमा देखिइरहने कल्पना एक हिसावले सेलिब्रेटी पनि हुन् । विगत सातबर्षदेखि सगरमाथा टेलिभिजनमा कार्यरत उनी बिचको केही समय अफ्रिकी मुलुक युगाण्डामा रहँदा बाहेक बाँकी समय निरन्तर सो टिभीको स्क्रिनमा छाईरहेकी छिन । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै कल्पना भण्डारीलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ? पत्रकार कि एउटा ब्लगरका रुपमा मात्रै?
सोसल मिडियामा म भर्खर बामे सर्दैछु । मलाई धेरै कुराहरु थाहा छैन, विस्तारै सिक्दैछु । नयाँ नयाँ कुराहरु सिक्न र जान्न पाईने भएकोले पनि मेरो यसमा रुची बढ्दै गएको छ । आफ्नो ज्ञानको दायरा फराकिलो पार्न पनि यो धेरै सहयोगी छ । फेसबुक भन्दा अगाडी हाईफाईभ चलाउन सिक्दै थिएँ, पछि फेसबुक आयो अनि यो चलाउन थालेँ र अहिले ट्विटरमा अलिअलि सक्रिय छु । रह्यो कुरा पत्रकार कि ब्लगर भन्ने, ब्लग त मैले धेरै पछि मात्रै लेख्न थालेकी हुँ । म आफूलाई पत्रकार नै भन्न रुचाउँछु, ब्लगर बन्नु त मेरो रहरमा मात्रै सिमित छ । तर यस्तै रहरबाटै सुरु गरेको पत्रकारिता अहिले मेरो पेशागत बाध्यता बनिसकेको छ । थाहा छैन भोली ब्लगर मात्रै पनि बन्न सक्छु की !

तपाँइको ब्लग  meroimagine.wordpress.com मात्रै कि अरु पनि छन?
मेरो ब्लग यही मात्र हो । यो भन्दा अगाडी पनि एउटा ब्लग बनाएकी थिएँ तर पछि त्यसको पासओर्ड बिर्सिएँ । अपडेट पनि केही थिएन । त्यसैले पछि यो नामबाट ब्लग बनाएकी हुँ ।

यहाँको ब्लगिङको रुचीको बिषय के हो?
अहिलेसम्म मैले ब्लगीङलाई योजनावद्ध ढंगले चलाएकी छैन । लेख्नलाई धेरै कुरा लेखिन्छ, तर यसमा म आफूलाई मनमा खाएको कुरा जुन पब्लिक होस भन्ने चाहन्छु, त्यस्ता कुरामात्र पोस्ट गर्छु । कुनै एकदमै चित्त बुझेको र कुनै एकदमै चित्त नबुझेको कुराहरु राख्ने हो । मेरो थोरै साहित्यतर्फ पनि रुची छ । ब्लगमा म आफ्नै जिवनका भोगाई, अनुभव, पीडा र खुशी अनि रमाईला र साहसिक क्षणहरु अभिब्यक्त गर्न रुची राख्छु।

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।
मेरो ब्लगमा खासै उल्लेख्य केही छैन । यसमा मैले आफ्नै ब्यक्तिगत अनुभव र भोगाईहरु मात्रै राखेको छु । नितान्त मनका कुरा राखेकी छु । केही कवितात्मक हरफ, सिक्दै गरेका गजलका शेर पनि मेरो ब्लगमा देख्न सक्नुहुछ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?
मैले ब्लगिङ थालेको २०१२ बाट मात्रै हो । त्यसबेला पूर्वी अफ्रिकाको एउटा देश युगाण्डामा कार्यरत थिएँ । आफन्त, साथीभाई सबैबाट टाढा बस्नुपर्दा मन उकुसमुकुस हुन्थ्यो । मलाई त्यहाँका मानिस, जिवनशैली, काम गर्ने तरीका सबै अनौठो लाग्थ्यो । त्यही कुराहरु डायरीमा लेख्न थालेकी थिएँ ।  अब यसैलाई ब्लगमा राख्दा न पन्ना च्यातिने डर न हराउने डर, त्यसैले ब्लग बनाएँ । तर धेरै भने लेखिन ।

ब्लगिङ किन गर्नुहुन्छ?
जति बेला कम्प्युटर, ईन्टरनेटको सुविधा थिएन, त्यसबेला आफ्ना मनका कुराहरु डायरीमा लेख्ने गर्थेँ, त्यो म एक जनामा मात्र सीमित हुन्थ्यो । तर ब्लगमा राख्दा त्यसमा अरुका टिप्पणी र सुझाबहरु पनि पाईने । खुशीका रंगहरु, मनका अन्तरंगहरु र भावनाहरु अभिब्यक्त गर्न म ब्लगिङ गर्छु र त्यसबाट अरुका सुझावहरु ग्रहण गर्दै लेखनकलाको विकास गर्न म ब्लगिङ गर्छु । 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन्?
अहिलेसम्म मैले ब्लगमा नितान्त ब्यक्तिगत विचार र अनुभवहरु मात्र राखेकी छु । साहित्यिक विषयवस्तु, सामाजिक अनुभव, मानिसका ब्यवहार आदि मेरा प्राथमिकतामा पर्छन् । किनकी ब्लगिङ गर्नु भनेको समाजमा आफू घुलमिल हुनु पनि हो । समाजमै रहेका ब्यक्तिहरुको विभिन्न विचार, दृष्टिकोण, उत्तेजना, आक्रोश आदि सबैकुरासंग सामञ्जस्यता, विवाद, समर्थन र बहस गर्न यो अत्यन्तै उपयुक्त माध्यम हो भन्ने मलाई लाग्छ ।

लेखनका निम्ति भाषा सबैभन्दा महत्वपुर्ण र शशक्त माध्यम भएकोले ब्लगिङमा पनि यो कुरा लागु त हुन्छ नै । तर पनि मानिसहरु ब्लगमा लेखिने भाषा समाचारको जस्तो औपचारिक या भाषाकै बिषयलाइ लिएर टाउको दुखाउन नपर्ने भन्छन् नि । के भन्नुहुन्छ यहाँ?
मेरो विचारमा पनि भाषाको विषयमा टाउकै चाँही दुखाउनु पर्दैन तर आफूले प्रयोग गर्ने शब्द र भाषाशैलीले आफ्नो संस्कार र संस्कृतिको पनि प्रतिनिधित्व गर्ने हुनाले त्यसमा विचार पुर्‍याउँदा आफूलाई नै फाईदा हुन्छ जस्तो लाग्छ । अर्को कुरा भाषामा ध्यान दिइएन भने लेखनकला पनि सुध्रिन सक्दैन । आफ्नो भाषालाई हरेक ब्लगमा परिष्कृत गर्दै लैजानुपर्छ । ब्लगिङ गर्नु भनेको आफ्नो लेख्ने बानी र सिर्जनशिलता बढाउनु पनि हो । त्यसैले भाषागत रुपमा पनि ध्यान दिईयो भने त्यो सुनमा सुगन्ध हुनेछ । तर समाचारमा जस्तो 5W1H नै मिलाएर लेख्नुपर्छ भन्ने मलाई लाग्दैन ।

शिर्जनशिल लेखाइमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?
अरुको ब्लगहरु पढ्ने गरेमा पनि धेरै कुराहरु सिक्न सकिन्छ । अरुका ब्लगमा प्रयोग भएका प्राविधिक र नविनतम पक्षहरुलाई आफ्ना ब्लगमा प्रयोग गर्ने, आफ्नो रुची अनुसारको विषयमा अनुसन्धानात्मक लेखहरु पढ्ने गर्नुपर्छ । सोसल मीडियामा हुने अन्तरक्रियमा सहभागी हुँदा पनि मनमा विचारहरु प्रस्फुटन भईराख्छ । मुख्य त ब्लगिङलाई निरन्तरता दिँदा नै सिर्जनशिलता बढ्दै जान्छ ।

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?
नेपालमा सोसल मिडिया छोटो समयमै लोकप्रीय बनेको छ । ठूला ठूला क्याम्पेनहरु सोसल मिडियाबाटै भएका छन् । मुलधारका मिडियाहरुले उठान गर्न नसकेका कतिपय कुराहरु सोसल मिडियाले उठाएका छन् । अझ पछिल्लो समयमा त समाचार साईटहरुले समेत सोसल मिडियालाई सूचना श्रोतको रुपमा प्रयोग गरिरहेका छन् । जुनसुकै सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु जति नै स्वतन्त्रताको वकालत गरेपनि ब्यवसायिक रुपमा बाँधिएका हुन्छन् । उनीहरुले स्पष्ट र तटस्थरुपमा आफ्ना कुराहरु ब्लगमा राख्ने गर्छन । नेपालमा ब्लगिङ गर्ने चलन लोकप्रीय हुँदै गएको छ । यो अत्यन्तै सकारात्मक छ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?
धेरै पढ्छु । ट्विटरमा, फेसबुकमा सेयर भएका ब्लगहरु पढ्छु । सोसल मिडियामा सक्रियहरु जो-जो हुनुहन्छ, म सबैका ब्लग पढ्छु ।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन?
कथा, कविता, गजल, यात्रा संस्मरण पढ्न म रुचाउँछु । साथै कसैको भोगाई, अनुभव पनि मेरो प्राथमिकतामा पर्छन् । त्यस्तै सामाजीक विषयवस्तु र राजनीतिक टिप्पणीहरु पनि मेरो रोजाईमा पर्छन् ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?
कति ब्लगहरु कसैप्रतिको ब्यक्तिगत तुष मेट्न, कसैप्रति आक्षेप लगाउन र भ्रममा पार्न पनि बनाईएका हुन्छन् । त्यसैले मेरो बिचारमा ब्लगलाई ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता भए राम्रो हुन्छ ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?
आफू, आफ्नो परिवेश र सामाजिक मुल्य मान्यतालाई ध्यानमा राखेर नै ब्लगहरु लेखेको पाएकी छु । तर सबैलाई यही कोटीमा राख्न पनि नमिल्ला कि?

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।
मसंग त्यस्तो कुनै रमाईला प्रसंग छैनन् । तर मैले विदेशमा बसेर लेखेको ब्लग देखेर धेरै विदेशमा बस्नेहरुले मलाई पनि लेख्न मन लाग्यो तपाईंको ब्लग देखेर भनेको सुन्दा रमाईलो लाग्थ्यो । कतिले मेरो ब्लग देखेर नयाँ ब्लग बनाउनुभयो र लेख्न सुरु गर्नुभयो ।

तपाइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?
ब्लग आफ्नो डायरी भयो । किताबको पन्ना पल्टाएको जस्तो आनन्द लाग्छ । ट्विटरमा आफ्ना भनाईहरु छोटो र चोटिलो ढंगबाट राख्न अक्षरको सीमितता नै विशेषता हो । यसमा तत्काल आउने प्रतिक्रिया जुन ब्यक्तिगत रुपमा पनि हेर्न र रिप्लाई गर्न सकिन्छ । त्यो मलाई अत्यन्तै मन पर्ने पक्ष हो । फेसबुकमा लाईक र कमेन्ट नै मुख्य विशेषता हो भने यसमा धेरैसंग अन्तरक्रिया हुन्छ । मेरो सर्कलमा ट्विटर भन्दा फेसबुक प्रयोग गर्नेहरु बढी छन् । सबैको आ-आफ्नै रमाईला पक्ष छन् ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?
धेरै जसो ब्लगहरुले सामाजीक विषयवस्तुलाई नै उठान गरेको पाएको छु । दुरदराजका कुराहरु, आफ्ना बाल्यकालका भोगाईहरु, यात्रा संस्मरणहरु, मिलन र विछोडका कुराहरु राजनीतिक विषयमा टिकाटिप्पणीहरु यी सबैले समाजको चित्रण गरेको छ । साथै कति ब्लगहरुले स्वास्थ्य, सौन्दर्य, सररफाई, जनचेतना, वातावरण आदिका विषयमा पनि लेखेका छन्, जुन सामाजीक हितकै लागी भएको पाएकी छु ।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?
अफ्रिकामा रात्रीबसको एक्लो यात्रा भन्ने धेरैले रुचाउनुभएको छ ।

ब्लगिङ गरेर पाएको सबैभन्दा ठुलो उपलब्धि केही छ?
ठुलो उपलब्धि भनेको आत्मसन्तुष्टि नै हो । साथै आफ्नो ब्लगमा अरुको प्रतिक्रियाबाट पाएको प्रेरणा नै सकारात्मक उर्जा हो मेरो लागी ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?
हो, यो एकप्रकारको नागरिक पत्रकारिता नै हो । आर्थिक, सामाजिक, राजनीतिक विषयवस्तुमा लेखिन्छन् । ब्यक्तिले लेखेको कुराबाट अर्को ब्यक्तिले सूचना, चेतना पाउँछ भने त्यो पत्रकारिताकै रुप हो ।

अन्त्यमा,
ट्विटर नियमित चलाउन थालेपछि टाईमलाईनमा अरुले सेयर गरेको लिँकबाट नै मैले मेरोरिपोर्टबारे थाहा पाएकी हुँ । यसले अन्य सोसल मिडियामा सक्रियहरुलाई आपसमा परिचय गराउने प्लेटफर्म प्रदान गरेको छ । ब्लगरहरुलाई प्रेरणा दिने काम गरेको छ । म सामान्य ब्लग सिक्दैगरेको ब्यक्तिलाई पनि स्थान दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । आगामी दिनमा अझ परिष्कृत र प्रभावकारी बन्दै जाओस । मेरो शुभकामना ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Keshav Rai on October 31, 2013 at 5:46am
I like it.
Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on October 30, 2013 at 6:29pm

Congratulation

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service