ब्लग निजीविचार राख्ने थलो भएपनि यसले हसाउँछ, रुवाउँछ र आनन्द अनुभूति गराउँछ- प्रविण'जुजुमान'

ब्लग लेख्ने सबैका आआफ्नै तरिकाहरु छन् । यीनैमध्ये आफ्नो बेग्लै तथा मौलिक ब्लग लेखाइका कारण सोसल मिडियामा छोटो र छिटो परिचित पात्र हुन 'म जुजुमान्' । वास्तविक नाम प्रविण हो उनको तर थरबारे जिज्ञासा राख्दा 'मलाई आफ्नो परिचय दिँदा थर भन्दा नाम प्रयोग गर्न सजिलो लाग्छ।' भन्छन् । प्रविण सोसल मिडियामा जुजुमान नामले नै परिचित हुन चाहन्छन् । उनै प्रविण 'जुजुमान' मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली आइपुगेका छन् । प्रस्तुत छ उनीसंग गरिएको कुराकानी ।

 

प्रविणजी, आफ्नोबारेमा अलिकति बताइदिनुस न । 

नाम त उल्लेख गरिहाल्नु भो तपाईँले नै। बनेपाबाट अलि भित्र गाउँमा घर छ (बाको)। पेशा विद्यार्थी नै भन्नुपर्ला । खेतीकिसानी गरेर हुर्केर होला कि, कृषिमै मन बस्यो र यही बिषय पढ्दै छु। पढ्दा-पढ्दा हत्तु भइया छ, खोइ कहिले पो सकिने हो !

 

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छएउटा ब्लगरका रुपमा या अरु केही?

म रेगुलर ब्लगर होइन। भीडको एउटा साधारण पात्र मात्र हुँ। भीडसँगै हिँडिन्छ धेरैजसो। भीडसँगै बतुरिइन्छ। कहिलेकाँही बाटो पनि बिराइन्छ तर फेरि फर्केर भीडमै आइन्छ।

 

आफ्नो ब्लगको बारेमा शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

मनमा लागेको कुरा कनीकुथी लेखिन्छ, ब्लगमा थुपारिन्छ। विषय यही भन्ने छैन। सकेसम्म नेपालीमा लेख्छु।

ब्लग लेखन कहिलेबाट सुरु गर्नु भएको हो?

टुइटरमा सक्रिय भएदेखिन अर्थात यसैसाल सन् २०१३ बाट मात्रै । त्यो भन्दा अघि पनि नलेख्ने त हैन, कापीमा टुक्राटाक्री लेख्थेँ। अरूले लेखेर अनलाइन बाँडेका विचार, भोगाइहरू मन परेपछि म नि लेख्नपरो कि के हो भनेर ब्लग थालेको। देखासिकीमै हो यो गरेको, सीधा कुरा भन्दा।

 

ब्लगिङ किन गर्नुहुन्छ?

ब्लगिङ भनेर हुन्छ नि, त्यो ‘व्यावसायिक’ वा बारम्बार/नित्यजसो शैली अपनाउने खाँट्टी ब्लगरहरू जसरी गरिन्न। तर जे जति लेख्छु, त्यो मनमा लागेका कुराहरू कतै बिसाउन, अनि बाँड्न (पठनयोग्य जस्तो लागेमा) लेख्छु।

 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् किन ?

विषयवस्तु जे पनि हुनसक्छन – पत्रिकामा पढेका कुरा, टुइटरका गरमागरम कुरा, आफ्नै भोगाइहरू, गाउँ-ठाउँमा हुर्कँदाका अनुभवहरू। कहिलेकाहीँ मुड चलेको बेलामा साहित्यिक रचना पनि। जे मनमा आउँछ, त्यै लेखिन्छ।

 

तपाईंको ब्लगमा ब्यंग्य र बोलिचालीको भाषा मिश्रित लेखहरु धेरै रहेछन् । किन यो शैलीलाइ पछ्याउनुभयो?

भनेपछि व्यङ्ग्य पनि छ? मलाई सत्ते थाहा थिएन है पढ्नेलाई यस्तो लाग्दो र’छ भनेर! :)  हल्का ‘फ्री-स्टाइल’मा निबन्धपरक पोस्टहरु लेखे पनि कुनै शैली विशेष छैन जस्तो लाग्छ। हो, भाषा चाहिँ सकेसम्म साधारण, बोलीचालीकै प्रयोग गर्नेगर्छु। लेखेका कुरा सबैले बुझुन् भनेर। ठूला, क्लिष्ट शब्द राखेर अरूले बुझेनन् भने, र आफ्नो लेखाइले अरूलाई वाक्यैपिच्छे शब्दकोश पल्टाउन बाध्य पार्‍यो भने के मजा भो र लेख्या, लेखेर अरूमाझ बाँड्या।

 

तपाइलाइ ब्लगका निम्ति लेख्न मन पर्ने बिषय र पढ्न मन पर्ने बिषय उही हुन या आफूले लेख्दा फरक र अरुले लेखेको पढ्न फरक बिषयहरु हुनुपर्छ भन्ने लाग्छ?

फरक भको राम्रो। घरै पिँडालु वनै पिँडालु त्यति स्वाद पर्दैन।

 

आफूले लेख्न चाहेको तर लेख्न नभ्याएको बिषय छ कुनै?

यसरी त सोच्न नि भ्याएको छैन। अघि भनेँ नि, ब्लगिङ गर्नैका लागि ब्लग लेख्दिनँ। त्यसैले ‘आज फलानो विषयमा लेख्नुपरो’ भन्ने सोच नै आउँन्न।

 

तपाँइलाइ कस्तो बेला ब्लग लेखुँलेखुँ लाग्छ?

फुर्‍या बेलाँ। :) यस्तो-उस्तो बेला भन्ने हुन्न। फुर्दा १ दिनमै लेखिन्छ, नत्र हप्तौँ नि लाग्छ केही लेखी सिद्याउन।

 

सोसल मिडिया वा न्युमिडिया हाम्रोलागि कत्तिको आवश्यक भैसकेको छ जस्तो लाग्छ?

‘हाम्रो’ भनेर हातमा स्मार्टफोन, ट्याबलेट, ल्यापटप बोक्नेहरू भन्नुभको हो भने छ, ‘हाम्रा’लागि सोसल मिडिया राम्रै हिसाबमा आवश्यक छ। साथीभाइ, नातागोता देशविदेशमा छरिएका छन, सबैलाई जोड्न यिनको गजबकै भूमिका छ। असङ्ख्य राम्रा काम पनि हुने गरेका छन अचेल। जस्तै: टुइट फर कज, रोगीको उपचारार्थ खर्च संकलन, रक्तदान-अङ्गदानबारे जनचेतना, आदि। प्रविधिले छोएकाबीच राम्रै सञ्जालको काम गरेको छ सोसल मिडियाले। तर पहुँच नभकालाई यसको प्रत्यक्ष माने के, उपयोगिता के? जसरी मोबाइल फोनले रेडियो, एफएम गाउँका कुना-कुनासम्म पुर्‍याएको छ, त्यसैगरी सोसल मिडिया पनि पुर्‍याउन सके यसको उपयोगिताबाट थप लाभ उठाउन सकिन्थो कि !

 

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

लौ ‘नियाल्नु’ रे ! म त हजुर भर्खर-भर्खर बामै सर्दै गरेको हुँ यता। अझै भीडमै अल्झेको छु, कताबाट नियाल्नु र खोइ ! तर रमाइलो लाग्छ, ‘भर्चुअल’ नै भए पनि नयाँ साथीहरूसँग बात मार्न, कुरा साट्न। ब्लगहरूमा जोक्स, कथा, गजल पढ्न पाइन्छ; कोरेका चित्र, खिचेका फोटाहरू हेर्न पाइन्छ; देश, दर्शन, र विज्ञानका कुरा पनि पढ्न पाइन्छ–त्यो पनि सबै सित्तैमा ! खुबीवानहरूको सिर्जनशीलताले रचिएका खुराक पढ्न, हेर्न, बुझ्न पाइएको छ। म, र मजस्ता असङ्ख्य गरीब विद्यार्थीहरुको लागि योभन्दा राम्रो के होला र? ट्वाँ पनि परिन्छ दिग्गजहरूको लेख पढेर–कहिले नबुझेर त कहिले उहाँहरूको सोचाइमा अन्तर्निहित परिवर्तनकारी सम्भावनाहरू देखेर। जे होस्, विकासशील छ यो क्षेत्र। उमेर, विषय, भाषा, आदिको हदबन्दी छैन, र यिनैले गर्दा पनि होला, सम्भावना प्रचूर छ।

 

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ ? 

पढ्छु, फुर्सदमा भको बेलामा। आफैँ खोजेर नपढे पनि टुइटरमा बाँडिएका प्राय: सबै पढ्छु। खासगरी सफा, ‘टु द प्वाइन्ट’, र स-साना कुरालाई उठाएर गहन विश्लेषण गरिएका लेखहरू मन पर्छन। यसको ब्लग उसको ब्लग भनेर अहिले ठ्याक्कै सम्झना त छैन, तर धेरैका ब्लगहरू पढ्छु। कुनै ब्लगहरू वाहियातै लागे पनि (यो व्यक्तिगत अनुभवबाट भनेको; फेरि मलाई राम्रा लाग्ने ब्लग र लेखहरू अरूका नजरमा तोर्पे पनि हुन सक्छन्), अधिकांश गजबका लाग्छन्।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको सवाललाइ लिएर खुब विवाद पनि हुनेगर्छ । यहाँलाइ के लाग्छ, जरुरी छ या छैन ब्लगरका लागी आचारसंहिता ?

लेख्नेलाई लेख्न देऊ भन्छु म। कसैलाई पच्ला, नपच्ला आफ्नो ठाउँमा छ। आचारसंहिता बनाएर लागू गर्ने कुरा असम्भव जस्तो लाग्छ। अनि अर्को कुरा, आचारसंहिता बनाएर के मन नपरेका लेख तथा कमेन्टहरू पत्रिका-ब्लगहरूमा नछाप्ने? यो त अहिले पनि भै नै रहेको छ नि सबैतिर। गलतबाट असल छान्न सक्ने अधिकार पाठकमै निहित होस्। खराब, हावा कुराहरू सस्तो लोकप्रियतामा अडेका हुन्छन। यस्ता क्षणिक उर्लाइहरू हराएर जान्छन्, आचारसंहिता नै चाहिन्न। तर कसैको इज्जत मर्दन हुने गरी मनगढन्ते कुरा लेख्ने, ध्वाँसका गफ दिनेलाई भने सामाजिक (र सायद कानुनी पनि) कारवाही गर्ने नियम भएकै राम्रो।

 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?

वास्तवमा यो आचारसंहिता कहाँ छ, कस्तो छ भन्ने पनि थाहा छैन मलाई। अशिष्ट, अमर्यादित लेखाइको कुरा उठाउनु भएको हो भने मैले यस्तो लेख भएका ब्लग पढेको छैन। लिङ्कका साथसाथै लेखका ‘बेजोड’ १-२ वाक्यहरू बाँडेको देख्छु टुइटरमा। यी देखेपछि लेख पढ्ने कष्ट गरिरहनुपर्छ जस्तो लाग्दैन।

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

त्यस्तो खासै त केही छैन। तर अहिलेसम्मका सबै लेखमा उल्लेखित सबै पात्रहरू, र भोगाइहरु वास्तविक हुन। केही बढाइचढाइ गरेको छैन।

 

तपाईँको ब्लगका भिजिटर कति छन्?

रेगुलर भिजिटर भन्नु’भा हो? यो हेर्ने चेष्टा गरेको छैन.... भनेर के ठूलो पल्टिनु। धेरै छैनन् नि हौ, खडेरी छ। तर अैलेसम्म यति पुगे भनेर गनेको भने छैन। धरोधर्म, लिङ्क बाँड्या बेलाँ हुरुरुरु आउँछन्, अनि सरकारी स्कूलजस्तो शून्ने हुन्छ एकैछिनाँ। बरू कमेन्ट भने आउँछन् है कैलेकाइँ। केही साथीहरूले फलो नि गर्नुहुन्छ ब्लग साइट।

 

ब्लगट्वीटर र फेसबुकमा के फरक पाउनु भयो ?

टुइटर भट्टी जस्तो लाग्छ। गइन्छ, मनपरी फलाकिन्छ। दुनियाँको खासै मतलब हुन्न। फेसबुक घरजस्तो। पिउन त पाइयो, तर बुइगलाँ बाआमा सुत्या छन, त्यसैले तथानाम गरिहाल्न नि भएन। ब्लग चैँ अलि भिन्नै। कस्तो कस्तो ! झोलाँ चट्ट माल र मादल बोकेर भञ्ज्याङतिर गएजस्तो। मन लागे साथीभाइसँग, नत्र एक्लै। माल दन्कायो, मादल ठटायो, अनि हर्ष-विरह-भोगाइका बेसुरा गीतहरू गायो। मन पराउनीले पराउँछन, खै नयाँ गीत भन्छन, अरू बाटो लाग्छन।

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ ?

छन अलिअलि। हुन त हरेक विषयमा लेखिएका हुन्छन। छाडादेखि शिष्टसम्म, हावागफदेखि ज्ञानज्ञुनका कुरासम्म। समाजकै चित्रण हो ब्लगहरूबीचको विविधता पनि। राम्रो लाग्छ, यस्तो देख्दा। सन्तुलन ल्याउँछ भनौँ न। कतिपय ब्लगरहरुले राजनीतिक, सामाजिक विसङ्गतिबारे राम्रो विश्लेषण गरेर लेखेका पनि छन। पढ्ने सयमध्ये १ जनाले मात्र पनि यस्ता लेखहरुको मर्म बुझे केही हदसम्म सामाजिक हित भएको मान्नुपर्ला कि?

 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग ?

यो चैँ कसरी हेर्ने भन्ने पनि थाहा छैन। तर केही हप्ता अघि छन्द दिवस हुँदा साथीहरूले मैले लेखेको एउटा छन्दात्मक कविता टुइटरमा बाँड्नुपरो भन्नुभको हुनाले सायद त्यै होला। राम्रो लेखिएकाले हैन, फरक भएर हुनुपर्दछ भन्ने मेरो ठम्याइ छ।

 

ब्लगबाट के पाउनुभयोके गुमाउनुभयो?

केही गुमाको छैन। केही पाएको भए त्यो के हो, अहिलेसम्म थाहा छैन।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छके ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

धेरै ब्लगहरु निजी विचारहरू राख्ने थलो भए पनि ब्लगले हसाउँछ-रुवाउँछ, आनन्द-अनुभूतिका कुरा गर्छ, चेतना ल्याउँछ भने नागरिक पत्रकारिताकै कुनै रूप मान्नुपर्ला, केही हदसम्म। तर फेरि पत्रकारिता के हो, त्यसकै परिभाषा खोज्नुपर्ने भएको छ अचेल।

 

ब्लग लेख्न चाहने र लेखिरहनु भएकाहरुलाई केही भन्न चाहनुहुन्छ ?

चाहनेले लेख्न थालिहाल्नोस, लेखिरहेकाले लेखनकार्य जारी राख्नोस। नयाँ कुरा पढ्न, देख्न पाउँदा रमाइलो हुन्छ।

 

ब्लग लेखनको सेरोफेरोमा केही भन्न मन लागको तर सोध्न छुटिरहेको कुरा भए भनिदिनुस् न ।

नेपालीमा लेख्नेले सम्भव भएसम्म सफा, शुद्ध लेखिदिए हुन्थ्यो। भाषिक जगेर्ना होला-नहोला आफ्नो ठाउँमा छ, तर पढ्दा भने खोल्च्याङ रहित सरररर पढ्न पाइन्थो के–चपाइपिच्छे दाँतमा ढुङ्गा लाग्या तेति ‘टेस’ पर्दैन भनुम न।

 

अन्त्यमा,

मेरो रिपोर्ट डट नेटको काम सराहनीय छ; निकै राम्रो काम गर्नुभको छ तपाईँहरूले। ब्लगरहरूलाई एक-आपसमाझ चिनाउनु भएको छ। नयाँ-पुराना ‘ब्लगर’हरू माझ सञ्जाल स्थापित गर्न सफल हुनुभएको छ। म फुस्रेलाई पनि स्थान दिनुभो। यसको लागि धेरैधेरै धन्यवाद। फलोस्-फुलोस्।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by अल्टर कान्छो’ on May 30, 2013 at 12:19pm

टुइटर भट्टी जस्तो लाग्छ। गइन्छ, मनपरी फलाकिन्छ। दुनियाँको खासै मतलब हुन्न। फेसबुक घरजस्तो। पिउन त पाइयो, तर बुइगलाँ बाआमा सुत्या छन, त्यसैले तथानाम गरिहाल्न नि भएन। ब्लग चैँ अलि भिन्नै। कस्तो कस्तो ! झोलाँ चट्ट माल र मादल बोकेर भञ्ज्याङतिर गएजस्तो। मन लागे साथीभाइसँग, नत्र एक्लै। माल दन्कायो, मादल ठटायो, अनि हर्ष-विरह-भोगाइका बेसुरा गीतहरू गायो। मन पराउनीले पराउँछन, खै नयाँ गीत भन्छन, अरू बाटो लाग्छन। बधाई छ जुजुमान G।

Comment by Prakash Lamichhane on May 30, 2013 at 10:13am

बधाइ छ प्रविणजीलाइ धेरै धेरै । ब्लग सुरु गरेको छोटो अवधिमै तपाँइको ब्लग अरुले चिन्ने खालको भैसकेको छ । यसलाइ निरन्तरता दिन भने जरुरी छ । निरन्तरताको कामना गर्छौँ । :)

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service