ब्लगलाई स्वतन्त्र रुपमा नै सञ्चालन हुन दिनुपर्छ :जेवी विश्वकर्मा

आफुलाई अनुसन्धानकर्ता र सञ्चारकर्मी भन्न चाहने जेवी विश्वकर्मा विशेष गरी सामाजिक-राजनीतिक विषयमा बहिस्करणमा पारिएका समुदायको दृष्टिकोणबाट अध्ययन-अनुसन्धान र लेखनमा विशेष रुचि राख्दछन् । पत्रकारिता क्षेत्रमा सहजकर्ताको भूमिका समेत निर्वाह गरेका जेवी अहिले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)मा सूचनाको हकसम्बन्धी परियोजनाको संयोजक हुन् ।

जेवीका समसामयिक राजनीति, सामाजिक-सांस्कृतिक रुपान्तरण, भूमिसुधार, मिडियामा दलित समुदायको सरोकार र सहभागीता जस्ता विषयमा दर्जानौं लेख प्रकाशित भएका छन् भने उनको पहिलो पुस्तक ‘नेपाली मिडियामा दलित : सहभागीता र विषयवस्तु’ हो जुन वि.सं. २०६९ मा मार्टिन चौतारीबाट प्रकाशित भएको थियो । यो पुस्तक नै  दलित र मिडियासँग सम्बन्धित अनुसन्धानमुलक एउटा मात्रै पुस्तक पनि हो । पुस्तक लेखनका अलवा उनी ब्लग लेखनमा पनि उत्तिकै सक्रिय छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै जेवी  विश्वकर्मालाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

जेवी विश्वकर्मालाई सोसल मिडियाको क्षेत्रमा के भनेर चिन्ने बताइदिनुस न ।

म सोसल मिडियामा सामान्य सोसल मिडियाबारे साक्षर व्यक्ति हुँ । अन्य व्यक्तिहरुको ब्लगहरु निरन्तर हेरिरहन्छु र सूचना तथा ज्ञान हासिल गरिरहेको हुन्छ । म विशेष गरी ट्वीटर, ब्लग, फेसबुक आदि चलाइरहेको हुन्छ । त्यसैले सामाजिक सञ्जालसँग निरन्तर जोडिरहन चाहने जिज्ञासु नै बढी हुँ जस्तो लाग्छ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो

मैले ब्लगिङ गर्न सन् २००७ देखि सुरु गरेको हुँ । मैले यो ब्लग चाहिँ सूचनाहरुलाई संग्रहित गर्ने उद्देश्यले नै सुरु गरेको हुँ । विशेषगरी आफूलाई मन पर्ने र आवश्यक परिरहने खालका सूचनाहरु सहजै पाउन मुस्किल हुन्छ, पाइहाले पनि तुरुन्तै पाउन गाह्रो हुन्छ । ब्लगमा ती सूचनाहरु (विशेषगरी महत्वपूर्ण समाचार, लेख, रचना, दस्तावेज आदि) संग्रहित गरिराख्दा ती सूचनाहरु सहजै पाउन सकिने भएका कारण ब्लग सुरु गरेको हुँ ।

दोस्रो, आफूले लेखेका र विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखहरुलाई ब्लगमा राख्दा सँधैभरि सुरक्षित रहने र सहजै ती सूचनाहरुमाथि पहुँच हुने भएका कारण ब्लग सुरु गरेको हुँ ।

तेस्रो, लेखिएका सबैखाले लेख वा रचना पत्रपत्रिकामा प्रकाशित हुन्छ भन्ने हुँदैन र सबैको पहुँच पत्रपत्रिकामा हुन्छ भन्ने पनि छैन । त्यसैले लेखिएका लेख वा रचनाहरुलाई संग्रहीत गर्ने र इन्टरनेटसम्म पहुँच पुगेका व्यक्तिहरुसम्म पु¥याउन सहयोगी हुने भएकोले ब्लग सुरु गरेको हुँ ।

तपाई त सञ्चार क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिनुभएको त छ तर पत्रकारका रुपमा या संचार अध्येताका रुपमा भनेर छुट्याउनु परेमा

म आफूलाई पत्रकारका रुपमा भन्दा पनि संचार अध्ययेता हुँ भन्न रुचाउँछु । मैले पूर्णकालीन पत्रकारका रुपमा भन्दा पनि समसामयिक सन्दर्भबारे विमर्शका लागि विभिन्न विषयवस्तुबारे लेख्दै आइरहेको छु । यसका साथै म मिडियाका अन्तर्वस्तुलाई आलोचनात्मक रुपमा हेर्न, विश्लेषण गर्न र बहस गर्न रुचाउँछु । त्यसैले म पत्रकारभन्दा बढी संचार अध्येयता हुँ ।

संचारकर्मसंग जोडिएको मानिसलाई आफ्ना लेख रचना या सुचनाहरु अभिव्यक्त गर्ने माध्यम पनि प्रशस्तै हुन्छन तर पनि यहाँले ब्लग चलाईरहनु भएको छ, किन केका लागि ब्लगिङ गर्नुहुन्छ

अहिलेको समयमा ब्लग स्वतन्त्र रुपमा आफूलाई लागेका कुराहरु अभिव्यक्त गर्ने माध्यम सामाजिक संजाल नै हो । पत्रपत्रिकामा कुनै विषयमा लेख लेख्दा त्यसको निश्चित मापदण्ड र स्पेश हुन्छ । निश्चित शब्दसंख्यामा लेख लेख्ुपर्ने हुन्छ । यस्तो सीमितताका कारण कतिपय अवस्थामा आफूले अभिव्यक्त गर्न खोजेका विचारहरु पूर्ण नहुन पनि सक्छन । त्यस्तो अवस्थामा ब्लगमा आफूले अभिव्यक्त गर्न खोजेका सन्दर्भहरु खुलस्त लेख्न पाइन्छ ।

अर्को कुरा लेखिएका सबै लेख वा विचारलाई पत्रपत्रिकाले स्थान दिन्छन् भन्ने हुँदैन । अखबारको सम्पादकीय नीति, संचारगृहको आफ्नो एजेण्डा जस्ता कारणले कतिपय लेख प्रकाशित नहुन पनि सक्छ । यस्तो अवस्थामा अभिव्यक्तिको प्रभावकारी माध्यम ब्लग हुने भएकाले पनि म ब्लगमा आफ्नो अभिव्यक्ति समावेश गर्ने गर्छु । अगाडि नै भनेजस्तै सूचनाहरुको संग्रह गरी आवश्यक समयमा सहजै ती सूचना लिनका लागि अन्य लेखकका लेख, अन्तर्वार्ता आदि पनि ब्लगमा समावेश गर्ने गरेको छु ।

तपाईले http://jbbiswokarma.blogspot.com/ बाहेक अरु पनि ब्लग चलाउनु हुन्छ कि  

मैले यसबाहेक अन्य ब्लग संचालन गरेको छैन । यही ब्लगलाई पनि समयअनुसार जति सामाग्रीहरु राख्नुपर्ने थियो, त्यति मात्रामा राख्न सकेको छैन ।

आफ्नो ब्लगमा समसामायिक कुरा, कथा, कविताहरु धेरै राख्नुभएको छ, यी कुराहरु मध्ये पाठकले धेरै चाहिँ तपाईका कुन कुराहरु धेरै पढ्छन जस्तो लाग्छ

मेरो ब्लगमा धेरैजसो लेखहरु नै समावेश गरेको छु । विशेष गरी समावेशीकरण, राज्यको रुपान्तरण, भूमि सुधार, दलित अधिकारसँग सम्बन्धित लेखहरु मैले समावेश गरेको छु । धेरैजसो व्यक्तिहरुले तिनै लेखहरु हेर्छन जस्तो लाग्छ । मैले ब्लगमा राखेको साहित्यकार आहुतिको निकै चर्चित ‘गहुँगोरो अफ्रिका’ निकैले हेरेको पाउँछु । पछिल्लो समय मैले पनि आफ्ना साहित्यिक रचनाहरु राख्न सुरु गरेको छु, साहित्यमा रुचि हुने व्यक्तिहरुले मेरा कविताहरु पनि पढ्ने गरेको पाउँछु ।

प्रायः मानिसहरु आफ्नो ब्लगमा आफ्ना रचनाहरु राख्छन तर तपाईले ब्लगमा राख्नु भएका रचनाहरु धेरै जसो त अरुका नै छन् । ति विषयवस्तु मन परेर हो या अरु कुनै कारणले अरुका रचना राख्नु भएको हो, बताइदिनुस् न

म नेपाली समाजका विविध पाटा वा पक्षबारे यथेष्ट बहस हुनुपर्छ, बहसले नै नयाँ विचारहरु जन्माउँछ भन्ने कुरामा विश्वास गर्छु । त्यसैले मैले ब्लगको नाम नै मिडिया डिस्कोर्स राखेको छु । डिस्कोर्सका लागि फरक फरक विचारको अध्ययन गर्न जरुरी हुन्छ । फरक-फरक विचारको अध्ययन र विश्लेषणबाट मात्रै नयाँ विचार जन्मिन्छ वा पाठकले पनि आफ्नो धारणा निर्माण गर्न पाउँछ ।

त्यसैले मैले यहाँ अन्य व्यक्तिहरुका लेखहरु पनि समावेश गरेको छु । उदाहरणका लागि मैले लेखेका र प्रकाशित अधिकांश लेखहरु समावेशी लोकतन्त्रका पक्षमा लेखेको छु । यद्यपि, मैले पोष्ट गरेको प्रतीक प्रधान र केदारनाथ कोइरालाको लेख निकै कन्ट्रोभर्सी छ । किनभने, यस्ता लेख र लेखकको विचारबारे पनि पाठकहरु जानकार हुन सहज होस र सही धारणा निर्माण गर्न सहयोग गरोस भन्ने हो । यस्ता विचारहरुले क्रिटिकल मास निर्माण गर्न सहयोग गर्छ भन्ने लाग्छ । यसका साथै मैले डोरबहादुर विष्टको अन्तर्वार्ता साभार गरेर राखेको छु । यस्ता अन्तर्वार्ताको सामाजिक अनुसन्धानमा समेत निकै महत्व हुन्छ । त्यसैले अन्य व्यक्तिहरुको लेख र विचारलाई पनि मैले ब्लगमा समावेश गरेको हुँ । 

अहिलेका युवा पिढी आफ्ना कुरा ब्यक्त गर्न ब्लगलाई उपयुक्त थलो मान्छन र ब्लगिङ् गरिरहेका पनि छन् । यहाँले चैँ नेपाली ब्लगिङ र सोसल मिडियाको प्रभाव तथा भविष्य कस्तो देख्नुहुन्छ अनि नेपालमा यसको प्रयोगलाई कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग

ब्लग इन्टरनेट पहुँच भएका ठाउँका सबैको अभिव्यक्तिको सशक्त माध्यम हो । कहिल्यै पत्रपत्रिकामा नलेखेका तर निकै राम्रो लेखहरु ब्लगमा युवा पुस्ताले लेखेको देखिन्छ । युवा पुस्ताको भावना, बुझाइबारे जान्नका लागि युवाहरुले सञ्चालन गरेको ब्लग निकै प्रभावकारी देखिन्छ । यसले पारेको अर्को प्रभाव भनेको लेखनमा निरन्तरता पनि हो । उत्साहसाथ ब्लग सञ्चालन गर्ने युवाहरुले केही न केही नयाँ कुराहरु ब्लगमा पोष्ट गरेको देखिन्छ । यसले नयाँ ज्ञानसँग साक्षात्कारका लागि पनि सहयो गरिरहेको छ । आफ्ना कुराहरु अभिव्यक्ति गर्ने, सिर्जनाहरुलाई संग्रहित गर्ने र पाठकसम्म पुर्‍याउने काममा ब्लग निकै सहयोगी माध्यम हो । इन्टरनेटको उपयोगिता बढ्दै गर्दा यसको महत्व पनि दिनहुँ जसो बढ्दै गइरहेको छ । अहिले पनि साहित्य, सूचना, मनोरञ्जन आदि फरक फरक विधामा ब्लगहरु सञ्चालन सुरु भएको छ, आगामी दिनमा विषयगत रुपमा नै ब्लगिङ गर्ने प्रवृत्ति बढ्ने सम्भावना देखिन्छ ।

यद्यपि, ब्लग सार्वजनिक हुने भएका कारण सामग्रीहरु समावेश गर्दा चाहिँ ध्यान पुर्‍याउन जरुरी छ । पोष्ट गरेका सामग्री सार्वजनिक हुन्छन्, अन्य धेरै पाठकसम्म पुग्ने भएकाले आफूले पोष्ट गरेको सामग्रीको असर के पर्छ भनेर सुरुमै समीक्षा गर्नु राम्रो हुन्छ ।

सञ्चार अध्येताका रुपमा तपाईले मुलधारको पत्रकारिता र ब्लग तथा सोसल मिडिया बिच के फरक पाउनुभएको छ ?

मूलधारको पत्रकारिता त्यसमा पनि अखबारको कुरा गर्ने हो भने तिनको अन्तर्वस्तु निर्माण वा विषयवस्तु निर्माणको लामो प्रक्रिया छ । संवादाताले संकलन गरेको सामग्रीको विभिन्न चरणमा सम्पादन, तथ्य वा तथ्याङ्कको पुनःपरिक्षण गरी प्रकाशित गरिन्छ । व्यवसायिक पत्रकारिताका दृष्टिले हेर्दा संचारसँग सम्बन्धित ऐन, कानुन, पत्रकार आचार संहिता आदिको ख्याल अखबारका विषयवस्तुमा बढी ध्यान दिइनुपर्छ । यस्तो माध्यममा लेखकका विचार पनि सम्पादन भएर आउने गरेको पाइन्छ भने निश्चित शब्दसंख्यामा नै लेखलाई टुङ्ग्याउनु पर्ने हुन्छ । कतिपय अवस्थामा लेखकले अभिव्यक्त गर्न खोजेका सबै विचार त्यस्ता लेखमा नआउन पनि सक्छ ।

तर, ब्लगमा लेखकले आफूले चाहेको कुरा शब्दको सीमितताभन्दा बाहिर गएर खुलस्त लेख्न सक्छ । ब्लगका विचारहरुमाथि अन्य सम्पादकले सम्पादन नगर्ने हुनाले आफूले अभिव्यक्त गर्न खोजेकै विषयवस्तु ब्लगमा समावेश गर्न सकिन्छ । त्यसैले नै युवापुस्ता ब्लगिङमा बढी आकर्षित भएको मान्न सकिन्छ ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ । तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता

ब्लगिङ स्वतन्त्र अभिव्यक्तिको माध्यम हो । त्यसकारण ब्लगलाई स्वतन्त्र रुपमा नै सञ्चालन हुन दिनुपर्छ । यद्यपि, ब्लगिङ गरिएका कुराहरु सार्वजनिक हुने र त्यसले ठूलो संख्यालाई पनि प्रभाव पार्ने हुनाले ब्लगरहरुले पोष्ट गर्ने विषयवस्तु, यसले पार्नसक्ने प्रभाव आदिबारे ब्लगरहरु सचेत चाहिँ हुनुपर्छ ।

नेपाली ब्लगरहरुले  तपाँईले भनेजस्तो सचेतनाको पालना कत्तिको गरेको पाउनुभएको छ

अहिलेसम्म ब्लगकै कारण सामाजिक बिश्रृङ्खलता आउने, विभिन्न जाति वा समुदायको आत्मसम्मानमा ठेस पुर्‍याउने काम ब्लगले धेरै भूमिका खेलेको देखिँदैन । यद्यपि, पोष्ट गर्ने सामग्री र यसले पार्नसक्ने सकारात्मक/नकारात्मक असरबारे चाहिँ ब्लगरहरुले अझैं सजकता अपनाउनुपर्छ ।

मुलधारका सञ्चार माध्यमले सोसल मिडियाको कसरी प्रयोग गरेको पाउनुभएको छ

मूलधारका भनिने मिडियाले समाचारका क्लू, सामाजिक बहसका लागि सोसल मिडियाको पर्याप्त मात्रामा उपयोग गरेको देखिन्छ । कतिपय समाचारहरु सामाजिक सञ्जालमा आएका सूचनाकै आधारमा तयार हुने प्रवृत्ति बढ्दो छ । उदाहरणका लागि एनेकपा (माओवादी) नेता डा. बाबुराम भट्टराईले फेसबुक वा ट्वीटरमा लेखेका कुरा समाचारका रुपमा आउने गरेका छन् ।

यसका साथै सामाजिक सञ्जालमा भएका बहसहरुका आधारमा लेख, रचना आदि पनि प्रकाशित हुने गरेका छन् । यतिमात्रै होइन, मूलधारका भनिएका मिडियाका अन्तर्वस्तुलाई सामाजिक सञ्जालमार्फत शेयर गरेर बढीभन्दा बढी व्यक्तिसम्म पुर्‍याउने गरेको पाइन्छ । यसरी मूलधारका मिडियाले सामाजिक सञ्जालको प्रयोग प्रभावकारी रुपमा गरेको मान्न सकिन्छ ।

साथै सोसल मिडिया र ब्लग मार्फत आएका सुचनाहरु लिने या राख्ने कुरामा मुलधारका अनलाईनहरु र मुलधारका संचारमाध्यमहरुले आचारसंहिता पालाना गरे नगरेको, कस्तो पाउनु भएको छ

यो चाहिँ एउटा अध्ययनकै विषय हो । विशेष गरी अनलाइनमा आएका समाचार सामग्री अनलाइनमै जस्ताको तस्तै साभार हुने गरेको देखिन्छ । अर्कोतिर, धेरै एफएम रेडियो स्टेशनले समाचारको मुख्य श्रोतको रुपमा अनलाइनहरुलाई लिने गरेको देखिन्छ ।

कतिपय समाचार त अनलाइनबाट लिएर जस्ताको तस्तै प्रसारण भएको पनि पाइन्छ । जनतालाई सुसूचित गराउने कोणबाट हेर्दा सूचना दिइनु राम्रो काम हो, तर अनलाइनका सूचना कतिको आधिकारिक हुन्, गलत सूचना दिइएको छ कि ? भन्ने कुृराको भेरिफिकेशन गर्ने काम समेत हुँदैन । यसले कुनै बेला निकै ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

अर्कोतिर, यसरी समाचार वा सामाग्री साभार गर्दा स्रोतको उल्लेख गरिँदैन । कम्तीमा समाचारहरु साभार गर्दा नेपालको प्रतिलिपि अधिकार ऐन र पत्रकार आचार संहिताको एकपटक अध्ययन गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

मेरो ब्लगमा अलि अनुभूतिजन्य कुराहरु समावेश गरिएका छैनन् । अलि बहसका लागि लेखिएका लेखहरु बढी छन् । त्यसैले ब्लग हेर्ने साथीहरुले भ्रमण, दैनिक जनजीवन र अनुभूतिजन्य सामग्रीहरु समावेश गरिदिनुपर्‍यो भन्ने प्रतिक्रिया दिनुहुन्छ । अब, त्यस्ता सामग्रीहरु पनि लेख्ने प्रयत्न गर्छु ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त

ब्लगिङलाई धेरैले नागरिक पत्रकारिता भन्ने गरेका छन् । अभिव्यक्ति स्वतन्त्रता र सूचना सम्प्रेषणका दृष्टिले यसलाई नागरिक पत्रकारिता भनिएको हो भन्ने मैले बुझेको छु । यद्यपि, पत्रकारिताका केही विशिष्ट मूल्य, मान्यता र पद्दति हुन्छन्, त्यसलाई यसले सम्बोधन नगर्न पनि सक्छ ।

अन्त्यमा

मैले ब्लगको सुरुआत गरेको करीब ७ वर्ष भइसकेछ । तर, यसलाई निरन्तर अद्यावधिक गर्ने काम हुन सकेको छैन । मैले पोष्ट गरेका सूचना मेरो मात्रै निजी होइन, सूचनाको सार्वजनिक स्रोत पनि हो ।

यसमा पाठकहरुको सिर्जनात्मक सुझावको अपेक्षा गरेको छु । मेरो रिपोर्टले विभिन्न विषयसँग सम्बन्धित व्यक्तिहरुको ब्लगकै बारेमा पनि निरन्तर बहस चलाइ रहोस र सामाजिक सञ्जालका विभिन्न आयामबारे पाठहरुलाई बुझ्ने काममा अगाडि बढिरहोस भन्ने कामना गर्दछु ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Amuna Chapagain on December 11, 2014 at 11:57am

Congratulations !!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service