मनभरी अटेमटेस रहेका विचारहरु ब्लगमा लेखेपछि म शान्तिको महशुस गर्छु - जनकराज सापकोटा

आफूलाई घुमन्ते पत्रकार भन्न रुचाउने चितवनका जनकराज सापकोटा नेपाल पत्रिकासंग आवद्द छन्। उनी भन्छन्-‘योजनाविना नै वेपत्तासंग गाउँगाउँ घुमी हिड्न मलाई औधी मनपर्छ।‘ पछिल्लो एक दशकमा आफ्नो यही घुमन्ते बानीका कारण नेपालका ५६ भन्दा धेरै जिल्लाका धेरै गाउँहरु घुमेको बताउने जनक आफूलाई भाग्यमानी ठान्छन्, कारण- जसले रोजेको विषय पढ्न पायो, रोजेको काम गर्न पायो । आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर जनकले पछिल्ला केही बर्षहरुदेखि निरन्तर ब्लगिङ पनि गरिरहेका छन् http://www.nayapusta.blogspot.com नामक ब्लगमार्फत । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरका रुपमा हामीले उनै जनकलाई यहाँ निम्त्याएका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, पत्रकार कि एउटा ब्लगरका रुपमा मात्रै र?
म पत्रकार नै हुँ । पत्रकारकै रुपमा चिनाउन चाहन्छु । त्यसपछि मात्रै ब्लगर ।

तपाँइको ब्लग http://www.nayapusta.blogspot.com/ मात्रै कि अरु पनि छन?
द्वन्द्वकालमा नेपालका गाउँहरु घुम्दा मैले अर्को एउटा ब्लग सुरु गरेको थिएँ । तर त्यसलाई मैले निरन्तरता दिन सकिन । किनकी महिनाका अधिक दिन त म घुमेरै विताउँथे । काठमाडौं फर्केपछि घुमेका रिपोर्टहरु तयार पार्दैमा वित्थ्यो ।

यहाँको ब्लगिङको रुचीको बिषय के हो?
सामाजिक विषयहरु मेरा रुचीका विषय हुन । तर सबैले नदेखेको, देखेर पनि वास्ता नगरेको ससाना कुरामा मलाई लेख्न मनलाग्छ । तर लेखाईमा सकेसम्म सिर्जनशिल भाषाको प्रयोग गरौँ भन्ने चाँही सधै हुन्छ ।

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

सुरुमा मैले मिडियासंग सम्बन्धित सामाग्रीहरु मात्रै ब्लगमा राख्थेँ । मिडियाका विषयमा हुने बहस, टिप्पणी, आलेखहरु साभार गर्ने, मिडियाका विषयमा आफ्नो दृष्टिकोण मात्रै राख्थेँ । रत्नराज्य लक्ष्मी क्याम्पसको विद्यार्थी हुँदा मेरो ब्लग धेरैका साथीहरुका निम्ति उपयोगी पनि भयो, खासगरी कलेजको असाईनमेन्ट गर्दा । पढाई सकेपछि भने मैले ब्लगको दायरा फराकिलो पारेँ । समाचारमा लेख्न नसकेको विषयहरु, गाउँ घुम्दा भेटेका पात्रहरु र तिनीको स्मृतिले विझाएपछि म तिनका बारेमा लेख्छु । निबन्ध लेखन मेरो रुची हो । सामयिक विषयमा छोटा निबन्धहरु पनि लेख्छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

सन् २००९ देखी हो मैले ब्लग चलाउन थालेको । तर यसको गति भने सधै उस्तै छैन । जिन्दगी जस्तै उकाली र ओरालीपूर्ण छ ।

ब्लगिङ किन गर्नुहुन्छ?

ब्लग मेरो डायरी जस्तै हो । पहिले पहिले म डायरीमा नै सबै कुरा लेख्थेँ । चाहे विचार होस, चाहे भावना होस, चाहे टिप्पणी वा अरु नै केही । डायरीमा त लेख्थेँ त्यो राम्रो भयो कि नराम्रो भयो की अथवा के भयो भन्ने मलाई कहिल्यै थाहा हुँदैनथ्यो । खासमा म अक्षरहरुलाई डायरीमा कैद गरेर राख्थेँ । कहीलेकाहीँ लाग्थ्यो मेरा डायरीहरु जेलघर हुन जहाँ अक्षरहरु कैद छन । तर ब्लगमा त्यस्तो हुन्न । समाचारमा लेख्न नसकिने विषयहरु, समाचारिय मूल्य र मान्यतामा रहेर गर्न नसकिने लेखाईहरु ब्लगमा लेख्न पाईन्छ । हरेक दिन मलाई केही न केही विषयमा केही न केही लेख्न मन लाग्छ । तर लेखेका सबै विषयहरु पूर्ण भने हुँदैनन । पूर्ण भएका विषयहरु ब्लगमा राख्छु । यसोगर्दा आफुले कस्तो लेख्दोरैछु, मेरो लेखाई अरुलाई मनपर्छ कि पदैन भन्ने पनि थाह हुँदोरैछ । अनि म आफै लेखक, आफै सम्पादकको स्वतन्त्रता पनि त अनुभव गर्न पाउँछु ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

सामाजिक विषयवस्तुहरु मेरा प्राथमिकतामा पर्छन । तर ति विषयहरुमाथी म अनुभूतिको रंग मिसाएर लेख्छु । त्यसो गर्दा लेखाई निरश हुदैन । याद नगरिएका, हेक्का नभएका वा देखेर पनि गम्भीर रुपमा नलिइएका विषयहरु मेरा प्राथमिकता हुन । दुनियाँले भुईमान्छे भनेको मान्छेहरु मेरा लेखाईका सबैभन्दा ठूला विषय हुन ।

लेखनका निम्ति भाषा सबैभन्दा महत्वपुर्ण र शशक्त माध्यम भएकोले ब्लगिङमा पनि यो कुरा लागु त हुन्छ नै । तर पनि मानिसहरु ब्लगमा लेखिने भाषा समाचारको जस्तो औपचारिक या भाषाकै बिषयलाइ लिएर टाउको दुखाउन नपर्ने भन्छन् नि । के भन्नुहुन्छ यहाँ?

विषय जत्तिकै भाषा पनि जरुरी छ ब्लगमा लेख्नका लागी । विषय हुनु तर भाषा नहुन भनेको त, राम्रा राम्रा रंगहरु हुनु तर त्यसलाई कसरी पोतेर राम्रो चित्र बनाउने भन्ने ढंग नहुनु जस्तै हो । ब्लगमा लेखिने भाषा सामाजिक रुपमा स्विकार्य र मर्यादित हुनुपर्छ । तर औपचारिकताका नाममा विषयमाथी र सिर्जनशिलतामाथी अन्याय गर्नु भने हुदैन ।  समाचारको जस्तो भाषा ब्लगमा नलेखेकै राम्रो । भाषामाथी प्रयोग गर्नुपर्छ, तर त्यस्तो प्रयोग मौलिक हुनुपर्छ र प्रयोगको अर्थ पनि हुनुपर्छ ।

शिर्जनशिल लेखाइमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?

विषयबस्तुको उठान र विषयबस्तुको केन्द्रियता सबैभन्दा महत्पूर्ण कुरा हुन । बिम्ब र प्रतिकहरुको प्रयोग पनि उत्तिकै जरुरी कुरा हो । तर सिर्जनशिलताका नाममा भाषालाई जटिल बनाउने अनावश्यक विम्बको प्रयोग गर्ने र जटिल वाक्य संरचना चाँही राम्रो कुरा हैन । लेखनको लय पनि जीवनको लय जस्तै हुनुपर्छ । तब न पाठकहरु भाषाको डुंगा चढेर सयर गर्न सक्छन ।

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

न्यू मिडियाका धेरै प्रयोगकर्ताहरु आत्मरतीको अनौठो रोगबाट ग्रसित छन । तिनीहरु के ठान्छन भने, मैले भने जसरी समाज चल्नुपर्छ, मेरो आलोचना वा प्रतिक्रिया सर्वमान्य हो, सामाजिक संजालमा लेखेकै भरमा मैले परिवर्तन ल्याईदिएको छु, समाजप्रतिको मेरो दायित्व यति नै हो भन्ने जस्ता भ्रमहरु । तर त्यस्तो ठान्नेहरु फेरी आफुप्रति अरुको प्रतिक्रियालाई भने रुचाउँदैनन् । कि त तिनीहरु त्यस्तो प्रतिक्रिया नै सुन्न चाहदैनन या सुन्नुपर्ने अवस्था भयो भने त्यसका निम्ती आफुलाई तयार पार्दैनन । तर केही ब्लगर र सामाजिक संजालका प्रयोगकर्ताहरु साँच्चीकै राम्रा छन । उनीहरुले त्यसबाट आफ्नो व्यक्तित्वको विकास मात्रै गरेका छैनन, अरुलाई पनि धेरै कुरा पनि दिएका छन । आफ्नो स्पष्ट धारणा राखेका छन र त्यसलाई सिद्धान्ततः पुष्टी गर्ने प्रयास पनि गरेका छन । त्यो साँच्चिकै राम्रो कुरा हो ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ? प्राय: पढने ब्लगहरु?

फुर्सदका बेला अरुका व्लग पनि पढछु । दिनेश वाग्ले, जोतारे धाईबा, नारायण अमृत, प्रदिप वस्याल, अनन्त कोईराला, आकार अनिल, दीपक अधिकारीहरुका व्लगहरु प्रायः हेर्छु ।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

पत्रिकामा छापिएका कुरा मात्रै राख्ने ब्लग चाँही उतिसाह्रो रुचाउँदिन म । तर स्वतन्त्र लेख्ने, सिर्जनात्मक कुराहरु लेख्ने अनि आफ्नो मात्रै गन्थन र शब्दहरुको थुप्रो मात्रै नथुपारिकन छोटो मिठो सिर्जनात्मक लेखहरु समेटिएका ब्लगहरु मेरा रोजाई हुन ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

आचारसंहिता आफैमा स्वतन्त्र कुरा हो । जसरी सामाजिक नैतिक मूल्य र मान्यताहरुलाई हामी स्विकार्छौँ । त्यस्तै गरी व्लगरहरु आफैले यस्ता मूल्यहरुप्रति सजग रहनुपर्छ । नैतिकताको कुनै कानूनी दायरा पनि हुन्न र यो जबर्जस्ती हुने कुरा पनि हैन । सामाजीक नैतिकता, लेखनधर्म जस्ता कुराहरु ब्लगरले पनि ख्याल राखे अरु केही गर्नै पर्दैन ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?

सबैका ब्लगमा आचारसंहिताको पालना भएका छैनन् । अरुको चोर्ने, साभारसम्म लेख्ने नैतिकता नदेखाउने, कुनै विषय वा व्यक्तीप्रति भद्दा टिप्पणी वा आक्रोश व्यक्त गर्ने अभ्यासहरु भईरहेका छन । तर धेरै साथीहरुले व्लगमा आचारसंहितालाई ख्याल गर्नुभएको छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

स्कूल पढदा मैले भोगेका अनुभूतीहरुलाई मैले क्रमशः व्लगमा लेख्ने विचार गरेको थिएँ । पहिलो भाग लेखेको पनि थिएँ । त्यसमा मेरा बद्मास साथीहरुले स्कूलमा मलाई कसरी दुःख दिएका थिए भनेर लेखेको थिए । पहिलो अंश छापिएपछि स्कुल पढदाका मेरा एकजना साथीले इमेल गरे । ति अहिले साउदी अरबमा रैछन् । तिनले लेखेका थिए—नजानेर वा अरुको लहलहैमा मैले पनि तँलाई कत्ती दुःख दिएँ है ! स्कुल पढदा तेरो खाजा मैले कतिपटक चोरेर खाएको छु । तर प्लिज मेरा बारेमा चाँही व्लगमा केही नलेख्दे है ! उसको यो मेल पाएर म अचम्ममा परे । ति साथीले मलाई दिएका दुःखहरु सम्झेर हाँसो उठ्यो ।

तपाइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

समग्रमा भन्नुपर्दा केही राम्रा ब्लग बाहेक धेरै ब्लगचाँही गन्थनहरुले भरिएको हुन्छ । अक्सर ट्विटेहरु आफ्ना कुरा धेरै अरुलाई सुनाउन चाहन्छन, नकी अरुको कुरा सुन्न, बझ्न र जान्न । केही ट्विटेहरु भने भाषाकै मानमर्दन् गर्छन र कोही कोही भने जागिर नै हो कि झै गरेर व्यक्ती लक्षित आलोचनाको राग ओकल्छन तर प्रवृत्तीका बारेमा भने चुप लाग्छन । फेसबुकमा चाही धेरै निजात्मक कुराहरु पोखिन्छन । भलै म पनि यही प्रवृत्तीको फड्के किनाराको साक्षी हुँ ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

सामाजिक हितका निम्ती पनि ब्लग लेख्ने चलन सुरु भएको छ । तर यो प्रक्रियाले उतिसाह्रो गती भने लिएको छैन । तर समाचारमा अट्न नसकेका पात्रहरु, प्रवृत्तीहरु, घटनाहरु पनि ब्लगमा आउन थालेका छन । कतिपय ब्लगहरु त समाचारका स्रोत पनि भएका छन । यो राम्रो कुरा हो ।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?

मैले एउटा तस्विरमा आधारित भएर एउटा लेख लेखेको थिए । रत्नपार्कको कर्नमा सिरक डसना बेच्न बसेको एउका केटो मग्न भएर होमवर्क गरिरहेको थियो । मैले त्यो अनाम केटाको फोटो खिचेको थिए केही वर्ष पहिले । तर केही समयअघी ल्यापटपमा पुराना फोटाहरु हेर्दै जांदा मेरो आंखा त्यही फोटोमा गएर टक्क अडियो । अनि लाग्यो, यही विषयमा किन नलेखौं । जसलाई धेरैले मन पराईदिए ।

ब्लगिङ गरेर पाएको सबैभन्दा ठुलो उपलब्धि केही छ?

खुशी भन्दा ठूलो उपलब्धी के हुन्छ र ! मनभरी अटेमटेस रहेका विचारहरु ब्लगमा लेखेपछि म शान्तिको महशुस गर्छु । यो पनि त अर्को उपलब्धी हो । साथीभाईले तेरो व्लगको फलानो कुरा पढँे, गज्जप लाग्यो भन्छन, त्यो पनि अर्को उपलब्धी हो ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

पक्कै पनि हो । यो नागरिक पत्रकारिताकै एउटा अंश हो ।

अन्त्यमा,

मेरो रिपोर्टको प्रयास आफैमा राम्रो छ । मान्छेहरु जोडीएका छन, विचार, दृष्टिकोणका आधारमा । यसले मूलधारको संचारको शैली र प्रवृत्तीलाई समेत पाठ सिकाईरहेको छ ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service