जुन सन्तुष्टी मैले ब्लगिङमा पाएँ, मुलधारको पत्रकारितामा सायदै पाएहुँला:ईश्वर रौनियार

हालसम्म पत्रकारितामा खर्चेका ६ बर्षको अन्तरालमा करिब ६ वटाजति नै प्रतिष्ठित संचारमाध्यमहरुमा अनुभव संगालिसकेका उदयपुर ठोक्सिलाका ईश्वर रौनियार पछिल्लो समयमा ब्लगिङमा पनि उत्तिकै सक्रिय देखिन्छन् । भित्ते पत्रिकाबाट सुरुभएको उनको पत्रकारिता यात्रा बिबिसी, द काठमाण्डौं पोष्ट, नेपाल टेलिभिजन, संयुक्त राष्ट्रसंघ हुँदै अहिले बिबिसी मिडिया एक्सनको साझा सवालसंगै बेलायतबाट निस्कने पत्रिका दि गार्जियन र दि अब्जर्भरसम्म आईपुगेको छ । नेपालटक्स नामक ब्लग मार्फत ब्लगिङमा सक्रिय ईश्वर रौनियारका ब्लगहरु पछिल्लो समय मेरोरिपोर्ट मा पनि नियमित जसो पढन पाईन्छ । ब्लगिङ किन गर्नुहुन्छ भन्ने प्रश्नमा आफुलाई संचारकर्मी एवं ब्लगर दुवै नामबाट परिचित गराउन चाहने रौनियार ठट्यौलो पारामा पछिल्लो समय 'ब्लगर सोसाईटी'मा नपरिएला भन्ने डरैले पनि ब्लगिङमा सक्रिय भएको बताउँछन् । सामाजिक संजालहरु बिशेषगरी फेसबुकट्विटरमा समेत उत्तिकै सक्रिय यिनै ईश्वर रौनियारलाई यो साता हामीले मेरो रिपोर्टको नियमित स्तम्भ साताका ब्लगरका रुपमा प्रस्तुत गरेका छौं । प्रस्तुत छ ईश्वरसंग पवन न्यौपानेले गरेको कुराकानी :

ब्लगिङ किन गर्नुहुन्छ ?
कतिपय यस्ता कुराहरु हुन्छन् जुन समाचार नबन्न सक्छ या समाचार बनाउँदा भन्दा पनि ब्लगमा लेख्दा महत्व बेग्लै हुन्छ । त्यसैले आफ्ना कुराहरु  लेख्नलाई ब्लग सुरु गरेको हुँ ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन्?
समसामायीक । ठ्याक्कै यो नै भन्ने छैन । आफुलाई 'गडेको' कुरा लेख्न रुचाउँछु । चाहे त्यो मनोरञ्जनात्मक होस या कुनै गम्भीर विषय ।

मुलधारका पत्रिका, चर्चित समसामयिक रेडियो कार्यक्रम देखी टेलिभिजन बहस कार्यक्रममा समेत काम गरिसक्नुभएको छ । ब्लगिङ तिर आकर्षित हुनाको कारण के हो ?
ब्लगिङको आफ्नै मजा छ । जुन सन्तुष्टी मैले ब्लगिङमा पाएँ मुलधारको पत्रकारीतामा सायदै पाएँहुँला ।

मेनस्ट्रिम रिपोटिंग र ब्लगिङमा के फरक पाउनुभयो ?
मुलधारको पत्रकारिता तथ्यपरक हुन्छ । समाचारका केहि नियमहरु हुन्छन अनि साथै सिमितता पनि । सबै घटनाहरु समाचार बन्न लायकका हुदैनन् । तर ब्लग स्वतन्त्र हुन्छ । कसैको अनुमति या समाचारका 'सुत्र'हरु फलो गर्नु पर्दैन । आफ्नो अनुकुल र समय अनुसार लेख्न सकिन्छ ब्लग ।

तपाँइको ब्लग 'नेपालटक्स' को कस्तो ब्लग हो ?
समसामयिक कुराहरुको सँगालो हो नेपालटक्स । नाम भने मेरो सिनियर दाई दिपक भट्टराईले जुराईदिनुभएको हो । विशेषत अहिले नेपालीहरुको बहसको विषय मा केन्द्रित रहन्छन् मेरा लेखहरु ।

ब्लगिङका लागी बिषयबस्तु कसरी छनौट गर्नुहुन्छ ? कुनै प्राथमिक बिषय छ तपाईंले ब्लगिङ गर्ने सन्दर्भमा ?

यिनै वरपर घटिरहेका घटना परिघटनाहरु मेरो ब्लगको विषय बन्ने गरेको छ। यसका साथै आफ्नो अनुभव त छदैछ।

ब्लग लेखन कहिलेबाट सुरु गर्नु भएको हो ?
केहि वर्ष जति भयो सुरु गरेको । तर नियमित रुपमा लेख्न थालेको त केवल केहि महिना मात्रै ।

ब्लगका लागि अलग्गै समय खर्चिनुहुन्छ या आफ्नो नियमित कार्यकलापकै दौरान गरिएका रिपोर्ट नै ब्लगमा पोष्ट गर्नुहुन्छ ?
म अलग्गै समय खर्चिन्छु । म मुस्कीलले कुनै छापीएका समाचार पोष्ट गर्छु । मेरो लागी समाचार लेख्नु जत्तिकै महत्व लाग्छ ब्लग लेख्नु ।

एउटा मिडियाकर्मीको लागी सोसल मिडिया वा न्युमिडिया जान्नु, प्रयोग गर्नु आवश्यक छ कि छैन ?
एकदमै आवश्यक छ । अहिले सोसल मिडियालाई पनि समाचारको स्रोत मान्न सकिन्छ । कतिपय समाचारहरु सञ्चारमाध्यममा आउन अघि सोसल मिडियामा छाइसकेको हुन्छ । सोसल मिडिया वा न्यु मिडिया बिनाको अहिलेको पत्रकारिता असम्भव जस्तै छ ।

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?
पछिल्लो समयमा सोसल मिडिया एकदमै प्रभावकारी बन्दैछ । ब्लगले पनि आफ्नै परिचय बनाउँदै जाँदैछ । समाचारमा लेख्न नमिलेका अनुभवहरु अहिले ब्लगमा लेख्न थालिएको छ । कतिपय अवस्थामा त समाचारले भन्दा ब्लगले महत्वपुर्ण घटनाहरुको मज्जाले उठान गरेको पाईन्छ । यसको महत्व अपरम्पार छ भन्ने कुरा त अहिलेका सबै देशीविदेशी वेबसाईटहरुले ब्लग सेक्सन छुट्टै राख्न थालेका उदाहरणहरुले पनि पुष्टि गर्छ र सबैको फेसबुक या ट्वीटर एकाउण्ट छुट्टै हुन्छ ।

तपाईंको नजरमा अहिलेका ब्लगहरु हेर्दाखेरी ब्लगिङले ब्लगरको आत्मसन्तुष्टिको लेभल पुरा गर्न सम्ममात्र ब्लग सफल भएको छ वा धारणा बनाउन/एजेण्डा सेट गर्नसम्म सफल छ ?
आत्मसन्तुष्टीको लेभल त पक्कै पनि बढाएकै छ ब्लगिङले । यसका साथै यसको राम्रो प्रयोगले नागरिक पत्रकारितालाई बढावा दिन्छ नै र केहि हदसम्म प्रयोग भइरहेकै छ । केहि समय अघि मुस्ताङको प्लेन दुर्घटनालाई नै हेर्नुस न, पहिलो फोटो ट्वीटरबाट सार्वजनिक भएको थियो । यसको पहुँच एकदमै बढ्दै गइरहेको छ । पछिल्लो समयमा त यो एजेण्डा सेटरको रुपमा पनि अगाडि देखिएको छ ।
अरुका ब्लग कत्तिको पढ्नुहुन्छ ?
ठिकै । मेरो रिपोर्टमा राखिएका ब्लगहरु अक्सर पढ्ने गरेको छु ।

लिंक कहाँबाट लिनुहुन्छ वा खोज्नुहुन्छ ?
कति फेसबुक तथा ट्वीटर जस्ता सामाजीक सञ्जालमा सेयर गरिएका हुन्छन् भने केही समाचार साईटहरुमा ।

विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?
सबै खालका, जसले हाम्रो वरपरका घटनाहरुलाई आफ्नो विषय बनाएको होस् ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरा पनि उठिरहेको छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?
धेरै त होईन केहि हदसम्म त राख्नैपर्छ । यसले मर्यादित बनाउन मद्दत गर्छ । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गईरहेको छ । यसले कुनै काल  परिस्थितिमा सामाजिक सदभाव् विथोल्ने कारण पनि बन्न सक्छ । जुन हालै भारतमा भएको थियो । यसलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता आवश्यक छ । यसो भन्दैगर्दा हामीले के बुझ्न जरुरी छ भने यसलाई रोकेर त रोकिँदैन । बरु ब्लगर आफै नै सामाजिक सहिष्णुता प्रति सचेत भइदिए यसको आवश्यकता नै पर्दैन ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?
अहिलेसम्म त्यस्तो आचारसंहिता बाहिर गएर लेखेको खासै देखेको छैन ।

एउटा मुलधारको संचारमाध्यममा सामाजिक सवालमा काम गर्ने ब्यक्तिले सामाजिक संजाल एवं ब्लग लेख्दा वा स्टाटस राख्दा सचेत हुन जरुरी छ वा छैन ?
सचेत हुन जरुरी छ । केही स्ट्याटसहरु राख्दा जथाभावी गाली गरेर लेख्न हुन्न । कुरा फेरिरहनु हुँदैन । धेरै सस्ता मनोरञ्जनका कुराहरु पनि गर्न हुँदैन । यसले त्यो ब्यक्तिको ब्यक्तित्व माथी नै असर पर्न जान्छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग छन कि ?
पत्रकारिता गरेको यत्रो सालमा धेरै समाचारहरु लेखियो । तर वान टु वान प्रतिकृया ब्लग पढेर नै बढी आउँदोरहेछ । जुन पक्कै पनि खुशीलाग्दो कुरा हो ।

तपाईँको ब्लगका भिजिटर कति छन् ?
पछिल्लो समयमा नियमित लेख्न थाले देखी बढेर गएको छ । अहिले दिनमा २०० देखी ५०० सम्म भिजिट हुने गरेको छ ।

ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?
सबैको आ–आफ्नै महत्व छ । छोटोमा भन्दा ब्लग शब्द सँग खेल्ने माध्यम, फेसबुक फोटोको कला देखाउने ठाँऊ र ट्वीटर छोटो वाक्यमा ब्यंग्य गर्ने र विचार प्रस्तुत गर्ने ठाँऊ हो जस्तो मलाई लाग्दछ ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ ? प्रभाव पार्न सक्ने स्थिति छ ब्लगिङबाट समाजमा ?
मैले त्यति धेरै ब्लग संसारमा घुम्न त पाएको छैन । तर जति पाएको छु, मलाई लाग्छ, सामाजिक हितकै लागी प्रयोग भईरहेको छ । यसले पक्कै पनि राम्रो  प्रभाव पार्न सक्छ । किनकी यसले हुनेखाने वर्गलाई एक ठाँउमा ल्याएर हुँदा खानेका हितमा राम्रो काम गर्न सक्छ ।

ब्लगले वा सोसिएल मिडियाले मेनस्ट्रिम मिडियालाई परिपूरण गर्छ, या सहयोग गर्छ या यीनिहरु एकअर्काका प्रतिस्पर्धी हुन ?
मेरो विचारमा यसले सपोर्ट गर्छ । तर पछिल्लो समयमा प्रतिस्पर्धीका रुपमा केहिले उभ्याउन खोजेका छन् जुन पक्कै पनि मुर्खतापुर्ण कार्य हो । यसको राम्रो प्रयोग गर्न जानियो भने मेनस्ट्रिम मिडियालाई धेरै नै फाईदा हुन्छ ।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग ?
नियमित ब्लगिङ गर्न थालेको धेरै समय नभएपनि मेरा ब्लगहरु मध्ये धेरै हेरिएका ब्लगमा उमा र चुनौती, चलचित्र कथा : कथा कि ब्यथा ?, परिवर्तित मेरो गाऊँ, अदभुत रेल, चलचित्र हेर्ने आँखा आदी हुन् ।

ब्लगबाट के पाउनुभयो, के गुमाउनुभयो ?
मैले धेरै कुरा पाएँजस्तो लाग्छ । अहिले त म एक किसिमले "एडिक्टेड" भए जस्तो लाग्छ । राती सुत्ने बेलामा केहि न केहि लेखेरै सुतौं जस्तो लाग्छ । मलाई लेख्ने बानी मा सुधार ल्याएको छ । म नेपालीमा बिरलै केही लेख्थे तर पछिल्लो समयमा धेरै नै लेख्न थालेको छु । गुमाउने कुरा त केहि छैन ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?
पक्कै पनि हो । यसले नागरीक अथवा ब्लगरलाई केहि लेख्न प्रेरित गर्छ र स्थानिय स्तरमा भईरहेका घटना परिघटनालाई बाहिर ल्याउन मद्दत गर्छ ।

ब्लग वा सामाजिक संजाललाई सदुपयोग गर्नसक्ने ठाऊँहरु कत्तिको देख्नुभएको छ भविष्यमा ?
ब्लग वा सामाजिक संजालको एकदमै राम्रो भविष्य देख्छु म त । कुनै दिन आउला जति बेला एउटा ठुलो 'बिज्ञापन' को अश्त्रका रुपमा सोसल मिडियालाई प्रयोग गरिनेछ । जुन अहिले पनि केहि मात्रामा हुने गरेको छ ।

ब्लग लेख्न चाहने र लेखिरहनुभएकाहरुलाई केही भन्न चाहनुहुन्छ ?
आजभोली त कोहि 'काम नै छैन यार' भन्दै आए भने 'ब्लग लेख्न सुरु गर यार' भन्ने गरेको छु । म यति मात्रै भन्न सक्छु-जसले जे सुकै भनोस् लेख्न नछोड्नुस, लेखिरहनुस् । सहकर्मी दिपक भट्टराई दाइले भन्नुहुन्छ-लेखिरहनुपर्छ, कसले पढो पढेन भन्ने चिन्ता गर्नुहुन्न । म वहाँको भनाईमा सहमति राख्छु ।

अन्त्यमा,
नागरिक पत्रकारिता प्रवर्दनका लागि मेरोरिपोर्ट एकदमै राम्रो 'प्लेटफर्म' हो । आफ्ना कुराहरुलाई अगाडी ल्याउन यसले सहयोग गरेको छ । यसको  भुमिका प्रसंसनिय छ र यसले पक्कै पनि राम्रो योगदान गरेको छ म जस्ता ब्लगरलाई प्रोत्साहित गरेर अगाडि बढाउन । अन्त्यमा म फेरी पनि भन्छु-ब्लग लेख्न नछोड्नुस । लेख्नु भएको छैन भने आजै थाल्नुस् । यसमा ठुला ठुला कुरा लेखिरहनु पर्दैन । आफ्नै वरपर भएका घटनाहरु, आफुले भोगेका कथाहरु लेखे हुन्छ ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 22, 2013 at 10:24am

Questions लाई Bold गर्न र link लाई Tab मा खुल्ने बनाउन पाए हुने 

Comment by अल्टर कान्छो’ on June 19, 2013 at 5:29pm

Congratulations Ishwar ji

Comment by Ananta Koirala on June 19, 2013 at 3:46pm

लु हाम्ले बधाई दिएर पठाइम् :) जागते रहो :पी

Comment by Prakash Lamichhane on June 19, 2013 at 3:35pm

Congratulations Ishwar ji :)

Comment by pawan neupane on June 19, 2013 at 2:53pm

Congratulation Ishor ji 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service